बीमा बेथितिका दोषिलाई कानूनी दायरामा ल्याऊ !

तत्कालिन अजोड इन्स्योरेन्स लिमिटेड मार्फत नियम विपरित सवारी धनिलाई दावी भुक्तानी गरेपछि अहिले नीजि क्षेत्रमा भईरहेको अनियमितता तथा बेथिति उजागर भएको छ । सवारी धनि, बीमा कम्पनीका कर्मचारी र ट्राफिक प्रहरीको मिलेमतोमा बीमा रकम भुक्तानी भएको आरोप लागेपछि कर्णालीको बीमा क्षेत्र अहिले बेथितिबाट टाढा नभएको स्पष्ट भएको छ । मादक पदार्थ सेवन गरेका सवारी चालकबाट भएको दुर्घटनामा दावी भुक्तानी हुँदा बीमा क्षेत्र कति संवेदनशिल छ भन्ने प्रष्ट छ ।

कर्णालीमा बीमा क्षेत्र त्यति धैरै फैलिएको पनि होइन । अत्यावश्यक र अनिवार्य भएका कारण यहाँ कर्णालीमा सवारी बीमा मात्र प्रगति उन्मुख छ । जीवन बीमा तथा निर्जिवन तर्फका अन्य बीमा सेवा भने कर्णालीका स्थानीय स्तरमा अझै पुग्न सकेका छैनन् । बीमा पछि भुक्तानी प्रक्रिया निकै झन्झटिलो छ भन्ने शंका अहिले पनि कर्णालीका नागरिकमा निकै विद्यमान छ । नियम मिचेरै अजोड इन्स्योरेन्सले गरेको दावी भुक्तानी उदाहरणले भने बीमा क्षेत्रमा समेत भ्रष्टाचार र अनियमितताको जालो मौलाएको प्रष्टाएको छ । यसले नागरिकहरुलाई बीमा प्रति आर्कषण गर्दैन । बीमा क्षेत्र निकै संवेदनशिल क्षेत्र हो । यहाँ नागरिकहरु आफु र आफ्नो सम्पत्तिको जोखिम न्युनिकरणका लागि जोडिन आईपुग्छन् ।

अजोड इन्स्योरेन्सद्वारा भएको दावी भुक्तानी बेथिति हुँदा ट्राफिक प्रहरी, पहुँचवाला नागरिक र बीमा कम्पनीका कर्मचारीको मिलेमतो विना सम्भव नै देखिदैन । ट्राफिक प्रहरीले समेत दुर्घटनाको विवरणमा पूर्ण सूचना प्रदान नगर्नु, बीमा कम्पनीबाट खटिने सर्वेयरले समेत आफ्नो जिम्मेवारीपूर्ण काम नगर्नु कानून विपरितका कार्य हुन् । बीमा दावी भुक्तानीमा दुर्घटना पश्चात चालकको स्वास्थ्य परिक्षण पहिलो खुड्किलो हो । यसै तहमा नै तीन पक्षहरु आफ्नो कर्तव्यबाट विमुख भएका छन् । अस्पतालका चिकित्सकबाट चालकले मादक पदार्थ सेवन गरेको भन्ने पुष्टी हुँदाहुँदै पनि सो विवरण लुकाउनुलाई नियममाथि नै प्रहार गरेको देखिन्छ । आफ्ना कार्यसम्पादन प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन तथा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय बनाउन सूचना लुकाउनु हुदैन । विधिको शासन अनुसार चल्नु पर्ने निकायहरु हुकुमी ढंगले संचालित भएपछि ती निकायका सूचना गोप्य हुने नै भए । प्रत्येक कानूनमा लेखिएका प्रावधानको असल मनसायले व्याख्या गरी काम गर्नुपर्ने हुन्छ । प्रत्येक पदाधिकारीलाई कानूनले दिएको स्वविवेकी अधिकार सँधै राष्ट्र र जनताको हितका पक्षमा प्रयोग गर्नुपर्छ । सूचना लुक्न थाल्यो भने, भ्रष्टाचार मौलाउछ । यस घटनामा समेत सूचना लुकाएरै बेथिति भएको हो ।

भुक्तानी दिने बीमा कम्पनीका कर्मचारी पहिलो दोषि हुन् । ट्राफिक प्रहरीलाई समेत दुर्घटनाको अपूर्ण विवरण दिएकोमा अनुसन्धानमा ल्याउनुपर्छ । त्यसैगरी भुक्तानी लिने नीजि क्षेत्रलाई समेत गलत नियतको आरोपमा कारवाहिको दायरामा ल्याउनुपर्छ । बेथितिका कारण भएको भुक्तानी फिर्ता ल्याउदैमा मात्र अव युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सामाजिक छवि सुध्रन्छ भन्ने छैन । यस घटनाले बीमा क्षेत्रमा भएको बेथितिलाई उजागर गरेको हो । त्यसैले घटनाका दोषि कर्मचारी तथा निकाय सबैलाई कानूनी कारवाहिको दायरामा ल्याउनुपर्छ ।

तपाईको प्रतिक्रिया