अपाङ्गता भएका बालबालिकालाई घरमै विद्यालय शिक्षा

‘स्कुल एट होम’को अवधारणा अनुसार ती बालबालिकालाई पढाउन घरमै शिक्षक आउँछन् । अपाङ्गता भएका बालबालिकाहरु पहिचान गरी उनीहरुको घरको एउटा कोठालाइ कक्षाकोठाको रुपमा तयार गरिएको हुन्छ ।

जाजरकोटको छेडागाड नगरपालिका–३, दशेराका विशाखर भट्टराई दम्पत्तिका पाँच छोरा र एक छोरीसहित ६ जना सन्तान हुन् । साहिँला छोरा र कान्छो सन्तानका रुपमा जन्मिएकी छोरी मात्र सांग छिन् । जेठो, माहिलो र साहिँलोपछिका दुइ जना छोरामा गम्भीर प्रकृतिको अपाङ्गता छ । उनीहरुमध्ये सबैमा श्रवन, स्वरबोलाइ तथा शारीरिक फरकफरक अपाङ्गता छ ।

विशाखरले सुरुका दुइ जना छोरालाई पढाउने उपाय पाएनन् । वातावरण पनि त्योबेला त्यस्तै थियो । परिस्थिति सहज बनेको थिएन । साहिँला छोरापछिका नरेन्द्रलाई भने उनले पाँच बर्षको उमेरमा नजिकैको विद्यालयमा भर्ना गरिदिए । तर नियमित उनीहरुले पढ्न पाउने विद्यालयलको वातावरण थिएन ।

बोकेरै विद्यालय पु¥याउने र ल्याउने गरेपनि त्यहाँका शिक्षकहरुले नै उनलाई अबदेखि विद्यालय नल्याउनू भनिदिए । खेती गरेर परिवारको गर्जो टार्नुपर्ने विशाखर दम्पत्तिले छोरालाई बोकेरै विद्यालय आउजाउ गराउनु सम्भव पनि थिएन ।

अपाङ्गता भएका छोरालाई पढाउने उपाय नपाएका विशाखरलाई पाँच बर्षअघि एउटा गतिलो मौका मिल्यो । उनको घरमा ‘स्कुल एट होम (घरमै विद्यालय)’ स्थापना भयो । उनले विद्यालयमा जान सम्भव नभएका छोरा नरेन्द्रलाई घरमै पढाउन पाउने भए । उनीसँगै अपांता भएका अर्का छोरा ललितलाई समेत स्कुल एट होममा पढाउन मिल्ने भयो ।

अहिले तेह्र बर्षका नरेन्द्र र नौ बर्षका ललित घरमै पढ्छन् । दुवै भाइ पाँच कक्षामै पढ्छन् । विद्यालयमा नियमित पढ्ने विद्यार्थीहरुको तुलनामा उनीहरुको पढाई धेरै राम्रो छ । दुवै भाइले नियमित विद्यालय जाने कतिपय विद्यार्थीहरुभन्दा राम्रो नम्बर ल्याउँछन् ।

नरेन्द्र प्रष्ट पढ्न सकिने गरी राम्रा अक्षर लेख्छन् । ललित पनि लेखाइमा अभ्यस्त छन् । दुवै भाइ शिक्षकले सोधेको प्रश्नको जवाफ लेखेरै दिन्छन् । दुवै भाईको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन । प्रष्ट बोल्न पनि सक्दैनन् ।

‘पढाइ त सांग विद्यार्थीसँग तुलना गर्ने हो भने उनीहरुको राम्रो हुन्छ, ईशारा गरेर भएपनि मसँग नबुझेको कुरा सोधिहाल्छन्,’ नरेन्द्र र ललितलाई पढाउने स्कुल एट होमकी शिक्षक ज्वाला शर्माले भनिन् ।

विद्यालयमा पठाएको एक बर्षमा केही सिक्न नसकेका नरेन्द्रले घरमै पढ्दा धेरै कुरा सिकेको बुवा विशाखरले बताए ।

