शुभकालिका गाउँपालिका वडा नं. ६ कालीकोट घरभई हाल वीरेन्द्रनगर सुर्खेतमा बस्दै आएका, शुभकालिका गाउँपालिका शिक्षा अधिकृत निजामती सेवाका नवराज आचार्य तथा साहित्यिक क्षेत्रका चर्चित व्यक्तित्व नवराज कुन्दनसंग साहित्यकार तथा लेखक धिरेन अनुपमले गरेको भलाकुसारी ।
कतै घाउमा बल्झिएर कतै खोटमा अल्झिएर ।
बाँची रहँे ज्यूँदो लास म चोटैचोटमा अल्झिएर ।
कहाँ कहाँ अल्झिएर को को खस्छन हेरि राख
एउटा महापुरुष खस्यो पेटिकोटमा अल्झिएर ।
अदालतसम्म जाने हिम्मत जुटाउन सकिनँ
अन्याय पहिल्यै पुगिसकेछ कोटमा अल्झिएर ।
गरिब भयौँ भन्छौ तिमी गरिबनै भइराख्छौँ
ढाँटेको कुरा पत्यायौं नि नोटमा अल्झिएर ।
युग आह्वान दैनिकमा यहाँलाई स्वागत छ ।
नमस्कार साथै हार्दिक धन्यवाद दाजु ।
निजामतीकर्मचारी र साहित्यमा कलम दुबै कर्म गर्न कसरी सक्नु भएको छ ?
खास गरी साहित्य हरेक मानव भित्र कुनै न कुनै अवस्थामा अन्तरनिहित हुन्छ । हरेक व्यक्तिका भावना, चाहना, विचार, दृष्टिकोणहरु हुन्छन । हरेकका ती भावना, चाहना, विचार, दृष्टिकोणहरुलाई अभिव्यक्त गर्ने माध्यम पनि हुन्छन त्यस्तै मेरा पनि स्वभाविक रुपमा छन् र मैले तिनिहरुलाई अभिव्यक्त र प्रस्फुटन गर्ने माध्यमको रुपमा लिएको छु ।
सानै उमेरदेखि साहित्यप्रति घनघोर प्रेम र आग्रह राख्ने हुँदा यसैमा धेरै अभ्यस्त भैँ हाले । अक्सर फुर्सदमा साहित्य सृजना गर्छु , पेशागत काम र पारिवारिक कामको उचित व्यवस्थापन गरेर साहित्यिक सभा–सम्मेलन, महोत्सव र कार्यक्रममा सहभागी पनि हुन्छु। साहित्यलाई जब हामीले जीवनसँग जोडेर लिन सक्छौ, पेशागत कार्यक्षमतासँग जोडेर जान सक्छौ तब यसले जीवन र पेशा दुबैलाई थप सशक्त र पृथक बनाउँदछ । पेशागत क्षेत्रको सृजनशिलता तथा क्षमता विकास र अभिबृद्धि गर्दछ । यसर्थ मैले साहित्य र पेशागत कर्मलाई एकै ठाउँमा राखेर प्रयोग गरिरहेको छु ।
साहित्यमा कसरी लाग्नु भो ?
सर्वप्रथम त केही जन्मजात रुपमा सृजनात्मक प्रतिभा हुनु पर्दछ । त्यस पछिको महत्वपूर्ण पक्षको रुपमा पारिवारिक पृष्ठभूमि चाहिन्छ । त्यो संगसंगै रुचि, चाहना र भावनाले पनि केही प्रभाव पार्दछ । अनि हरेक विषयवस्तु र साहित्यिक बिधाको विधागत संरचनाको ज्ञान र अथक प्रयास, साधना चाहिन्छ । साहित्यलाई भौतिक प्राप्तिको साधन भन्दा पनि आत्मिक सन्तुष्टिको रुपमा ग्रहण गर्नु पर्दछ ।
माथी उल्लेखित सबै परिस्थिती, विषयवस्तु र स्वभाव म भित्र अथाह भयो र मैले साहित्यलाई अभिव्यक्तिको प्रमुख माध्यमको रुपमा स्वीकार गर्दै प्रयोग गरे । यसैबाट आत्मसन्तुष्टिको साधनको रुपमा ग्रहण गरे अनि साहित्यमा अग्रसर भएर लागँे।
तपाईंको नजरबाट कर्णालीको साहित्यलाई कसरी दृष्टिगत गर्नुभएको छ ?
कर्णाली एक आफैमा भाषिक, सांस्कृतिक, भौगोलिक, जातीय, विविधताको एकीकृत संरचनाको क्षेत्र हो । यहाँ अनेकन बिविधता भित्र अनेकन मौलिक विशिष्टता भेटिन्छन ।यो कर्णाली विशिष्ट मौलिक संस्कृति र सभ्यताको जन्मघर पनि हो र बासस्थल पनि हो । देउडाको प्रमुख बर्चस्व रहेको यो क्षेत्रमा थुप्रै किसिमका कला, संस्कृती र परम्पराहरु प्रचलित छन् । हुड्के, धमारी, मागल, झोडा टप्पा, झ्याउरे, धामी नाच, शेलो, थारुनाच, आसिका, इन्द्रगान, जस्ता थुप्रै मौलिक कला, संस्कृती र साहित्यहरु प्रचलनमा छन् ।
अर्को तिर आधुनिक कला, साहित्यको पनि उत्थान, विकास र विस्तार भएको छ । यसर्थ मौलिक तथा लोककला साहित्य र आधुनिक कला तथा साहित्यको सद्भावपूर्ण समायोजन भएको क्षेत्रको रुपमा कर्णालीको साहित्यलाई दृष्टिगत गरेको छु । समग्र लेखक, पाठक र सरकारले पनि मौलिक तथा लोककला र साहित्यको सम्मान संरक्षण र उजागर गर्नुका साथै आधुनिक साहित्यको पनि विस्तार र विकासमा समुचित ध्यान पु¥याई आवश्यक पहल गर्नु पर्दछ भन्ने मान्यता राख्दछु ।
तपाईंको बिचारमा साहित्य कस्तो हुनु पर्दछ जस्तो लाग्छ ?
खास गरी साहित्यको कुनै बस्तुगत र निर्धारित सर्वमान्य आकार र परिभाषा हँुदैन र छैन । व्यक्तिविशेष यसको बुझाई रहेको छ । मेरो बिचारमा जस्तो मनको आकार हुन्छ, जस्तो भावनाको रङ्ग हुन्छ, जति पीडाको ओजन हुन्छ, जहाँसम्म फैलिएको हुन्छ खुसी, जति बिचारको उचाई हुन्छ । साहित्य पनि त्यस्तै आकार, तौल र रङ्गको हुनु पर्दछ जस्तो लाग्छ ।
जस भित्र समाज दुरुस्त देख्न सकियोस, मानवीयता झल्किएको होस, राष्ट्रप्रेम र माटोको सुगन्ध भरिभराउ होस । जसबाट हरेक जीवनलाई सहजै नियाल्न सकियोस । जस्तो सूर्यको सेतो प्रकाशलाई फुटायौं भने विभिन्न सात ओटा रङ्गहरु देख्न पाईन्छ त्यसरी नै साहित्यलाई हे¥यौं भने त्यस भित्र जीवन, दर्शन र विचारका अनेकौ रङ्गहरु देख्न सकियोस दाजु मलाई यहि लाग्छ र साहित्य यस्तो हुनु पर्दछ जस्तो लाग्छ । यसका अलवा निर्धारित मापदण्ड र अनुशासन, सामाजिक स्वीकारोक्ती, समकालिन परिवेशको प्रतिबिम्ब हरेक साहित्यमा अनिवार्य हुनु पर्दछ ।
साहित्यलाई ब्यापार बनाउन खोज्ने ब्यक्तिलाई तपाईं के भन्न चाहनु हुन्छ ?
