सुर्खेत । कर्णालीसहित देशभर कोरोनाविरुद्धको खोप अभियान प्रभावित भएको छ । भारतले खोप उपलब्ध नगराउँदा खोप अभियान प्रभावित बनेको हो । भारतले कोरोनाविरुद्धको (कोभिसिल्ड खोप) को निर्यातमा रोक लगाएपछि कर्णालीमा पनि खोप अभियान प्रभावित भएको छ ।
कर्णाली प्रदेशमा मात्रै यसअघि खोपको पहिलो डोज लगाएका ८१ हजारभन्दा बढी नागरिकले दोस्रो डोज हालसम्म पाएका छैनन् । गएको फागुन २३ गतेदेखि चैत २ गतेसम्म खोपको पहिलो डोज लगाएका उनीहरुको दोस्रो डोज लगाउनेबारे अहिले पनि निश्चित छैन ।
पहिलो डोज लगाएको निश्चित समयमा दोस्रो डोज लगाउनुपर्ने भनिए पनि खोप उपलब्ध नहुँदा नागरिकले दोस्रो डोज पाउन नसकेका हुन् । उनीहरुलाई दोस्रो डोज दिनेबारे अनिश्चत बनेको हो । दोस्रो डोज नपाउनेहरुमा डोल्पाका दुई हजार पाँचसय ८२ जना, मुगुका तीन हजार एकसय ३५ जना, हुम्लाका तीन हजार सातसय ७१ जना, जुम्लाका ६ हजार पाँचसय ७० जना र कालीकोटका ६ हजार पाँचसय ८० जना छन् ।
त्यस्तै दैलेखका १३ हजार सातसय ७२ जना, जाजरकोटका सात हजार आठसय १३ जना, रुकुमपश्चिमका सात हजार तीनसय ६४ जना, सल्यानका नौ हजार नौसय ७७ जना र सुर्खेतका १९ हजार नौसय ३२ जनाले दोस्रो डोज पाउन नसकेका हुन् । भारतबाट कोभिसिल्ड आउन नसकेका कारण दोस्रो डोज लगाउन नसकिएको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतले जनाएको छ ।
‘प्रदेशले आफैले खोप किन्न पाउँदैन, केन्द्र सरकारले खरिद गरेका खोप आएको छैन’ प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकलपर्शन नोदनारायण चौधरीले भने, ‘कोभिसिल्ड अब आउने नै निश्चित छैन, लाउनेको के निश्चित ?’ भारतमा संक्रमण घट्दै गएका कारण छिट्टै कोभिसिल्ड खोप आउने उनको आशा छ । अग्रीम भुक्तानी नै लिइसकेका कारण खोप आउने सक्ने भन्दै नेपालमा पहिलो मात्रा लगाइएको थियो ।
‘सरकारले अग्रिम भुक्तानी नै गरिसकेको थियो, थप खोप आउँछ भनेर नै खोप अभियान सुरु गरिएको थियो’ उनले भने, ‘दोस्रो डोजका लागि संचित नगरेरै पहिलो मात्रा लगायौँ ।’ नियमतः पहिलो मात्रा लगाएको आठ हप्ता पूरा भएपछि १२ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । तर सरकारले खोप ल्याउन पनि नसक्ने र दोस्रो मात्रा नराखेररै पहिलो मात्रा लगाएपछि नागरिकको स्वास्थ्यमाथि खेलवाड गरिएको छ ।
भारतमा संक्रमण सामान्य हुँदै गएपछि कोभिसिल्ड खोप आउने वा नआउने निश्चित भएको छैन । चैतदेखि भारतमा संक्रमितको सख्या ह्वात्तै बढेपछि खोप आफ्नै देशमा चाहिने भन्दै निर्यातमा रोक लगाएको थियो । नेपालले भारतसँग खरिद गरेको २० लाख डोज खोपमध्ये अहिलेसम्म १० लाख डोज खोपमात्रै नेपाल आएको छ । बाँकी १० लाख डोज निर्यातमा अनिश्ति भएपछि देशभर खोप अभियान प्रभावित बनेको छ ।
