फोक्सुण्डो यात्राः दोभानदेखि मुहानसम्म


ताल घुमिस् ?

दुनैको साँघुरो खाडलमा हुत्तिएर पुगेका हामीहरुमाझ शे–फोक्सुण्डो ताल घुम्न जाने योजना बन्न थालेको करिबन् महिना दिन अघिदेखि थियो । मेरो सन्दर्भमा भने “ताल घुमिस् ?” भन्ने प्रश्नले लगभग वर्षदिन अघिदेखि नै पछ्याईरहेको थियो । अछाम घर भई सुर्खेत कर्मथलो बनाउनुभएका पुराना चिरपरिचित कटक बि.सी. जिको अकस्मात फोन र शे–फोक्सुण्डो सम्मको यात्राको सम्बन्धमा उहाँका जिज्ञासाहरुको उचित समाधान दिन नसकेको मलाई लाज राख्नकै लागि भएपनि यतिसम्म भन्ने हुत्ति आयो – “बाटो अलिक लामो हो । खास्सै गाह«ो छैन । आउनुस् न सर् । स्वागत् छ तपाईँहरुलाई ।।”

झ्याल बाहिर स्थानीय ब्याडमिण्टन खेलाडीहरुको “हट्…हट्….” ले निंद्रा भंग गरेपनि दुनैको सबैभन्दा प्यारो कुरा बिस्तारा सजिलै कसरी छाड्न सकिन्थ्यो ! यत्तिकैमा मेसेन्जरमा सुर्खेत घर भई डोल्पा जिल्ला प्रशासनलाई कर्मथलो बनाउनुभएका नगेन्द्र मस्र्याङ्दी सरको म्यासेज बज्यो– “गुड् मर्निङ् सर् । भोली शे.फो. जाने प्लान् के छ ?” ‘भोली..?’ सबैले झैँ मैले पनि श्रीमतिज्यूको अनुमति पछि प्रस्ताव स्वकिारेँ । संयोगवश् बलियो लौरो पनि उत्तिनै खेर हात पर्यो । लौरो साँच्चै नै पूर्वप्राथमिक वस्तु नै हो – सेकाउन होस् या टेकाउन, चुनावी पहाड उक्लन होस् या शे–फोक्सुुण्डो सम्मको पहाड उक्लन ।

अर्को आधारभूत कुरा ड्राइ–फूड् थियो । गफ् दियो भन्नुहोला– साढे तेह« सयको त चाउचाउ बिस्कुट् नै किन्यौँ, प्रत्येकले । अनि फेरि यात्राको अघिल्लो रात मस्तै निदाउँछु भन्ने सोचाई सर्वव्यापी झुट नै हो । किताबका पाना र मोबाइल स्क्रीनमा मात्र देखेको अनि पराया मुखबाट सुनिएको फोक्सुण्डो आफ्नै इन्द्रियमा समेट्ने यो अवसर र उत्साहले भरिएको फोक्सो बाह-एक बजेसम्म बजिरह्यो ।

ओख्तो छ कि ?

सिमसिम वर्षासँगै दुनै बजारबाट सुरु भएको ६ जनाको हाम्रो यात्रा दुनैको प्रस्थानद्धार कटेसँगै वर्षा बन्द हुनुले यात्रा सफलताको शुभ–संकेत गरिरहेको थियो । सुलिगाड ब्यारेक पुग्नुभन्दा केहि अघि स्थानीय महिलाहरुले डोकामा बेच्न ल्याएको दश रुपिँया दाना जुफाली स्याउ टोक्दाटोक्दै सुलिगाड र ठूलीभेरीको दोभानमाथि झुण्डिरहेको ९० मिटर लामो भीम पुल (झोलुङ्गे पुल) काटिएको पत्तै भएन । समूहका हँसिलो मिजासका साथी हरिनारायण श्रेष्ठ सर भिडियो खिच्दै आवाज दिन व्यस्त हुनुहुन्थ्यो भने हाम्रा पाईलाहरु पहाडका राजा ‘खच्चर’ हरुका भन्दा छिटो चल्दै थिए, गाढा निलो सुलगाड खोलाको छेवैछेउ, जलप्रवाहको विपरीत दिशामा । हामीसँगै हिँडिरहेका कलेज पढ्ने विद्यार्थीहरु छुट्टिएर केही परको काठको पुलबाट खोलापारीको बस्तीतर्पm हानिए । हामी भने करिब एक घण्टाको हिँडाईपछि खोलारुपी नाम गरेको बस्तीमा पुग्यौँ । बिहानी प्रहर भएर पनि होला बस्तीमा मान्छेको नाममा एकजना बुढी आमा मात्रै देखिनुभयो । ‘बिरामी छु बाबु । पाकेको ओख्तो छ कि ?’ भन्ने आमाको प्रश्नमा पाकेको औषधी नभएको र अरु औषधी फर्किदा छोडिदिने सहयात्री अ.हे.ब. साब् अजय कुश्वाहाको आश्वासनसँगै ती आमाको आशिर्वाद लिँदै हामी फेरि उक्लन थाल्यौँ । घाम नचढिसकेकोले स्फूर्त शरीर अब भने पसिनाले सिंचित र थकित हुँदै थियो ।

