सुर्खेत। आईतवार वीरेन्द्रनगरमा व्यवसाय सञ्चालन गरेका थुप्रै व्यवसायीले सास्ती भोगे । आर्थिक वर्ष २०७९/०८० को अन्तिम दिन आर्थिक हिसाव–किताव मिलानमा समस्या भोगेका व्यवासायीले आफ्ना गुनासा सामाजिक सञ्जालमा समेत व्यक्त गरे । सामाजिक सञ्जाल व्यवसायीहरुले आत्महत्याको समेत झल्को आउने गरी लेख्न भ्याएका थिए ।
सुर्खेतका परिचित व्यवसायीहरुले आईतवार साँझ सामाजिक सञ्जालमा व्यक्त गरिएका भावनाबाट समेत अर्थतन्त्रका दृष्टिकोणमा २०७९/०८० कस्तो रह्यो ?, भन्ने आँकलन गर्न सकिन्छ । ‘२०७९/०८० व्यवसायीहरुका लागि निकै पीडादायी वर्ष भयो । बैंकले बढाएको व्याज घटेन । बजारमा व्यवसायहरु पूर्ण रुपमा सञ्चालन भएनन् । समग्रमा यो वर्ष व्यवसायीका लागि कालो वर्ष अनुभव भएको भन्न सकिन्छ’, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले भने ।
कोभिड–१९ संक्रमण जोखिम समयपछि यसको मुख्य असर अर्थतन्त्रमा देखियो । रुस र युक्रेनको युद्दले इन्धन लगायतका महंगी बढ्यो । कर्णालीको बजार समेत यसको प्रत्येक्ष असरबाट गुज्रियो । यहाँको बजार चलायमान नै भएन । व्यवसायीहरु समयमै भाडा समेत बुझाउन नसक्ने अवस्थामा भए । बैंक तथा वित्तीय संस्थाले ब्याज बढाए, व्यवसायीहरु यसको प्रत्येक्ष मारमा परे । २०७९/०८० को पुष मसान्तमा थुप्रै व्यवसायीले ऋण भुक्तानी गर्न सकेनन् । पुष मसान्तमा थुप्रै व्यवसायीले ऋणको नविकरण मात्र गरेको अध्यक्ष कँडेलको भनाई छ ।
नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयको अध्ययन प्रतिवेदनले समेत कर्णालीमा ऋण बढेको संकेत गर्छ । कार्यालयको ‘अर्ध वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन, २०७९’ले कर्णालीमा पाँच अर्व २८ करोड ७७ लाख ९० हजार रुपैयाँ औद्योगिक कर्जा रहेको जनाएको छ । यो कर्जा २०७९ पुष मसान्तसम्मको मात्र हो ।
२०७८ पुष महिनाको तुलनामा २०७९ पुषमा कर्णालीमा औद्योगिक कर्जा ४४ प्रतिशत बढीले वृद्धि भयो । २०७८ पुषसम्ममा कर्णालीमा तीन अर्व ६७ करोड नौं लाख ९० हजार रुपैयाँ औद्योगिक कर्जा विद्यमान थियो । जिल्लागत रुपमा हेर्दा जुम्लामा सबैभन्दा धेरै दुई सय ३० प्रतिशतसम्म औद्योगिक कर्जा थपिएको देखिन्छ ।
२०७९ पुष मसान्तसम्ममा जुम्लामा औद्योगिक कर्जा ७३ करोड १० हजार रुपैयाँ पुगेको छ । यसअघि २०७८ पुषमा यस जिल्लामा २२ करोड आठ लाख ८१ हजार रुपैयाँ मात्र औद्योगिक कर्जा थियो । डोल्पा, कालिकोट र जाजरकोट वाहेक अन्य जिल्लाहरुमा ५७ प्रतिशतसम्म औद्योगिक कर्जा बढेको छ । यि तीन जिल्लामा औद्योगिक कर्जा नकारात्मक (घटेको) देखिन्छ ।
‘बैंकमा अहिले डिपोजिट मात्र कम भएको होला । तर बैंकमा पैसा थुप्रिएको छ । बजार चलायमान बनाउन त्यो पैसा लगानी गरिनुपर्छ’, अध्यक्ष कँडेलले भने, ‘बैंकले एक अंकमा व्याजदर कायम गर्नुपर्छ ।’
घर जग्गा र सेयर कारोवारमा वृद्धि गर्न सके बजार चलायमान हुने उनको भनाई छ । बजार चलायमान भएमात्र व्यवसायहरु सञ्चालन हुने तथा कर्णालीको अर्थतन्त्र सुध्रिने उनले बताए ।
‘सुस्ताएको अर्थतन्त्र’
२०७८/०७९ मा नेपालका कुल आर्थिक वृद्धिदर पाँच दशमलव ६१ प्रतिशत थियो । २०७९/०८० मा देशको आर्थिक वृद्धिदर एक दशमलव ८६ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको थियो ।
कर्णालीमा भने २०७८/०७९ मा पाँच दशमलव ३२ प्रतिशत आर्थिक वृद्धिदर थियो । २०७९/०८० मा एक दशमलव ९१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ ।
‘समग्रमा भन्नुपर्दा २०७९/०८० मा कर्णालीको अर्थतन्त्र निकै सुस्त रहेको भन्न सकिन्छ । कमजोर आर्थिक वृद्धिदरमा अर्थतन्त्र सुस्त रहनु स्वभाविक नै हो’, नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयका उप–निर्देशक बाबुराम कोइरालाले बताए । एकातिर आर्थिक वृद्धिदर नै निकै न्यून छ । अर्को तर्फ, नेपालको कुल ग्राहस्थ उत्पादनमा कर्णालीको योगदान चार दशमलव एक प्रतिशत मात्र छ । यस तथ्यांकले समेत कर्णालीको अर्थतन्त्रमा संकुचन आएको जनाउने उनले बताए ।
सरकारको बजेट खर्च नहुनु तथा भएपनि समयमा नै नभएका कारण यसको असर अर्थतन्त्रमा पर्छ । समयानुकुल बजेट खर्च नहुँदा रोजगारीमा समस्या तथा बजार चलायमान नहुने उनले बताए ।
युग संवाददाता । । २ श्रावण २०८०, मंगलवार ११:४७