२०८१ चैत्र १
×

Now Playing

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको मृत्यु


रुकुम पश्चिममा जिप दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतीक बुढा छन् ।

बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिए ।

उनका अनुसार अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृह मन्त्रालयको समन्वयमा हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

सोमवार बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदुरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु१ज २२९७ नम्बरको जिप दुर्घटनामा परेको थियो । जिपमा सवार चालकसहित २२ जना घाइते भएका थिए ।

जिप मध्य पहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो । घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ ।

जिपमा क्षमताभन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।