२०८१ चैत्र २
×

Now Playing

असफल नेतृत्वलाई महाधिवेशन नै भारी

कुलचन्द्र वाग्ले । साच्चै नेपाली कांग्रेसको नेतृत्वमा रहेको अहिलेको पुस्ता असफल भएकै हो ? इतिहास र अग्रजद्वारा स्थापित बिरासत धान्नै नसक्ने हो यस पुस्ताले ? कांग्रेसभित्र भरोसा लायक नेतृत्व यो पुस्तामा छ कि छैन ?

कांग्रेस पुनर्जीवनको सँघारमा छ कि विघटनको दिशामा ? के इतिहासको पत्रमा प्रजापरिषद्कै हबिगतमा कांग्रेस पनि पुग्छ ? महाधिवेशनको सम्मुख ‘हाई काढ्दै’ गरेको नेतृत्वले बेवास्ता गरोस् कि आत्ममुग्ध होस् यस्ता प्रश्न अहिले छरपष्ट छन् । कुनै एकजनाको होइन, लिखित, अलिखित धेरैले गरेका प्रश्न हुन् यी ।

के यस्ता प्रश्नको उत्तर दिने ऊर्जा कांग्रेसभित्र जिउँदै छ ? शब्दजाल र उडन्ते गफ उत्तर होइन न इतिहासकै बखान । यिनको उत्तर त वर्तमानको संगठनात्मक व्यवहारले दिने हो । भन्नै परेन, कांग्रेसको गति, मति र स्थितिले कस्तो उत्तर दिइरहेको छ ।

पुनः सभापति पदमा दाबा गर्ने देउवाले आत्मसमीक्षा गर्न आवश्यक छैन र ? कांग्रेसका अरू नेताको आत्मबोध के हो ? युवा नेताले कति घाम, कति छाँयामा अस्तित्व खोज्ने ? यसको पनि सीमा होला नि ? सक्रिय सदस्यतासमेत टुंग्याउन नसकेको कांग्रेस नेतृत्वले अझै पनि इच्छाशक्ति देखाओस् ।

नेताको खल्तीभित्र बसेकाले भनिदेलान्, यी प्रश्नमा आग्रह, पूर्वाग्रह छ । तर, कुनै आग्रह छैन । बरु प्रश्नमा यथार्थमा अनुराग छ । प्रजातन्त्रप्रतिको अनुराग । संसदीय, समावेशी लोकतन्त्र नेपालको भूराजनीतिक कारण पनि सबैभन्दा व्यवहारिक प्रणाली हो ।

यसैप्रतिको अनुराग कांग्रेससँग जोडिएर प्रश्न गरिएका हुन् । नेपालको राजनीतिमा लोकतन्त्रको पर्याय नै मानिने कांग्रेस अतिरिक्त अर्को भरपर्दो राजनीतिक संगठन छैन । बाँकी जति ठूला दल छन् तिनको राजनीतिक दर्शन प्रजातन्त्र प्रेरित वा नीति दीक्षित छैनन् । केही प्रभावकारी जनाधार नभएका ससाना संगठन छन् । यही कारण समावेशी, संसदीय, प्रजातन्त्र पक्षधरहरू कांग्रेससँग भरोसा खोज्छन् र बढ्दो निराशामा सुस्केरा हाल्छन् ।

तेह्रौं महाधिवेशनले स्थापित गरेको शीर्ष नेतृत्वको पाँच बर्षे भूमिका फर्किएर हेरौँ । यतिबेला कांग्रेसमा अनपेक्षित तीन पक्ष देखिन्छन् । पहिलो, सत्तामा आँखा वा पद र सुविधाको बाँडफाँट । दोस्रो, अनावश्यक निस्क्रिय । तेस्रो, समय बिताउने मेलो । आफू हुनुको बोध र उद्बोध दिनै चुकेको बेला । उल्लिखित प्रश्न उब्जिनुका कारण यिनै हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा गाउँले उक्तिमा सभापति देउवा ‘ताप्के’,अरू ‘बिँड’ ।

