बागीना नाटक घरको शिलान्यास

सुर्खेत । वीरेन्द्रनगरमा बागीना नाटक घरको शिलान्यास गरिएको छ । बिहिबार वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढाकालले एक कार्यक्रमका बिच नाटक घरको शिलान्यास गरेकी हुन् । नगरपालिकाको मुख्य र कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आंसिक सहयोगमा बागीना नाटक घर (थियटर) बन्न लागेको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख ढकालले नाटक घरको निर्माण प्रारम्भ हुनु आफैमा उच्च र अनुकरणीय काम रहेको बताइन । कर्णाली प्रदेश कला, संस्कृतिको धनी मात्र नभई नेपाली सभ्यताको विकास कर्णालीबाटै भएको ढकालको भनाई छ । बागीना समूहले बिगतदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा लोक, संस्कृति, लोक नाच, सडक नाटक तथा साहित्यका विभिन्न विद्यामा ख्याति कमाउने मात्र नभई सुर्खेतलाई देशभर चिनाउन सफल भएको ढकालले बताईन ।

‘हाम्रो ठाउँलाई चिनाउने, हाम्रो भाषा, कला, संस्कृतिको संरक्षण गर्ने र हामीले जानेको कुरा आउदो पुस्तालाई हस्तान्तरण गर्ने यो नै एउटा प्रमुख माध्यम हो’, नगर प्रमुख ढकालले भनिन, यसलाई संरक्षण गर्नुपर्छ भन्ने सोच हामीले राखेका छौं । नगरपालिकाको तर्फबाट हामीले सकेको सहयोग तपाईहरुसँग समन्वय गरेर अगाडि बढाउने छौं भन्ने कुराको प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

वीरेन्द्रनगर नगरपालिकाको मात्रै नभई कणर्ालीका ७९ वटै पालिकालाई चिनाउनका लागि थियटर कोशेढुङ्गा बन्नेमा विश्वस्त रहेको उनको भनाई छ । करिव डेढ सय जना अट्ने क्षमता भएको नाटक घरको कुल लागत ६० लाख रहेको जनाईको छ । पहिलो चरणमा चालु आर्थिक वर्षको असार मसान्तसम्म काम सक्ने गरी नगरपालिकाले २३ लाखको टेण्डर खोलेर पक्रिया अगाडि बढाएको हो ।

यसमा भवनको जग निर्माण लगायतका कामहरु हुनेछन् भने, दोस्रो चरणको बजेटमा भवन निर्माण सम्पन्न गरिने छ । नाटक घरमा नाटक, गीत संगीत, साहित्य र चलचित्र महोत्सवसमेत गर्न सकिने बागीना समूह सुर्खेतका सचिव भानु अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया