भूकम्प विगतदेखि वर्तमान

नेपालको भूकम्प इतिहासलाई केलाउँदा आठ सय वर्षमा ५१ भन्दा बढी ठूलै भूकम्पहरु गएको तथ्याङ्क भेटिन्छ । रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प वि.सं. १२१८ को असारको सात दशमलव सात रेक्टर स्केलकोलाई मानिन्छ । यही भूकम्पमा परी जनतामात्र होइन, राजा अभय मल्ल समेत मारिएका थिए । स्थानीय बासिन्दाले करिब एक महिनासम्म काठमाडौं उपत्यका छोडेका थिए ।

वि.सं. १३१६ को भूकम्पले अनिकाल निम्त्याएको थियो । वि.सं. १४६५ को भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिर लगायत अन्य दर्जनौं मन्दिर ढालेको थियो । जमिनमा ठूलठूला धाँजा फाटेका थिए जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाएका थिए ।

वि.सं. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का महशुस गरिएको थियो भन्ने इतिहास छ । वि.सं. १८९० भदौमा ठूलो विनाशकारी भूकम्प गएको थियो । काठमाडौँमा रहेका दुईवटा धरहरा मध्ये एउटालाई पूरै ढालेको थियो भने अर्को आधा भत्किएको थियो । नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । पूर्वको संखुवासभाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको आठ दशमलव चार रेक्टर स्केलको यस भूकम्पले देशलाई नराम्रो असर पार्यो ।

यस्तै पछि सुदूरपश्चिमको बझाङलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव चार रेक्टर स्केलको भूकम्प जाँदा करीब २५ सय घर ध्वस्त भए । वि.सं. २०४५ भदौमा पूर्वी नेपालको उदयपुरलाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव सात रेक्टर स्केलको भूकम्पमा परी करीब सात सय ५० जना मानिसले ज्यान गुमाएका थिए भने ६ हजार पाँच सय भन्दा बढी घर भत्किएका थिए । यस्तै २०६८ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रबिन्दुमा गएको भूकम्पमा एक सय ११ जनाको मृत्यु हुनुका साथै दुई सय भन्दा बढी घाइते भएका थिए ।

वि.सं. २०७२ को भूकम्पले आठ हजार पाँच सय ५६ जनाको ज्यान लिएको थियो भने करिब २३ हजारको संख्यामा घाइते भएका थिए । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पमा परी दुई हजार ६ सय ७३ सरकारी भवनहरूमा पूर्ण क्षति, तीन हजार सात सय ५७ वटा सरकारी भवनमा आंशिक क्षति भएको थियो ।

यसैगरी ६ लाख दुई हजार दुई सय ५७ वटा सर्वसाधारणका घर पूर्ण क्षति र दुई लाख ८५ हजार ९९ घरमा आंशिक क्षति भएको थियो । यो भूकम्पमा परी धरहरा, वसन्तपुर, बुङमतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त भएका थिए ।

जाजरकोट–रुकुम भूकम्प २०८०

राति ११ः४७ बजे पहिलो भूकम्पको धक्का महशुस भएको थियो । रातको समयको कारण पनि ठूलो क्षति भयो । त्यसपछि क्रमशः विभिन्न म्याग्निच्युडका पराकम्पहरु गए । खेलप्रेमीहरु नेपाली युवा क्रिकेटरले दिलाएको खुशीमा निदाएको थिए, कोही निदाउँदै थिए । जाजारकोट र रुकुममा राती १२ बजेपछि प्राय सबै घरबाहिर बसेछन् । त्यहाँका ९० प्रतिशत घरहरु कच्ची नै रहेछन् । पूर्ण क्षतिग्रस्त भए । भुकम्पमा धेरै गुमेको खबरले स्तब्ध बनायो । धेरै घाइते भएको खबरले निक्कै दुःखित बनायो । गरिवी त्यस्तै छ । ठूलो भूकम्पले मक्किएका घरहरु जतिखेर पनि ढल्न सक्ने अवस्था देखिन्छ ।

भूकम्प पिडितहरुको छाना, खाना र नाना गुमेको छ । यस्को सुनिश्चितता गर्न बिलम्ब भयो भने पिडितहरु झनै दीनहीन बन्नेछन् । विद्यालय उमेरका बालबालिकाहरुको विद्यालय शिक्षा सुनिश्चित गर्न थप कठिनाइ सिर्जना हुन गएको छ । यी सबै विषयलाई स्थानीय तह, कर्णाली प्रदेश र नेपाल सरकारले आपसी समन्वय गरी राहतको पूर्ण कार्यक्रम ल्याउनु पर्दछ । प्रभावकारी रुपमा वितरण गर्नुपर्दछ । पश्चिम नेपाल भूकम्पको जोखिममा छ भन्ने विषय बहसमै थियो । दुई सय वर्ष भन्दा बढी समयदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन । बझाङ भूकम्पले पनि यो संकेत गरेकै थियो । यसतर्फ हामी सचेत बन्न सकेनौ । हाल पनि करीब ९० भन्दा बढी विद्यालय भवनहरु पूर्णरुपमा क्षतिग्रस्त भए । करीब साढे तीन सय भन्दा बढी कक्षाकोठाहरु पनी पूर्ण क्षतिग्रस्त थिए । करीब ५० वटा जति विद्यालयका शौचालयहरु पूर्णरुपमा क्षति भएको प्रारम्भिक अनुमान छ । भर्खरै दशैं सकिएको थियो । तिहारको माहोल तातिसकेको थिएन । कति सात समुन्द्र पारीबाट पनि आएका रहेछन् । कति सहरबाट आएका । बाहिर पढ्ने विद्यार्थीहरु गाँउको मृगतृष्णा बोकेर आएका । अन्ततः प्राकृतिक प्रकोपको शिकार भए ।

वि.सं. २०७८ को माघमा जाजरकोट प्रमुख जिल्ला अधिकारी सहितको एउटा कार्यक्रम भएको रहेछ । उक्त कार्यक्रममा यो जिल्ला भूकम्पको उच्च जोखिममा छ भनेर प्रविन कार्कीले भनेका रहेछन् । उनी त्यतिखेर जाजरकोटमा पूर्वाधार विकास कार्यालयका प्रमुख रहेछन् । उनले त्यहाँका संरचना हेरेरै भने होलान् । भूकम्प मापदण्ड विपरीतका संरचना । एक सय ५३ जनाको मृत्यु भयो । बाँकेले पनि राम्रै तत्परता देखायो । उपचारका लागि भेरी अस्पताललाई भूकम्प विशेष डेडिकेटेड अस्पतालका रुपान्तरण गरेछ । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको रहेछ । भेरी अस्पताल बाहेक सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँच वटा बेड तयारी अवस्थामा राखिएको उल्लेख छ भनेर सूचना दियो ।

जाजरकोट र पश्चिम रुकुममा अलपत्र परेकाहरुलाई जिप्रका, जाजरकोट प्रहरीले सम्पर्क नम्बर दियो । रुकुम पश्चिम नेपाल प्रहरीले पनि सम्पर्क गर्न मोबाइल नम्बर सार्वजनिक गर्यो । अस्पतालका यि सकारात्मक कुराहरु हुन् ।

संरचना र अभ्यास

छोटो समयमा भएको धनजनको ठूलो क्षति भयो । अभाव र गरिबीमा पिल्सिएको सबैभन्दा ठूलो विपद् हो । सामाजिक, आर्थिक र भौतिक क्षति पुनर्निर्माण गर्ने उद्देश्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन त होला । तर स्रोतको संकलन, प्रभावकारी परिचालन र उपयोगको अवस्था के हुने हो । जनधनको क्षति न्यूनीकरणका लागि केही आधारभूत काम गर्न भने यो प्राधिकरण तथा समस्त राज्य प्राणाली नै असफल भएका छन् । राष्ट्रिय योजना आयोगको अगुवाइमा विपद्पछिको आवश्यकताको आंकलन समयमै गर्नु पर्छ जस्तो लाग्छ । राजनीतिक रस्साकस्सी पनि चल्ने नै होला ।

प्राधिकरणले धेरै समयसम्म कर्मचारीहरूको अभाव र असहयोग झेल्नुपर्छ । कति हजार निजी आवासीय घरको पुनर्निर्माण अनि कति सरकारी र सामुदायिक संस्था आवश्यक पर्ने हुन् । विदेशतिरको अनुभवलाई लिने हो भने पुनर्निर्माण प्राधिकरणले घरको मोडल बनाउँदा स्थानीय तथा सांस्कृतिक आवश्यकता, परिवारको आकार, परिवारको जीविका चलाउन आवश्यक पर्ने विषयहरूलाई पनि ध्यान दिने गर्दा रहेछन् । सार्वजनिक विद्यालय र स्वास्थ्यचौकीका आधुनिक भवनहरू बनाउनु पर्ने हुन्छ । कतिपय महत्वपूर्ण पुरातात्विक संरचनाहरू र दरबारसमेतमा क्षति भएको देखिन्छ । कतिपय भूमिहीनले पनि घडेरी किनेर आफ्नै घर बनाउने अवसर प्रदान गरेमा उनीहरुको पनि स्थायी समस्याको समाधान हुन सक्छ । विपद्को हिसाबले असुरक्षित केही बस्तीलाई सुरक्षित स्थानमा सार्नु पनि आवश्यक छ कि? डकर्मीको तालिम लिएका छन् । करिब ६ हजार इन्जिनियरले भूकम्प प्रतिरोधी निर्माणबारे धेरथोर ज्ञान दिनु पनि आवश्यक रहन्छ । २०७२ को भूकम्पले ठुलै चेतावनी दिएको थियो । तर बाध्यताले हामी तयारीमा लाग्न सकेनौँ । केकति कारणले धेरै क्षति भयो, उद्धारमा केकति कमजोरी भयो र ती कमजोरीहरूलाई सच्याउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा हामीले केके गर्नुपर्छ भनेर कुनै ठोस अध्ययन हुनै सकेन । अब यस्तो भूकम्प कहिल्यै आउँदैन झैं गरेर बसिरहने काम भयो । यस्तो अवस्थामा राज्य देशभरि नै भूकम्प प्रतिरोधी निर्माणमा आक्रामक रूपले लाग्नुपर्ने हुन्छ ।

उद्धार, राहत र पुनस्र्थापना

उद्धारको कार्य अझैँ पूर्ण रुपमा हुन सकेको छैन । पशुहरुको उद्धार हुन सकेको छैन । पछि महामारीको समस्या हुन सक्ने सम्भावना टरेको छैन । मृत पशुलाई पुर्ने काम आवश्यक छ । खुला दिशा पिशावले थप सिर्जना गर्न सक्छ । राहत त एकद्वार प्रणालीबाट वितरणको ढोलकी बजाएर सदरमुकाममा थन्किएको खबर छ । साथै यसमा राजनीतिकरण भएका आवाजहरु पनि आएका छन् । यसो नहोस् । वैकल्पिक उपायहरु अपनाएर वितरण शिघ्र होस् । सबैले साझा दुखलाई साझा तरिकाले समाधानको मार्गमा जावस् । तत्कालै पुनस्र्थापनाका कार्यहरु पनि अघि बढुन् ।

एउटी नौ वर्षकी परिवारका सबै सदस्य गुमाएकी प्रेमकली जस्ताको जीवनको जिम्मा सरकारले लिओस् । घरविहिनको घरको जिम्मा लिओस् । सबै सरकारी तथा गैरसरकारी संघ, संस्था र नागरिक समाजको भूमिका बलियो बनोस् ।

अस्तायौ एलिना, रोयो अमरज्योति

स्तब्धता र विक्षिप्तताको चित्कारमा सामाजिक सञ्जाल ढाकिएको अवस्थामा एउटा फेसबुक स्टाटस आयो । ‘तिमी फर्केर आउनु है एलिना, हामी कलेज कुरेर बसिरहेका हुनेछौँ ।’ यो स्टाटस अरु कोहिको थिएन । एलिना पढ्ने सुर्खेतको अमर ज्योति माविका हेडसर खगेन्द्र थापाको । मैले पत्याउनै सकिन । मलाई मेसेन्जरमा ह्वारह्वार्ती मेसिज आए, साँचै हो सर, एलिनाको बारेमा ? मैले अपुष्ट समाचार मात्र हो भनेँ । तर साँचै रहेछ । एलिना अमरज्योति मावि, नेवारेकी तीन वर्षे जियोमेटिक इन्जिनियरिङकी विद्यार्थी थिइन् । मैले पहिलो र दोस्रो सेमेस्टरमा तिमीलाई अँग्रेजी पढाएको थिएँ । पढ्नमा राम्रो थिइन् । उनलाई लोकसेवाको प्रेरणा मैले पनि दिएको हुँ । उनले आयोग पढ्दा बेलाबेला टिप्स माग्थिन् ।

विद्यालय प्रशासन ,शिक्षक र विद्यार्थीको नजरमा एलिना एक संघर्षशिल, अब्बल र अनुशासित पनि थिइन् । सिटीइभिटीको तीन वर्षे कोर्षको अब करिब एउटा सेमेष्टर मात्र बाँकी थियो । उनको स्थायी घर दैलेखको दुल्लु नगरपालिका थियो । उनको इन्जिनियर बन्ने सपना झण्डै पूरा हुने अवस्थामा थियो । चौथो सेमेस्टरसम्म नियमित कक्षामा उपस्थित भएर अध्ययन गरिरहेकी उनी गत वर्ष भदौमा मात्र लोकसेवा आयोगबाट नापी कार्यालय जाजरकोटमा सर्वेक्षक (अमिन) मा सिफारिस भएकी थिइन् । उनले मलाई त एक नातेदार र अभिभावकको रुपमा पनि हेर्थिन् । बेलाबेला सल्लाह लिन्थिन् । लोकसेवा पास गरेपछी एक दिन सुर्खेतको तातापानीमा भोजको आयोजना गरेकी रहिछन् । अमरज्योतिको सिटिइभिटीको प्रोग्राम कोअर्डिनेटर अमर विष्ट, अन्य सरहरु र मलाई निमन्त्रणा पनि गरेकी थिइन् । तर हाम्रो त्यही दिन विद्यालयको अर्को कार्यक्रम भएर जान पाएनौँ । विद्यालयको भेटमा नै बधाइ दियौँ । पढाइसँगै सरकारी जागिरलाई एकसाथ अगाडि बढाउँदै लगेकी भण्डारी मध्यरातमा आफ्ना भाइसँगै सदाका लागि नापी कार्यालय जाजरकोटको क्वार्टरमा सुतेकै अवस्थामा भवन भत्किँदा अस्ताएको खबर आयो । दशैं मान्न घर पुगेकी उनी घरबाट फर्केर चार दिनअघि मात्र जाजरकोट सदरमुकाम खलंगा पुगेकी रहिछन् ।

उनले दशैं–तिहार बिदामा बसेका भाइ प्रज्वल शाहीलाई आफूसँगै लगेकी थिइन् । आफू भण्डारीकी छोरी भएपनि उनका सहोदर बुवाको मृत्यु भएपछि एलिनाकी आमाले दोस्रो विवाह गरेकी रहिछिन् । एलिना र प्रज्वलका आमा एकै भए पनि बुवा भने फरक रहेछन् । पढाइमा अब्बल र मिलनसार एलिनाको निधनले विद्यालयलाई ठूलो क्षति पुगेको छ । अमर ज्योति माविका प्रधानाध्यापक खगेन्द्र थापा, सबै शिक्षक र विद्यार्थीहरु रोइरहेका छौँ । अमरज्योति रोइरहेको छ । अमरज्योति सिङगो परिवार र म एक तिम्रो शिक्षकको तर्फबाट तिम्रो दिवांगत आत्माको चिरशान्तीको कामना गर्दछौँ एलिना ! तिमी सधैँ हाम्रो स्मरणमा रहने छौ । तिम्रा सबै असल कर्महरु अरु भाइबहिनीहरुले आदर्शका रुपमा ग्रहण गर्नेछन् । साथै शोकाकुल परिवारजन र नातेदारमा समवेदना व्यक्त गर्दछौँ । हाम्री एक असल, इमान्दार, अब्बल र स्नेही विद्यार्थीको कारुणिक अवसानप्रति भावपूर्ण श्रद्दाञ्जली ! भावपूर्ण श्रद्धाञ्जली !!

(लेखक अमरज्योति मावि, नेवारे सुर्खेतका माध्यमिक तहका अँग्रेजी विषयका शिक्षक हुन् ।)

तपाईको प्रतिक्रिया