दोस्रो डोज संचित गरेर लगाइयो १९ हजारलाई चिनियाँ खोप
कर्णाली प्रदेशका १९ हजार भन्दा बढीलाई कोरोनाविरुद्धको चिनियाँ खोप (भेरोशिल्ड) लगाइएको छ । गएको जेठ २६ गतेदेखि कर्णालीमा ६२ देखि ६४ उमेर समूहका जेष्ठ नागरिकलाई चिनियाँ खोप लगाउन सुरु भएको हो ।
मंगलबारसम्म आइपुग्दा कुल १९ हजार चारसय १५ जनालाई खोपको पहिलो डोज लगाइएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । चिनियाँ खोपको पहिलो डोज लगाएका मध्ये डोल्पाका चारसय १९ जना, मुगुका आठसय ५४ जना, हुम्लाका चारसय ६२ जना, जुम्लाका एक हजार चारसय ७८ जना र कालिकोटका नौसय ८० जना छन् ।
त्यस्तै दैलेखका चार हजार दुईसय ४७ जना, जाजरकोटका पाँचसय चार जना, रुकुमपश्चिमका दुई हजार एकसय १५ जना, सल्यानका दुई हजार दुईसय दुईजना र सुर्खेतका ६ हजार एकसय ५३ जनाले चिनियाँ खोपको पहिलो डोज लगाएका हुन् । यद्यपी खोप अभियान अझै जारी छ । बाढीपहिरो र भौगोलिक विकटताका कारण प्रदेशका अधिकांश जिल्लामा खोप अभियान जारी नै छ ।
पहिलो चरणमा खोप लगाउन डराएका नागरिकहरु अहिले चार÷पाँच घण्टा हिँडेर खोप लगाउन आउने गरेका छन् । यसपालि कर्णाली प्रदेशमा ३१ हजार भन्दा बढीलाई चिनियाँ खोप लगाउने लक्ष्य राखिएको छ । चिनियाँ खोप अहिले ६२ देखि ६४ उमेर समूहका नागरिकलाई मात्रै लगाउने गरिएको छ ।
दोस्रो डोजका लागि संचित राखेर चिनियाँ खोप लगाइएको हो । खोपको दोस्रो डोज आउन समय लाग्ने भएपछि दोस्रो डोजका लागिसमेत संचित गरेर पहिलो डोज लगाइएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
‘भारतले समयमै खोप नदिँदा यसअघि कोभिशिल्ड लगाएकाले दोस्रो डोज पाउन सकेका छैनन्’ सूचनाअधिकारी समेत रहेका चौधरीले भने, ‘चिनियाँ खोप त दोस्रो डोज पुग्नेगरी नै पहिलो डोज दिएका छौँ ।’ चिनियाँ खोप लगाएका सबैले दोस्रो डोज सहजै प्राप्त गर्ने उनको भनाइ छ । ‘पहिले खोप आइहाल्छ भन्ने थियो’ उनले भने, ‘अहिले सचेत भएर दोस्रो डोज संचित गरेर राखेका छौँ ।’
२६ हजारले लगाए खोपको दुबै डोज
कर्णाली प्रदेशका २६ हजार नौसय ५० जनाले मात्रै खोपको दुबै डोज लगाएका छन् । भारतले खोप समयमै उपलब्ध नगरापछि कर्णालीका २६ हजार नौसय ५० जनाले मात्रै खोपको पहिलो र दोस्रो डोज लगाउन पाएका हुन् ।
अग्रपंतिमा खटिने र सुरुमा खोप लगाएका नागरिकले मात्रै खोपको दुबै डोज लगाउन पाएका हुन् । भारतबाट ल्याइएको कोभिसिल्ड खोप मध्ये कर्णाली प्रदेशभर कुल एकखाल आठहजार चासयसय ४६ जनालाई पहिलो डोज लगाइएको थियो । तर दोस्रो डोजका लागि भारतले खोप निर्यातमा रोक लगाएपछि बाँकीले खोपको दोस्रो डोज लगाउनबाट बन्चित भएका छन् ।
युग संवाददाता । । ९ असार २०७८, बुधबार १७:५८