सुर्खेत, ४ भदौ ।
सुर्खेतको चौकुने गाउँपालिका क्षेत्रमा चुनढुंगाको खानी रहेको वि.सं. २०३५ सालमै पत्ता लागेको थियो । त्यसपछि खानी तथा भूगर्भ विभागले दुई वर्षसम्म यस क्षेत्रमा चुनढुंगा खानीका विषयमा विस्तृत अध्ययन समेत गरेको थियो ।
सोपछि विभाग मार्फत मुक्ति श्री सिमेन्ट प्रालिले उक्त खनिज पदार्थ खनिज कार्य अनुमति लियो । कम्पनीले यहाँ उद्योग सञ्चालनको अनुमति लिएको १४ वर्ष पुरा हुदैछ । तर हालसम्म पनि चौकुने गाउँपालिकामा कम्पनीको सम्पर्क कार्यालयको एउटा सानो बोर्ड वाहेक अरु संरचना निर्माण भएको भने छैनन् ।
वि.सं. २०६६ भदौ २१ गते अनुमति लिए यता मुक्ति श्री समुहका अध्यक्ष अजय सुमार्गी पटक पटक सुर्खेत आए । पत्रकार सम्मेलन समेत गर्दै उनले यहाँका नागरिकलाई उद्योग सञ्चालनको समायावधि एकिन गर्दै यहाँका नागरिकलाई मख्ख बनाए । तर अनुमति लिएको १३ वर्ष ११ महिना १३ दिनसम्ममा समेत चौकुने गाउँपालिकामा उद्योग सञ्चालमा पूर्वाधार निर्माण तर्फ कुनै ठोश निर्णय वाहिर आउन सकेको छैन ।
यसअघि वि.सं. २०७६ असारमा सुर्खेत आईपुगेका अध्यक्ष सुमार्गीले एक वर्ष भित्र उद्योग सञ्चालनमा ल्याउने दावि गरेका थिए । सो समयमा सुर्खेत उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा उनले ‘यसअघिनै मैले पश्चिम नेपालबाट आर्थिक सुर्य उदाउँछ भनेको छु । यहाँका नागरिक भारत मजदुरी गर्न र सलाम ठोक्न जानुपर्ने बाध्यता छ ।
अव कर्णालीमा यस्तो क्लास रोक्नुपर्छ’, भन्दै २०७६ भदौ महिना भित्र काम शुरु हुने दावि गरेका थिए । सो समयमा पत्रकारहरुसँग कुरा गर्दै उनले उद्योगमा साढे ६ अर्ब लगानी हुने र २०७७ भदौंबाट उत्पादन सुरु गर्ने समेत दावि गरेका थिए ।
पूर्वाधार पुग्यो, आएन मुक्ति श्री
चुनढुंगाको खानी भएपनि सडक, विद्युत जस्ता पूर्वाधारको अभावका कारण उद्योग सञ्चालनमा कठिनाई उत्पन्न भएको कम्पनीले वारम्वार बताउँदै आएको छ । अनुमति पत्र लिएर पनि उद्योग सञ्चालन नगरेको भन्दै कम्पनी विरुद्द सवोच्च अदालतमा यसअघि उजुरी समेत परेको थियो ।
अनुमति पत्र आफ्नो नाउँमा राख्दै हालसम्म पनि उद्योग सञ्चालन नगरेको भन्दै अनुमति पत्र खारेजीको माग सहित सर्वोच्चमा परेको उजुरी विरुद्द सुमार्गीको कम्पनीले मुद्दा जितेको थियो । सो समयमा पूर्वाधार अभावका कारण उद्योग सञ्चालन गर्न नसकेको तर्क पेश भएपछि कम्पनीले मुद्दा जितेको हो ।
तर हालको समयमा भने चौकुने गाउँपालिकाको क्षेत्रमा उद्योगलाई आवश्यक पर्ने पूर्वाधारहरुको निर्माण भईरहेका छन् । उद्योगका लागि पूर्वाधार निर्माण भईसकेको अवस्थामा समेत सञ्चालन तर्फ ध्यान नदिनु दुःखद् रहेको चौकुने गाउँपालिकाका पूर्व अध्यक्ष उपेन्द्रबहादुर थापा बताउछन् ।
खानी रहेको क्षेत्रमा सडकमार्ग समेत पुगिसकेको छ । यसका साथै उद्योगका लगि आवश्यक पर्ने २५ मेगावाट विद्युत समेत त्यस क्षेत्रमा उपलब्ध हुने विद्युतको संरचनागत सम्भावना छ । तर विद्युतको व्यवस्था नभएसम्मका लागि पाँच÷पाँच सय किलोवाट क्षमताका दुई वटा जेनेरेटर मार्फत उत्पादन शुरु गर्ने बताएका सुमार्गीले हालसम्म पनि काम अघि बढाएका छैनन् ।
खानी क्षेत्र चौकुने गाउँपालिकाको चौकुने, गुटु, कुँवा, खोप्री, थरलगाउँ, काफलगैरा र ओटपोखरीमा गरी करिव दुई सय विगाहा क्षेत्रफलमा फैलिएको छ । सुमार्गीले यस अघि सञ्चार माध्ययमलाई दिएको जानकारीका अनुसार उद्योगले दैनिक ६ सय टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिइएको थियो ।
एक महिनामा काम शुरु हुने
चौकुने गाउँपालिका–८ गुटु, मा सिमेन्ट उद्योग सञ्चालनका लागि मुक्ति श्री सिमेन्ट प्रालिले लिएको अनुमति पत्र १२ औं पटकसम्म नविकरण भईसकेको छ । भुगर्भ विभागले अनुमति दिने तर हालसम्म पनि उद्योग सञ्चालन प्रक्रिया अघि नबढेको भन्दै प्रनिनिधि सभा सदस्य हृदयराम थानी लगायतको समुहले यसअघि नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, काठमाडौंलाई ध्यानाकर्षण गराएका थिए ।
सो पछि मुक्ति श्री समुहका अध्यक्ष सुमार्गी लगायतसँग भएको छलफलमा सुमार्गीले एक महिना भित्र उद्योग सञ्चालनको काम शुरु गर्ने जनाएका छन् । नेता थानीसँगै छलफलमा गएका चौकुने गाउँपालिकाका पूर्व अध्यक्ष उपेन्द्रबहादुर थापाले भने, ‘छलफलमा मुक्ति श्रीका अध्यक्षले एक महिनामा काम शुरु गर्ने बताउनुभएको छ ।’
मुक्ति श्री सिमेन्ट प्रालिलाई जिम्मेवार बनाई सिमेन्ट उद्योग यथाशिघ्र सञ्चालनमा ल्याउनुपर्ने कांग्रेस नेता थानी लगायतको समुहको माग थियो । उक्त छलफलमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, मन्त्रालयका सचिव मुकुन्द निरौला, मुक्ति श्री समुहका अध्यक्ष अजय सुमार्गी, पन्चपुरी नगरपालिकाका पूर्व नगर प्रमुख उपेन्द्र थापा र कांग्रेस नेता कालिप्रसाद शाक्य लगायतका पदाधिकारी उपस्थित थिए ।
युग संवाददाता । । ३ भाद्र २०८०, आईतवार १९:५९