२०८१ फाल्गुन २९
×

Now Playing

वामदेव गौतमका विकल्प : डोल्पा, पाल्पा वा बर्दिया

काठमाडौं, २१ बैशाख ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउन चुनाव जित्न सक्ने क्षेत्रको खोजी थालिएको छ । वैशाख ८ मा दुई अध्यादेश ल्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आएका गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय शनिबार भएपछि विकल्पको खोजी थालिएको हो ।

गत फागुन १४ मा बसेको सचिवालय बैठकले राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन नगरेपछि क्रुद्ध भएका गौतम प्रतिनिधिसभामा लाने भरपर्दो आश्वासन पाएपछि ओली खेमामै पुगेका छन् । वैशाख ८ को अध्यादेशकाण्डपछि ओलीविरुद्ध आफ्नै निवास भैंसेपाटीमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यको मोर्चाबन्दी गराएका गौतमले प्रतिनिधिसभामा जाने आश्वासनसँगै बोली फेरेका हुन् ।

प्रतिनिधिसभामा जाने बाटो ओलीले नै खोल्ने भएपछि गौतमका लागि विकल्पको खोजी थालिएको छ । सचिवालयमा वामदेवसहित ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादलको साथ पाएपछि ओलीको पक्षमा शनिबार बहुमत देखिएको थियो । वामदेवसमेत आएपछि भैंसेपाटी मोर्चा पनि छिन्नभिन्न भएको छ ।

वामदेवका विकल्प
अघिल्लो सचिवालयमा ओलीले कोरोना हटेपछि प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि उत्साहित वामदेवले कानुनी परामर्श पनि थालिसकेका छन् । उनीनिकट नेकपाका एक केन्द्रीय सदस्यका अनुसार उपनिर्वाचन जित्न सक्ने ठाउँ खोज्नका लागि गौतमले केही दिनदेखि परामर्श थालिसकेका थिए ।

डोल्पा
वामदेवले डोल्पामा यसअघि नै आँखा लगाइसकेका छन् । डोल्पाबाट तत्कालीन पर्यटन राज्यमन्त्री धनबहादुर बूढा सांसद छन् । २०७५ भदौमै वामदेवले डोल्पाबाट उपनिर्वाचन लडेर प्रतिनिधिसभामा आउने प्रयास गरेका थिए । वामदेवको प्रस्तावलाई सुरुमा स्वीकारेका बुढाले जिल्ला पुगेपछि बोली फेरे । मतदाता र कार्यकर्तासँग सल्लाह गरेर आउँछु भनेर गएका बुढाले यसबारे सल्लाह गर्दा आफूमाथि झण्डै ढुंगामुढा भएको भन्दै काठमाडौं आएपछि राजीनामा नदिने बताए । वामदेवलाई पहिलो गाँसमै ढुंगा डोल्पाबाटै लागेको थियो।

त्यसपछि उनले बाँके, काठमाडौं ७ हुँदै स्वर्गीय रवीन्द्र अधिकारीको क्षेत्र कास्की २ मा पनि आँखा लगाए। तर कास्की २ मा उठ्दा हार्ने निचोडसहित उनले अन्तिम समयमा पछि हट्ने निर्णय गरे। कास्की २ मा अहिले रवीन्द्र पत्नी विद्या भट्टराई उपनिर्वाचनमा विजयी भइसकेकी छन् । अब फेरि वामदेवले आफ्नो एक विकल्पका रुपमा डोल्पालाई नै रोजेका बताइन्छ। तर त्यहाँबाट उठ्न सांसद बुढाले राजीनामाका लागि तयार हुनुपर्छ ।

पाल्पा–१
त्यही क्रममा उनले महासचिव विष्णु पौडेलसँग पनि परामर्श गरेका थिए । रुपन्देहीका पौडेलले छिमेकी जिल्ला पाल्पा क्षेत्र नम्बर १ गौतमका लागि राम्रो विकल्प हुने सुझाएका थिए । महासचिव पौडेलकै पहलमा पाल्पा १ का सांसद दलबहादुर रानालाई राजीनामा गर्न लगाएर गौतमलाई त्यहाँबाट उपनिर्वाचन लडाउने भित्री तयारी थालिएको छ । त्यसका लागि महासचिव पौडेलले नै सांसद रानासँग आवश्यक पहल र छलफल गरिसकेको स्रोतले जानकारी दिएको छ।

ओलीले कोभिड–१९ उन्मुलन भएपछि प्रधानमन्त्री बनाउने आश्वासन दिएलगत्तै माधव नेपाल–प्रचण्ड समूह छाडेका गौतमका लागि उनका सहयोगीले उपयुक्त निर्वाचन क्षेत्रको खोजी थालेका हुन् । तर पाल्पाका सांसद रानाले भने यसबारेमा आफूलाई केही थाहा नभएको जानकारी दिएका छन् । उनले गौतमका लागि आफ्नो क्षेत्र छाड्न कसैले नभनेको पनि दाबी गरेका छन् । ‘मलाई यसबारेमा केही जानकारी छैन, कसैले उपाध्यक्ष कमरेडका लागि मेरो क्षेत्र छाड्न भनेका छैनन’, उनले भने, ’पार्टीले निर्णय नै गरेछ भने त्यतिखेरै सोचौँला ।’

बर्दिया–२
वामदेव गत निर्वाचनमा बर्दिया वाम गठबन्धनको तर्फबाट बर्दिया क्षेत्र नम्बर १ मा पराजित भएका थिए । उनी कांग्रेसका सञ्जय गौतमभन्दा ७ सय ५३ मत कम ल्याएर पराजित भएका थिए । लोकतान्त्रिक गठबन्धनका सञ्जयकुमार गौतम ४४ हजार ८ सय २९ मत ल्याएर विजयी हुँदा वामदेवले ४४ हजार ७६ मत ल्याएका थिए । बर्दिया १ मा पराजित वामदेवले पुनः त्यहीँ फर्किने इच्छा पनि देखाएका छन् ।

बर्दिया २ मा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका सन्तकुमार थारु विजयी भएका थिए । उनले पाल्पासँगै बर्दिया–२ लाई पनि अर्को विकल्पका रुपमा हेरेको एक सहयोगीले जानकारी दिएका छन् । जहाँ २०७४ को निर्वाचनमा ५० हजार ५ सय ५५ मत ल्याई थारु विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक गठवन्धनबाट नेपाली कांग्रेसका गोपाल दहित ३६ हजार ७३५ मत ल्याएर हारेका थिए ।

कास्की नजाने
कास्की क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले वामदेवका लागि राजीनामा दिन तयार रहेको कुरा केही दिन अघि बताइसकेका छन् । तर यसअघि कास्की २ मै हार्ने डरले वामदेव पछि हटेका थिए । तत्कालीन पर्यटनमन्त्रीसमेत रहेका रवीन्द्र अधिकारीको निधन भएपछि खाली भएको कास्की २ मा वामदेवले उठ्न जोड गरेका थिए । तर अन्तिममा आफ्नै पार्टीका नेता कार्यकर्ताले हराउने भन्दै उनी पछि हटेका थिए । एमाले नेता खगराज अधिकारी वाम गठबन्धनका तर्फबाट कास्की क्षेत्र नम्बर १ मा ३२ हजार २ सय ४२ मत ल्याएर प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

जहाँ उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका यज्ञबहादुर थापाले २५ हजार ८२६ मत ल्याएका थिए । तर वामदेवले कास्की गएमा फेरि हारिने भन्दै यो पटक पनि हच्किएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक जना अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि कास्कीको निर्वाचन क्षेत्र नम्बर १ का सांसद खगराज अधिकारीले राजीनामा दिने चर्चा चलेको छ । (थाहा खबरबाट साभार)

Leave a comment

Your email address will not be published. Required fields are marked *