शनिवार वीरेन्द्रनगर स्थित प्रदेश अस्पताल ल्याइएका गणेश मल्लको स्वास्थ्य अवस्था हाल सुधार हुदै छ । शुक्रवार राति भूकम्पका कारण घरको भित्ताले उनी सहित उनको परिवार सबैलाई च्यापेको थियो ।
‘भूकम्प आएको त थाह पायौँ । त्यो बेला भागेको भएपनि हाम्रो के हुन्थ्यो थाह छैन ?’ उनले भने, ‘केहि छिनमै घर ढल्यो । हामी परिवार त्यहि पुरियौँ ।’
घरका भित्ताले च्यापिएपछि गणेशलाई दुई घण्टापछि मात्र उद्धार गरियो । गणेशका भाई खुम्मु मल्ललगायतका परिवार सदस्य उनीहरुलाई उद्दार गरे । परिवारबाट छुट्टिएर बसेका खुम्मुको नजिकै अर्को घर छ । भूकम्पले घर भत्काएपछि उनी दाजुलाई खोज्दै आएका थिए ।
अहिले गणेशलाई शरिर चलाउन समेत निकै गाह्रो पर्छ । उनी अझै उपचारका क्रममा छन् । भूकम्प भएका समयमा दुई छोरी र छोरा सहित श्रीमति पनि उनी सँगै थिइन् । अहिले उनका श्रीमति र छोरालाई रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ मै उपचार गरिएको छ । तर भूकम्पमा परी गणेशले आफ्ना दुई छोरी भने गुमाएका छन् ।
भुकम्पमा १२ र १५ वर्षका छोरी गुमाए । दुई तलामा ६ कोठा भएको घर थियो, त्यो पनि अव बस्न नमिल्ने भएको छ ।
जाजरकोटको भेरि नगरपालिका–१ निवासी कौशिला विकले पनि भूकम्पमा नाती गुमाएकी छिन् । प्रदेश अस्पतालमा उपचारका लागि ल्याइएकी उनलाई आफ्नो भन्दा नाती गुमाउनुको पीडा धेरै छ ।
घरमा सात जनाको परिवार थियो, सबै सदस्य भुकम्पमा परे । श्रीमान, बुहारी, दुई नाति र एक नातिनी थिए, एक नातिको भूकम्पमै मृत्यु भयो ।
कौशिलाको परिवारलाई पनि उद्धार गर्न छिमेकी नै आएका थिए । पछि उपचारका लागि कहाँ लगियो, उनलाई अहिले पनि याद छैन । प्रदेश अस्पतालमा आएपछि मात्र उनले उपचारमा भएको याद गर्न थालेकी हुन् । उनलाई घाटि, छाति र खुट्टामा चोट लागेको छ ।
कल्पना ढेङ्गा मगर । सुर्खेत । १८ कार्तिक २०८०, शनिबार १९:३२