प्राय धेरै मानिसहरूको जीवन संघर्षमा नै बितेको हुन्छ । कसैको वाहिरी रूपमा । कसैको आन्तरिक रूपमा । यस्तै आन्तरिक संघर्षको मैदानबाट जीवनलाई अगाडि बढाएका एक व्यक्ति हुन्, दुर्गाप्रसाद अधिकारी ।
दैलेखको दुल्लुमा रहेको द्रोणाचल क्याम्पसको अस्थायी उपप्रध्यापक देखि हाल आदर्श मावि मेहेली सुर्खेतको स्थायी शिक्षकलाई जीवनको विषम दौड मान्छन् उनी । उनको प्रारम्भिक जीवन यसरी सम्झिन्छन् ।
दैलेखको भैरबी ७, गैरासरूमा वि. सं. २०४१ साल जेठ १२ गते जन्मिए । यो दैलेख सदरमुकामदेखि करिब ६ कोष टाढा कालीकोट जिल्लासँग सिमाना जोडिएको बिकट गाँउ हो । उनको जन्म भयो एक सामान्य परिवारमा, कान्छो छोराको रूपमा । परिवारको कान्छो सदस्य र आफुभन्दा ठुलो दाजु दिदीहरुको विहेवारी भइ अलग भएकाले कार्यबोझ थपियो । कलिलो उमेरमै घरको कामकाजले च्याप्यो । करिब आठ वर्षको उमेरमा शिक्षा आरम्भका लागि विद्यालय प्रवेश पाए । २०४८ सालमा गाउँकै महादेव प्राविमा कक्षा एकमा भर्ना हुन पुगेको उनी बताउँछन् । आफूलाई कखरा र अआइई चिनाउने गुरुको रुपमा उनले बालकृष्ण आचार्य र प्रेमबहादुर बुढालाई सम्झिन्छन् । प्रेमबहादुर बुढा हालका दैलेखको नेकपा एमालेका जिल्ला अध्यक्ष छन् । घरमा पढाइ र प्रगतिका उत्प्रेरकको रुपमा उनले आफ्ना भिनाजु गंगाराम आचार्यलाई सम्झिए ।
गाउँमै पढाइलाई अघि बढाएका अधिकारीले कक्षा पाँचको वार्षिक परीक्षामा सान्त्वना स्थान प्राप्त गरेको सम्झन्छन् । त्यतिखेर खुशीले उफ्रिएको रमाइलो पल सम्झिन्छन् । कक्षा ६ मा द्वितीय हुँदै कक्षा सातदेखि प्रथम स्थान हुँदै कक्षा नौ सम्म पुग्दा चर्चित विद्यार्थी रहेको उनले बताए । आफुलाई कखरा चिनाउने गुरु प्रेमबहादुर बुढाले घरमै गएर समेत समय समयमा बुबा आमासँग आफ्नो बारेमा सकारात्मक उत्पेरणा नथपिदिएको भए आफु यहाँसम्म आउन नसक्ने बताइरहन्छन् । उनले आफ्नो जीवनमा पढाइप्रति सकारात्मक उत्प्रेरणा थप्ने थेरै भएतापनि आफ्नो आमा बुबा तथा भिनाजु गंगाराम आचार्य र आफ्नो जेठा बुबाको छोरा मनिराम अधिकारीलाई उनी सम्झन्छन् ।
अधिकारीले कक्षा आठ सम्म गाउकै विद्यालयमा अध्ययन गरे । मावि तहको अध्यनका लागि भने घरदेखि करिब सवा घण्टा समय लाग्ने आदर्श मावि घुन्नेखालीमा पुगें । कक्षा नौंमा हुनपनि सहजै हुन नसकेका उनी पढाइखर्चको सम्पूर्ण प्रबन्ध आफै गर्नुपर्ने अवस्थामा पुगे । सानै उमेरदेखि जिम्मेवारीबाट थिचिएका उनी कहिले पढाइ छोडि काम गरेर पढाइ खर्च जुटाउनुपर्ने सम्मको कथा ब्यथा सुनाउछन् ।
तत्कालिन नेकपा माओवादीको सशस्त्र आन्दोलनको समेत मारमा परेका उनले वि.स. २०५७ सालमा एसएलसी परीक्षामा सामेल भइ कक्षा १० पास गरेका थिए । उनी सम्झन्छन्, दैलेख बजारमा एसएलसी परीक्षा केन्द्र तोकिएकोले परीक्षा दिन आउँदा माओवादीले आम नेपाल बन्दको घोषणा गरेकाले परीक्षा अवधिभरी राती फायरिङ गरि खाटमुनि लुकेर बस्नुपर्ने र दिनमा तीनओटै सुरक्षा बलको घेरामा रहेर परीक्षा दिनुपर्ने भएकोले अत्यन्तै त्रासदी मनोविज्ञानका साथ परीक्षा दिनुपरेको घटनालाई सम्झन्छन् ।
पहिलो तलव एक हजार
वि.सं. २०५८ मा एसएलसी पास गरेता पनि आर्थिक अवस्था कमजोरको कारण उच्च शिक्षा पढ्ने उनको इच्छा सो वर्ष उनको पूरा हुन सकेन । सँगै एसएलसी पास गरेका उनका साथीहरू सुर्खेत नेपालगन्ज जाँदै गर्दा उनी पैसा कमाउने दाउमा भारत जाने निर्णयमा पुगे । यसै बखत उनका गुरु तत्कालिन समयका गाविस अध्यक्षको साथमा उनका भिनाजु सहित टुपुक्क घरमा आइपुगेछन् । उनलाई भारत नजाने बरु गाउँकै प्रावि सञ्चालन भएको विद्यालयमा निमावि कक्षा सञ्चालनको अनुमति ल्याएको बताएछन् । सो विद्यालयमा पढाउने शिक्षक चाहिएको हुँदा त्यहीँ पढाउन थालेछन् । जीवनको पहिलो महिनाको तलब एक हजार रुपैयाँ भएको बताउँछन् । पढाउने विद्यालय महादेब निमावी थियो ।
२०५९ साउनमा उच्च शिक्षा अध्यनका लागि वीरेन्द्रनगर, सुर्खेतमा छिरे । मुख्य विषय गणित राखेर सुर्खेत शिक्षा क्याम्पसमा भर्ना भई पढाइ शुरू गरे । पढाइखर्च सकिएपछि करिब दुई महिना भित्रै गाउँ फर्केका उनी फेरी पढाइ छाडेर केही समय कमाउनका लागि भारत जाने र ५÷६ महिना पछि आएर पढाइलाई अगाडि बढाउने निधो गरेछन् । दशैंको समय भएकाले दशैं मनाएर जाने योजनामा रहेछन् । त्यसै समय प्रेम बुढाका सहोदर भाई पूर्ण बुढा (जिल्ला भेटेरीनरी कार्यालय, नेपालगञ्ज बाँकेमा कार्यरत) दशैं मनाउन घरमा आएको मौका रहेछ । उनी घुम्दै जाने क्रममा उनको उनको घरमा पुगेछन् ।
सानैदेखि अनुशासित र पढाइमा विशेष रुचि राख्ने भएकाले पनि उनलाई मन नपराउने सायद कमै थिए त्यतिखेर । त्यहि भएर हुन सक्छ पूर्ण बुढाले पनि उनलाई भेट्न पुगेछन् क्यार । भेटको क्रममा उनलाई भारत नजान र ऋण सापट गरेर वा आफ्नो भागको जग्गा जमिन बेचेरै भए पनि पढ्नु पर्ने र सकिन्छ भने १८ महिने भेटेरीनरी तर्फको प्राविधिक शिक्षा पढ्न सुझाव दिएछन् । जसले गर्दा छिट्टै आफ्नो खुट्टामा ऊभिन सक्ने बताएपछि उनकै सल्लाह अनुसार निर्णयमा पुगि भारत जाने निर्णयबाट पछि परे । ऋणसापट आफै गरेर उनी भेटेरीनरी जेटिए अध्ययनको लागि बर्दिया जिल्लाको सानोश्रीमा अवस्थित गुराँस माविबाट सन्चालित बुद्ध प्राविधिक शिक्षालयमा पुगे । त्यहाँ पुग्दा कोटा पूरा भइसकेको हुँदा पूर्ण बुढाकै सहयोगमा निश्चित कोटाभित्र पर्न सफल भएको बताउँछन् । पूर्ण बुढाका भान्जा प्रकाश खनालपनि सोही संस्थामा अध्ययन गर्ने भएको हुनाले सँगै बस्ने र सगै अध्ययन गर्ने निर्णयमा पुगे ।
संघर्ष नै संघर्ष
आर्थिक अवस्थासँग पौँठेजोरी गरि अघि बढ्ने अधिकारीलाई त्यहाँ रहँदा पनि आर्थिक कठिनाइसँग अछुतो रहन सकेनन् । उनी आइएड पढ्दै ओजेटी गर्दै गर्दा एक अविस्मरणीय घटना सम्झिन्छन् । २०६१ चैत्र २३ गतेको दिन बेलुकी करिब ५ः३० बजेतिर एक्कासी नेपाली सेनाको सेनाको समूहले उनी र उनको एकजना अर्को साथीलाई गिरफ्तार गरी रेडियो नेपाल सुर्खेतको क्याम्पमा लग्छन् । आतंककारीको संज्ञा दिदै गालिगलौज तथा यातना समेत दिएछन् ।
वरीपरीको छिमेकीले उनीहरु तत्कालिन विद्रोही होइनन्, असल विद्यार्थी हुन् भन्दा पनि पत्याएनछन् सेनाले । अभियोगमा तत्कालिन समयको विद्रोही पक्ष माओवादी रहेछ । तत्कालिन संसद हृदयराम थानी र क्याम्पसको दबाब पछि केही दिन पछि छोडिएछ । बीचमा धेरै शारीरिक र मनोबैज्ञानिक यातना सहनुपरेछ । उनको भनाइ अनुसार यो पुनर्जन्म थियो जीवनको ।
त्यतिखेर देशमा द्वन्द्व चलिरहेको थियो । दैनिक सैयौँको संख्यामा मानिसहरु मारिरहेका हुन्थे । यस घटनामा विशेषगरि थानी परिवारको सहयोग नभइदिएको भए जिवित पनि रहिन्थ्यो या रहिदैनथ्यो भनि उनी बताउँछन् । यतिमात्र कहाँ हो र दैलेखदेखि बर्दिया सम्मका अध्ययनको समयमा सशस्त्र द्वन्द्वकालको समयमा कहिले राज्यपक्षबाट त कहिले द्वन्द्वरत पक्षबाट शारीरिक तथा मानसिक पीडा सहनुपरेको बताउछन् । संघर्षलाई नै आफनो साथी ठानेका दुर्गाप्रसाद अधिकारीको जीवनमा एक पछि अर्को गरि अघि बढिरहेको थियो ।
सफलतापछि पनि नमेटिएको संघर्ष
२०६२ को जेठ महिनामा भेटेरिनरी परीक्षाको नतिजा सार्वजनिक भयो जसमा उनी सँधै झैँ त्यस परीक्षामा पनि आफ्नो समुहबाट विशिष्ट श्रेणीमा प्रथम भइ सफल हुन पुगेको बताए ।पास त भए तर अब उनको सामु अघि बढ्नेविकल्प भने कठिन थियो । पसल गर्नको लागि आवश्यक पैसा जुटाउन कुनै हालतमा पनि नसकेपछि अन्तत उनको यसपालीको भारत यात्रा कसैले रोक्न सकेन र वाध्य भए र भारत गए । भारतको सिमला र आसपासका केही क्षेत्रमा गरि करिब पाँच महिनासम्म बस्दा स्याउ टिप्ने बोक्ने, गिट्टी कुट्ने बालुवा बोक्ने देखि लिएर प्राय सबै काम गरे ।
केही समयको बसाइ पछि उनी नेपाल फर्के । फेरी आफ्नो पढाइलाई अगाडि बढाउने योजना साथ अघि बढे । भारतमा बसि कमाएको २५/३० हजार पैसा मध्य केही ऋण तिरे भने केही पैसा बोकेर फेरी बिएड भर्नाका लागि सुर्खेत शिक्षा क्याम्पसममा आए । बिएड पढ्दै गर्दा विद्यार्थी राजनीतिमा समेत सक्रिए भए । पछि फेरी गाउँ फर्किए । मदन आश्रीत नामक प्राथमिक विद्यालयमा संस्थापक प्रध्यानाध्यापकको रुपमा काम गरे ।
यतिले मात्र आफ्नो यात्रालाई कहाँ रोके र ? २०६६ मै सुर्खेत शिक्षा क्याम्पसमा नेपाली मुल विषयमै एमएडमा भर्ना भए । सोही विद्यालयमै पढाउँदै गर्दा उनी पिसिएफ अनुदान कोटामा नियुक्ति पाए । उनमा खुशीको सिमा नै रहेन ।
उनका राँइलो बुबाका छोरा दाई शिवप्रकाश अधिकारीको सल्लाह अनुसार २०६७ असोजमा बैबाहिक बन्धनमा बाँधिए । विहे पछि केही समय सो विद्यालयबाट राजीनामा गरि एमएड दोस्रो वर्षको परीक्षामा जुटे । परीक्षा पछि केही समय उनी खाली बसे । एमएड दोस्रो वर्षको परीक्षामा पनि उनी राम्रो अंक ल्याए । समग्रमा प्रथम श्रेणीमा एमएड पास गरे ।
२०७० सालमा शिक्षक सेवा आयोगले लिएको परीक्षा दिएर बसेका अधिकारीले सोही बर्ष द्रोणाचल क्याम्पस दुल्लु दैलेखले नेपाली विषको उपप्राध्यापक पदमा विज्ञापन गरेको थाहा पाए ।
सो विज्ञापनमा आफुले पनि दरखास्त पेश गरे । सो परीक्षामा सफल भई २०७० माघबाट उनी सो क्याम्पसमा अस्थायी करार उपप्राध्यापक परमा रहि अध्यापन गर्न थाले ।
त्यहाँ रहँदा उनले राम्रोसँग आफ्नो स्थान जमाएर बसेको बताउँछन् । यता शिक्षक सेवा आयोगले लिखित नतिजा सार्वजनिक गरिसकेको थियो । निमावि तहको नेपाली विषयमा नाम निकाल्न सफल उनी मौखिकमा समेत नाम निस्कियो भने के गर्ने भनेर दोधारमा परिरहेका थिए । मौखिक परीक्षा पनि सकियो । नभन्दै सुर्खेत जिल्लाबाट खुला तीन ओटा कोटामा दोस्रो भए । अब झन उनलाई मनमा अशान्ति भयो । स्थायी जागिर छाडेर क्याम्पस पढाइरहुँ या निमावि स्थायीमा जाने ।
सबै आफन्त र धेरैजसो साथीभाइको सल्लाह बमोजिम अन्ततः उनले स्थायी नियुक्ति लिए । सुर्खेतको गर्पनको हाल वीरेन्द्रनगर १६ मा अवस्थित आदर्श मावि, मेहेलीमा हाजिर भए । समय बित्दै जाँदा अब उनलाई आफ्नो भन्दा आमाबुबा श्रीमती र छोराहरूको विषयमा चिन्ता थपिदै गयो ।
छोरालाई सुर्खेत ल्याएर राम्रो अब्बल स्कुलमा पढाउने अनि पत्निको सरूवा वीरेन्द्रनगर सुर्खेतमा गरि घरमा दाजुभाउजुसँग रहनुभएको बुबाआमालाई साथमै राख्ने इच्छा पूरा हुन सकेन । २०७५ असोजमा आफूलाई जन्मदिने आमा गुमाउन पुगेका अधिकारी आफुलाई सोही दिनदेखि सबैचिज गुमाएको महशुस भएको बताउँछन् ।
बच्चाहरु साना भएको बेला न त आफ्नो न त श्रीमतीको घरपायक सरुवा नहुँदा धेरै पीडित हुन परेको उनको भनाइ थियो । श्रीमती पनि स्थायी शिक्षक भएकोले र उपत्यका बाहिर भएकोले दुइजना मध्ये एकजनाको सरूवाको लागि उनी धेरै ठाँउमा धाएछन् । धेरैजनासँग हारगुहार गरेछन् । वीरेन्द्रनगरमै घर निर्माण गरि सात/आठ वर्षको अन्तरालमा आफ्नो निजी आवासमा एक बृद्ध बुबा र दुई नाबालक छोराहरूको साथ घर सरेका अधिकारी हाल आएर अत्यन्तै कठिन घडिमा आफू रहेको बताउँछन् । बच्चा तथा बुबाको रेखदेखमा समेत समस्या भएको भनि आफुहरू दुई मध्ये एकको सरूवा गरिदिन भने संबद्ध संस्था र व्यक्तिसँग पटक पटकको भेट सम्पर्क र जानकारी प्रेषित गर्दापनि असफल हुँदा सारै दुख लागेको उनी बताउँछन् ।
हुनेखाने र आफन्तको बाहुल्यता भएकै मानिसको मात्र सरूवा हुने रहेछ भन्दै उनी निरास छन् । सानैदेखि संघर्षमा हुर्केका अधिकारी दुबैजनाको घर अपाएक नोकरी र बालबच्चाको रेखदेखको अभावले गर्दा थप चपेटामा परेको छन् ।
श्रीमती घरव्यवहारमा परिपक्क भएकै कारण पछिल्लो समय आफुलाई सहज महशुस गरेका उनी हाल आएर ढाड दुखाइको स्वास्थ्य समस्याले सताइएका छन् । जुन ठाँउमा नियुक्ति लिएर गएका हुन त्यहि ठाँउमा हालसम्म बसिरहेको हुँदा शिक्षकको सरूवा हरेक पाँच वर्षमा अनिवार्य हुनुपर्ने बताउँछन् ।
समग्रमा यसरी आक्रोस व्यक्त गर्छन् । यसरी हालसम्म पनि संघर्षमा जीवन विताएका अधिकारी जीवन एक संघर्षको मैदान हो कुसलतासाथ दौडिरहनुपर्दछ भन्छन् । सबैलाई प्रेरणा दिएर नथाक्ने उनी सामाजिक क्षेत्रमा समेत हात हाल्न पछि नपर्ने स्वभाव रहेको छ । गाँउमा रहँदा होस् या बाहिर रहँदा सक्दो सहयोगमा पछि नपर्ने उनी भविष्यमा पनि सामाजिक सेवामै रहेर काम गर्ने इच्छा रहेको बताउँछन् । (लेखक अमरज्योती नमूना माध्यमिक विद्यालय, सुर्खेतका माध्यमिक तहमा अँग्रेजी विषयका शिक्षक हुन् ।)
ध्रुबकुमार अधिकारी । सुर्खेत । ३० मंसिर २०८०, शनिबार १३:५२