गणेश प्रसाद दहाल

करिब दुई-अढाई घण्टाको उकालो, ओरालो र समतल यात्रामा गन्थन, हाँसीमजाक, सेल्फी, समूह तस्वीर, भिडियो छायांकन, विश्राम र खाजासँगै हामी अघिल्लो बस्ती कागेनीतर्फ हानियौँ । अफिसका बहादुर दाईले कागेनीसम्म ढुङ्गा खस्छन् है, राम्ररी जानुहोला भनेको हुनाले बेलाबेला आँखा ठाडै माथिका पहाड र त्यहाँ गडेका ढुङ्गाहरुमा जान्थे । गोरेटो छेउका अजङ्गका ढुङ्गाहरुमा कोरिएका ढुङ्गे साहित्यहरु ‘वान् मोर् स्टेप्…..’ आदिले यात्रालाई रमाईलो सँगै प्रेरणा सुम्पिरहेका थिए । हाम्रा लौरा सीसाजस्ता टलक्क टल्किएर आँखैमा परावर्तन हुने पत्थरका साना टुक्राहरु छिचोल्न व्यस्त थिए । २२३५ मिटरको उचाईमा अवस्थित सुन्दर कागेनी बस्ती र त्यहाँस्थित होटेलहरु छिचोल्दै करिब साढे बाह« बजेतिर डोल्पाको ठूलीभेरी नगरपालिकाको अन्तिम विन्दु स्याङ्टा पुग्दासम्म हामी चुँडिएको मालाजस्तै भईसकेका थियौँ । बाँकी साथीहरु पहिलेनै होटेलमा पुगेर सुस्ताईरहनुभएको थियो भने, अजय सर, नगेन्द्र सर र म शिथिल हुँदै होटेलसम्मको सिँढी उक्लँदै थियौँ ।