कालीकोटको तिलागुफा नगरपालिका–८ ओखरभिट्टाका २० बर्षीय शंकर न्यौपाने पाँच कक्षामा पढ्छन् । उनी पनि स्कुल एट होममै पढ्छन् । उनी भर्ना भएको विद्यालयमा उनी अहिलेसम्म कक्षा प्रथम हुँदै आएको उनका शिक्षक नन्दशोभा न्यौपानेले बताइन् ।

पाँच बर्षको उमेरमा भएको एउटा घटनाले उनमा शारीरिक अपाङ्गता सिर्जना भयो । अहिले पनि उनी उभिन सक्दैनन् । उनलाई पनि बाबुआमाले १२ बर्षको हुँदा बोकेरै विद्यालय लैजाने योजना बनाएर भर्ना गरेका थिए । विद्यालयमा उनीजस्ता अपाङ्गता भएकाहरुले पढ्ने वातावरण नभएपछि शंकरलाई घरमै राखियो । पाँच बर्षअघि आफ्नै घरमा ‘स्कुल एट होम’ स्थापना भएपछि शंकरले १५ बर्षको उमेरदेखि नियमित पढ्न पाएका छन् ।

दैलेखको गुराँस गाउँपालिका–५ सानाकाँडाका नविन चन्द अहिले चार कक्षामा पढ्छन् । जन्माजात कम्मरमुनिको भाग नचल्ने नविन १४ बर्षका भए । उनी पछिका अरु दुइ भाईबहिनी भने नियमित विद्यालय जान्छन् । विद्यालय जान नसक्ने नविन ‘स्कुल एट होम’ मार्फात घरमै बसेर पढिरहेका छन् ।

उनलाई गाउँमै भएको विद्यालयमा भर्ना गरिएको छ । अन्तिम परीक्षा भने उनले विद्यालयमै दिन्छन् ।

नरेन्द्र, ललित, शंकर र नविन मात्र होईन अपाङ्गता भएकालाई शिक्षण सिकाइमा सहभागी गराउने उद्देश्यले अघि सारिएको ‘स्कुल एट होम’ अर्थात् ‘घरमै विद्यालय’ मा अहिले कर्णालीका तीन जिल्लाका ३० जना त्यस्ता अपाङ्गता भएकाहरु नियमित पढिरहेका छन् ।

शिक्षाको क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनमार्फत कार्यान्वयनमा ल्याईएको ‘सहयात्रा’ परियोजनाले तीन जिल्लाका ६ वटा पालिकामा २८ वटा कक्षा ‘स्कुल एट होम’मार्फत चलाएको छ ।

ती कक्षामा १७ जना छात्र र १३ जना छात्रा रहेको सेभ द चिल्ड्रेनका शिक्षा व्यवस्थापक आत्मराम भट्टराईले बताए । उनका अनुसार शिक्षाविशेष परियोजना सहयात्रामार्फत् अपाङ्गता भएर विद्यालय शिक्षाबाट बञ्चित भएका व्यक्तिलाई घरमै पढाउन स्कुल एट होम स्थापना गरिएको हो ।

स्कुल एट होम भएका कालीकोटको तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिका तीन/तीन जना, दैलेखको गुराँस गाउँपालिकामा चार, आठविस नगरपालिकामा दुई, जाजरकोटको छेडागाड नगरपालिकामा १० र कुशे गाउँपालिकामा आठ जना अपाङ्गता भएका व्यक्तिहरुले घरबाटै विद्यालय शिक्षा लिईरहेका छन् ।

स्कुल एट होमको अवधारणा अनुसार ती बालबालिकालाई पढाउन घरमै शिक्षक आउँछन् । ती शिक्षकलाई परियोजनामार्फत सेवासुविधा दिएर नियुक्त गरिएको हुन्छ । अपाङ्गता भएका बालबालिकाहरु पहिचान गरी उनीहरुको आ–आफ्नो घरको एउटा कोठालाइ कक्षाकोठाको रुपमा तयार गरिएको हुन्छ । त्यस्ता बालबालिकाहरुलाई नजिकै परीक्षा दिन पायक पर्ने विद्यालयमा भर्ना गरिएको हुन्छ । उनीहरुको अन्तिम परीक्षा लिने र नतिजा निकाल्ने काम भने विद्यालयले नै गर्छन् ।

तपाईको प्रतिक्रिया