भनिन्छ, ‘बुढापूराना मानिसहरु– जिउँदा इतिहास हुन् ।’ दशैँ पनि सकिन लागेको थियो । यो वर्ष मनाउने गरी दशैँ आएको थिएन मेरो लागि । तैपनि भेटघाट र पाहुनाको आगमनले कुनै दशैँ भन्दा कम अनुभूति भएको थिएन । बेलुकी चार बजेतिर मनले घरमा नबस् र कतै बाहिर निस्की भन्यो ।
मनले गन्तव्यको सघन छलफल गरिरहेको बेला हिमाली पुस्तकालयलाई झसङ्ग सम्झिएँ । म त्यतै लागेँ । यो कर्णाली प्रदेशको वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थानमा छ । पुस्तकालयमा अलि मानिसहरुको चाप देखेँ । नेपाल मात्र होइन, विश्वको इतिहासका धेरै घटनाहरु पढेको, परीक्षा पास गरेको मैले आज हिमाली पुस्तकालय कै इतिहास जान्न मन लाग्यो ।
हिमाली पुस्तकालयका संस्थापक मध्येका एक जना श्यामकृष्ण शर्मा (अधिकारी ) हुन् रे भन्ने मैले सुनेको थिएँ । म उनलाई भेट्न उनको घरमा नै गएँ । भेट र कुराकानी भयो । वि.सं. १९९७ सालतिर जन्मेका उनी आठ दशकका जीवन्त इतिहास हुन् । पुस्तकालय स्थापना कालका मदन भट्ट र घनश्याम कोइराला त स्वर्गीय नै भइसकेका रहेछन् ।
पुस्तकालय स्थापनाको रोचक प्रसंग
हिमाली पुस्तकालय स्थापनाको रोचक प्रसंग रहेछ । श्यामकृष्णसँग धेरै जिज्ञासा राखेँ । उनले धेरै जानकारीहरु दिए । अन्त्यमा धन्यवाद पनि दिएँ जानकारीको लागि ।
वि.सं. २०२४ सालमा वीरेन्द्रनगरमा अलि बस्ती भरिएछ । पहाडतिरबाट मानिसहरु उपत्यकामा झरेछन् । बाक्लो बस्तिसँगै युवाहरु जम्मा भएछन् । पुस्तकालयको अवधारणा हेमप्रकाश पन्तले दिएछन् । पछि उनलाई लाइब्रेरियन बनाइएछ । संस्थापक अध्यक्ष भने हरिलाल पन्त भएका रहेछन् ।
शुरुमा पुस्तकालयको रुपमा घरको व्यवस्था भने हालको वीरेन्द्रनगर, ४ भैरवस्थानका भवानी सापकोटाको बुबा साहिँला सापकोटाले गराएका रहेछन् । घनश्याम कोइराला, श्यामकृष्ण शर्मा पछि लिलाधर गौतम र सल्लाहकारको रुपमा मदन भट्टहरुको संयोजनमा पुस्तकालय स्थापना भएछ । नामाकरणमा ‘हिमाली पुस्तकालय’ नै राखिएछ ।
समय वित्दै जाँदा ओमबहादुर बोहोरा, मेघबहादुर बोहोरा र पट्टुसिँह नेपालीले पनि हिमाली पुस्तकालयमा विभिन्न तवरले सहयोग र योगदान गरेका रहेछन् । पट्टुसिँह नेपाली त पत्रकार पनि रहेछन् । श्यामकृष्ण त्यतिखेर जनमावि हुँदै हालको शिबमावि लाटिकोइलीको शिक्षक भएका रहेछन् । त्यतिखेर माथि गोठीकाँडाको बस्ती उपत्यकामा झरेपछि दिनभर काम गरेर बेलुकी युवाहरु कतै गाँजा वा कुलतमा नभुलुन् भनेर पनि यो कार्यको शुरुवात गरिएको रहेछ ।
