स्थानीय तहका जनप्रतिनिधिले गत शनिवारबाट आफ्ना एक वर्षे कार्यकाल पुरा गरेका छन् । गाउँका सिंहदरबार भनिने स्थानीय तहबाट नागरिकको धेरै आशा र अपेक्षाहरु छन् । संघीयताको दोस्रो कार्यकालमा आइपुग्दा स्थानीय तहले संघीयताको मर्मअनुसार काम गर्न नसकेको आवाजहरु समेत नागरिकस्तरबाट उठ्न थालेका छन् । आफ्नो कार्यकालको पहिलो बजेटको अन्तिम कार्यान्वयन र दोस्रो बजेटको तयारीमा रहेका स्थानीय तहले चुनावमा जनतासँग गरेका प्रतिवद्धताहरु पुरा गर्न के गर्दैछन् ? बजेटमा शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारी लगायतका विषयलाई प्राथमिकतामा राखेको दावी गर्ने जनप्रतिनिधिसँग आगामी नीति, कार्यक्रम तथा बजेटका मुख्य प्राथमिकतामा के-के छन् ?, लगायतका विषयमा रहेर रुकुमपश्चिमको चौरचहारी नगरपालिकाका नगर प्रमुख पुष्प बादीसँग युगआह्वानकर्मीले गरेको कुराकानीको सम्पादित अंशः
तपाई निर्वाचित भएर आएको एक वर्ष पुरा भएको छ । यो अवधिमा जनता माझ गरिएका प्रतिवद्वताहरु के-के पुरा भए ?, के बाँकी छन् ?
विशेष गरेर हामीले गरेका प्रतिवद्धहरुमा केही पुरा भएका छन्, केही निरन्तर चलिरहेका छन् भने केही अझै पुरा गर्न बाँकी छन् । त्यसमा हामी प्रतिवद्ध पनि छौं । म निर्वाचित भएर आएपछि विशेषत् स्वास्थ्य क्षेत्रमा केही सुधार भएका छन् । यसमा हामीले विपन्न परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा जोड्न सफल भएका छौं । जुन परिवारले स्वास्थ्य बीमा वापतको ३५ सय रुपैयाँ तिर्न सक्दैन थिए, ति परिवारको बीमा हामीले नगरपालिकाको तर्फबाट गर्ने व्यवस्था लागु गरेका छौं । अन्य कुरा जस्तै स्वास्थ्य घुम्ती शिविर, गर्भवति महिलाहरुका लागि अल्ट्रासाउण्ड जाँच सेवा सुचारु गरेका छौं ।
१८ सय घरधुरीलाई निःशुल्क स्वास्थ्य बीमाको पहुँचमा ल्याएका छौं । यस्तै पाँच युनिटभन्दा कम खानेपानी प्रयोग गर्ने परिवारका लागि निःशुल्क खानेपानी वितरण गरेका छौं । सुत्केरी महिलाहरुलाई अस्पतालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छौं । अव तत्काल ब्लड बैंकको समेत स्थापना गर्दैछौं । ब्लड बैक नहुँदा हामीलाई संकट परेका बेला प्रत्येक १४ वटै वडामा सबै नागरिकहरुको रक्त समूह पहिचान गरी डाटा राखेका छौं ।
