साहित्यबाट कर्णाली चिनाउने सीता यरी

हेराईमा साह्रै राम्री । बोलीचालीको मिठास र सुरिलो स्वर, अग्लि, गोरी । संधै कुर्तासुरुवालमा सजिने उनको बानी, पछ्यौउरी पनि संधैँ ओढ्ने गर्छिन । यस्तै–यस्तै छन् उनका चिनारी । २०५२ सालमा गुर्भाकोट नगरपालिका–५ मा जन्मिएकी साहित्यमा होमिएकी उनी हुन सीता यरी, उनी २८ बर्षकी भईन् । गजल रचना वाचन तथा साहित्यिक सभा, सम्मेलन, गोष्ठीहरुमा मधेश प्रदेश बाहेक ६ वटै प्रदेशका प्रमुख शहरहरुमा पुगेर कर्णालीको प्रतिनिधित्व जनाएकी छन् । उनले साहित्यको माध्यमबाट कर्णालीलाई चिनाएकी छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा २०७५ सालमा काठमाडौंमा आयोजित राष्ट्रिय गजल महोत्सवमा कर्णालीबाट सहभागिता जनाएकी थिइन । विजि मिडिया, गजल मञ्च लगायत थुप्रै संघ संस्थाबाट उनले प्रसंशा पत्र, सम्मान पत्र पाउँने गरेकी छिन् । राष्ट्रिय गजल महोत्सव लगायतमा उनले आफ्नो साहित्य प्रस्तुत गर्ने अवसर प्राप्त गरेकी छिन् ।

 

साहित्यमा ठुलो धनराशीको पुरस्कार नपाएपनि माया र सम्मानले नै आफुलाई खुसीको हौसला मिल्ने गरेको उनले बाईन् । सिताले आफु प्रधान सम्पादक भएर पुस्तक पत्रिका, दुरविन पत्रिका नियमित रुपमा प्रकाशन गर्ने गरेको उनले बताईन् । आफु जस्ता अपाङ्गता भएका व्यक्तिको लागि आवाज र कलम चलाउन सक्ने एक पात्र भएकी छिन् सीता ।

सुर्खेत जिल्लामा बोलिने मातृ भाषाको अध्ययन पुस्तक तयारी गरी सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरेको उनको अनुभव छ ।

उनले जन सेवा माध्यमिक विद्यालय सहारेबाट १०+२, सहारे बहुमुखी क्याम्पसबाट स्नातक तह र सुर्खेत क्याम्पस (शिक्षा) हालको सुर्खेत बहुमुखी क्याम्पसबाट स्नातकोत्तर तह उत्तिर्ण गरेकी छिन् । सामान्य परिवारमा जन्मिएकी सिताको बाल्यकाल सामान्य तरिकाले नै बित्यो । सीताको बाल्यकाल अन्यको भन्दा भिन्नै थियो । बालापन उनलाई बालापन जस्तै लागेन ।

दुई हात लिएर जन्म लिएकी सीताले दुई वर्षको हुँदा एक हात उनले गुमाउनु पर्यो । दुई वर्षको बाल्य अवस्थानै त परिन सिता, उनलाई के नै थाहा हुन्थ्यो र । दुई वर्षमा नै बाँया हात गुमाएको पिडा । त्यतिबेला के–के भयो याद भएन । सीताको बाल्यकाल उनका साथीहरुको जस्तो सहज तरिकाले भने बितेन् । उनको बाल्यकाल फरक नै थियो । किनकी उनी अन्य भन्दा फरक नै थिईन् ।

साथीहरुसँग खेल्ने गर्दा उनलाई अप्ठ्यारो महशुस भने हुने गथ्र्यो । जब उनी ४/५ वर्षको हुँदा गुर्भाकोट नगरपालिका–९ बोटेचौरमा रहेको एक बोर्डिङ स्कुलमा भर्ना गरिएको थियो । सितालाई पढ्नका त्यस बोर्डिङ् स्कुलमा जानका लागि करिब दुई घण्टा जति लाग्थ्यो । छोरीहरुलाई सरकारी विद्यालयमा पढाउँन समस्या हुने गाउँमा उनको आमाले पछि घाँस, दाउँरा गर्न सन्दिन भनेर सीतालाई बोर्डिङ स्कुलमा भर्ना गरिदिएकी थिईन् । विद्यालयमा पढ्दा कुनै पनि सुविधा नपाएकी उनले स्कुल जानका लागि उनकी आमाले तयार पार्दै गर्दा सटको एक बाहुँलाबाट एक हातमा मात्र लगाएकी थिईन् । अर्को बाहुँला भने भित्रमुखि राखिदिएकी थिईन् । उनलाई त्यतिबेला थाहा भयो कि मेरो एक हात थिएन् भन्ने कुरा पूर्ण रुपमा । उमेर बढ्दै गएको भएर पनि होला आफ्नो बाँया हात नभएको उनले थाहा पाईन् । साथीहरुसँग खेल्ने क्रममा असहज भने उनलाई हुने गथ्र्यो । साथीहरुसँग घरपुतली, गट्टा, डोरी लगाएतका खेलहरु खेल्ने अवस्था नरहेपछि बालापन सितालाई बालापन जस्तो नै लागेन् ।

माओवादी आन्दोलनका कारण बाोर्डिङ् स्कुल बन्द भएपछि उनले दुई वर्ष मात्र त्यस विद्यालयमा पढ्न पाएकी थिईन् । पछि भने उनले आफ्नो गाउँ नजिक पर्ने पोखरा गाउँको एक विद्यालयबाट ५ कक्षा पास गरेकि थिईन् । ६ कक्षादेखि १० कक्षा सम्म भने सहारेको जन सेवा विद्यालयमा नै पढेकी हुन् ।

यसरी गुमाउँनु पर्यो एक हात

सीताको गाउँमा बारी, खेतमा लगायका अन्नवाली बन्यजन्तु खान आउने गर्थे । अन्नवाली जोगाउँनका लागि सीताको घरमा मात्र हैन् गाउँका सबैजसोको घर–घरमा बन्दुक भने हुने नै गथ्र्यो वन्यजन्तुलाई मार्नको लागि । २०५४ साल भदौको महिनामा उनको घरका सबै खेतमा काम गर्न गएका थिए । सानी उनलाई हेर्नका लागि धरालो (हेरालु) भने उनकोे आफ्न्तलाई राखिएको थियो ।

उनको आफ्न्त १०/११ वर्षका थिए । घरमा ठुला मान्छे पनि कोहि थिएनन् । घरमा भएको बन्दुक खेलौनका रुपमा खेलाए । बन्दुकमा गोली छ भन्ने उनको आफ्न्तलाई थाहा नै भएन सायद । बन्दुक खेलाउँने क्रममा बन्दुक पड्कीन्छ की पड्कीन्न भनेर बिचार गरेको थिए । त्यहि क्रममा बन्दुक पड्कीयो सीतालाई त्यस बन्दुकको गोली लागेर उनले बाँया हात गुमाउनु परेको थियो । हात गुमाएकै दिनदेखि वालापनका रुची, चाहाना, इन्छा आकांक्षा त्यही गोलीले लडाएर लग्यो ।

साहित्य क्षेत्रमा सक्रियता

आफ्नो एक हात गुमाउँदा उनलाई समाजले हेर्ने नजर र भनाई नै फरक थियो । उनका परिवारका केहि सदस्यले समेत के गरेर खाली भन्ने गरेका ती समाजले समेत भन्ने गथ्र्यो सितालाई । समाजमा उनको मनोबल बढाउने कोहि भएन् । एउटा हात गुमाएकै कारण केहि गर्न सक्दिन भन्ने उनको समाजमा थियो । जसले गर्दा सीताको मनमा धेरै कुरा चल्ने गथ्र्यो । त्यहि समाजको भनाईका कारण साहित्य रचनातिर लागिन् सीता । जुन पिडा व्यक्त गर्ने माध्यम बनाईन् साहित्यलाई उनले ।

गाउँ नजिकै पोखरा भन्ने ठाउँमा मेला लागेको थियो । त्यहि कक्षा–४ मा पढ्दै गर्दा मेलामा उनले गजल बाचन गर्दा पुरस्कृत भएकी थिईन् । पुरस्कृत हुँदा उनले दुई हजार ६ सय रुपैयाँ पाएकी थिईन् । उनको त्यतिबेलाको खुशी भने छुट्टै खालको थियो । कक्षा–४ देखि नै साहित्य लेख्न थालेकि सीताले स्नात्तक तहमा आउँदा आफुले रचेका साहित्यले प्रस्तुती गर्नलाई स्थान पाएका थिए । सीताले विष्णुकुमारी वाईवाका पारिजातका उपन्यास, झमक कुमारी घिमिरेका जीवनी लगायतका जीवनी उनले पढ्ने गरेकी थिईन् । उनीहरुको पुस्तक नै पढेर उनको दिमागमा नयाँ कुरा पलाउँने गरेको थियो । विभिन्न खाले पुस्तक उनले सानैदेखि पढ्ने गर्थिन् । पुस्तक पढेर नै कुन बाटो आफुले रोज्ने त्यो सम्म उनले छुट्याउने गरेकी थिईन् । नर्स बन्ने इच्छा गरेकी सीता एक हात गुमाएकै कारण त्यो पेशा भन्दा शिक्षण पेशा आफुलाई उपयुक्त लाग्ने ठानी शिक्षण पेशामा नेपाली विषय नै छनोैंट गरेकी थिईन् र साहित्यतर्फ पनि राम्रो गर्दै गईन् ।

अचम्म लाग्दो प्रेम कहानी

आफुप्रति समाजको व्यवहारले गर्दा आश्रम खोलेर बस्ने सोच गरेकी सिता । बिवाह भने गर्ने सोच थिएन् उनको । २०७१ सालमा सीताको एक साहित्य कार्यक्रममा सिम्ता गाउँपालिका–३ मा घर भएका विष्णु महतरासँग भेट भयो । उनीहरुबीचको त्यो पहिलो भेट थियो । त्यस कार्यक्रममा नै विष्णुले सीतालाई मन पराएका थिए । केहि समयपछि विष्णुले प्रेम प्रस्ताव पनि राखे । सीताको बारे सबै कुरा भने विष्णुलाई थाहा थिएन् । प्रेम प्रस्तावपछि उनले आफ्नो बारे विष्णुलाई सबै कुरा बताएकी थिईन् ।

सीतासँग एउटा हात त थिएन् तर कमजोरी भने केहि कुरामा थिईनन् । उनका कुरा सुनेर प्रेमलाई अगाडी बढाउन दुई मन गरेका विष्णु साथीहरुको सल्लाहसँगै सितालाई जिवनभर साथ दिनेगर्री प्रेमलाई अगाडी बढाए । लामो समयसम्म प्रेम सम्बन्धमा रहेका उनीहरु बिहे गर्ने सोच पनि गरे । विष्णुले सीतालाई विहे गर्ने भनि आफ्नो परिवारमा कुरा पनि राखे । तर उनको एक हात नभएकै कारण परिवारले सीतालाई स्वीकार भने गरेन । परिवारको अवरोधपछि उनीहरुको प्रेममा बिश्राम भएन् संघर्ष गर्दै मेहनत र परिश्रमबाट वीरेन्द्रनगर (बजार) मा माटो किनेर घर बनाएपछि विहे गर्ने निस्कर्षमा जोडीको सल्लाह भयो ।

सीताकै लागि विष्णुले आप्mनो परिवार समेत त्यागेर वीरेन्द्रनगरमा एक्लै बस्ने गरे । उनीहरु दुवैले एक अर्कालाई धेरै माया गर्थे । उनको लागि विष्णु भगवान नै भएर आएका थिए । हर कुरामा साथ, सल्लाह दिने गर्थे सीतालाई विष्णु । परिवारले छोरा–बुहारी स्वीकार नगरेपनि उनीहरु दुई एक हुन चाहन्थे । २०७८ सालमा उनीहरुले कानूनी रुपमा विवाह पनि गरे । उनको विवाह पनि फरकनै छ । अरु पुरानो रितीरिवाज, संस्कृति अनुसार विहे गर्ने गर्छन् तर उनको विहे त्यस्तो भएन् । संस्कार अनुसार सिन्दुर हाल्ने काम भने भएको छैन् तर कानूनी रुपमा भने विहे गरिसकेका छन् ।

सीताको प्रगति हेर्न चाहाने विष्णु आफु पछाडी परेर उनलाई हरेक नेतृत्वमा अगाडी सार्न चाहन्थे । अहिले सीता सुर्खेत स्थित पुरानो प्रतिष्ठित इगरब्रिज माध्यमिक विद्यालयमा कक्षा–१२ सम्मका विद्यार्थीलाई पढाउँने गरेकी छिन् । विहान ६ बजेदेखि साझ ४ बजे सम्म पढाउनमै व्यस्त हुने गर्छिन् सीता ।

तपाईको प्रतिक्रिया