यातायात मजदुर र पत्रकारलाई दाल, चामल, नून, तेल

सुर्खेत, २७ चैत्र ।

कोरोना भाइरस (कोभिड–१९) को सन्त्रास र सरकारले घोषणा गरेको लकडाउनका कारण जनजिवन अस्तव्यस्थ बनेको छ । दैनिक ज्यालामजुदरी गरेर जिविकोपार्जन गर्ने वर्गलाई यसले ठुलो असर पारेको छ । आफ्नो कम्पनीमा आवद्ध यातायात मजदुर र सुर्खेतका पत्रकारहरुका लागि एक यातायात समितिले दाल, चालम, नून, तेल वितरण गरेको छ ।

सुर्खेतका देउती नागरिक यातायात प्रा.लि. ले विहिबार एक कार्यक्रमवीच दैनिक उपभोग्य राहत सामाग्री वितरण गरिएको हो । देउती नागरिक यातायात प्रालिले आफ्ना २० जना कर्मचारीहरुका लागि प्रति कर्मचारी नगद १५ सय, ५० किलो चामल, ५ केजी दालसहित १ केजी नुन र १ लिटर तेल राहत वितरण गरेको छ ।

राहत वितरण गर्दै देउती नागरिकका अध्यक्ष कमल खड्का ‘जुनी’ ले हामीले यो लकडाउनको बेला संस्थामा आवद्ध कर्मचारीहरुको आर्थिक स्थितिले भोकै बस्न नपरोस भनि राहत वितरण गरेको बताए । उनले भने ‘हाम्रो कार्यले कर्मचारीको मनोबल उच्च रहने र समस्या परेको बेलामा कम्पनी सधैं कर्मचारीको साथमा रहेको सन्देश दिनका लागि राहत वितरण गरेका हौं । त्यति मात्र होइन हाम्रो स्थापनाकालदेखि नै पत्रकार साथीहरुको योगदान उच्च रहेकाले पत्रकार महासंघको समन्वयमा कोठाभाडामा वीरेन्द्रनगरमा बस्दै आउनुभएका पत्रकार साथीहरुलाई केहि खाद्य सामाग्री हस्तान्तरण गरेको छौं ।’

नेपाल पत्रकार महासंघ सुर्खेत शाखालाई २५ केजी तौल भएका ३१ कठ्ठा चामल, डेढ क्वीन्टल दाल, ६० प्याकेट तेल र ३० किलो नून वीरेन्द्रनगरमा कोठाभाडामा बस्ने, न्यून आयस्रोत भएका साथीहरुलाई वितरण गरिएको महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले जानकारी दिए । उनले भने ‘देउती नागरिक यातायात प्रा.लि.ले महासंघलाई गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै कोरोना भाइरसको यो त्रासको वातावरणमा राज्यले गर्नुपर्ने काम तपाईहरुले गर्नुभएको छ । यो अत्यन्तै प्रशंसनीय काम हो । यो राहत हामी श्रमजीवि पत्रकार जसलाई अति आवश्यक परेको छ उहाँहरुलाई वितरण गर्नेछौं ।’

सोही अवसरमा स्थानीय गोरे थारु, सिता थारु, रामबहादुर थारु, प्रदिप वादी, मुस्तकिम अन्सारी, अपांगता भएका अर्का एक अशक्त व्यक्तिलाई १÷१ कठ्ठा चामल २÷२ केजी दाल र नुन, तेल राहत वितरण गरेको देउती नागरिक यातायातका सचिव रमेश खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया