म अलि सानो हुँदा वर्षायाममा खेतमा पानी लगाउनु पथ्र्यो । धेरै जनाका खेत थिए । कुलो एउटै थियो । जब म खेतमा पानी लगाएर घरमा जान्थेँ । त्यति खेर नै पानी अरुले भाँचीदिन्थे । अनि पछि फर्केर खेतमा आउँदा ५०–६० गरामा पाँच दश गरा मात्र भिजेका हुन्थे । त्यो कुलोले पूरै खेत भिजेको कहिल्यै थाहा पाइन ।
आज नेपालमा शिक्षा सम्बन्धि कार्यक्रमहरुको विगत हेर्दा नभिजेका खेतका गराको याद आयो । नेपाल सरकारले अलि पहिला ‘एक विद्यार्थी एक ल्यापटप’ कार्यक्रम ल्यायो । कोभिडको कारण सबै भन्दा बढी आइसिटीको आवश्यकता पर्ने बेला यो कार्यक्रम नै हरायो । अलि पछाडी ‘नमूना विद्यालय कार्यक्रम’ आयो, निर्देशिका बन्यो । नमूना विद्यालय पनि छनौट भए । नेपाल हो, यसका विशिष्ट आधारहरु बनाइए । ‘सम्धिका घरमा केरा छैनन्, सम्धि मेरो घरमा आउँदा भएका केरा पनि पाक्दैनन्’, भने झैँ धेरै विद्यार्थी र धेरै मेहनत गर्ने विद्यालय नमूनामा पर्दैनन् । नमूनाका रुपमा छनौट भएका विद्यालयमा विद्यार्थी कम हुन्छन् । जे भए पनि नमूना भनेको अनुशरण गर्न लायक हो । त्यसैले धेरै विद्यालयहरुले अन्य विद्यालयको नेतृत्व अनुशरण गर्छन् । व्यवस्थापन र कार्यप्रक्रिया अनुशरण गर्छन् । सकारात्मक विषयवस्तु अनुशरण गर्छन् । यस्तै गरुन् भन्दै कार्यक्रम बन्छन् तर गन्तव्यमा नपुगीकन सकिन्छन् ।
नमूना विद्यालय छनौटका आधारहरु
नमूना विद्यालय व्यवस्थापन निर्देशिका २०७४ सालमा आयो । नमूना विद्यालय हुनको लागि कक्षा एक देखि कक्षा १२ सम्म सञ्चालन भएको हुनुपर्ने बनाइयो । यसै गरी विद्यालयको आफ्नै नाममा पर्याप्त जग्गा भएको हुनुपर्ने भनियो ।
कक्षाकोठा, शौचालय, चमेना गृह, अडिटोरियम हल, संगीत प्रशिक्षण कक्ष, विज्ञान प्रयोगशाला, पुस्तकालय, खेलमैदान, छात्रछात्रावास निर्माण र सञ्चार ल्याब निर्माणका लागि पनि पर्याप्त जग्गा हुनुपर्ने भनियो । शहरी क्षेत्रका राम्रा विद्यालयले त्यति धेरै जग्गा कहाँ पाउने ? यसै गरी अपेक्षित विद्यार्थी संख्याको पनि योजना त बनाइयो तर कार्यान्वयनमा जाँदा के भो के । शिक्षण सिकाइमा र कार्यालयमा दैनिक कार्य सञ्चालनका लागि सूचना तथा प्रविधिको प्रयोग गर्न चाहिने मात्रामा विद्युत वा वैकल्पिक उर्जाको व्यवस्था भएको र इन्टरनेट सञ्जालको पहुँच पुगेको हुनुपर्ने भनियो । विद्यालयको सेवा क्षेत्रभित्र सडक सञ्जाल, वस्ती विस्तार र शहरीकरणको सम्भावना रहेको कुरालाई पनि आधार बनाइयो । विद्यालयको नतिजा तुलनात्मक रुपमा राम्रो रहेको हुनुपर्ने भनियो । समुदाय अत्यन्तै सक्रिय र क्रियाशिल बनाउनु पर्ने भनियो । अन्य विद्यालयसँग पनि सहकार्य गर्न सक्ने र सामुदायिक विद्यायलयलाई शिक्षण सिकाइमा आवश्यक सहयोग गर्न सक्ने तत्परता वा सम्भावना रहेको हुनुपर्ने भनियो ।
