रानीघाट भेरी नदीमा पुल निर्माण अन्योल

भेरी नदीमा निर्माणाधिन पक्की पुल १० वर्षदेखि अलपत्र अवस्थामा छ । निर्माण कम्पनी पप्पु मल्ल जेभी कन्स्ट्रक्सन अदालतसम्म पुगेपछि निर्माण कार्य अन्योल बनेको हो ।

सडक डिभिजनले ठेक्का तोडेर निर्माण कम्पनीलाई कारवाही प्रक्रिया अगाडी बढाएपछि सो विषय अदालत प्रवेश गरको हो । रानीघाटको भेरी नदीमा पुलको निर्माण कार्य पटक–पटक शुरु गरे पनि निर्माण कार्य हालसम्म पनि अलपत्र अवस्थामा छ ।

नयाँ पुल निर्माणका लागि नापजाँच डिजाइन स्टमेट र टेण्डर प्रक्रिया अन्योल बनेको छ ।

पप्पु मल्ल जेभी कन्स्ट्रक्सनसँग सडक डिभिजन कार्यालय, सुर्खेतले २०६९ असार २९ गते पक्की पुल निर्माणमा १४ करोड रुपैयाँको कवोल गरेर सम्झौता गरेको थियो । पप्पु मल्ल जेभी कन्स्ट्रक्सनले ४२ महिनामा निर्माण कार्य सक्ने गरि ठेक्का लिएको थियो । जसमा २०७२ पौष २९ गते सम्ममा काम सम्पन्न गर्नुपर्ने हो तर २०७२ सालदेखि नै निर्माण कार्य रोकिएको सडक डिभिजन कार्यालय, सुर्खेतका इन्जिनियर अशोक चौधरीले बताए । निर्माण कार्य रोकिए पछि पप्पु मल्ल जेभी कन्स्ट्रक्सनले पटक–पटक निर्माण सुरु गरेर काम अलपत्र छाडेको उनले बताए ।
‘त्यहि ठाउँमा अहिले नयाँ पुल निर्माण गर्न संरचनाको प्राविधिक मुल्याङ्कन, पूर्वाधारको उपयोग यकिन गर्ने र यदि गर्न सकिने भएपनि नयाँ ठेक्का प्रक्रियामा जाने योजना छ’, इन्जिनियर चौधरीले भने ।

सडक डिभिजन कार्यालय, सुर्खेतले गत आर्थिक वर्ष २०७९-०८० को भदौ महिनामा ठेक्का तोडेपनि अन्य प्रक्रिया अघि बढ्न सकेको छैन । ठेक्का तोडिएपछि निर्माण कम्पनी अदालत पुग्दा पुल निर्माण, नयाँ ठेक्काको प्रक्रिया रोकिएको छ ।

पुलको पुरानो डिजाइनमा फाउन्डेशन जति गहिराइमा पु¥याउनुपर्ने हो त्यति सम्म पु¥याउन नसकेको सडक डिभिजन कार्यालय सुर्खेतको दावि छ । पप्पु मल्ल जेभी कन्स्ट्रक्सनले भने काम गर्दा ६-७ मिटरकै गहिराईमा ढुङ्गा निस्किएको कारण गहिराई सम्म पुग्न नसकेको दावी गरेको उनले बताए ।

तर सडक डिभिजन कार्यालयको अध्ययन अनुसार कन्स्ट्रक्सनले गरेको दावि अनुसार गहिराईमा ठुला ढुङ्गा नभएको तर सामान्य ढुंगाहरु मात्र भएको सडक डिभिजन कार्यालयको भनाई थियो ।

निर्माण कम्पनी र सडक डिभिजन कार्यालयविचको मतभेदका कारण यसको असर पुल निर्माणमा परेको छ ।

‘निर्माणाधिन पक्की पुलको वायाँ तर्फ जेभी कन्स्ट्रक्सनले फाउन्डेशन गराएको छ । जम्मा १८ मिटर गहिराई गाड्नु पर्नेमा बिचको चार मिटर र दायाँ साइडको १२ मिटर मात्र गहिराईमा फाउन्डेशन गाडिएको छ’, उनले भने, ‘ठेक्का तोडिएपछि कसले लिने ? पुरानो संरचना कत्तिको टिक्छ, टिक्दैन् । यस बारे अध्ययन गर्न नै गाह्रो भएकाले अहिले सम्म कुनै पनि कम्पनीले पुल निर्माणमा हात हाल्न सकेका छैनन् ।’

१४ करोडको लागतमा सम्झौता भएको पुलमा हालसम्म पप्पु मल्ल जेभी कन्स्ट्रक्सनले चार करोड रुपैयाँ भुक्तानी लगिसकेको इन्जिनियर चौधरीले जानकारी दिए ।

यातायात सेवाबाट बञ्चित छन् नागरिक

निर्माणाधिन पक्की पुल अलपत्र परेपछि रानीघाट, तेलपानी, श्रीचौर, बरपानी लगायत क्षेत्रका नागरिकहरु प्रत्यक्ष मारमा परेका छन् ।

पुल निर्माण अलपत्र हुँदा त्यस क्षेत्रका नागरिकहरु पुलमात्र नभई यातायात सेवाबाट समेत बञ्चित भएका छन् ।

भुरिगाउँ–तेलपानी सडकलाई १० लाख बजेट

बर्दिया राष्ट्रिय निकुञ्ज भित्र रहेको अम्रेनी पोष्टदेखि ढाँडबास हुँदै तेलपानी सम्मको सडक निर्माण गर्न १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी आशिष न्यौपानेका अनुसार उक्त बजेटले करिव २० किलोमिटर सम्मको सडक निर्माण गरिनेछ ।
यस सडक खण्डमा ढाँडबास सम्ममा पहिले नै ट्रयाक खुलिसकेको छ ।

यस बजेटमा सडक निर्माण गर्न प्रयाप्त नभएपनि निकुञ्जमा गस्ति गर्नेहरुका लागि सहज हुने उनले बताए ।

चोरी सिकारीका गतिविधिहरु पनि बढ्दै गएकोले यसको नियन्त्रणमा मद्दत पुग्ने उनले जनाए ।

‘यसको अरु सबै प्रक्रिया पुरा भएको र दशै, तिहारले गर्दा अलि ढिला भएको छ । यो क्षेत्रमा सडक विस्तार भएमा वर्षौदेखि नदीका कारण बराहताल गाउँपालिकाका नागरिकहरुलाई सहज हुन्छ’, उनले भने ।

तेलपानीसम्म सवारी पुगेपछि तराई क्षेत्रको अवलोकन गर्न जाने बाह्य र आन्तरिक पर्यटकहरुलाई सहज हुने उनले बताए ।

यो सडक कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको बर्दिया, सुदूरपश्चिमका कैलाली र धनगढी जोड्ने द्रुतमार्गको रुपमा लिइन्छ ।

तपाईको प्रतिक्रिया