फरार दम्पती १२ वर्षपछि पक्राउ

दैलेख : बहुविवाहको मुद्दामा कैद सजाय तोकिएका कसुरदाता दम्पतिलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ ।  सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ पिपलचौताराका सुनचाँदी व्यवसायी ३३ वर्षीय डिलबहादुर सुनार र ३१ वर्षीया उनकी कान्छी पत्नी सन्तोषी सुनार पक्राउ परेका हुन् ।

दैलेख जिल्ला अदालतको अभिलेख अनुसार बहुविवाह मुद्दामा २०६५ असोज ८ गते तत्कालीन जिल्ला न्यायाधीश कुलप्रसाद शर्माले बहुविवाहको कसुर ठहर गर्दै डिलबहादुर सुनारलाई २ वर्ष कैदसँगै ५ हजार जरिवाना र कान्छी हुन आएकी सन्तोषी सुनारलाई १ वर्ष कैदसँगै १० हजार जरिवानाको फैसला भएको थियो ।

बहुविवाह लगतै २०६४ जेठ ४ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा परेपछि कसुरदारहरु भागेर भारतमा लुकीछुपी बसेका तर फैसला भएको खवर सुनेपछि १० वर्षदेखि सुर्खेतमा सुनचाँदी व्यवसाय गर्दै आएका थिए । डिलबहादुर र सन्तोषीका ३ छोराछोरी छन् । डिलबहादुरले जेठी श्रीमतीलाई घर निकाला गरेर २०६४ वैशाख ३० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ उत्तरगंगाकी सन्तोषीलाई बाजागाजासहित दोश्रो विवाह गरेको थिए ।

कैद तोकिएका व्यक्तिको कैद असुल गर्न अदालतको आदेश अनुसार कसुरदारहरुलाई प्रहरीले सुर्खेतबाट चैत ३ गते पक्राउ गरी ल्याएकोमा जरिवाना असुल गरी उनीहरूलाई कारागार चलान गरिएको दैलेख अदालतका तहसिलदार अधिकृत शंकरप्रसाद अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया