कर्णालीमा सडक दुर्घटना जोखिम उस्तै

आर्थिक वर्ष २०७९/०८० मा सडक दुर्घटनाको जिल्लागत अवस्था हेर्दा प्रदेशको राजधानी भएकै जिल्लामा धेरै सडक दुर्घटनाहरु भएको देखिन्छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भूपेन्द्रबहादुर शाहीले दिएको जानकारी अनुसार २०७९/०८० मा सुर्खेतमा तीन सय १९ वटा सडक दुर्घटना भएका थिए । यि दुर्घटनामा ३० जनाको मृत्यु र पाँच सय ५६ जना घाईते भएका छन् ।

चालु आर्थिक वर्ष २०८०/०८१ मा समेत सडक दुर्घटनाको अवस्था उस्तै छ । चालु आर्थिक वर्षको असोज १९ गतेसम्ममा सुर्खेतमा एक सय ४० वटा सडक दुर्घटनाहरु घटिसकेका छन् । प्रदेशगत तथ्याङ्क हेर्दा यो संख्या ६८ प्रतिशतले बढी हो । साउन देखि असोज १९ गतेसम्ममा कर्णालीमा दुई सय तीन वटा सडक दुर्घटनाहरु घटेका छन् ।

करिव तीन महिनाको यस अवधिमा २७ जनाको मृत्यु र चार सय २८ जना घाईते भएको प्रहरीको तथ्याङ्क छ ।

चाडपर्वको समयमा सवारी दुर्घटनाको जोखिम अन्य समय भन्दा बढ्छ । यस समयमा सडकमा सवारीको चाप बढ्ने तथा संख्यात्मक रुपमा समेत धेरै नागरिकहरु सडक यात्रामा निस्किएका हुन्छन् ।

विगत तीन वर्षको तथ्याङ्क हेर्दा कर्णालीमा असोज महिनाको अवधिमा मात्र ८५ वटा सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा यसरी सवारी दुर्घटना हुने जोखिम कर्णालीमा धेरै नै छ । र, यो संख्या पनि कर्णालीमा बढ्दो अवस्थामा देखिन्छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतको तथ्याङ्क अनुसार असोज महिनाको समयावधिमा दुर्घटनाहरु झन् बढ्दो अवस्थामा देखिन्छन् । २०७७ को असोजमा मात्र कर्णालीमा ठूलाखाले १८ वटा सडक दुर्घटना भएका थिए । २०७८ मा भने यो संख्या बढेर २३ वटामा पुगेको छ । त्यसैगरी २०७९ सालमा असोज महिनाको समावधिमा मात्र कुल ४४ वटा सडक दुर्घटनाहरु भएको प्रहरीको तथ्याङ्क छ ।

चाडपर्वको समयमा मात्र होइन अन्य समयमा भएका सडक दुर्घटनाको समेत संख्या कर्णालीमा बढ्दो अवस्थामा छ । ट्राफिक व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार विगत तीन आर्थिक वर्षमा कर्णालीमा एक हजार दुई सय ७७ वटा सडक दुर्घटनाहरु भएका छन् ।

२०७७/०७८ मा दुई सय ९१, २०७८/०७९ मा चार सय दुई र २०७९/०८० मा कर्णालीमा पाँच सय ४४ वटा सडक दुर्घटना भएको कार्यालयको तथ्याङ्क छ । यस अवधिमा कर्णालीमा सडक दुर्घटनाका कारण चार सय २५ जनाले ज्यान गुमाएका छन् । वार्षिक रुपमा सैयौं कर्णालीवासीले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको तथ्याङ्कले जनाएको छ ।

२०७७/०७८ मा ९८ जना, २०७८/०७९ मा एक सय ९७ जना र २०७९/०८० मा एक सय ३० जना नागरिकले दुर्घटनामा ज्यान गुमाएको प्रहरीको तथ्याङ्क छ । त्यसैगरी तीन आर्थिक वर्षमा आठ सय ६२ जना गम्भिर घाईते र एक हजार सात सय ३८ जना दुर्घटनामा समान्य घाइते भएका थिए ।