बिँड तातेर पिँध तात्दैन तातेको मानिदैन । इच्छाशक्ति बोधक ‘ताप्केको पीँध तात्नु’लाई भनिएको हो । यही कारण जस, अपजसको भोक्ता ‘प्रथम पुरुष’ सभापति देउवा नै हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै नेतृत्वमा संविधान क्रियान्वित गर्ने पहिलो प्रहरको चुनाव सम्पन्न भए । दोस्रो संविधान सभा कांग्रेसकै सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा संविधान दिन सफल भएको हो । संविधान स्थापित संघीय प्रणालीअन्र्तगत स्थानीय, प्रदेश र संघको चुनाव सम्पन्न गर्न सफल नेतृत्व सभापति देउवाले दिए ।

संविधान विविध राजनीतिक दर्शनका यात्रीबीचको सम्झौता मानिए पनि सिद्धान्ततः कांग्रेसकै मान्यता अनुकूल हो । समावेशी, संसदीय, लोकतान्त्रिक मान्यता स्थापित गरेको संविधान । यही मान्यताको जगमा स्थानीय, प्रदेश र संघ सरकारको चुनाव सम्पन्न भयो । तर, लोकतन्त्रमाथि नै अनिष्ट आएजस्तो त्यतिबेलै कांग्रेसले नै ‘बुरीतरह’ हार बेहोर्नु पर्यो । हारको नैतिक जिम्मा कसैले लिएन ।

पदबाट राजीनामा नदिए पनि पहिलो नैतिक जिम्मा लिनुपर्ने सभापति र तत्कालीन चुनावी प्रधानमन्त्री देउवाले नै हो । जिम्मा अरूकै टाउकोमा देखाइयो । चुनाव परिणाम र नैतिक जिम्मा पन्छाउनु राम्रो भयो र ? यसपछि बन्यो कम्युनिस्ट सरकार अर्थात् एमाले र माओवादी केन्द्र मिली बनेको धान्नै नसक्ने बहुमतको नेकपा सरकार । यसको हबिगत जग जाहेर नै छ ।

विषय कांग्रेसको हो । कम्युनिस्ट सरकारको सुुरुदेखिका प्रत्येक निर्णय लोकतन्त्रको बर्खिलाप रह्यो । पत्रकार, लेखक, विश्लेषकले सजग गराए, विरोध गरे । अप्रत्याशित खुम्चिएकै भए पनि प्रमुख विपक्ष कांग्रेसको निस्क्रिय मौनप्रति चारैतिरबाट खबरदारी गरियो, तर सुनेको नसुन्यै गरे झैँ केही कागजी विज्ञप्तिमा कांग्रेसले समय बितायो । थप, सभापति देउवा नै संविधानको धज्जी उडाउने कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीसँगको चोचोमोचोमा रहेको आरोप लाग्यो ।

भद्रो हेर्दाहेर्दै अब आफ्नैसमेत हालत के भयो ? राजनीति भाँडियो । लोकतन्त्र, संविधान र नागरिक मूल्य, मर्यादा नै ‘डिरेल’ भएको छ । जन प्रतिनिधि संस्था संसदमाथि नै बारम्बार खड्ग मार हानिएको छ । दलहरुको अस्मिता, औचित्यलाई उपहास गरिएको छ । देशलाई चौतर्फी संकटमा धकेलिएको छ । कांग्रेस रहेर कि नभएर यस्तो भयो ?
आन्तरिक संगठन लथालिङ्ग बनाइएको कांग्रेसप्रति अरू पनि प्रश्न छन् । उसले देशको देशको आन्तरिक राजनीतिमा किन प्रभावकारी भूमिका निर्वाह गरेन वा गर्न सकेन ? बाह्य दोस्तीलाई कति सुदृढ र विस्तार गर्यो नेपाली कांग्रेसले ? संगठनको के कुरा गर्नु ? केन्द्रीय नेतृत्वदेखि सबै तदर्थ, तदर्थ हदम्याद थपिएका । आन्तरिक राजनीतिमा यसको भूमिका हालतले बताइरहेछ ।

