पीडितलाई न्याय देऊ

परिवारमा आर्थिक अवस्था कमजोर थियो । खेती लगाउने जग्गा थोरै थियो । जागिर थिएन । उनीहरुलाई घरखर्च जुटाउनै मुस्किल थियो । केही उपाय नलागेपछि छाक टार्ने उपाय खोज्दै उनीहरु बर्दिया राष्ट्रिय निकुञ्जभित्र पसे ।

त्यहाँ पस्दा राज्यले नै हत्या गर्ला भन्ने उनीहरुले कल्पना पनि गरेका थिएनन् । पेट भर्ने उपाय खोज्न गएका उनीहरु फिर्ता भएनन् । अर्थात निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाले बाँसपानी नजिक उनीहरुमाथि गोली चलायो ।

घटनामा सुर्खेत हरिहरपुरका तीन जना महिला मारिए । हतियार सहितका चोर शिकारी भन्दै हत्या गरिएका उनीहरु जंगलमा काउलो (जडिबुटी) संकलन गर्न पुगेका थिए । यो घटना २०६६ फागुन २६ गते बेलुकीको हो । चोरी शिकारीको आरोपमा हरिहरपुर कप्सेरीका १३ वर्षीया बालिका चन्द्रकला विक, उनकी आमा देवीसरा विक र अमृता विकको हत्याभयो । यो घटना भएको अहिले १० वर्ष वित्यो ।

राज्यले यो घटना विर्सिसकेको छ । तर जसले परिवारका सदस्य गुमाए, उनीहरु अहिले पनि न्याय पाउने आशमा भौंतारिरहेका
छन् । राज्यले नै गोली हानेर हत्या गरिदिएको यो घटनामा पीडितले हालसम्म पनि न्याय पाउन सकेका छैनन् ।
यो घटनापछि निकै विरोध भयो । सेनाले चोर शिकारी भने पनि हत्या भएकाहरु निहत्था थिए । सरकार, नेपाली सेना र निकुञ्जले पीडित परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र दोषीलाई कारवाही गर्ने आश्वासन दिएका थिए त्यसबेला ।

त्यसपछि विस्तारै यो घटना पनि सेलाउँदै गयो । तर हालसम्म न पीडितले क्षतिपूर्ति पाएका छन्, न राज्यले उनीहरुलाई न्याय नै दिएको छ । अर्कोतर्फ हत्यामा संलग्नहरुमाथि पनि कारबाही भएको छैन । बरु निकुञ्ज प्रकासनले अहिले आएर यो घटनाबारे जानकारी नै नभएको प्रतिक्रिया दिन थालेको छ । यसले पनि पीडितलाई उचित क्षतिपूर्ती र न्याय दिलाउनेतर्फ राज्य गम्भिर नभएको संकेत देखिएका छन् । निहत्था महिलाहरुको हत्या भएपछि विभिन्न आयोग र छानबीन समिति बने । ति समितिले पनि निहत्था महिलामाथि सेनाले अनावश्यक बल प्रयोग गरेको प्रतिवेदन सार्वजनिक गरेका थिए ।

छानबीन समितिहरुले नै पीडितलाई उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्नु भन्ने निर्देशन दिए पनि हालसम्म यसको वेवास्ता गरिएको छ । हत्या भएको १० वर्षसम्म पनि न्याय नपाएपछि पीडितहरु न्यायका लागि हारगुहार गर्न थालेका छन् । उचित क्षतिपूर्ती र दोषीलाई कारबाही हुनुपर्ने पीडितको माग छ । यो घटनामा महिलाहरु निकुञ्जभित्र शिकार गर्नका लागि गएका थिएनन् । न त उनीहरुसँग हातहतियार नै थिए ।

निहत्था महिलाहरुमाथि सेनाले बल प्रयोग गरेको थियो । त्यसकारण पनि गोली चलाउनेहरुमाथि कानूनी कारवाही हुन आवश्यक छ । यस्तै राज्यले नै बाचा गरेअनुसार पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन अब ढीला गर्नु हुँदैन । नागरिकलाई न्याय दिलाउने दायीत्व राज्यको नै हो । राज्य अभिभावक भएकाले पनि पीडितको पक्षमा काम गर्न आवश्यक छ । यस्तै यहाँका स्थानीय र प्रदेश सरकारले पनि यो घटनाका पीडितलाई तत्काल न्याय दिलाउनका लागि आवश्यक पहल गर्न जरुरी छ ।

तपाईको प्रतिक्रिया