तीन आर्थिक वर्षमा दुर्घटनामा घाईते हुनेहरुको संख्यात्मक अवस्था हेर्दा समेत जोखिम बढेको नै देखिन्छ । २०७७/०७८ मा एक सय ६९ जना, २०७८/०७९ मा तीन सय ६२ जना र २०७९/०८० मा तीन सय ३१ जना दुर्घटनामा गम्भिर घाइते भएका थिए । त्यसैगरी २०७७/०७८, २०७८/०७९ र २०७९/०८० मा दुर्घटनामा सामान्य घाईते भएका नागरिकहरुको संख्या क्रमशः तीन सय ९१, पाँच सय ८८ र सात सय ५९ जना रहेको छ ।

तीव्र गति नै मुख्य कारण

सडक दुर्घटनामा सवारीको वर्गीकरण गर्दा मोटरसाइकल दुर्घटनाहरु धेरै नै भएको देखिन्छ । २०७६/०७७ देखि २०७८/०७९ सम्म भएका सडक दुर्घटनामा संलग्न रहेका सवारीहरुको विवरण हेर्दा चार सय २७ वटा मोटरसाइकल तथा स्कुटर सवारी दुर्घटनामा परेको देखिन्छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतको ‘सवारी साधनको संलग्नता’को विश्लेष्णात्मक तथ्याङ्कले ठुला खाले सवारीभन्दा साना सवारी नै दुर्घटनाको बढी जोखिमा देखिन्छन् । २०७६/०७७ मा ९९ वटा, २०७७/०७८ मा एक सय १८ र २०७८/०७९ मा दुई सय १० वटा दुर्घटनामा मोटरसाइकल तथा स्कुटरको संलग्नता रहेको तथ्याङ्कले जनाएको छ ।

त्यसैगरी जीप/कार र ट्याक्टर दुर्घटनाको संख्या मोटरसाइकल भन्दा केहि हदसम्म न्यून रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतले जनाएको छ ।

यि तीन आर्थिक वर्षमा एक सय ६६ वटा दुर्घटनामा जीप/कार र एक सय ४६ वटा दुर्घटनामा ट्याक्टरको संलग्नता रहेको कार्यालयले जनाएको छ ।

कर्णालीमा सडक दुर्घटनाको कारण तर्फ हेर्दा भने सवारीको तीव्र गति नै मूख्य कारणको रुपमा देखा परेको छ । २०७९/०८० आर्थिक वर्षमा सडक दुर्घटनाहरुको यकिन कारणको विश्लेषण नभएपनि सो अघिका आर्थिक वर्षमा भएका दुर्घटनालाई हेर्दा तीव्र गति नै मुख्य कारणका रुपमा देखा परेका छन् । २०७६/०७७ देखि २०७८/०७९ सम्म भएका दुर्घटनाहरुको विश्लेषण गर्दा पाँच सय ३९ वटा सडक दुर्घटनाका कारण तीव्र गति नै थियो ।

यो संख्या पनि यि आर्थिक वर्षहरुमा बढ्दो अवस्थामा देखिन्छ । २०७६/०७७ मा एक सय ३२, २०७७/०७८ मा एक सय ५१ र २०७८/०७९ मा दुई सय ४८ वटा सडक दुर्घटना तीव्र गतिका कारण घटेका थिए ।

तीव्र गति पछि भने सवारीको यान्त्रिक कारणले सडक दुर्घटना निम्त्याएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतको तथ्याङ्क छ । २०७६/०७७ मा ४९ वटा, २०७७/०७८ मा ६४ वटा र २०७८/०७९ मा ८६ वटा दुर्घटनाहरु सवारीको यान्त्रिक कारणले घटेका थिए ।

