सम्पादकीय : विद्यार्थीसँगै मोटो रकम पनि बाहिरियो

उच्च शिक्षा अध्ययन/अध्यापन गराउने विश्वविद्यालय, क्याम्पस र उच्च माविहरुमा विद्यार्थी पाउँन छाडेको छ । पहिलाको तुलनामा विद्यार्थी संख्या घट्दै गएको छ । गाउँघरमै प्राविधिक विषय पढाएर स्वरोजगार गराउने लक्ष्यसहित गाउँ गाउँमा खोलिएका प्राविधिक विद्यालयहरु बन्द हुने अवस्थामा पुगेको छन् भने देश अनुसारको भाषा सिकाई हुने इन्स्टीच्यूटहरुमा युवा विद्यार्थीहरुको ठुलो भिड लाग्ने गरेको छ । प्राविधिक तथा अन्य विषय पढेर शिक्षा र योग्यता अनुसारको रोजगारी नपाउँनुले युवाहरुमा निरासा छाएको छ । देशभित्रको वेथिति, भ्रष्टाचार, अनियमितताले आक्रान्त बनेको नेपाली समाज युवा–विद्यार्थी पलायनसंगै देशका विभिन्न क्षेत्रमा त्यसको असर ढिलो चाँडो देखिनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्यार्थी मात्र बाहिरिएनन् । उनीहरूसँगै मोटो रकम पनि बाहिरिएको छ । गत आर्थिक वर्ष २०७९/०८० मा १ लाख १० हजारले एनओसी लिँदा १ खर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७९/०८० को प्रतिवेदनमा भनिएको छ, ‘समीक्षा वर्षमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ४८.४ प्रतिशतले वृद्धि भई १४४ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १०० अर्ब ४२ करोड छ । अघिल्लो वर्ष भ्रमण व्यय ९७ अर्ब ३२ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय ६७ अर्ब ७० करोड थियो । विदेशमा पढाइसँगै राम्रो आम्दानी हुने भएकाले मोटो रकम खर्च गरेर विद्यार्थी विदेश गएकोछ ।

अस्ट्रेलियामा स्नातक गरेपछि मासिक ५ हजार डलर कमाउन सक्छ । एक/दुई वर्षको अनुभव भएपछि १० हजार डलर पुग्छ । नेपालमा निजीमा २०/२५ हजार र सरकारीमा ५० हजार हुन्छ । ५० हजारले घर गाडी जोड्न सकिन्छ । त्यसैले अवसरको खोजीमा खर्च गरेर विद्यार्थी विदेशिएका छन् । एनओसी लिन पुगेका अधिकांश कोही १२ सकाएका त कोही स्नातक र स्नातकोत्तर पढ्दै गरेका विद्यार्थी हुन्छन । एनओसीको लाइनमा बसेका अधिकांश विद्यार्थीहरू क्याम्पसमा भर्ना भएर विदेश जाने चक्करमा लागेकाहरू भेटिन्छन । सानोठिमीमा एनओसी लिन बिहानैदेखि विद्यार्थीहरूको लाइन लाग्ने गरेको छ ।

विदेशमा अध्ययन गर्न एनओसी लिन विद्यार्थीको संख्या बर्सेनि बढिरहेको छ । आर्थिक वर्ष २०७९/०८० मा १ लाख १० हजार २ सय १७ जनाले एनओसी लिए । अघिल्लो आर्थिक वर्षमा झन् बढी १ लाख १७ हजार विद्यार्थीले एनओसी लिएको शाखाको तथ्यांकले देखाउँछ । सुरुमा कन्सल्टेन्सी पुग्छन् । त्यहाँ नभएपछि म्यानपावर कम्पनीमा आउने विद्यार्थी धेरै हुन्छन् । विद्यार्थी भर्ना हुने र राम्रो अवसर पाएपछि पढाइ छोडेर विदेश जानेको संख्या धेरै हुन्छ । यो ध्रुवसत्य कुरा हो । आर्थिक अवस्था राम्रो भएकाहरू युरोप, अमेरिका क्यानडा, अस्ट्रेलिया जाने र आर्थिक अवस्था कमजोर हुनेहरू ‘वर्किङ भिसा’ मा विदेश जाने गरेका छन् । आर्थिक वर्ष २०७९/०८० मा श्रम स्वीकृति लिनेको संख्या हालसम्मकै उच्च रह्यो । वैदेशिक रोजगार विभागको आँकडाअनुसार अवसरको खोजीमा गत वर्ष मात्र ७ लाख ७१ हजार ३२७ ले श्रम स्वीकृति लिएका थिए । राजनीति अस्थिरता, अनियमितता, भ्रष्टाचार, पढेका शिक्षित युवाहरु बेरोजगार हुनु, देशभित्रै कुनै पनि अवसर सृजना नहुनु दुखद कुरा हो । विस्तारै युवाहरु देशबाट बाहिरिएपछि प्रतिभावान जनशक्ति विदेशीमुलुकमा पुगेपछि देशमा उपलब्ध जनशक्तिले यहाँ विकास, निर्माण भन्दा थप निरासा पैदा गर्नेछ । त्यसैले तत्काल युवा तथा विद्यार्थीहरुलाई विदेश जानबाट रोक्नुपर्छ । अवसरहरु यहिँ सृजना गर्नुपर्छ । शिक्षा अनुसारको ज्ञान, सिप दिएर रोजगारी नभए स्वरोजगार बन्ने वातावरण बनाउन अव ढिला गर्नुहुँदैन ।

तपाईको प्रतिक्रिया