साँझ बेला बेला एकादशी, सोमबार, शिबरात्री आदिमा भजनकिर्तन गर्ने पनि गरिँदोरहेछ । यही हिमाली पुस्तकालयमा पछि बेलाबेला प्रौढ शिक्षा पनि चलाइएछ । तत्कालिन युवाहरु जग्गाको खोजिमा लागेछन् । पछि तीन सय ७० रुपैयाँमा वि.सं. २०२४ सालमा नै एक कठ्ठा १८ धुर जग्गा किनेछन् । जग्गा किन्न र घर बनाउन गाउँका स्थानीय बासिन्दाहरुले नगद र जिन्सी सहयोग लिएछन् । घर बनाएछन् । यो वि.सं. २०२५ सालमा नै बनेछ । घर बनाउँदा पनि कार्य विभाजन गरेर काम सम्पन्न भएछ । श्रमदानमा कसैले दार काट्ने, कसैले बोक्ने कसैले हिलोमाटो बनाउने, कसैले खर काटेर ल्याउने र केही पनि नगर्नेले यात पैसा दिनुपर्ने यात अनाजको उठाउनु पर्ने नियम बनाइएछ । पुस्तकालय घर बनाउन भने साठी रुपैयाँमा ठेक्का दिइएको रहेछ ।
घर बनेपछिको रोचक प्रसंग
‘हिमाली पुस्तकालय’ घर बनेछ । त्यो समयको कच्ची घर त्यो पनि दुईतले । अझैँ रोचक कुरा त के भने पञ्चायतको आफ्नो भवन रहेनछ ।
त्यसैले तल्लो तला पुस्तकालयको रुपमा र माथिल्लो तला पञ्चायतलाई सहयोग स्वरुप कार्यालयको रुपमा काम गर्न दिइएछ ।
त्यतिखेर पञ्चायतको दबदबा भएकोले अहिले जस्तो वाक् स्वतन्त्रता थिएन । त्यसैले युवाहरुले देवकोटा जयन्ती, शहिद दिवस, कविता प्रतियोगिता तथा विभिन्न नाटकहरु मार्फत पञ्चायत विरुद्ध अप्रत्यक्ष रुपमा खारहरु पोख्ने गर्दारहेछन् । श्यामकृष्णलाई पनि केही नाटकको याद रहेछ । ‘गंगालालको चिता, हामी नेपाली’ पनि प्रदर्शन गरिएको प्रसंग जोडे ।
त्यतिखेर तिज वा दशैँमा पनि जनचेतनामुलक गीत गाउने, बनमा गएर बाबियो काटेर र लिङ्गा काटेर ल्याएर लिङ्गे पिङ समेत हालेर रमाइलो पनि गरिदो रहेछ । पछि पछि पुस्तकालयमा सरकारको निगरानी पनि बढेछ ।
बेलाबेला सरकार तर्फका मानिसहरु आएर पुस्तकालय खोतल्ने, पुस्तकहरुका प्रकारहरु निगरानी गर्ने पनि गरेछन् ।
पछि त्यो घर भत्किएछ । अनि पञ्चायतले हालको वीरेन्द्रनगर–४ को वडा कार्यालय नजिकै घर बनाएर सरेछ । हाल भएको जग्गा भैरब माविलाई दिने र पर पुस्तकालयलाई जग्गा दिने भन्ने निर्णय भए पनि पुस्तकालयको नाममा जग्गा पास भएनछ ।
वि.सं. २०४२ सालमा नेपालमा एउटा मात्र शिक्षक संगठन थियो । त्यो नेपाल राष्ट्रिय शिक्षक संगठन थियो ।
०४२ सालमा काठमान्डौँ जाउँ आन्दोलन रहेछ । सोही क्रममा घनश्याम कोइराला, बालाराम शर्मा, श्यामकृष्ण शर्मा (अधिकारी) लगायतलाई पक्राउ गरेछ । कतिलाई ६ महिना भन्दा बढी जेल राखेछ भने कतिलाई छोडेछ ।
सो पछी पुस्तकालय घनश्याम कोइरालाको घरमा सारिएछ । पछि नरेन्द्र कोइराला अध्यक्ष भएको बेला सानो घर बनेछ । त्यतिखेर लाइब्रेरियनको रुपमा श्यामकृष्ण कै छोरी ओमकुमारी शर्मा(अधिकारी) ले काम गरेकि रहिछिन् । त्यतिखेर पुस्तकालय राम्रोसँग चलेको र पठन संस्कृति पनि अभिवृद्धि भएको भनाइ ओमकुमारीको थियो । पछि २०४६ सालमा बहुदल आएपछि पुस्तकालयको विकास र प्रर्वद्धनको लागि सजिलो भएछ ।
वर्तमानमा हिमाली पुस्तकालय
किरणकिशोर सापकोटा र दिव्यराज खड्कासँग पनि पुस्तकालयको बारेमा केही कुराकानी भयो । गीर्वाणयुद्ध विक्रम शाहलाई पुस्तकालय स्थापना गर्ने राजा मानिन्छ, यसबाट नै कुराकानीको शुरुवात भएको थियो । किरणकिशोर सापकोटा वर्तमान कार्यकारी समितिका उपाध्यक्ष रहेछन् र दिव्यराज खड्का सचिव । तुलारामा तिवारीले वर्तमान अवस्थामा अध्यक्ष भइ काम गरेका रहेछन् उनी बाहिर भएकोले उनीसँग भने भेट भएन ।
केही बालबालिका दशैँ विदाको समयमा त्यहाँ पुस्तकहरु समाएर बसेकोमा खुसी पनि लाग्यो । सामुदायिक पुस्तकालय र पठन संस्कृतिको बारेमा लामै कुराकानी भयो । दिब्यराज खड्कालाई म पहिल्यै देखि चिन्थेँ । आयोग पढ्नेबेला उनीसँग केही वर्ष राम्रै संगत भएको थियो । आयोगमा भूगोल र इतिहासका कुरा पढ्दा उनी नेपाली र अँग्रेजी दुबै उपन्यासहरुको प्रसंग बेलाबेला ल्याइरहन्थे । एक पटक प्रदेश सांसद यामलाल कँडेलले ‘सभ्य समाजको एउटा इण्डिकेटर पुस्तकालय हो’ भनेका थिए । मलाई त्यो सही लागेको थियो । उनले दोस्रो तलाको ढलानका बेला दिनभरी आँफै उभिएर कामको निगरानी गरेका थिए । भवन बलियो बनोस् भन्ने उनको आसय देखिन्थ्यो । साँच्चै नै समाज रुपान्तरणको कार्य गर्ने हो भने वर्तमान चियागफे समाजलाई पढाइतिर कसरी आकर्षित गर्ने भन्ने कुरा चुनौतिको कुरा हो । यसको स्थापना पनि राजनीतिसँग जोडिएको हुनाले यसलाई सुर्खेतको एक गरिमाको पुस्तकालय पनि भनिदोरहेछ ।
तत्कालिन पञ्चायत विरुद्दको आन्दोलनमा एक जगको रुपमा यसले काम गरेको रहेछ । एक पटक प्रदेशको आर्थिक मामिला मन्त्री भएको बेला प्रकाश ज्वालाले पनि यो पुस्तकालयको राजनीतिक महत्व भएको कुरा व्यक्त गरेका थिए ।
बेला बेला यस पुस्तकालयले विभिन्न कार्यक्रम पनि गरेको हुन्छ । बेलाबेला नगरपालिकाले र प्रदेश सरकारले केही रुपमा आर्थिक सहयोग पनि गरेको रहेछ ।