यस्तै हामीले नगर बस सञ्चालनमा समेत ल्याएका छौं । जसमा ज्येष्ठ नागरिक र विद्यार्थीलाई भाडामा ५० प्रतिशत छुटसहित सेवाग्राहीलाई निश्चित समयमा लिने र ल्याउने प्रक्रियालाई अगाडि बढाएका छौं । हामीले नगरपालिका भित्रका मुख्य सडकहरु चौरजहारी-कोटजहारी र नुवाकोटमा कालोपत्रे गर्ने कार्यको समेत सुरुवात गरेका छौं । शिक्षातर्फ विद्यालयमा आइसिटी ल्याव, कम्प्यूटर ल्याव, विद्युतिय हाजिरी र विभिन्न तालिमहरु सञ्चालन गरेका छौं । उद्योगमा हामीले कपि, गार्मेन्ट, जुस, दाना उत्पादन उद्योग सञ्चालनको तयारीमा छौं । हामीले नगरका करिव ८० प्रतिशत घरधुरीमा एक घर एक खानेपानीका धारा पुर्याएका छौं भने बाँकी घरहरुमा डेढ वर्षभित्र खानेपानी धारा पुर्याउने लक्ष्यसहित अगाडि बढेका छौं ।
विद्युतिकरणका सन्दर्भमा दुई/तीन वटा वडा बाहेक अन्य सबै वडामा विद्युत पुर्याएका छौं । बाँकी वडाहरुमा चालु आर्थिक वर्षको मसान्तसम्म पुर्याउने लक्ष्य राखेका छौं । त्यसैगरी पशु बीमा, बालि बीमा कार्यक्रमलाई अगाडि बढाएका छौं । सामाजिक सांस्कृतिक रुपान्तरणका लागि बालक्लव गठन गरी बालविवाह, बहुविवाह र समाजमा रहेका विभिन्न प्रकारका कुसंस्कारलाई अन्त्य गर्न अभियान चलाएका छौं ।
अन्तरजातिय विवाह गर्ने जोडिलाई एक लाख रुपैयाँ प्रोत्साहनवापत रकम दिने नीति लिएका छौं । कृषक सहकारी समूहको गठन गरेका छौं र यसबाट सहुलियत ऋणमा व्यवसाय सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थासँग छलफल चलाई रहेका छौं ।
त्यसैगरी अर्को हामीले सामाजिक रुपान्तरण क्लव भनेर बजेट छुट्याएका छौं, र यही जेष्ठ महिनामा त्यो क्लव प्रत्येक मावि स्कूलहरुमा गठन हुन्छ । पशुपालनतर्फ बाख्रा, भैंसी तथा फलपूmल उत्पादनका आधारमा प्रोत्साहन स्वरुप १० हजारदेखि २५ हजार रुपैयाँसम्म दिने कार्यक्रम अगाडि सारेका छौं ।
विउविजन भण्डारका लागि कोल्ड स्टोर निर्माण गरेका छौं । ढुवानीमा अनुदान दिने कार्यक्रम ल्याउन खोजिरहेका छौं । जसका लागि उत्पादित वस्तुको संकलन केन्द्र स्थापना गर्न आगामी कार्यक्रममा राख्न खोजेका छौं । यसैगरी व्यवसायिकरुपमा उद्यम गर्न चाहने मानिसहरुका लागि लगानीको समस्या नपरोस भनेर आगामी कार्यक्रममा समेट्न लागेका छौं । सिंचाईका लागि प्राय ठाउँहरुमा व्यवस्थापन भईसकेको छ भने, केही ठाउँहरुमा लिफ्ट सिंचाई अगाढी बढाउन पर्ने देखिएको छ ।
यसअघिका जनप्रतिधिले सुरु गरेका राम्रा कामहरुको निरन्तरता दिदैं खरका छानामुक्त बनाउने अभियान अन्तर्गत ३७ वटा विद्यालयमा जस्तापाता लगाएका छौं । विद्यार्थीहरुलाई कपि र पोशाक निःशुल्क दिने व्यवस्था गरेका छौं । अब हामीले मुख्यतः कृषि र पशुपालनलाई लक्षित गरेर उत्पादन र रोजगारीमा सामाजिक रुपान्तरणको काम गर्ने गरी अगाडि बढ्ने लक्ष्य लिएका छौंं ।
घरदैलोका सिंहदरवार सेवक भन्दा पनि शासक भए भन्ने आरोप तपाईहरु माथी छ । नागरिकले प्रत्यक्ष अनुभुति गर्ने गरी सुशासनसहितको सेवा प्रवाहमा कसरी काम गर्नु भएको छ ?
