प्रेमबहादुर बुढा (प्रेम बुढा) दैलेखको राजनीतिक जीवनमा परिचित नाम हो । उनीलाई कसैले सादगी नेताको रुपमा चिन्छन् । कसैले इमान्दार । कसैले आदर्श व्यक्तिको रुपमा पनि । उनी हाल सक्रिय राजनीतिक जीवनमा छन् । नेकपा एमालेको जिल्ला नेता । उपाध्यक्ष । असोजको दोस्रो साताको मध्यतिर नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन भयो । तत्कालिन एमाले दैलेख जिल्ला अध्यक्ष रविन्द्रराज शर्मा प्रदेशमा उपसचिव पदमा निर्वाचित भएपछि दैलेख जिल्ला अध्यक्षको पद रिक्त भएछ । प्रेम सरलाई पार्टीले कार्यवाहक अध्यक्षको जिम्वारी दिएको खबर सुनेँ । अत्यन्तै खुसी लाग्यो । उनी मलाई अक्षर चिनाउने गुरु पनि हुन् । त्यसैले पनि आफ्नो गुरु नेपालको एउटा प्रमुख राजनीति दलको जिल्ला नेतृत्वमा पुग्दा खुसी लाग्नु स्वभाविक पनि होला । सायद अव अर्को अधिवेशन नहुनेबेलासम्म यो जिम्मेवारी उनीमा नै रहन्छ । मंसिर पुषतिर जिल्ला अधिवेशनको अनुमान छ । यो वीचको रिक्तता उनको लागि आफ्नो जिल्ला नेतृत्व सुनिश्चित गर्ने राम्रो अवसरको रुपमा पनि हुन सक्छ ।
विभिन्न मानिसका हेराइ व्यक्ती पिच्छे फरक फरक हुन्छन् । कोही व्यक्ति कसैको मार्गदर्शक बन्छ भने कसैको सत्रु पनि । मेरो हेराईमा प्रेम बुढा मार्गदर्शक नै हो । उनीले हालको भैरवी गाउँपालिका–७ को महादेव माविमा घोकाएका दुनाको अहिले पनि झलझली याद आउँछ । उनीको शिक्षण कला त्यत्तिकै सान्दर्भिक थियो । त्यतिखेर उनीका कुराहरु सुन्दा मामुली र चानचुने लाग्थ्यो । बेलाबेला हाँसो पनि लाग्थ्यो । पढ्ने कुरा त धेरै ठूलो कुरा हो र किताबको कुरामात्र पढ्नु पर्छ जस्तो लाग्थ्यो । त्यो पढाइ रहेनछ । पढाइ त व्यवहारिक शिक्षा रहेछ । अहिले म कक्षाकोठामा पुग्दा तिनै कुराहरुको याद आउँछ । उनको सादा जीवनको धेरैले तारिफ गर्छन् । सानो कुरामा पनि धेरै ध्यान दिने उनको अनौठो बानी लाग्छ । उनी एउटा दैलेखको सादगी नेता नै हो । निम्नवर्गीय धरातलबाट उठेको एक सतिसाल नै हो प्रेम बुढा । राजनीतिमा ईमान्दार र स्वच्छ छबि बनाएको एउटा नाम पनि हो । मैले थाहा पाए सम्म १६ वर्ष जति शिक्षण पेशामा नै रहेका थिए । वि.सं. २०५४ सालदेखि उनको औपचारिक राजनीतिक यात्रा प्रारम्भ भएको हो । राजनीतिक पार्टीहरु अहिले लहडमा चले जस्तो लाग्छ । पार्टी विधि र मर्यादा पालनकमजोर बन्दै गएका छन् ।
सादा जीवनशैली र विनम्रता
जीवन सबैको सुविधाभोगी बन्दै छ । नेताहरु सामान्य ठाँउमा भेट्न नसकिने अवस्थामा हुन्छन् । ठूला ठूला रेष्टुरेन्ट र विशेष ठाँउमा पुग्नु पर्ने वर्तमान परिवेशमा उनको सरलता बाँचिरहोस् जस्तो लाग्छ । अनुशासित कार्यकर्ता वा नेताको एउटा उदाहरण दिन पर्यो भने उनको नाम दिन मन लाग्छ । सादा जीवन शैली र विनम्रताका पाठहरु उनीका आदर्श नै हुन् । किन कि उनमा वर्गीय सोच देखिन्छ । वर्तमान परिवेशमा कम्युनिष्ट पार्टी भित्र बर्गउत्थानका मुद्दाहरु ओझेल परेका छन् । कार्यकर्ताहरु बर्गको स्वार्थसंग आत्मसमर्पण गरेका छन् । प्रलोभनले गुटउपगुट मौलाएका छन् । दलालहरुलाई एजेन्ट बनाएर आफ्नो बर्गलाई धोका दिने प्रबृति हावी हुने गरेका थप्रै उदारहण छन् । यो अबस्थामा एक सादगीले दैलेख जिल्लाको नेकपा एमाले जस्तो पार्टीको नेतृत्व वरीपरी रहनु सुखद कुरा नै हो । साविकको कुसापानी र भैरवीको लागि पनि सुखद हो । मलाई त अझै अन्य पार्टीको नेतृत्व पनि भैरवी र कुसापानीले गरोस् भन्ने लाग्छ ।
गाउ–गाउमा विद्यालय
मलाई वि.सं. २०५४ को स्थानीय चुनावको याद आउँछ । वि.सं. २०५२ सालबाट जनयुद्धको नाम दिइएको माओवादी आन्दोलनले चुनाव बहिष्कार गरे पनि देशभरी चुनाव भएको थियो । प्रेम बुढा गाविसमा नेकपा एमालेबाट अध्यक्षको उम्मेदवार थिए । त्यतिखेर म पनि विद्यार्थी राजनीतिमा अलि चासो राख्थेँ । रहर लाग्थ्यो । जोस पनि त्यत्तिकै आउँथ्यो । मैले आस्था राख्ने पार्टीको कुनै एक सदस्यलाई भोजपुरमा आक्रमण भयो भन्ने सुन्दा पनि मन दुख्थ्यो । त्यतिमात्र होइन रसिया, चीन तिर कुनै कम्युनिष्ट नेतालाई कुनै दण्ड दिइयो रे भन्ने रेडियोबाट सुन्दा पनि त्यहीँ पुगेर हिर्काउँ जस्तो रगत उम्लिन्थ्यो । हुन त त्यो एक अन्धभक्त रहेछ । वैचारिक अपरिपक्वता रहेछ । मैले पछि बुझेँ । वि.सं. २०५४ सालको चुनावमा दैलेखको तत्कालिन कुसापानी गाविसको चुनावमा धाँधली भयो । चुनाव स्थगित भयो । पछी फेरी दोस्रो पटक चुनाव भयो । उनले लोकप्रिय मत ल्याएर चुनाव जिते । प्रतिपक्षमा कलमबहादुर राना भए । उनी त अहिले स्वर्गीय नै भै सके । उपाध्यक्षमा कृष्णबहादुर गुरुङले जितेका थिए । प्रेम बुढाले गाविस अध्यक्ष भए पछि धेरै काम गरे होलान् । तर उनको एउटा काम जीवन्त स्मरणिय लाग्छ । मैले विभिन्न कार्यक्रममा सन्दर्भ जोड्ने मौका मिल्दा यो सन्दर्भ जोड्ने गर्छु । त्यो के भने प्रत्येक टोलटोलमा स्कुल खोलिएका थिए । कुर्माकोटमा सरस्वती प्रावि, घुम्नेखालीमा भक्ति प्रावि, कुसापानीमा मनमोहन प्रावि, गाबुगौँडामा मालिका प्रावि, भक्तडाँडामा सगरमाथा प्रावि, भित्रीखोलामा पुष्पलाल प्रावि, पानी पोखरा मदन आश्रीत प्रावि, व्याउली हिमाली प्रावि, मूलपानी हिमशिखर प्रावि र देउलेमा द्रोणाचल प्रावि । करीब एउटै गाविसमा थप दश भन्दा बढी । त्यसले एकातिर गाउँका युवाहरुले रोजगार पाए भने अर्कोतिर सबैले पढ्ने अवसर पाए । चेतनाको दीप झलमल्ल नै बल्यो । आज सोही ठाँउका धेरै मानिसहरुको एउटा जग हो प्रेम बुढा ।
उनीले बसालेका जग स्वदेश र विदेशमा विभिन्न तवरले आत्मनिर्भरताका कथाहरु रचिरहेका छन् । ती सबै कुनै कुनै रुपमा उनीका नै प्रसाद हुन् । हुन त मानिसहरु शिखरमा पुगेपछि सिँढी विर्सन्छन् नै । यो मानव स्वभाव नै हो । कसैको सहाराले टुप्पोमा पुगे पनि म आँफैले हो भन्ने र आफू हिड्दा हिड्दै लडेपनि नेतालाई गाली गर्ने बानी त हाम्रो पनि छ । यो कुरा उनीमा पनि थुप्रै लागु भए होला । त्यतिखेर गैरासरु र मान्माका वगर खोलाहरुमा पुल थिएनन् । वारपारका ठाँउ अनकन्टार नै थिए । कुसापानी र काँसिकाँध जोड्ने पुलहरु निर्माण गराएको पनि अहिल्यै जस्तो लाग्छ । उनीकै चिन्तन र सोचमा भावर, मझुवा र वडलम्जी खानेपानी आयोजनाले धेरै घरधुरीको खानेपानीको समस्या पनि समाधान गरेको थियो । नेतालाई नीती बनाउने बेला सहयोग गर्ने र प्रणाली विकास गर्न लागिपर्ने भने सबैको न्याय हुन्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने हुन्छ जस्तो लाग्छ । अर्को कुरा राजनीतिक जीवनमा त पार्टी अनुशासन, पार्टी नीति, विधि र थितिलाई पनि हेर्नुपर्ने हुन्छ । त्यसले पनि अरुले चाहेजस्तो उनीले गर्न सकेनन् होला । एवम् रितका विषयवस्तु आलोचनाका मुद्धाहरु बन्छन् । राजनीतिमा प्रतिपक्षको खबरदारी, सीमित साधन स्रोतले धेरैको मनोकांक्षा पूरा गर्न नसकिने हुनाले पनि उनी पनि आलोचनाबाट अछुतो त सायद छैनन् होला । तर जनप्रतिनिधि भएर दश वर्ष काम गरेको इतिहास छ प्रेमसरको । केही समय अघि नेकपा एमाले दैलेखको उपाध्यक्षमा लोकप्रिय मत लिएर उनले जितेको याद छ । राजनीतिमा आन्तरिक जीवन पनि मजबुद नै देखिन्छ ।
विकास प्रेमी
एकपटक दैलेख जिल्लाको नेकपा एमालेको पार्टी सचिव थिए उनी । कतिसाल देखि कति सम्म हो त्यो त मलाई पनि हेक्का रहेन । त्यतिखेर सुर्खेतमा सोही पदमा गगन सुनार थिए । वि.सं. २०७४ सालमा सविधान निर्माण पछि पुन स्थानीय चुनाव भयो । देशको स्थानीय तहमा पनि पुनर्सरचना भए पछि दैलेखमा कुसापानी, भैरीकालिकाथुम, बडलम्जी, रावतकोट सहित चारवटा गाविस मिलेर भैरवी गाउँपालिका भयो । त्यसमा पनि वि.सं. २०७४ मा भैरवी गाउँपालिकाको अध्यक्षमा थिए । सुर्खेतमा एक दिन रावतकोटको एक जना स्थानीय नेता भेटीए । उनले प्रेमसरको राम्रो प्रशंशा गरे । नाम त मैले सम्झिन सकिन । उनले रावतकोटमा आरभिडब्लुआरएमपी ग्रामिण जलस्रोत परियोजना अन्तर्गत सोलारबाट लिफ्ट खानेपानी आयोजनाको काममा प्रेमसरको नाम जोडे । एउटा काम त भएको रहेछ भन्ने मलाई लाग्यो । सोही परियोजना मार्फत सम्पूर्ण पालिकाका ८० प्रतिशत भन्दा बढी घरधुरीमा खानेपानीको धारा निर्माण भएका छन् सर भनेर मलाई भने । भित्रीखोला– मोतिखर्क सिचाइ आयोना पनि सोही परियोजना मार्फत भएको रहेछ । त्यो मेरो जन्म गाउँ नै हो । पालिकामा प्रहरी चौकी तथा बैँकको स्थापना भएका खबर पनि विभिन्न माध्यमबाट सुनिन्थ्यो ।