सडक दुर्घटनामा सवारीको तीव्र गति नै मूख्य कारण फेला पारेको ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरणका लागि ‘लभ ३०’ अवधारणा सार्वजनिक गरेको थियो ।

नागरिकहरुलाई सचेतनाका लागि गत वर्ष २०७९ मै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतले यो अवधारणा ल्याएको हो । यसको मूख्य सन्देश भनेकै सडकमा सवारी कुदाउँदा प्रति घण्टा ३० किलोमिटर सम्मको गतिमा चलाउनुपर्छ भन्ने हो ।

कर्णालीका सडकको अवस्था, यहाँको सवारी चाप तथा दुर्घटनाहरुको कारण पहिल्याउदै ट्राफिक प्रहरीले यो अवधारणा साझा गरेको थियो ।

यस अवधारणा अनुसार नागरिकहरु सवारी दुर्घटनामा परेपनि न्युन गतिका कारण दुर्घटनापछि क्षतिको जोखिम घट्ने बताइएको छ । जसअनुसार न्यून गतिका समयमा भएका करिव ९० प्रतिशत दुर्घटनामा नागरिकको ज्यान जोगिने र मानव मृत्युदर घट्ने ‘लव ३०’ अवधारणाको सन्देश थियो ।

चेकजाँच बढाइयो

हाल चाडपर्वको समयलाई लक्षित गरी ट्राफिक प्रहरीले चेकजाँच र सचेतना लगायतका कार्यक्रमहरु अघि बढाएको छ । चाडपर्व सुरक्षा कार्य योजना, २०८० को निर्माण गर्दै प्रहरीले कर्णालीका ५३ स्थानमा सवारी चेकजाँच गर्ने योजना गरेको हो ।

सुर्खेतमा भने सवारीको चापलाई मध्यनगर गरेर प्रत्येक दिन दुई ‘सिफ्ट’मा मापसे (मादक पदार्थ सेवन) चेकजाँच समेत हुनेछ । साँझ ७ देखि १० बजेसम्म पहिलो चरण र १० बजेदेखि राति १ बजेसम्मलाई दोस्रो चरणमा मापसे चेकजाँचहरु हुने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भूपेन्द्रबहादुर शाहीले जानकारी दिए ।

कर्णालीका अन्य जिल्लाहरुमा भने एक चरणमा मात्र मापसे चेकजाँच गर्ने योजना रहेको छ । सवारी साधान चाकलाई ‘रिफ्रेसमेन्ट’का लागि कर्णालीका तीन नाकामा ‘रिप्रेस सेन्टर’को समेत व्यवस्था गरिएको छ । सल्यानको कपुरकोट, सुर्खेतको बड्डिचौर र छिन्चुमा रिप्रेस सेन्टर सञ्चालन गरिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

त्यसैगरी यात्रुको सहायताका लागि कर्णालीभर ३६ स्थानमा यात्रु सहायता कक्षको समेत स्थापना भएको छ ।

खासगरी कर्णालीका नाकामा विशेष चेकजाँचको व्यवस्था छ । बबई, सुब्बाकुना, कपुरकोट र सल्लीबजारमा चाडपर्व लक्षित विशेष चेकजाँचहरु हुनेछन् ।

अघिल्ला वर्षहरूमा झैँ कर्णाली प्रदेश प्रहरीले चाडपर्वको समयमा हुने सडक दुर्घटना जोखिम न्यूनीकरणका लागि नागरिक सहायता कक्ष, नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही, ट्राफिक सहितको संयुक्त जाँचलगायतका कार्यक्रमहरू अघि सारेको हो ।

असोज चौथों साता उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीमा ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’को समेत शुभारम्भ गरेका थिए । यस अभियानमा प्रहरीले सडक प्रयोगकर्ता र सडक सुरक्षाका विषयमा सरोकार राख्ने सबैलाई ट्राफिक नियमका विषयमा सचेतना फैलाउने उद्देश्य लिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया