२०८१ चैत्र १
×

Now Playing

आचार्यलाई श्रद्धाञ्जली दिँदै गृहमन्त्री लामिछानेले भने– तपाईंको निर्णयमा हामी दोषी छौं, माफ गर्नुहोला

काठमाडौं११ , माघ ।

उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले आफैंलाई आगो लगाएर जलाउने प्रेमप्रसाद आचार्यको निर्णयमा आफूहरू दोषी रहेको बताएका छन्।बुधबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले आचार्यको आत्माको चीर शान्तिको कामना गरेका हुन्।

मंगलबार दिउँसो बानेश्वरस्थित संसद भवनअगाडि आफ्नै शरीरमा आगो लगाएका इलामका आचार्यको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ।

उनका विषयमा गृहमन्त्री लामिछानेले लेखेका छन्–

एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो। दुःख त मलाई यसमा लागेको छ कि हामीजस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन।

यसमा हामी दोषी छौं, म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईंमा आशा जगाउन सकेनौं, हामीलाई माफ गर्नुहोला। तपाईंको आत्माले चीर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि आचार्यको निर्णय राज्यको असफलताका कारण भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्– …एकजना नागरिक संसद भवनको अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन्। त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान् तर सबै भन्दा ठूलो कारण राज्य हो। र, सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।

उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ। राज्यका हरेक तप्का, निकाय र अंगहरू असफल भएका छन्।…पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आचार्यको आत्मदाहलाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।

उनले लेखेका छन्– यी उद्यमी युवाको आत्महत्या प्रकरण निकै मार्मिक छ। सबैले बेलैमा गम्भीरतापूर्वक लिऔं र उपचार खोजौं।अन्यथा युवाहरू विदेश पलायन हुने वा देशभित्रै आत्महत्या गर्ने प्रवृत्ति बढ्दै गएमा देश ठूलो संकटमा फस्नेछ। आरोप–प्रत्यारोप होइन, आत्मसमीक्षा गरौं र सबैले आआफ्नो ठाउककबाट भूमिका निर्वाह गरौं!

सेताेपाटी 

Leave a comment

Your email address will not be published. Required fields are marked *