विरासतमा पाएको जनस्तरको सम्बन्ध र घुलमिललाई कति फैलायो ? कांग्रेसको गाउँठाउँसँग रहेको पहुँच पनि धान्न अशक्त । यस्तो निरीह बेला नेपाली कांग्रेस महाधिवेशनको मुखमा निलिने कि ओकलिने स्थितिमा छ । छिमेकलगायत बाह्य दुनियाँसँग हार्दिक सम्बन्ध कायम राख्न के गर्यो कांग्रेसले ? दल र जनस्तरको आफ्नै सम्बन्ध प्रतिपक्षले उन्नत र प्रतिष्ठित बनाउन सक्दैन कि मिल्दैन ?

यस्तो सम्बन्ध सरकारले मात्रै राख्न पाउने हो र ? सरकारले सरकार र देशबीच सम्बन्ध मधुर बनाएर जनस्तरमा हार्दिकता विकास गर्न सक्छ । तर प्रतिपक्षको पनि त आआफ्नै सम्बन्ध र सम्पर्क सूत्र हुन्छन् नि ! स्वार्थमा अरूले प्रयोग गर्नु प्रगाढ सम्बन्ध मानिदैन । रमिता हेर्दाहेर्दै आएको कोरोना महामारीले टाउको छोप्ने उपाय सबैलाई दिएजस्तो कांग्रेसले पनि अपनायो ।

अरु त भयो नै खासगरी आफ्नै महाधिवेशन तयारी गर्नसक्ने समय पनि कांग्रेसले यही बाहानामा खतम पार्यो । अहिले त थप वर्षा, बाढी, पहिरोको प्रकोप फैलिँदै छ । महामारीले संविधान पनि मर्ने हो कि तोकिएको समय बित्ने हो ? अनि वर्षाले महाधिवेशन गर्नै नपर्ने बेला आउने हो कि ? माथिका अनुत्तरित प्रश्न र स्थितिले कांग्रेस नेतृत्वलाई कुनै पनि भूमिकामा सफल साबित गर्दैनन् । गर्न सक्ने काम पनि नगरेकै देखिन्छ ।

असफल नेतृत्वलाई महाधिवेशन नै भारी भएको छ । पुनः सभापति पदमा दाबा गर्ने सभापति देउवाले आत्मसमीक्षा गर्न आवश्यक छैन र ? कांग्रेसका अरू तहका नेताको आत्मबोध के हो ? युवा नेताले कति घाम, कति छाँयामा अस्तित्व खोज्ने ? यसको पनि सीमा होला नि ? आरम्भिक चरणमा सक्रिय सदस्यतासमेत टुंग्याउन नसकेको कांग्रेस नेतृत्वले अझै पनि इच्छाशक्ति देखाओस् । महाधिवेशन कुनै प्रकार सम्पन्न गरोस् र इतिहास बचाओस् ।

खेल्ने बेला बाँकी छैन । कतै यही मौका कम्युनिस्ट प्रधानमन्त्री ओलीले अर्को वितण्डा मच्चाएर कांग्रेस महाधिवेशन हुन नसक्ने व्यवधान पो गर्ने हुन् कि ? कांग्रेसमात्र शोइन लोकतन्त्र पनि संकटमा छ र संकट टार्न सुदृढ, सफल र जाँगरिलो नेतृत्वले मात्र सक्छ । नेपाली कांग्रेसको नेतृत्व र महाधिवेशनमा लाग्नुपर्ने सबै कार्यकर्ता सजग बनून् ।

(बाह्रखरीबाट)

 

असफल नेतृत्वलाई महाधिवेशन नै भारी

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *