२०८१ चैत्र २
×

Now Playing

स्थानीय तहका प्राथमिकता

स्थानीय तह नागरिकका सबैभन्दा नजिकका सरकार हुन् । जनताको दैलोमै सरकारको अनुभूति गराउने स्थानीय तहले नै वास्तवमा संघीयता कार्यान्वयनका जग पनि हुन् । स्थानीय तह र जनप्रतिनिधिहरुबाट नागरिकले सबैभन्दा बढी अपेक्षा गरेका छन् ।

कारण स्थानीय तहले नागरिकको अपेक्षा र भावना अनुसार सेवा र सुविधा प्रवाह गरिरहेका छन् । यद्यपी केही समस्या र कमजोरी स्थानीय तह र जनप्रतिनिधिका अवश्य छन् । तर पनि नागरिकले अपेक्षा गर्ने भनेकै स्थानीय तहसँग हो । यतिबेला स्थानीय तहहरु आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् ।

एक वर्षभरी गर्ने कामको खाका र योजना तयार गर्न व्यस्त स्थानीय तहले यसपाली कोरोना महामारीका कारण भने नागरिकसँग बस्तीमै पुगेर योजना छनौट गर्नसक्ने अवस्था छैन । यद्यपी जनप्रतिनिधिहरुले विभिन्न विकल्प अपनाएर काम गरिरहेका छन् । नागरिकबाट सुझाव संकलन पनि गरिरहेका छन् । यसकारण पनि यसपटक स्थानीय तहले कस्ता योजना र कार्यक्रम ल्याउलान् भन्ने चासो पनि छ ।

यतिबेला कोरोनासँग स्थानीय तह पनि जुधिरहेका छन् । यस्तो अवस्थामा यसपाली स्थानीय सरकारले पनि स्वास्थ्य क्षेत्रलाई नै प्राथमिकता दिनेछन् । स्वास्थ्य पूर्वाधारको निर्माण, स्वास्थ्यकर्मीको व्यवस्थापन र प्रोत्साहन, संक्रमितको उपचार र व्यवस्थापनमा नै बजेट र नीति केन्द्रीत हुने देखिन्छ । यो यसपाली आवश्यक पनि छ । किनकी कोरोना महामारीबाट जोगिए विकास निर्माणको काम अर्को पटक पनि गर्न सकिन्छ ।

यति हुँदाहुँदै पनि स्थानीय तहले अर्को प्राथमिकता दिने सूचीमा कृषि र रोजगारलाई पनि समावेश गर्ने देखिन्छ । रोगबाट बचेपछि मानिसलाई चाहिने भनेको खाना हो । अर्थात रोगसँगै भोकको पनि सामना गर्नुपर्ने हुन्छ । यसकारण पनि स्थानीय सरकारको तयारी कृषिलाई प्राथमिकतामा राख्ने रहेको छ ।

सँगै कोरोना महामारीमा धेरैले रोजगारी गुमाएका छन् । रोजगारी गुमाएका कारण उनीहरुको गाँस खोसिएको छ । यस्तो अवस्थामा उनीहरुलाई रोजगारी दिलाउनुपर्ने हुन्छ । यसकारण पनि रोजगारी सिर्जना स्थानीय सरकारको प्राथमिकता पर्नु पर्दछ । समग्रमा स्थानीय तहले जनप्रतिनिधिको चाहना भन्दा पनि नागरिकको आवश्यकतालाई प्राथमिकता दिनु पर्दछ । स्थानीय स्तर र टोलमा के आवश्यक छ ? के काममा लगानी गर्दा प्रतिफल बढी मिल्छ ?

कसका लागि नीति तथा कार्यक्रम र बजेट आवश्यक हो ? यस्ता विषयलाई ध्यान दिएर आगामी बजेटको तयारी गर्नु राम्रो हुनेछ । यसका लागि जनप्रतिनिधि र स्थानीय सरकारको नेतृत्वले अवश्य सोच्नेछ । तथापी स्थानीय सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य पूर्वाधारको व्यवस्थापन, कृषि उत्पादनमा बढवा, रोजगारी सिर्जना र भौतिक विकासलाई प्राथमिकता दिन आवश्यक छ ।

यसो भएमा स्थानीय सरकारले आफ्नो बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न सक्नेछन् । नागरिकले पनि सहज रुपमा आँगनमै सरकारी सेवा प्राप्त गर्न सक्नेछन् । यसतर्फ स्थानीय सरकार र जनप्रतिनिधिहरुले ध्यान दिन आवश्यक छ ।

स्थानीय तहका प्राथमिकता

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *