खेलाडी प्रोत्साहन पुरस्कारमा ढिलाई
पुनम वि.सी.
सुर्खेत, २६ पौष
गत जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट सहभागी पदक विजेता खेलाडीलाई प्रदेश सरकारले नगद पुरस्कार दिने घोषणा ग¥र्यो । प्रतियोगिताभन्दा एक महिना अगावै कर्णाली प्रदेश सरकारले पदक विजेता कर्णालीका खेलाडीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार दिने घोषणा भएपछि कर्णालीका खेलाडीमा समेत उत्साह जागेको थियो ।
तर निर्धारित समयमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भने भएन । जेठमा आयोजना गर्ने भनिएको प्रतियोगिता असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म चल्यो । कुल ११ समूह सहभागी उक्त प्रतियोगितामा कर्णाली प्रदेश भने अन्तिम स्थानमा रह्यो ।
सामूहिक प्रतिष्पर्धामा अन्तिममै रहेपनि कर्णाली प्रदेशले दुई स्वर्ण, चार रजत र १२ काँस्य पदकसहित कुल १८ पदक जित्यो । प्रदेश सरकारले प्रतियोगितामा सहभागी भएर स्वर्ण पदक विजेता खेलाडीलाई दुई लाख, रजत पदक विजेता खेलाडीलाई एक लाख ५० हजार र काँस्य पदक विजेता खेलाडीलाई एक लाख रुपैयाँले पुरस्कृत गर्ने घोषणा गरेको थियो ।
कर्णाली प्रदेश सरकारले पदक विजेता खेलाडीहरुलाई नगदसहित प्रोत्साहन गर्ने भनेपनि यसतर्फ हालसम्म पनि प्रोत्साहन पुरस्कार दिन सकेको छैन । कर्णालीको प्रदेश खेलकुद परिषद्ले भने पदक विजेता खेलाडीलाई प्रोत्साहन नगद पुरस्कार दिन ढिलाई भएको बताएको छ ।
खेलाडीहरुका लागि प्रोत्साहन पुरस्कार प्रदान गर्न प्रदेश सरकारलाई परिषद्ले यसअघिनै सिफारिश पत्र पठाएको छ । परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले भने, ‘हामीले गत कार्तिक महिनामै सामाजिक विकास मन्त्रालयलाई पदक विजेता खेलाडीहरको नामावली तथा प्रोत्साहन रकम समेतको विवरणको पत्र पठाएका थियौँ । हिजोसम्म पनि भुक्तानीका लागि कुनै निर्णय भने भएको छैन ।’
यस विषयमा परिषद्ले कर्णालीको आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयकाबीच कहाँबाट भुक्तानी दिने भन्ने विषयमा टुंगो नलागेको जवाफ पाएको संज्यालले बताए । उनले भने, ‘सामाजिक विकास मन्त्रालयले आफ्नो बजेटबाट भुक्तानी गर्नुपर्ने अर्थको भनाई छ ।
सामाजिक विकास मन्त्रालयले भने पहिले नै बजेट नछुट्टाईएका यस्ता कार्यक्रममा अर्थ मन्त्रालयले भुक्तानी दिनुपर्ने बताएको छ ।’ पदक विजेता खेलाडीका लागि करिव २५ लाख रुपैयाँ भुक्तानी दिनुपर्ने हुन्छ । सो भुक्तानीका लागि कर्णालीको मन्त्रिपरिषद्को निर्णय आवश्यक हुने उनले बताए ।
‘
सहानुभूति समेत पाएनौँ’ : खेलाडी
‘अन्यन्त्र प्रदेशभन्दा पहिले कर्णालीले खेलाडीका लागि प्रोत्साहन पुरस्कार घोषणा गरेको खबर पाएका थियौँ । अरु प्रदेशले आफ्ना खेलाडीलाई प्रोत्साहन पुरस्कार दिए । स्वागत तथा सहानुभूति दिए, तर कर्णालीमा भने अहिलेसम्म अत्तोपत्तो छैन’, स्वर्ण पदक विजेता दीपक हमालको गुनासो छ ।
प्रदेश सरकारले पदक विजेता खेलाडीलाई बधाई तथा पदक जित्न नसक्ने खेलाडीहरुलाई सहानुभूति दिएपनि खेलाडीमा थप उत्साह बढ्ने उनको भनाई छ । ‘प्रदेश सरकारले खेलाडीहरुलाई बेवास्ता गरेको जस्तो लागिरहेको छ’, उनले भने ।
९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल ३६ खेलमध्ये कर्णालीले २९ खेलमा सहभागिता जनाएको थियो । मार्सल आर्ट र केहि खेलहरु बाहेका खेलमा कर्णालीका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
कर्णालीले एथलेटिक्स, कँराते, तेक्वाण्दो, बक्सिङ, उसु, भारोतोलन, फुटबल, भलिबल, चेस, रग्बी, बास्केटबल, कुस्ती, कबड्डी, हेण्डबल, ब्याटमिन्टन, पौडी, क्रिकेट, सुटिङलगायतका खेलमा सहभागिता जनाएको थियो । खेलकुद प्रतियोगितामा दीपक हमाल (उसुतर्फ) र दुर्गाबहादुर बुढा (एथ्लेटिक्सतर्फ)ले स्वर्ण पदक जिते । एथ्लेटिक्सबाट बुढाले स्वर्णसहित अर्को एक रजत पदक समेत गरी दुई पदक जिते ।
आईटीएफ तेक्वाण्दोतर्फ मिलन धामी र जनकबहादुर बुढाले रजत पदक जिते । उसुतर्फ आशा शाहीले समेत रजत पदक जितिन् । अस्मिता चन्द (बक्सिङ), महेन्द्र बुढाथोकी (आईटीएफ तेक्वाण्दो), गोमा आफ्रे (उसु), प्रमिला भूमि (फुल कन्ट्याक्ट कँराते) काँस्य पदक विजेता बनेका छन् । एलिशा रास्कोटीमगरले कँरातेतर्फ दुई वटा काँस्य पदक जितिन् । ईला खत्री (तेक्वाण्दो), कमला विक (आईटीएफ तेक्वान्दो), जोन रावत (तेक्वान्दो), विभिका बस्नेत (तेक्वान्दो), हिरा आचार्य (जुडो) र प्रकाश शाही (बक्सिङ) समेत काँस्य पदक विजेता बने ।
११ हप्तापछि ‘क्याबिनेट’ पुग्यो फाइल
९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन भएको ११ हप्तापछि कर्णालीको मन्त्रिपरिषद् बैठकमा खेलाडीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार दिने विषयले प्रवेश पाएको छ । ‘क्याबिनेटको बैठकमा सोमबार फाइल पुग्दैछ’, कर्णालीका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले भने, ‘क्याबिनेटको बैठकमा आज नै यो विषयमा निर्णय हुनेछ ।’