कर्णालीमा अहिले पनि नौं हजार बढी घरधुरीमा शौचालय निर्माण भएका छैनन् । राष्ट्रिय जनगणना, २०७८ का अनुसार कर्णालीमा नौं हजार पाँच सय ९६ घरधुरी शौचालय विहिन रहेको तथ्यांक छ ।
कर्णालीमा कुल तीन लाख ६६ हजार ३७ घरधुरी छन् । कुल घरधुरी मध्ये दुई दशमलव ६२ प्रतिशत घरधुरीमा शौचालय निर्माण नभएको जनगणनाले जनाएको छ । नेपालभर हेर्दा चार दशमलव २९ प्रतिशत घरधुरी शौचालय विहिन रहेको देखिन्छ ।
कर्णालीमा तीन लाख ५६ हजार चार सय ४१ घरधुरीले शौचालयको निर्माण गरेका छन् । सो मध्ये सार्वजनिक ढल भएका आठ हजार एक सय ४९ शौचालय कर्णालीमा छन् । त्यसैगरी दुई लाख २० हजार दुई सय २६ घरधुरीले शौचालयका लागि ‘सेप्टिक ट्यांक’को निर्माण गरेको जनगणनाले जनाएको छ ।
एक लाख २६ हजार सात सय ७९ घरधुरीले खाडल भएका शौचालय निर्माण गरेका छन् भने कर्णालीका कुल एक हजार दुई सय ८७ घरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्ने जनगणनाले जनाएको छ ।
प्रदेशगत रुपमा हेर्दा शौचालय निर्माण नभएको घरधुरी रहेका प्रदेशमा कर्णालीमा छैठौं स्थानमा छ ।
घरधुरीका आधारमा मधेश प्रदेशमा १२ प्रतिशतसम्म घरधुरीले शौचालय निर्माण नगरेको जनगणनाले जनाएको छ । मधेश प्रदेशमा ११ लाख ५६ हजार घरधुरी मध्ये एक लाख ३९ शजार बढी घरधुरीले शौचालय निर्माण गरेका छैनन् ।
त्यसैगरी लुम्बिनी प्रदेशमा पाँच दशमलव ६१ प्रतिशत, सुदुरपश्चिम प्रदेशमा चार दशमलव ३९, कोशी प्रदेशमा तीन दशमलव १६, बागमती प्रदेशमा एक दशमलव २४ र गण्डकी प्रदेशमा शून्य दशमलव ९५ प्रतिशत घरधुरी शौचालय विहिन रहेको देखिन्छ ।
सुर्खेतमै छैनन् शौचालय
कर्णालीमा जिल्लागत संख्या हेर्दा सुर्खेतमै शौचालय नभएका घरहरुको संख्या सबैभन्दा धेरै छ । सुर्खेतमा अझैपनि दुई हजार एक सय ७३ घरधुरी शौचालय विहिन रहेको राष्ट्रिय जनगणना, २०७८ को तथ्यांक छ ।
त्यसैगरी दैलेखमा एक हजार एक सय २०, सल्यानमा एक हजार ८३ र जाजरकोटमा एक हजार ६६ घरधुरी शौचालय विहिन रहेको जनगणनाले जनाएको छ ।
कालीकोटमा नौं सय २८, डोल्पामा सात सय ५१, मुगुमा ६ सय ८५, जुम्लामा ६ सय ४९, हुम्लामा ६ सय एक र रुकुम पश्चिममा पाँच सय ४० घरधुरी शौचालय विहिन रहेको जनगणनाको तथ्यांक छ ।
हजारौं घरधुरी सार्वजनिक शौचालयको भरमा
कर्णालीमा एक हजार बढी घरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्छन् । यहाँका कुल एक हजार दुई सय २७ घरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्ने राष्ट्रिय जनगणना, २०७८ ले जनाएको छ । सुर्खेतमा तीन सय ४६, दैलेखमा दुई सय एक, रुकुम पश्चिममा एक सय ४३ र जाजरकोटमा एक सय चार घरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्ने तथ्यांक छ ।
जुम्लामा ९४, कालीकोट र मुगुमा ९२/९२ घरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्छन् । त्यसैगरी सल्यनामा ८३, डोल्पामा ७८ र हुम्लामा ५४ धरधुरीले सार्वजनिक शौचालयको प्रयोग गर्ने जनगणनाले जनाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी शौचालय निर्माणको तयारी
जाजरकोट केन्द्रविन्दु भएको गएको भूकम्प प्रभावित स्थानमा अस्थायी शौचालयहरु निर्माण हुने भएका छन् । खानेपानी स्वच्छता तथा सरसफाईका क्षेत्रमा काम गरिरहेका गैरसरकारी संस्थाहरुसँगको सहकार्यमा अस्थायी शौचालय तथा पानीको गुणस्तर अध्ययन समेत गर्ने कर्णालीको योजना छ ।
भूकम्प प्रभावित स्थानमा स्वास्थ्य अवस्थाका विषयमा गतिविधि सार्वजनिक गर्दै स्वास्थ्य सेवा निर्देशनालयले यि गतिविधिका साथै स्वास्थ्य सामाग्रीहरुको वितरण समेत हुने जनाएको हो ।
निर्देशनालयका सूचना अधिकारी नवराज कँडेलले भने, ‘भौतिक मन्त्रालयको संयोजकत्वमा कर्णालीमा ‘वास कलष्टर’ हुन्छ । कलष्टरले भूकम्प प्रभावित स्थानमा पानीको परिक्षण तथा अस्थायी रुपमा सार्वजनिक शौचालयहरु निर्माण गर्ने छलफल गरेको छ ।’
पुनम वि.सी. । सुर्खेत । ३ मंसिर २०८०, आईतवार ११:५०