पालिकाका अधिकांस विद्यालयमा पक्कि भवन निर्माण भएका रहेछन् । तल्लो डुङगेश्वर–दुल्लु–कुसापानी–ब्याउली–कालिकोट सडक सञ्जालले जोड्नको लागि कालिकोटका धेरै नेताहरुसँगको छलफलमा त म पनि साक्षात्कार छु । भित्री खोला, कुरेखोला र मूलपानीमा झोलुङगे पुल निर्माण भएको रहेछ । गाबुगौँडा–मान्म सडक, कुसापानी–गैरासरु सडक निर्माण, कालगौँडा सडक आरसिसि, खम्बागाडे–चामुण्डा–चौतारा सडक निर्माणले आफ्नो ठाँउप्रतिको ममता उनीमा अपार देखिन्छ । मैले पढेको बिद्यालय आदर्श मा.वि. खम्वागाडे प्राविधिक धारका कक्षा सञ्चालन लगायतका थुप्रै कामहरु उनीको नेतृत्वमा भएको कुरा बेला बेला सुन्न पाउँदा खुसी लाग्छ । अब यति पनि कुसापानीबाट कसले गर्ला र भन्ने लाग्छ । छिटो नयाँ नेतृत्व जन्मियोस् भन्ने पनि लाग्छ ।
सबल र सक्षम नेतृत्व बनाउन आफ्नो गाउँठाउँबाट पनि अठोट गर्नुपर्छ । नत्र नेतृत्व धरासायी हुन्छ । समाज जस्तो छ नेतृत्व त्यस्तै हुने हो । प्रेम सरमा करिष्मा र अनुशासन दुबै छ । त्यसैले पनि अब दैलेखमा उनीले हाँकिरहेको पार्टीको अध्यक्ष उनी नै हुनेछन् । कार्यकर्ताले सही तरिकाले विवेको प्रयोग गर्नेछन् । नेताले समुदाय परिचालनमा जोड दिनुपर्ने हुन्छ । सडकमा हिँड्दा फोहोर देखियो । एकथरी मान्छे त्यसलाई टपक्क टिपेर डस्टबिनमा फाल्न जान्छन् । हरेकपटक फोहोर भेट्यो कि सफा गर्न आफैं अघि सरिहाल्छन् । अर्कोथरीको स्वाभाव कस्तो हुन्छ भने टोल छिमेकका मान्छे जम्मा गरेर यहाँ फोहर भएछ, अब फोहर नगरौं भन्छन् । अर्थात नेतृत्वको शुरुवात यसरी हुन्छ । नागरिक चेतना छ कि छैन भन्ने कुरामा नेतृत्वको महत्वपूर्ण भूमिका हुन्छ । यो विचारधारा प्रेमसरमा छ । किन कि काम गर्ने मान्छेले नै काम गराउन सक्छ । अनि कामबाट र अन्तरसम्बन्धबाट नै परिणाम आउँछ । त्यसैले प्रेमसरलाई एकपटक हार्दिक बधाई भन्न चाहान्छु । साथै नजिक आइरहेको विजया दशमी शुभदीपावली र छठ पर्वको अवसरमा सम्पूर्ण दैलेखको भूमिलाई जन्म र कर्म बनाएका सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।
(लेखक अमरज्योति मावि, नेवारे सुर्खेतका माध्यमिक तहका अँग्रेजी विषयका शिक्षक हुन् ।)
ध्रुबकुमार अधिकारी । सुर्खेत । २५ आश्विन २०८०, बिहीबार १०:४९