नमूना विद्यालय विकासक्रम
नेपालमा पछिल्लो समयमा शैक्षिक विकासको एउटा नवआयामको रुपमा नमूना विद्यालयको विकास र सञ्चालनको अवधारणा ल्याइयो । विभिन्न समयमा बहस, छलफल तथा अभ्यासहरु चलिरहे, चल्दैछन् । प्रतिस्पर्धात्मक दुनियाँमा विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको अभियानका विषय चर्कै रुपमा उठे । पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला र आधुनिक सूचना प्रविधियुक्त विद्यालयको आधार बनाइयो । नेपालको शैक्षिक विकासमा सामुदायिक विद्यालयको योगदान विशिष्ट किसिमको रहेको भएता पनि वर्तमान परिप्रेक्ष्यमा यस प्रकारका विद्यालयले प्रदान गरिरहेको सेवाको गुणस्तरमा विभिन्न कोणबाट प्रश्नहरु उठ्दै आए । देशभरी सञ्चालन भएका विभिन्न प्रकारका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको अवस्थामा पार्थक्य भयो । यस्तो अवस्थामा देशभर सञ्चालन भएका सामुदायिक विद्यालय प्रति सर्वसाधारणको विश्वसनियता अभिवृद्धि गर्नुपर्ने भयो । समकालिन समाजमा गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने विश्वसनिय आधार बनाउनुपर्ने भयो । तब मात्र जनताको पहिलो रोजाइको विद्यालयको रुपमा सामुदायिक विद्यालयको विकास गर्नु नै उत्तम विकल्प मानियो । जसको लागि नमूना विद्यालयका आधारहरु किटान गरियो ।
सार्वजनिक विद्यालयलाई सबै समुदाय, अभिभावक तथा विद्यार्थीको पहिलो रोजाइको शैक्षिक संस्था बनाउनु पर्ने भयो । विद्यालय व्यवस्थापनमा ध्यान दिनुपर्ने भयो । शिक्षण सिकाइमा नवप्रवर्तन गर्ने अभिप्राय राखियो । क्षेत्रगत वितरणको योजना बनाइयो । तर कार्यान्वयन गर्दा योजना मुताविक भएनन् । पहुँच र पावरका मुड्कीहरु बलिया भए । कक्षा एक देखि बाह्र सम्म सय जना विद्यार्थी भएका जुम्लाका विद्यालय नमूना भए । तीनहजार विद्यार्थी भएका सुर्खेतका विद्यालयलाई सो मापदण्डले छोएन । त्यस्ता विद्यालयमा पर्याप्त बजेटको व्यवस्था गरियो । कार्यान्वयनमा यस्तै चुनौति देखिए । नेपालको शैक्षिक जगतमा सरकार, समुदाय र अभिभावकको लगानी र संलग्नता उल्लेख्य मात्रामा रहेको यथार्थ त घामजस्तै छर्लङ्ग छ । तर समस्या कार्यक्रम कार्यान्वयनमा रहेको छ । अन्तर्राष्ट्रिय अभ्यासहरुलाई केलाउँदा पनि नमूना विद्यालय सञ्चालनमा विभिन्न विशिष्ट अनुभवहरु देखिन्छन् जस्तै विद्यार्थीको दिवा खाना सहितको व्यवस्थापन गरेर । विद्यार्थीलाई निशुल्क पूर्ण आवासीय व्यवस्थापन गरेर । विशिष्टिकृत विद्यालय बनाएर । मुलुकभर रहेका प्रतिभा सम्पन्न