सुर्खेत, ३० साउन ।
सुर्खेतमा ६ महिनाको अवधिमा चेक बाउन्स अनादार सम्बन्धिका दुई सय ९७ वटा मुद्दा प्रहरीकोमा पुगेका छन् । आर्थिक वर्ष २०७९/o८० को माघ महिनादेखि हालसम्ममा उक्त संख्यामा मुद्दाहरु प्रहरीकोमा पुगेका हुन् ।
ति मुद्दा मध्ये हालसम्ममा जिल्ला प्रहरी कार्यालय, सुर्खेतबाट १५ वटा उजुरी सहमतिमा टुंगिएका छन् । मुद्दा दर्ता भएर छलफलमा क्रममा एक सय १४ वटा रहेका छन् । दर्ता भईसकेका एक सय २८ वटा मुद्दा मध्ये ९० वटा मुद्दा फछ्यौट भईसकेको र ३८ वटा मुद्दा बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।
चेक बाउन्स तथा बैंकिङ कसुरमा जाहेरी दिनेहरुमा पुरुषहरुको संख्या धेरै छ । मुद्दामा पीडक तर्फ करिव ३० प्रतिशतको संख्यामा महिलाहरु रहेको उनले बताए । हालको समयमा प्रहरीले अनुसन्धान पछि नयाँ उजुरी दर्ता गर्न ४० उजुरी अझै बाँकी नै रहेको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए ।
साइबर र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतमा
सरकारले विद्युतीय कारोबार ऐन (साइबर अपराध) र बैंकिङ कसुरसम्बन्धी क्षेत्राधिकार फराकिलो बनाउँदै सबै जिल्ला अदालतमा मुद्दा दर्ता हुनसक्ने व्यवस्था गरेको छ ।
काठमाडौं जिल्ला अदालतमा मात्रै दर्ता हुँदै आएको विद्युतीय कारोबार सम्बन्धीका मुद्दा जिल्ला अदालतमा दर्ता हुन थालेका छन् । त्यसैगरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतका कसुरसम्बन्धी मुद्दा उच्च अदालतमा रहेका बाणिज्य इजलासमा मात्रै हेर्ने गरिएको थियो । अब भने सबै जिल्ला अदालतमा दर्ता भएर हेर्न थालिएको छ ।
देशका हरेक ठाउँबाट साइबर क्राइमसम्बन्धी मुद्दा दर्ता गर्नका लागि काठमाडौं जिल्ला अदालतमा धाउनुपर्ने बाध्यता हटेको छ । सरकारले साउनदेखि विद्युतीय कारोबार ऐन अनुसार मुद्दा अन्य जिल्लामा दर्तासँगै मुद्दासँग सम्बन्धित मिसिल प्रमाण तथा अन्य अभिलेखहरू सम्बन्धित जिल्ला अदालतमा सार्ने भाएको छ ।
असारमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ६० को उपदफा ५ ले दिएको अधिकार प्रयोग गरी ऐनको परिच्छेद ९ मा उल्लेख भए बमोजिमका कसुरको सुरु कारबाही र किनारा गर्नेसम्बन्धी निर्णय गरेको थियो ।
त्यसपछि जिल्ला अदालतमा तोकिएका क्षेत्राधिकारका विषयमा राजपत्रमा सूचना प्रकाशित गरिएको थियो । प्रविधिका कारण साइबर अपारधका मुद्दाहरू बढिरहेको बेला सबै जिल्ला अदालतमा दर्ता हुँदा सेवाग्राहीलाई सहज बनेको छ ।
चेक बाउन्स हेर्न छुट्टै जनशक्ति
अन्य उजुरीको तुलनामा चेकबाउन्स अनादार सम्बन्धिका उजुरीहरुको संख्या बढ्न थालेपछि प्रहरीले छुट्टै शाखाका रुपमा जनशक्तिलाई खटाएको छ । यि मुद्दालाई हेर्नका लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा छुट्टै शाखा बनाएर प्रहरी नायव निरीक्षकको नेतृत्वमा टोलि नै गठन गरेर कार्यान्वयन अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए ।
यस सम्बन्धिका मुद्दा प्रहरी कार्यालयमा बढ्दो क्रममा छ । उजुरी आउने तर सम्पर्क गर्न खोज्दा व्यक्ति फेला नपर्ने, कोही भारत गएको भन्ने, कोही विदेश गएको छु भन्ने, कोही काठमाडौं लुकेर बस्ने गरेकाले पनि समस्या उत्पन हुने गरेको उनले जानकारी दिए ।
आर्थिक मन्दीका कारणले गर्दा नागरिकको आर्थिक व्यवहार बिग्रेर चेक अनादार मुद्दाका पीडक बनेकाहरु अधिकांश मानिस नभेटिएको उनले बताए । तर पनि जिल्ला प्रहरी कार्यालयले मुद्दाका ५० प्रतिशत पीडकहरुलाई सम्पर्कमा ल्याएर समाधान प्रक्रिया अघि बढाएको उनी बताउँछन् ।
युग संवाददाता । । ३० श्रावण २०८०, मंगलवार १६:५८