छेप्का हुँदै ¥याँची सम्मको यात्रा

‘भोक मिठो कि खाना?’ पेटभरि खाएर केहीबेर आराम गरेपछि हामीसँगै खाना खाएर अघि लागिसकेको एक अधवैंशे जोडीलाई पछ्याउँदै छेप्का सम्मको यात्रा तय भयो । ‘को होलान् तिनीहरु?’ आफ्नै विवाहित जोडीजस्ता नदेखिने त्यो जोडीका विषयमा आ–आफ्ना लख काट्दै हामी शे–फोक्सुण्डो गाउँपालिकाको सीमा प्रारम्भ बोर्डदेखि अगाडि बढ्यौँ । छेवैमा सुरुवातदेखि नै हाम्रो यात्राको साक्षी बनिरहेको सुलिगाड यसरी सुसाईरहेको थियो कि पंंक्तिको अगाडि रहनुभएका साथीले बोलेको आवाज पछाडि स्पष्ट सुनिदैनथ्यो । कहिल्यै नउक्लिएका विशाल पहाड र यसअघि कहिल्यै नहिँडिएका चाख्ला ढुङ्गा छापी बनाईएका साँघुरा नागबेली गोरेटो÷घोडेटो हिँड्नु ज्यादै कष्टकर सावित हुँदै गयो । ‘हरेक १५ मिनेटको हिँडाईमा ५ मिनेट विश्राम’ हाम्रो अघोषित यात्रा विधान बनेको थियो । जसोतसो छेप्का पुगेपछि बेहोसझैँ बाटाछेउका पेटी, पर्खाल र बेन्चमा हामी लम्पसार पर्यौँ, घाइते सर्पझैँ बटारिँदै । म मा छेप्कादेखि अगाडि बढ्ने साहस जुटिसकेको थिएन । तर छेप्कामा अलि लामो विश्राम र स्थानीयहरुको ‘अगाडि बाटो राम्रो छ’ भन्ने उत्तरले मांशपेशीहरु तन्कन थाले र केही सहज बाटोको यात्रा करिब अढाई बजेबाट सुरु भयो, ¥याँची सम्मको । हरियो जङ्गल, पहाड,उकाली,ओराली, बडेमानका ढुङ्गा, बाटोमा बिछ्याईएका चाख्ला पत्थर, खोला र त्यो निलो पानी, झोलुङ्गे पुलहरु, काठे पुलहरु, खोल्साखोल्सी हामी यी सबैमा अब अभ्यस्त भइसकेका थियौँ । घाम पश्चिम दिशामा डुबिसकेको थियोे र नूनको भारी बोकेका बलिया खच्चर डोर्याउँदै हिँडिरहेका स्थानीयहरुले बताएको ¥याँची पुग्न लाग्ने २० मिनेटको समयभन्दा हामी अरु ४० मिनेट ढिला थियौँ । साँझ करिब ६ बजेपछि आजको अन्तिम गन्तव्य ¥याँची पुग्यौँ । हामीभन्दा अघि छुटेको त्यो अधवैँशे जोडी अघिनै हामी बस्ने तय गरेको होटेलमा पुगिसकेको रहेछ । हामी जिल्ल पयौँ ।

आँखामुन्तिर सुलिगाड झरना

बिहान भयो । हरिनारायण सरको क्यामरा घुम्न थाल्यो । दाङ घर भएका लेखापाल साब् पोषण वलीलाई हाम्रो टिमको पनि लेखापाल नै नियुक्त गरेका थियौँ । उहाँले होटेल खर्च तिरिसकेपछि चिया खाँदै केहिबेर गफ्फियौँ र फेरि सुरु भयो कहालीलाग्दो यात्रा । तर आज त अब जसरी नि फोक्सुण्डो पुगिन्छ भन्ने आत्मविश्वासले अगाडि बढायो । बाटोमा पर्ने साइजल बस्तीको तापिरिजा स्कूलको भौतिक पक्षको प्रशंसा गर्दै अघि बढ्दै गर्दा फिल्ड भिजिटमा आफ्नो गुरुको साथमा आएका विद्यार्थी भाईबैनीहरु देख्दा मलाई आफू शिक्षक हुँदाका दिनका यादहरु ताजा भए । नाम नखुलेको र मान्छे पनि नदेखिने सानो ढुङ्गे बस्ती छिचोल्दै गर्दा फोक्सुण्डोको पानी छोएर फर्किसकेका केही वृद्ध र विदेशी महिला पर्यटकहरुसँग हरिनारायण सर् ‘इङ्लिस‘ मा केही खिटपिटाउँदै हुनुहुन्थयो । उनीहरुको ‘गुड् लक्’ पाईसकेपछि देख्दै खुट्टा थर्थराउने अग्लो पहाडी टुप्पोमा रहेको विश्रामस्थल जस्तो देखिने ठाउँ सम्मको सिलौटा छापिएका ठाडो उकालोमा जेनतेन लतारिन थाल्यौँ । टुप्पोमा पुगिसकेपछि केहिबेर त्यहाँ सुस्ताउँदै गर्दा पछि पछि स्याँ.. स्याँ.. गर्दै उही अधवैँशे जोडी त्यहीँ आइपुग्यो । त्यो जोडिका पुरुष अधवैँशेसँगको गफगाफका क्रममा “तपाईँको स्टामिना त ह्वात्तै घटेछ ।” भन्ने हरिनारायण सरको मीठो कटाक्ष र ती सँगैकी महिलाको लज्जाले एकछिन् माहोल तरङ्गित बनायो । त्यहाँबाट उठिसकेपछि अब यात्रा केहि सहज होला जस्तो लागेको थियो तर फेरि सुरु भयो– बुङ्..बुङ्.. धुलो उड्ने ठाडो र सम्भवतः अहिलेसम्मकै गाह«ो उकालो यात्रा । टोलीका सबैभन्दा फुर्तिला बाराका ‘महेश यादव’ सर देखिनुभयो भने सबैभन्दा ल्वाँदे म र नगेन्द्र सर् । त्यो उकालोमा खरायो र कछुवाको कथाका पात्रजस्तै थियौँ हामी । “अब भने तेर्सै बाटो छ” उकालो कटिसकेपछि बटुवाको जवाफले फेरि पाईला चल्न थाले । साँघुरो बाटोबाट तलतिर हेर्दा भन्…भन्… घुम्ला जस्तो हाम्रो टाउकोलाई केहिबेर हिँडेपछि सुलिगाड झरनाको पानीको फोहोरा १६८ मिटर तल खस्दा परावर्तित छिटाहरुले सिँच्न थाल्यो । समुद्र सतहबाट ३ हजार ६ सय १३ मिटरको उचाईमा रहेको झरना हाम्रो आँखा मुनितिर खस्दै थियो । यो भन्दा सार्थक यात्रा अरु के हुन सक्ला ?? झरनाका रमणीय दृश्यहरु कैद गर्दै हामी मुख्य गन्तव्यतर्फ हानियौँ ।

