सुत्केरीको सेनाको हेलिकप्टरबाट उद्धार

रामचन्द्र न्यौपाने
डोल्पा, २४ चैत्र ।

डोल्पाबाट एक सुत्केरी महिलाको हेलिकप्टर बाट उद्धार गरिएको छ । ठुलिभेरी नगरपालिका वडा नं ७ बस्ने २३ बर्षिया शान्ति बुढाको आइतबार सेनाको हेलिकप्टर बाट उद्धार गरिएको हो ।

जिल्ला अस्पतालमा गत शुक्रबार मात्रै सफल अप्रेसन गरिएको उहाँको पिसाब रोकिए पछि आइतबार सेनाको हेलिकप्टर बाट थप उपचारका लागि नेपालगञ्ज स्थित नेपालगञ्ज मेडिकल कलेजमा लगिएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । अप्रेसन गराएको १२ घण्टा पछि पिसाब कम हुन थालेकाले जोखिम नहोस भन्दै हेलिकप्टर बाट उद्धार गरेर नेपालगञ्ज लगिएको अस्पतालका डाक्टर सिजन रावलले जानकारी दिनुभयो ।

लामो ब्यथा लागेकाले गर्भवती लाई अस्पताल पु¥याउँदा सम्म बच्चाको पेटमै दिसा भएको र अवस्था जटिल भएकाले उपलब्ध स्रोत साधनको सदुपयोग गरेर शल्याक्रिया गर्दै आमा र बच्चा दुबैको ज्यान जोगाउन सफल भएको समेत डा.रावलले बताउनुभयो ।

सुत्केरीको किड्नीमा समस्या भएका कारण पिसाव रोकिएकाले नेपालगञ्जका सुविधा सम्पन्न अस्पतालमा उपचार हुने डा.रावलको भनाई छ । संघिय सरकारको महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उद्धारको कोष मार्फत सुत्केरीको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले बताउनुभयो । अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया