कर्णालीमा कृषि उपज उत्पादन तर्फ सकारात्मक सूचक देखा पर्न थालेका छन् । विशेषगरी जुम्लामा उत्पादन भएको स्याउको माग अहिले नेपालभरका सबै कृषि बजारहरुमा निर्यात हुन थालेको । उत्पादनका रुपमा जुम्लामा मात्र होइन कर्णालीका कालिकोट, हुम्ला, दैलेख लगायतका जिल्लामा समेत स्याउ उत्पादन भईरहेका छन् । तर क्षेत्रगत रुपमा हेर्दा जुम्लामा धेरै उत्पादन र निर्यातका लागि समेत सडक लगायतका पूर्वाधार केहि हदसम्म सहज भएको छ । प्रदेशमा उत्पादनका दृष्टिकोणले स्याउ निर्यात गर्नु सकारात्मक सूचक हो ।
लुम्बिनी प्रदेशको कोहलपुर कृषि बजारमा हालसम्म पाँच सय १० मेट्रिकटन स्याउ निर्यात भएको छ । त्यसैगरी बुटवल कृषि बजारमा ७० मेट्रिकटन स्याउ पुगेको छ । त्यसैगरी गण्डकी प्रदेशको पोखरा कृषि बजारमा ३३ मेट्रिकटन, कोशी प्रदेशको झापा कृषि बजारमा १० मेट्रिकटन र धरान कृषि बजारमा ५० मेट्रिकटन कर्णालीको स्याउ निर्यात भएको कृषि बजारको तथ्यांक छ । कर्णालीमा यस वर्ष कति स्याउ उत्पादन भयो भन्ने आधिकारिक तथ्यांक त छैन तर कृषि बजारहरुमा भएका कारोवारबाट भने स्याउको उत्पादन र निर्यात अवस्था अध्ययन गर्न सकिन्छ । वीरेन्द्रनगर स्थित कृषि बजारमा भने यस वर्ष व्यवसायीहरुले सात सय ६३ मेट्रिकटन स्याउ आयात गरेका थिए । कर्णालीमा जिल्लागत रुपमा उत्पादन भएका स्याउमा भने जुम्ला नै सबैभन्दा अघि छ । हालको समयमा दैलेखका केहि स्थानमा समेत स्याउ उत्पादन भई निर्यात भएको देखिएपछि मुख्यरुपमा कर्णालीको जुम्ला जिल्लामा यसको उत्पादन धेरै नै छ । सरकारी संयन्त्रसँग जिल्लागत रुपमा स्याउ उत्पादनको निश्चित तथ्यांक नभएपनि यता जुम्लाले भने जिल्लाबाट वाहिर निर्यात भएका स्याउँको विवरण राख्ने गरेको छ । हाल जुम्लामा १५ हजार मेट्रिकटन स्याउ उत्पादन भएको आंकलन रहेको कृषि विकास कार्यालय, जुम्लाको छ ।
उत्पादन निर्यात गर्न थालिएपनि कर्णालीका अहिलेसम्म निर्यात अवस्थामा तथ्यांक व्यवस्थापन गरिएको भने छैन । यहाँका उत्पादन भएका कृषि उपजमा सरकारी संयन्त्रले कृषि हदसम्म तथ्यांक देखाउन खोजेपनि ति तथ्यांकहरु भरपर्दा भने छैनन् । यसका साथै यहाँ खप हुने कृषि उपजका विषयमा समेत यथार्त तथ्यांक छैन । जनसंख्याका आधारमा मात्र हामीले प्रतिव्यक्ति आवश्यकता, सरकारी कार्यालयले आयात गरेका वस्तुका आधारमा हामीले कर्णालीमा खपत भएका सामाग्रीको मुल्यांकन मात्र गरेका छौँ । खासगरी कृषि उपजहरुमा कर्णालीमा छिमेकी मुलुक भारत र अन्य प्रदेशबाट आयात गर्ने गरिन्छ । आयातले परनिर्भर बनाईरहेको कर्णालीमा कति कृषि उपजहरु आयात भए, भन्ने विषयमा यथार्त तथ्यांक छैन । त्यसैगरी निर्यातको अवस्थामा समेत यथार्त जानकारी छैन । यस अवस्थाले कर्णाली प्रदेश सरकार तथा यहाँका स्थानीय तहलाई समेत कर्णालीमा भावी योजना निर्माण गर्न सम्भव छैन । यथार्त तथ्यांक विना तयार भएका योजनाहरुले कर्णालीमा कृषि उपज उत्पादनको अवस्थालाई बढावा दिन्छ भन्ने छैन । यस कारण सरकारी, गैरसरकारी संस्था लगायतका तहबाट जारी भएका कार्यक्रमहरुले समेत उत्पादनमा बढावा दिन शत्प्रतिशत सहयोग गरेका छन् भन्ने छैन ।
युग संवाददाता । सुर्खेत । २१ आश्विन २०८०, आईतवार १३:५३