विद्यार्थीहरुलाई छनौट गरी विकासको उच्चतम् अवसर प्रदान गरेर । भविष्यमा राष्ट्र निर्माणको विभिन्न पक्षहरुमा जस्तै विज्ञान, प्रविधि, योजना निर्माण र कार्यान्वयन गरेर । लगानी र पाठ्यक्रममा विशेष स्वयत्तता प्रदान गरेर । अनुसन्धानात्मक कार्यहरु गरेर । तटस्थ, सेवामुखी र पारदर्शी प्रशासनको विकास गरेर । असल राजनीतिक संस्कारको विकास गर्न लगाएर । राष्ट्रले चाहेको बेला महत्वपूर्ण जिम्मेवारी लिन सक्ने उत्कृष्ट जनशक्ति उत्पादनको आधारशिला तयार गरेर । अब्बल अब्बल विद्यार्थीको छनौट गरी अनुसन्धानात्मक कार्य गर्न लगाएर । जसको कारण उनीहरु आविष्कारका जननी समेत बनेका देखिन्छ ।
नमूना विद्यालयका सारभूत विशेषताहरु
सामुदायिक विद्यालयमा समान शैक्षिक पहुँच पु¥याउँने भनियो । नविनतम सूचना प्रविधिको अधिकतम प्रयोगसहित आधुनिक शिक्षण गर्ने भनियो । शैक्षिक गुणस्तरको गन्तव्य राखियो । जवाफदेही व्यवस्थापन सुनिश्चितताको कुरा पनि गरियो । सुशासनका पक्षलाई हेरियो । सबै कार्यक्रमको सारको रुपमा विद्यार्थीको सिकाइ उपलब्धिलाई उच्न बनाउने भनियो । यति मात्र होइन नमूना विद्यालय हुनको लागि व्यवस्थापकीय स्रोत र साधनको व्यवस्थापनको शर्त राखियो । नेपालको संविधान र प्रचलित शैक्षिक कानूनहरुको आधारमा नमूना विद्यालयको स्थापना र सञ्चालनको लागि बलियो कानूनी आधार बनाउने कुरा गरियो । हाम्रो सन्दर्भमा केही आधार कानूनहरु मात्र रहे । यसै गरी पूर्वाधार तथा उपकरण पनि त्यत्तिकै महत्वपूर्ण कुराहरु मानियो त्यसैले भौतिक संरचना, कक्षाकोठा व्यवस्थापन, तालिम हल, अडिटोरियम हल, संगीत प्रशिक्षण कक्ष, विज्ञान प्रयोगशाला, पुस्तकालय , सूचना प्रविधि र सञ्चार ल्याब, चमेना गृह, प्राथमिक उपचार कक्ष, छात्र र छात्राको लागि अलग–अलग शौचालयको प्रबन्ध, इन्डोर तथा आउटडोर खेलका लागि उपयुक्त हुने खेल मैदान, इ–पुस्तकालय, इन्टरनेट कनेक्सन सहितका कम्प्युटर, फोटोकपी मेशिन, विषयगत र अन्तरविषयगत पुस्तकहरु, जर्नल, पत्रपत्रिकाहरु समेतको व्यवस्थापन हुनुपर्ने भनियो । निर्माण गरिएका पूर्वाधारहरुको नियमित मर्मत सम्भार गर्नुपर्छ भनियो ।
यस प्रकारका विद्यालयहरुलाई स्थानीय स्रोतको परिचालन, आय आर्जन गर्नुको साथै त्यसको परिचालन समेत गर्ने सोच बनाइयो । परिवर्तन नतिजामा आधारित हुने भनियो । आर्थिक व्यवस्थापन चुस्त बनाइने भनियो । सरकारबाट वार्षिक एकमुष्ट अनुदान प्रदान गर्ने भनियो । विद्यालयको सञ्चालनमा पनि टिकाउपनको अपेक्षा गरियो । योजना हेर्दा त सपना कै विद्यालय बन्ने देखियो । यस्ता कुराहरुले विद्यालयलाई साँच्चिकै एउटा ज्ञानको भण्डारको रुपमा परिकल्पना गरियो । तर कार्यान्वयनमा जाँदा के बने के बनेनन् ।
आर्थिक स्रोतको व्यवस्थापनमा सरकारको महत्वपूर्ण भूमिका रहने भनियो । अन्य समुदाय, दाता र गैरसरकारी संघसंस्थाहरुले पनि त्यत्तिकै महत्वपूर्ण सहयोगात्मक भूमिका बढाउने भनियो । जनशक्तिको व्यवस्थापन गर्दा मौजुदा जनशक्तिको परिचालनमा विशेष जोड दिने कुरामा समेत जोड दिइयो । आवश्यकता अनुसार थप जनशक्तिको पनि व्यवस्था गर्ने भनियो ।
विषयगत शिक्षकको अलावा संगीत र खेलकुद शिक्षकको पनि व्यवस्था गरिने भनियो । कक्षा ६ देखि ८ सम्म पढाउने शिक्षकको योग्यता स्नातक र कक्षा ९ देखि कक्षा १२ सम्म पढाउने शिक्षकको योग्यता स्नातकोत्तर भएमा उपयुक्त मानिने भनियो । तर योग्यता बढाउनको लागि शिक्षकलाई प्रोत्साहनमुलक कार्य केही पनि भएन । विद्यालयको आवश्यकता अनुसार विद्यालय र लेखाका कर्मचारी भनियो । आवासिय विद्यालय सञ्चालन भएको अवस्थामा होस्टेल वार्डेनको साथै आवश्यक उपकरण र न्युनतम औषधिको व्यवस्था गरिएको हुनुपर्ने भनियो । विद्यार्थी भर्नाको सम्बन्धमा पनि स्वतन्त्र ढंगको छनौट समिति मार्फत हुने समेत भनियो ।
पाठ्यक्रम र बहुपाठ्यपुस्तकको व्यवस्थापन र प्रयोग गरिएको हुनेछ भनियो । नेपाल सरकारबाट स्वीकृत पाठ्यपुस्तक र पाठ्यक्रमको अतिरिक्त सन्दर्भ सामग्री र सिकाइ सामग्री प्रयोग गर्ने गरिएको हुन्छ । विद्यालयले थप पाठ्यपुस्तकको समेत प्रयोग गर्न सक्छ भनियो । परीक्षा परीक्षा मर्यादित र व्यवस्थित बनाउन भनियो । अँग्रेजी, गणित र विज्ञान विषयमा आवश्यकता अनुसार उपचारात्मक शिक्षण समेत गर्ने भनियो । अतिरिक्त क्रियाकलाप र सहकार्यकलापको नियमितता रहने भनियो । सूचना प्रविधिमा आधारित शिक्षक तालिम सञ्चालन गर्न सक्ने शिक्षकहरुको समूह विद्यालय भित्रै तयार गर्ने सपना देखाइयो । शिक्षण सिकाइमा र दैनिक अफिसियल कार्यमा आधुनिक सूचना र प्रविधिको प्रयोग गरिने कुरा गरियो । विद्यालयको वेभसाइटको प्रयोग भइरहेको हुनेछ भनियो । विद्यालयमा अनुसन्धानात्मक र प्रवर्तनात्मक कार्यहरु गराइरहने भनियो । विद्यालयले स्थानीय तहमा पाइने र कम खर्चमा पाइने शैक्षिक सामग्रीको प्रयोगमा जोड दिने भनियो । विद्यालय सुधार र विकासका योजना निर्माण र कार्यान्वयन नियमित रुपमा भइरहने दृढता व्यक्त गरियो ।