कयौं ठाउँका घटनाक्रमले स्थानीय तहका प्रमुखहरु, उपप्रमुख, वडा प्रमुखका कार्यशैलीले जनप्रतिनिधिको बदनाम भएका त छन् । तर, एउटा ठाउँमा उठेको कुरा भाइरल बनाईन्छ, यो गलत हो । विशेषतः स्थानीय तह जनताको प्रत्यक्ष सेवामा समर्पित छ । खानेपानी, शिक्षा, रोजगारी लागायत साना-साना कुरामा स्थानीय तहले सेवा दिदै आएको छ ।
एक दुई ठाउँमा जनप्रतिनिधिका कार्यशैलीका कारण शासक भनिहाल्नु भन्दापनि अहिले जनताले अनुभूति गरको नुनदेखि सुनसम्मको सरकार भएका हुनाले हामीले नगरवासीले प्रत्यक्ष सेवाको अनुभुत गर्ने गरी सुशासनसहितको सेवा दिने प्रयत्न गरिरहेका छौं ।
आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको तयारीमा हुनुहुन्छ, संघ र प्रदेश सरकारबाट के अपेक्षा राख्नु भएको छ ?
हामी यही विषयमा प्रदेशसँग मंगलबार छलफल गरेका थियौं । यसमा हाम्रो भनाई के छ भने, संघ, प्रदेश र स्थानीय तहले गर्ने कामको क्षेत्राधिकार तोकिनु पर्छ । पालिकाहरुले गर्न नसक्ने कामहरु संघ प्रदेश सरकारले गर्नुपर्यो । सामान्य दैनिक जीवनमा घट्ने घटना र आवश्यक पर्ने कामकाजको जिम्मा स्थानीय तहलाई दिउँ । विकास निर्माण र रोजगारी सिर्जना गर्ने कामहरु प्रदेश र संघ सरकारले जिम्मा लिनुपर्छ ।
बाटो स्तरोन्ती, ठुला खाले वृहत आयोजनाहरुलाई सरकारले स्तर वर्गिकरण गरेर योजना दोह्रोरिने प्रवृत्तिको अन्य संघ र प्रदेश सरकार तहबाट होस् भन्ने हाम्रो चाहाना हो । पछिल्लो सयम यो समपुरक र विशेष अनुदान दिनमा जुन कन्जुस्याई गरिएको छ । यसमा स्थानीय तह छ र यसले पनि जनतामा लगानी गर्छ भन्ने तथ्यको मनन् गरिनु पर्छ भन्ने हाम्रो मान्यता हो ।
स्थानीय तहलाई आवश्यक पर्ने कानून नहुँदा सेवा प्रवाहमा समस्या भएको हो ?
कानून अभाव भन्दापनि हामीकहाँ कानून धेरै भएर झन् भद्रगोल भएको छ । कानून नभएर काम गर्न असजिलो भएको होइन कि कानून धेरै भएर कार्यान्वयनमा समस्या चै पक्कै भएको हो ।
कानून एउटा बनाउने तर कार्यान्वयन अर्को गर्ने प्रवृत्ति छ । नीति तथा कार्यक्रम एउटा बनाउने तर बजेट कार्यान्वयन गर्ने परिपाटी चाहीँ छुट्टै हुने, यसो भएको हुनाले हामीकहाँ कानूनको अभाव छैन । तर, कार्यान्वयनमा अड्चन भने देखिन्छ । गलत कानूनहरुको संसोधन हुनु पर्छ र नागरिकले बिना झन्झट सेवा लिन सक्ने गरी कानून बनाईनु पर्दछ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
पछिल्लो समय राजनीतिक पार्टी, नेता तथा कार्यकर्ता र आम जनतामा नकारात्मक व्याख्या विकसित छ । सानो कुरालाई तोडमोड गरी ठुलो बनाउने भन्दा पनि सकारात्मकता तर्फ ध्यान दिएर बिग्रेका कुरालाई समालोचना गरेर अगाडि बढौं । सबै जनताको सेवामा लागेका छौं । स्थानीय, प्रदेश र संघ सरकारलाई सबैले सहयोग गरौं । नकारात्मक भावनाको विकासलाई अन्त्य गरेर सकारात्मक सोचमा अघि बढौं भन्ने कुरामा म सबैलाई विषेश अनुरोध गर्न चाहन्छु ।
युग संवाददाता । । ४ जेष्ठ २०८०, बिहीबार १२:२२