२०७८ सालको कार्तिक ३० गते पुस्तक विमर्श कार्यक्रम भएको थियो । मलाई पनि निमन्त्रणा गरिएको थियो । हिमाली पुस्तकालयले आयोजना गरेको थियो । ऋति फाउन्डेसन समन्वय भएको थियो । मदन पुरस्कार विजेता लेखक निलम कार्की निहारीकालाई बोलाइएको रहेछ ।
उनको कृति ‘द्रौपदी अवशेष’माथी विमर्श भएको मलाई याद छ । यस भन्दा अगाडि लक्ष्मी जयन्तीको अवसर पारेर खुल्ला तथा विद्यालय स्तरीय कविता प्रतियोगीता भएको थियो । एकपटक सरुभक्तको कृति ‘पागल बस्ती’ माथि पनि विमर्श गरिएको थियो भने अर्को पटक महेशविक्रम थापाको मरीचिका माथि पनि विमर्श भएको याद छ ।
मध्यपश्चिम विश्वविद्यालयका रेशम खत्रीले टिप्पणी गरे जस्तो लाग्छ । यसै गरी एकपटक नयनराज पाण्डेको ‘उलार’ माथि पनि ‘पुस्तक विमर्श भएको याद छ ।
हिमाली पुस्तकालय पनि अनुसन्धानको केन्द्र हो । प्रविधि विकासकालागि प्रयोगशाला हो । सिर्जना उत्पादन गर्ने आलय हो । पुस्तकालय कलाकेन्द्र पनि हो । भविष्य निर्माणका उपयुक्त वातावरण हो । अनुशासन, सदाचार, नैतिकता र असल संस्कार सिकाउने गृह पनि हो । एउटा अर्धचेतन र असभ्य मानव व्यवहारलाई रुपान्तरण गर्छ । सचेत र सभ्य बनाउँछ । भवनको कोठामा पुस्तकहरु तथा पत्रपत्रिका एवम् उपयुक्त अध्ययन सामग्री संकलन गरिएको छ । यो ज्ञानको प्रवेशद्वार पनि हो । यो एउटा सुव्यवस्थित शैक्षिक केन्द्र पनि हो । यतिमात्र होइन, सबै सन्दर्भ सामग्रीहरु एउटै छानामुनि पढ्न पाइने ठाँउ पनि पुस्तकालय नै हो । उच्च गुणस्तरीय सूचना पाइने भरपर्दो ठाँउ पनि पुस्तकालय हो ।
नेपालमा प्रत्येक वर्षको भदौ १५ गते पुस्तकालय दिवस मनाउने चलन पनि छ । हिमाली पुस्तकालयले भने आफ्नै दिवस पत्ता लगाएर मनाउन शुरु गरोस् । जीन ज्याक रुसो र अलबर्ट आइन्टाइन्स पुस्तकालयबाटै अनौपचारिक शिक्षाले विश्व प्रसिद्धि पाएका हुन् ।
उनीहरु विद्यालय शिक्षा भन्दा पनि पुस्तकालय शिक्षालाई आत्मसात गर्दथे । पठन संस्कृतिले बालबालिकाको समय व्यवस्थापनमा पनि सहयोग गर्छ । हाम्रा बालबालिकाहरुले समयको सही सदुपयोग गरी दुव्र्यशनी, लत र एकलकाटे प्रवृत्तिबाट टाढा बनाउने वातावरण पनि रहन्छ । सामाजिकरणतिर उन्मुख गराउँछ । अब हिमाली पुस्तकालयलाई एउटा प्रादेशिक पुस्तकालयको विकासकोलागि सोच्ने कि ?
(लेखक अमरज्योति मावि, नेवारे सुर्खेतमा माध्यमिक तहका अँग्रेजी विषयका शिक्षक हुन् ।)
ध्रुबकुमार अधिकारी । सुर्खेत । २३ कार्तिक २०८०, बिहीबार ११:११