सम्पादकीय : रेक्चा गाउँमा पानी कहिले पुर्‍याउने ?

चौकुने गाउँपालिका–५ स्थित रेक्चा गाउँ सधै पानीको संकटबाट गुज्रिरहेको छ । गाउँमा पानीको अभाव भएपछि यहाँ अहिलेसम्म करिव ५० घरधुरी गाउँ छाड्दै बसाई सरेर गएका छन् । गाउँका रेक्चा, खाडगाडी, हाडकाँध, खेल र ढुंगालोटे वस्तीका कुल एक सय २० घरधुरी मध्ये ७० घरधुरी मात्र अहिले गाउँमा वसोवास छ । पिउने पानीकै समस्याका कारण नागरिकहरु बसाईसरी जानु सकारात्मक पक्ष होइन । पानी जस्तो आधारभुत र मानविय आवश्यकतासँग जोडिएको सुविधा रेक्चावासीले नपाउँनु निकै दुखद् विषय हो । हालै मात्र उच्च अदालत, सुर्खेतले रेक्चा गाउँमा पानीको प्रबन्ध गर्न स्थानीय तह तथा प्रदेश सरकार लगायतलाई आदेश समेत दिएको अवस्था छ ।

प्रश्न कहाँ छ भने, हालको समयसम्ममा पनि यो क्षेत्रमा पानीको प्रवन्ध पु¥याउन राज्यका तीन तहका सरकारको किन ध्यानाकर्षण भएन ? संघीयता कार्यान्वयन तर्फ हामी अहिले दोस्रो कार्यकालमा आईपुगेका छौं, यसविच रेक्चा क्षेत्रमा निर्वाचन ताका मत माग्न पुगेका जनप्रतिनिधि, सांसदहरुले समेत त्यहाँको समस्याका वारेमा जानकार नभएका भने होइनन् । गाउँमा करिव १८ वटा कुवा छन् । खडेरीका समयमा यहाँ बढीमा चार वटा कुवामा मात्र पीउने पानी उपलब्ध हुन्छ ।

बाँकी सबै कुवा फागुन महिना शुरु नहुदै सुक्छन् । यस्तो अवस्थामा रेक्चावासीलाई पानी जुटाउन निकै सकस पर्छ । पानीको उपभोगमा कमी ल्याउन उनीहरुलाई दुना–टपरीमा खाना खानुपर्ने वाध्यता छ । इनारमा चौकिदार नै राखेर समानुपातिक तवरमा पानीको प्रयोग गर्नु रेक्चाको लागि वाध्यता बनेको वर्षौ भईसकेको छ । एकातिर पिउने पानीकै अभाव छ, अर्को तर्फ यस क्षेत्रमा खेती समेत भएको छैन । मौसमी रुपमा मात्र वर्षातको पानीको भर परेर रेक्चावासीले खेती गर्दै आएका छन् । पीउने पानी पनि नहुने, खेतीबाट पनि उत्पादन लिन नसकिने भएपनि बसाई सरेर जानु उनीहरुको लागि वाध्यता नै बनेको छ ।

मानवका लागि पानी निकै आवश्यक छ । पीउन मात्र नभएर शारिरिक स्वास्थ्यसँग समेत जोडिएको पानी नभए मानव जीवन सम्भव छैन । अहिलेको आधुनिक युगमा समेत दुना–टपरीमा खाना खाएर पानी जोगाउन तर्फ लाग्नु रेक्चावासीका जनप्रतिनिधि र यहाँबाछ निर्वाचित सांसदका लागि समेत ग्लानीको विषय बनेको छ । आफ्ना नागरिकको समस्याका लागि हालसम्म पनि कुनै योजना माग तथा शुरु गर्नु नसक्नु यस क्षेत्रबाट प्रतिनिधित्व गर्नेका लागि दुःखद् विषय हो ।

प्रदेशको राजधानी रहेको जिल्लाकै स्थानीय तहका नागरिकहरु पानीको समस्याका कारण वसाईसराई गर्नुपर्ने वाध्यता आखिर कहिले सम्म रहने ? यस तर्फ स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले समेत समयमा नै सोच्नुपर्छ । स्वास्थ्य पूर्वाधार तर्फ समेत सरकारले रेक्चामा लगानी गर्नुपर्छ । पानीको अभावका कारण रेक्चावासी आधारभुत स्वास्थ्यको समेत जोखिममा देखिन्छन् । सरसफाई लगायतका विषयमा पानी अभावले उनीमा रेग संक्रमण जोखिम समेत बढ्ने सम्भावना छ । रेक्चा गाउँमा वसोवास गर्ने नागरिकलाई उनीहरुका घरमै पानीको प्रवन्ध हुनेगरी सुविधा उपलब्ध गराउनुपर्छ । सुकेका मुहानलाई संरक्षणका कार्यक्रम, वृक्षारोपण, खानेपानी आयोजनाहरुको निर्माण लगायतका कार्यक्रमहरु रेक्चामा पु¥याउने सरकारको दायित्व हो ।

तपाईको प्रतिक्रिया