अब फोक्सुण्डो टाढा छैन

“अब फोक्सुण्डो टाढा छैन ।” एउटा सानो पहाडी थुम्को फनक्क घुम्दै गर्दा करिब एघार बजेतिर शे–फोक्सुण्डो ताल अवस्थित बस्ती रिग्म बस्तीको प्रवेशद्धारमा ठोक्कियौँ । गेट सँगैको गुम्बा र गुम्बाअघिका शिलालेखहरु अवलोकन गर्दै सुन्दर रिग्म बस्तीमा हाम्रो प्रवेश भयो । एक परिचित व्यक्तिको होटेलमा खाना खाने अनि ताल हेर्न जाने सल्लाह बमोजिम होटेलको लोकेशन बुझ्न फोन गर्दा “तालको छेवैमा आउनु” भन्ने जवाफ सुनमा सुगन्धझैँ भयो । बस्ती छिचोलेर केही अघि बढ्दैगर्दा निलो–सेतो बादलमुनि पहाडका थुम्काहरुको तल गाढा निलो पानीको एक अंश देख्नासाथ साथीहरु उत्साह र खुशीले दौडन थाल्नुभयो– “ऊ फोक्सुण्डो । आहा..! आहा..!! आहा..!!!” हाम्रो खुशीको सीमा नै थिएन ।

अग्ला पहाडको काखमा शान्त, स्निग्ध निदाईरहेको शे–फोक्सुण्डो तालको छेवैछेउ दाहिने मुण्टो पार्दै हामी ताल अगाडिको होटेलमा पुग्यौँ । हामीमध्ये कोही उभिँदै थियौँ, कोही बस्तै थियौँ, कोही गफ्फिदैँ थियौँ तर आँखा भने सबैका फोक्सुण्डो तिरै थिए । कति सुन्दर अनि अनुपम प्रकृतिको रचना ! खाना आयो, पेट अघाए तर आँखाहरु अँझै अघाईसकेका थिएनन् । त्यो पानी छुन लालायीत मनहरु तालको अङ्ग्रेजी ‘वाई’ आकार पहिल्याउँदै समीपिन थाल्यौँ अनि आ–आफ्ना क्यामरा र मनहरुमा अटुञ्जेल खाँदी–खाँदी ती दृश्यहरु कैद गर्न थाल्यौँ । सुस्तायौँ, रमायौँ, गम्यौँ ।

“यही हो स्वर्ग ..” हाम्रो मनमा एकसाथ गुन्जरह्यो । त्यो अघिसम्मको दुखाई र पीडा, यो जीवनसम्मको भोगाई र पीडा, मानौँ सबै पखालिए । “अब फर्कनुपर्छ ।” तालबाट माथि उक्लँदै गर्दा मैले पछाडि फर्कि हेरेँ– त्यो अधवैँशे जोडी दुई टाउका जोडेर ताल हेर्दै बेन्चमा बसिरहेको थियो ।

(लेखक वीरेन्द्रनगर–११, सुर्खेत निवासी हुनुहुन्छ)

तपाईको प्रतिक्रिया