नमूना विद्यालयको अर्को स्वरुप आदर्श विद्यालय हो । हाल सञ्चालनमा रहेका केही नमूना विद्यालयले उत्कृष्ट छवि पनि बनाएका छन् । तर कति विद्यालयमा लगानी खेर पनि गएको छ । कतिपय सम्भावित नमूनायोग्यविद्यालयलय प्रति सरकारको जनशक्ति लगायत आन्तरिक व्यवस्थापनमा ध्यान जान सकेको छैन । यस्ता विद्यालयहरु माग र तत्परताको आधारमा अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरी सञ्चालनको गन्तव्य हुनुपर्छ । पछिल्लो समयमा राम्रो गरेका नमूना विद्यालय जस्तै अँगे्रजी माध्यम, प्राविधिक शिक्षा लगायतका कारण यस्ता विद्यालयको लोकप्रियता पनि बढ्दै गइरहेको छ । नमूना विद्यालयका व्यवस्थापकीय पक्ष नमूना हुनुपर्छ । प्राज्ञिक पक्षा नमूना हुनुपर्छ । नेतृत्व लिन सक्ने उच्चतम सम्भावना बोकेको विद्यालय मात्र छनौटको आधार हुनुपर्छ र कार्यान्वयन पनि सोही अनुसार हुनुपर्छ । ती विद्यालयको अनुगमन सहितको कार्य प्रणालीगत स्वयत्तता हुनुपर्छ । हाल तुलनात्मक रुपमा राम्रोसँग सञ्चालन भएका, भौगोलिक अवस्थितिका रणनीतिक स्थानमा रही विकासको सम्भावना बोकेका, अपेक्षित विद्यार्थी संख्या भएका र भविष्यमा विद्यार्थी संख्यामा गिरावट आउने सम्भावना नभएका वा विद्यार्थी थपिने सम्भावना भएका सामुदायिक विद्यालयमा यो कार्यक्रम पु¥याउनुपर्छ । प्राकृतिक प्रकोपबाट छिट्टै प्रभावित नहुने स्थानमा विद्यालय रहनुपर्ने शर्त राखिएको हुनुपर्छ । यसको अर्थ भूकम्प त कसले कहाँ अनुमान गर्न सकिन्छ तर बाढी पहिरोको त अनुमान गर्न सकिन्छ नि ! विद्यालय व्यवस्थापन समिति क्रियाशिल र जागरुप भएको हुनुपर्छ । उचित प्रशासनिक भवनको व्यवस्था भएको हुनुपर्छ । स्थानीय कला, संस्कृति झल्किने खालको स्थानीय संग्रालयको पनि व्यवस्था गरिएको हुनुपर्छ । यसै गरी व्यवसाय कार्यशालाको पनि व्यवस्था गरिएको हुनुपर्छ ।
समग्रमा नमूना विद्यालयका विभिन्न आधारहरु तय भए । शैक्षिक गुणस्तरको सुनिश्चितता प्रवद्र्धन गर्ने लक्ष्य पनि राखियो । विद्यार्थी टिकाउपनको लागि विद्यालय नै आफ्ना विद्यार्थीहरु प्रति सारभूत रुपमा जिम्मेवार रहने गरि पठनपाठन गरिएको हुनुपर्ने पनि भनियो । यसका लागि विद्यालयले गुणस्तर सुनिश्चितताका स्कीमहरु विकास गरी कार्यान्वयन गरेको हुनुपर्ने पनि भनियो ।
विद्यालयमा अपेक्षित भौतिक पूर्वाधारहरुको निर्माण र व्यवस्थापन गरिएको हुनुपर्ने उद्देश्य राखियो । विद्यालय पूर्ण रुपमा शैक्षिक वातावरणमा लागेको हुनुपर्ने भनी बाध्यात्मक अवस्थाको समेत नियम बनाइयो । तर विद्यालय छनौटमा त्रुटी गरियो र यसले कार्यान्वयनमा जटिलता भयो । विशिष्ट प्रतिभा पहिचान, संरक्षण र प्रवद्र्धनका लागि कम्तिमा एउटा प्रदेशमा एउटा विशिष्टिकृत विद्यालय निर्माणको आवश्यकता रहेको छ । यसले प्रदेश स्तरीय सक्षम जनशक्तिको भेट गराएर नवप्रवर्तनको सम्भावना राख्न सक्छ ।
(लेखक अमरज्योति मावि नेवारे सुर्खेतका माध्यमिक तहका अँग्रेजी विषयका शिक्षक हुन् ।)
ध्रुबकुमार अधिकारी । सुर्खेत । १५ मंसिर २०८०, शुक्रबार १२:०९