‘संघर्षरत जीवनमा कैयौँ दिन भोको पेट बसेँ । गोजी रित्तो हुन्थ्यो । हृदय टुक्रिन्थ्यो । तर पनि जीवनबाट सिक्दै अघि बढेँ । हारलाई स्वीकारेँ । पीडालाई चिनेँ । संघर्ष बुझेँ । धेरै गुमाएँ । करुणाका अर्तिहरु सुनेँ । कठोरताका संवेदनशिलता बुझेँ । यस्तै जीवनका सपना र सन्ततीका सपना पूरा गर्न अनवरत लागिरहेँ ।’
यस्तै कारुणिक भनाइ राख्नेएक नारी, संघर्षकी उपमा हुन् संजिता शर्मा (लामिछाने) । सल्यान जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–२, मा रहेको आधारभूत विद्यालय, घर्तीगाउँ कि बालविकास शिक्षक हुन् उनी । उनले बाल बिकास सहजकर्ताको रुपमा एक दशक बढी समय बिताएको वताउँछिन् । यस लेखमा संजिताका जीवन घटनाहरु र उनको बाल बिकास शिक्षणमा सहजकर्ताको अनुभवको बारेमा उल्लेख गरिएको छ ।
संजिताको जन्म हालको सल्यान जिल्लाको बनगाड कुपिन्डे नगरपालिका–२ मा भएको हो, वि.सं. २०४५ चैत्रमा । साउखोला भन्ने ठाँउमा माता हिमसरा जैशीको कोखबाट जन्म भएको हो । उनका बुबा जागिरको शिलशिलामा घरदेखि बाहिर भएको बखत उनको आमालाई दोस्रो विवाह गरेर उनको बुबाकी दोस्रो श्रीमती कि छोरी, सोही अवस्थामा उनको जन्म उनको मामा घरमै भएको थियो । आफ्नो घरविनाको जन्म जस्तो उनको जन्म भएको रहेछ ।
उनको आमाले अर्काको घरमा बच्चा जन्माउनु हुदैन भन्ने सामाजिक मान्यता भएकोले उनलाई बाख्राको खोरमा जन्म दिएछिन् । पछि उनको उमेर तीन वर्षको हुँदा उनको बुबाको जागिर अर्को ठाँउमा सरुवा भएछ । अनि बुबाले उनलाई माया ममता दिन त परै जावस् फर्केर पनि हेरेनछन् । यस्तै कारुणिक बाल्यकाल वितेको उनले बताउँछिन् । पाँच वर्षको उमेरमा उनी मामाघरबाट नै स्कुल गइछन् । हालको बनगाड कुपिन्डे नगरपालीकाको घर्ती गाँउ स्थित प्राथमिक विद्यालयमा उनले कक्षा पाँचसम्म पढिन् । त्यतिखेर सम्म आमाको साथ पाएकी उनी सम्झिन्छिन् । कक्षा पाँच उतिर्ण भएपछि उनी कक्षा ६ पढ्नलाई विद्यालय टाढा भएकोले उनी आफ्नो बाबाको घर रुकुम जाने निर्णय गरिछन् । तर बाबुछोरीको उनको उमेर तीन वर्ष हुने बेलादेखि देखादेख नभएकोले एकले अर्कोलाई चिनेछन् । बाबुले छोरी संजितालाई चिनेनछन् अनि संजिताले आफ्नो बाबुलाई । उनी रुकुम बुबाको घर गएपनि बढी पिडा महशुस गरी फेरी आठ महिनापछि आफ्नै मामाघर सल्यान फर्किछन् ।
दैनिक दुई घण्टा हिँड्नुपर्ने विद्यालयमा उनी भर्ना भइन् । उक्त विद्यालयको नाम श्री मुक्ति मावि थियो । यो हिलेपोखरी बामे माझकोट, सल्यानमा थियो । कक्षा ६ पढ्ने बेला नै अभाव र तनावको जिन्दगीको महशुस भएको उनी बताउँछिन् । कलिलो उमेरमा दुई घण्टाको बाटो हिँड्दा पनि खोटोको टिन बोकेर स्कुल नजिकको डिपोमा पुर्याएर त्यसबाट आएको अलिअलि पैसाले कापीकलम किनेका अनुभव उनको छ । कक्षा सात पढ्नको लागि नजिक स्कुल रहेनछन् ।
उनको आमाले पनि दोस्रो विवाह गरिछिन् । झनै उनको जीवन एकल र कहालीलाग्दो महशुस भएछ । तै पनि उनको साथमा मावली तर्फका हजुरबुबा र हजुर आमा रहेछन् । उनको पढ्ने तिब्र चाहाना पूरा गर्नको लागि विकल्प खोज्नु पर्ने भएछ । जसको लागि उनलाई सल्यान सम्भव भएनछ । उनको माइला मामाको घर सुर्खेतमा थियो । अब पढ्नको लागि सबैथोक मानेका हजुरआमा र हजुरबुबाहरुलाई छोड़ने पर्ने भएछ । वि. सं. २०५८ साल वैशाखदेखि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मैनतडा सुर्खेतमा कक्षा सातमा आइछन् ।
सुर्खेत आइपुगेपछि पनि उनले आफ्ना तिता अनुभवहरु यसरी सुनाउँछिन् ‘आफु एक्लो असहाय भएको मलाई थाहा थियो । मेरो बाल्यकाल पनि धेरै दर्दनाक भयो । कैयौं दिन भोकै दिनहरु विते । रुँदै रातहरु विते । धेरैका धारिला बचनहरुले मन भतभती पोल्थ्यो । जे जस्तो भए पनि सहनुको विकल्प थिएन । ति दिन अहिले सम्झिँदा पनि मन सिरिङ्ग हुन्छ । यसै गरी कक्षा सात र आठ पास गरेँ । र कक्षा नौं मा पढ्ने बेला बिबाह गरेँ । विवाह गरेपछि मलाई एउटा ठूलो साहारा पाएको महशुस भयो । विवाह गर्दा पनि बुबा नभएको व्यक्ती छानेँ । उहाँ पनि टुहुरो जस्तै हुनुहुन्थ्यो । १५ वर्षमै म एउटा घरकी जेठी बुहारी हुन पुगेँ । भोला प्रसाद शर्मा मेरो श्रीमान हुनुभो । घर बनगाड कुपिण्डेको वडा नम्बर २ थियो । सानै उमेर सम्पूर्ण जिम्मेवारी थपियो । कुट, पिस गरी घरको आफ्नो जिम्मेवारी पूरा गर्थेँ । दैनिक ढिकी कुट्नु पथ्र्यो । जाँतो रिघाउँनु पथ्यो । गर्भवती हुँदा पनि ढिकी र जाँतो मेरा दैनिकी थिए’, यस्तै यस्तै व्यथाहरु उनी पोख्छिन् ।
यति कुरा व्यक्त गर्दा पनि उनी धेरै पटक गह भिजाइन् । यसैगरी उनले कक्षा नौं र १० सूर्यज्योति मावि मेहेलकुना, सुर्खेतबाट पूरा गरिछन् । एसएलसी दिने बेला भएछ । वि. सं. २०६३ चैत्र २१ गतेदेखि एसएलसी भएछ । परीक्षा दिन म सक्दिन भन्दा पनि श्रीमान र सरहरुले हौसला दिनुभयो । वास्तवमा गुरुहरु सधैँ अरुको भलो चिताउने सचेत व्यक्ति हुँदा रहेछन् ।
जिल्ला शिक्षा अधिकारीले पनि हौसला दिए परीक्षा दिन । परीक्षा दिइरहेकै समयमा बच्चा जन्मिएछ, छोरा । अनि जिल्ला शिक्षा अधिकारीको साथमा डाक्टर आएछन् । उनको स्वास्थ्य अवस्थाको जानकारी लिएका जिल्ला शिक्षा अधिकारीले सोही अवसरमा उनको छोराको नाम एसएलसी राखिदिएछन् । उनी पनि त्यो वर्षको एसएलसीपरिक्षा उत्तिर्ण भइछिन् । पछि पहिला उनको बाबुले पढाएको स्कुलमा नै बाल विकास शिक्षकको रुपमा नियुक्ति भइन्, यो वि. सं. २०६५ सालको कुरा थियो । वि.सं. २०६६ सालमा कक्षा १२ दिएर नतिजाको प्रतिक्षामा रहेकै बेला छोरीको जन्म भएछ । छोरीको नाम नतिजा राखिछिन् ।
कक्षा १२ सुर्यज्योती मै पढिछिन् । छोरी जन्मेको करिब तीन वर्ष नहुँदै श्रीमान्को मृत्यु भएछ । धेरै रोइछिन् । तर ती छोराछोरीकोको अरु कोही थिएन । अनि आफूलाई समाल्दै अघि बढेँ भन्छिन् । सानैदेखी सहाराविनाको जिन्दगी भोगेकी संजिता श्रीमानबाट पनि एक्लिँदा अत्यन्तै दुखी भइछन् । जिन्दगीको एक मात्र सहारा श्रीमान् पाएकी उनी श्रीमान् समेतको अकाल र आकस्मिक मृत्यु हुँदा कता जाने के गर्ने अनि कसरी बाँच्ने जस्ता कुराहरुले पिरोलिरहेको बताउँछिन् ।
श्रीमान् गुमाइसकेपछि घर व्यवहारले झनै च्याप्यो उनलाई । घरका अन्य परिवारबाट पनि बेलाबेला अपहेलित भएको महशुस भए पनि सहनशिलतालाई छोडिनन् । अरुको अधिँया जग्गा लगाएर छोराछोरी हुर्काएको उनको कारुणिक यथार्थ जीवनकथा छ । केही समय उनले छोराछोरी केही समय बोर्डिङ पनि हालिछिन् । पछि छोराछोरी सरकारी स्कुलमा पढाउन मन लागेछ, त्यो पनि राम्रो स्कुलमा । त्यसैले सुर्खेत उपत्यका भित्र छोराछोरी पढाउने वातावरण तयार गरिछिन् । आफू पनि संघर्ष गर्दै स्नातक सम्मको उच्च शिक्षा प्राप्त गरिछिन् । हाल भेरीगंगा नगरपालिका सुर्खेतमा एउटा सानो आमा सहितको घर बनाएकी छु भन्छिन् । संजिताले जीवनका यथार्थता अभिव्यक्त गरेको बताउँछिन् ।
उनको अनुभवले यो भन्छ कि हामी जे कुरा चाहान्छौँ त्यतातिर फर्किएर हिड्नु पर्दोरहेछ । यदि हामी प्रकाश चाहान्छौँ भने सूर्यमुखी फूल झैँ सूर्यतिर फर्किनु पर्दोरहेछ । यदि हामी पानी चाहान्छौँ भने किसान झैँ बादलतिर फर्किनुपर्दो रहेछ र यदि हामीले इन्द्रेणी चाहाने हो भने मयूर झैँ घामपानी भएको ठाउँमा पुग्नु पर्दोरहेछ ।
विजेताले अन्तिम अवस्था सम्म पनि मैदान छोड्दैन र मैदान छोड्नेले कहिल्यै जित्दैन । यो सन्दर्भलाई मैले राम्री बुँझेँ । बीउँलाई विशेषज्ञले भन्दा पनि खेतले चिन्दो रहेछ । मैले मेरो जीवनलाई जति अरु कसले बुझेको छ र । अब पनि मलाई जति धेरैले जसरी घृणा र अपमान गरे पनि म कहिल्यै कमजोर बन्न मन लाग्दैन । किन कि मलाई थाहा छ, ‘सूर्यलाई जति घृणा गरेपनि सूर्यले कहिल्यै प्रकाश नदिने निर्णय गर्दैन ।’ मेरो जिन्दगी भोग्न र अरुलाई दिन मात्र जन्मे जस्तो लाग्छ तर पनि कमजोर बनिन र बन्ने छैन । म केही गर्न सक्छु । मैले सन्तानको ईच्छा पूरा गरिदिनु पर्छ जस्ता कुरा मेरो मानसपटलमा घुमिरहन्छन् ।
बाल बिकास पढाउँदाको अनुभव
मैले उनलाई तपाँइको बाल बिकासको सहजकर्ताको लामो अनुभव के छ भनि प्रश्न गरेको थिएँ । उनका रमाइला जवाफ यस्ता थिए, ‘म सँधै बालबालिकाहरुलाई आदर गर्छु । राम्रो संस्कार सिकाउँछु । ठूला मानिसहरुसँग हेलमेल गर्न सिकाउँछु । उनीहरु आफूलाई उपेक्षा वा बेवास्ता गरेको पटक्कै मन पराउँदैनन् । बच्चा सानै भए पनि उसले पनि आफु अस्तित्वमा रहेको भनि ध्यान आकर्षण गराउन खोज्छन् । त्यो हामीले बुझ्नुपर्छ । त्यसैले माया ममता प्रदान गर्छु । कक्षाकोठाहरू पढ्ने र गृह कार्य बुझाउने स्थान मात्र होइनन्भन्ने कुरा पनि मैले विभिन्न तालिमबाट सिकेकी छु । त्यसैले बालबालिकाको रुचि अनुसारका खेलौना र शैक्षिक सामग्री पनि प्रयोग गर्ने गर्छु । त्यस्ता सामग्रीको अभ्यास तथा प्रयोगले बालबालिकाको बौद्धिक अनुभव बढाउन सहयोग पुग्छ । त्यसैले नयाँ शैक्षिक सामग्री नभए पनि स्थानिय सामग्री निर्माण गरेर उनीहरुलाई प्रयोग गर्न सिकाउँछु । विद्यालयमा बालबालिकालाई खेलेर सिक्ने अवसर दिन्छु । त्यहाँ घोकाइँउदिन । पढाइलाई पनि धेरैदबाब दिन्न । बरु रमाइलो गराएर सिकाउने अवसर प्रदान गर्छु । बेलाबेला गीत गाउँछु र उनीहरुलाई पनि गीत गाउने अवसर दिन्छु । यसबाट सबै नानीबाबुहरु खुब उत्सुक भएर सक्रिय हुन्छन् । बालबालिका कक्षाकोठामा पनि यताउता गरिरहन मनपराउँछन् । कहिले कहिले कक्षा बाहिर पनि अलिअलि डुलाउँछु र प्रकृतिमा भएका बस्तुहरु चिनाउँछु । कुनै उद्देश्य लिएर नै उनीहरूले यस्ता क्रियाकलाप गरिरहेका हुन्छन् ।’
माथिका कुराले संजिताले बालमनोविज्ञानलाई राम्रोसँग बोध गरेको महशुस भयो । बालबालिका स्वभावैले विभिन्न क्रियाकलाप र गतिविधि चयन गरिरहेका हुन्छन् । सहज वातावरणमा स्वतन्त्र भएर होस् वा निश्चित अनुशासनमा रहेर पनि, बालबालिका जतिखेर पनि सिक्न सक्षम हुने हुनाले बाल बिकासका सहजकर्तामा पनि सिकाउने कलामा निश्चय पनि विविधता आवश्यक रहेको हुन्छ । संजिताले बालबालिकालाई स्कुल बाहिर गएर सिकाउँदा उनीहरुको शब्दभण्डारको राम्रो ज्ञान बढ्ने हुन्छ भनिन् र आफूले पनि त्यसै गर्ने बताइन् । प्रेम र स्नह नै सबै भन्दा ठूलो सिकाइ हुन्छ बालबालिकाको प्रतिभा निकाल्ने भन्छिन् उनी ।
समग्रमा एक त मामाघर जन्मिनु । अझैँ त्यसमा पनि आफ्ना बुबाकी कान्छी श्रीमतीकी छोरीको रुपमा । त्यो पनि बाख्रखोरमा । अलिअलि हुर्किएपछि पढाइको लागि संघर्षरत रहनु । एसएलसी दिँदा बच्चा जन्मिनु । बच्चाको नाम नै जिल्ला शिक्षा अधिकारीले एसएलसी राखिदिनु । कक्षा १२ को नतिजाको प्रतिक्षामा रहेको बेला छोरी नतिजा जन्मिनु । २१ वर्षको उमेरमा नै दुईवटा सन्तानकी बेसहारा एकल नारी हुनु । श्रीमानको मृत्यु हुनु । घरपरिवारबाट पनि सहयोगात्मक सपोर्ट नपाउनु संजिताका जीवनका यथार्थ घटनाहरु रहेछन् । त्यसैले उनी सफलता उपहारमा प्राप्त गर्न नसकिने रहेछ भन्छिन् । उनले आफ्नो जिन्दगिको विधिविधान आँफै बनाएर अघि बढीरहेको बताउँछिन् । जिन्दगीमा धेरै दुर्भाग्य भोगेँ तर पनि मेरा दुई सन्तान एसएलसी र नतिजाले कुनै दिन सौभाग्यको प्रतिक्षा गराउने कुरा गर्छिन् । आँधि र हिउँले फूललाई मार्न सक्छ तर बिउ मार्न सक्दैन भन्ने उनको भनाइ थियो । धेरै नारीहरुले संजिताका जीवन घटनाबाट संघर्ष र धैर्यताका पाठहरु सिक्नु पर्ने जस्तो लाग्छ ।
(लेखक अमरज्योति मावि, नेवारे सुर्खेतका माध्यमिक तहका अँग्रेजी विषयका शिक्षक हुन् ।)
ध्रुबकुमार अधिकारी । सुर्खेत । ५ पुष २०८०, बिहीबार ०१:२५