वास्तवमा साहित्य एक सुन्दर कला मात्र नभै जीवन दर्शन र समाजको प्रतिबिम्ब हो । हरेक ब्यक्तिलाई साहित्यले कुनै न कुनै रुपले समातेको छ । यति मात्र हैन यसले हरेक व्यक्तिलाई भावनात्मक एकतामा संगठित गरी जोडेको छ । आत्मियता र विश्वासको माध्यमबाट भातृत्वको बिस्तार गरेको छ ।
माटो,मातृभूमी, देश, जीवन, समाजको वर्णन तथा मानवीय प्रवृत्तिको संशोधन र सुधारमा सकारात्मक विचार र संदेश प्रवाह गर्छ र गरेको छ । यसर्थ यस्तो पवित्र क्षेत्रलाई विभेद, घमण्ड, दम्भ, अहंकार, अराजनीति भन्दा टाढा राख्नु पर्छ । साहित्यलाई अहिलेको परिवेशमा व्यवसायिक बनाउनु पर्छ । जसका माध्यमबाट उक्त क्षेत्रमा लागेका व्यक्तिहरु अथवा सर्जकहरुलाई जिउन न्युनतम टेवा पुगोस ।
तर साहित्यमा लागेर राजनिति गर्ने, यसैमा व्यापार गर्ने, सर्जकको रचना तथा सृजनालाई आफ्नो कमाईको स्रोत बनाउने, सर्जकहरुलाई सम्मान र मर्यादा गर्न नसक्ने आधुनिकताको नाममा मौलिक कला संस्कृतिको उपहास गर्ने, अस्तित्वका लागि प्रतिष्ठा हरण गर्ने प्रचलन जो बढेको छ यसमा मेरो आपत्ती छ । साहित्य पेशा मात्र नभई सेवा पनि हो भन्ने मेरो बुझाई रहेकोले साहित्यलाई छुद्र व्यापार हैन व्यवसायमुलक सेवाको रुपमा विकास गर्नु पर्दछ ।
नाममा चलेका कवि, गजलकारहरुले तोकेर रुपैयाँ माग्ने गरिन्छ, तपाईंले कसरी लिनु भएको छ ।
मेरो बुझाई यसमा मिश्रित छ । खास गरी साहित्यकारहरु बाँच्ने आधार साहित्य लेखेर हुन सकेन भने रहर मेटिन नपाउँदै हराउनु पर्ने हुन्छ । व्यावसायिक रुपमा लेखनीलाई बिकास र बिस्तार गरिनु पर्छ । उत्कृष्ट सर्जक र तिनका उत्कृष्ट रचनाको उचित मूल्य र उचित सम्मान हुनुपर्छ । यो कुरा राज्यले ध्यान दिनु पर्छ ।
पछिल्लो समय स्टेज कार्यक्रमहरुको प्रचलन जो बढिरहेको छ जसमा प्रतिष्ठित कवि, गजलकारहरु उभ्याउने र तिनिहरुका रचना तथा सृजनाहरु सुन्ने, सुनाउने परम्परा बढेको छ त्यो अत्यन्तै राम्रो र साहित्यको विकास र विस्तारको नयाँ परिवेश हो ।
अब रह्यो पारिश्रमिकको कुरा यसमा मलाई लाग्छ आयोजक को हो भन्ने कुराले प्रभाव पार्दछ । कुनै नाफामुखी उद्देश्य राखेर, व्यवसायिक उद्देश्यले आयोजना गरिएका सरकार तथा अन्य क्षेत्रबाट थुप्रै रकम लगानी गरिएका साहित्यिक कार्यक्रममा कवि, गजलकारहरुले आफ्नो लागत र खर्च सहितको उचित र सम्मानजनक पारिश्रमिक माग गर्नुपर्छ ।
कहिलेकाँही रसिद काटेर, बिज्ञापन उठाएर ज जसले कार्यक्रम गर्ने हिम्मत गरेका हुन्छन उनिहरुसँग प्रयाप्त आर्थिक स्रोत हँुदैन यसमा साहित्यिक क्षेत्रमा लाग्ने सबैले साहित्यको विकास,विस्तार र निरन्तरताका लागि हार्दिकता देखाउनु पर्छ जस्तो लाग्छ । आफ्नो लागतको न्युनतम मूल्य त लिनै पर्छ । तर साहित्यिक संस्था आयोजक रहेका आयोजक संस्थालाई ब्ययभार बढ्ने गरी पारिश्रमिक तोक्यो भने साहित्यको विकास, बिस्तार र निरन्तरताका लागि असहज हुन्छ ।
यसरी चर्को मूल्य गर्ने हो भने जेनतेन भई रहेका साहित्यिक कार्यक्रमहरु पनि निरन्तर आयोजना गर्न सकिँदैन । यसले व्यक्तिगत लाभ त होला तर साहित्यको विकासमा घाटा हुन्छ । बरु राज्यसँग लागौँ श्रष्टाको सम्मान, पुरस्कार र हौसलाको लागि उचित नीति तथा कार्यक्रम निर्माण गरी बजेट बिनियोजन गर्न ध्यानआकृष्ट गरौँ । थुप्रै संवैधानिक आयोगहरु छन्त्यसमा साहित्यको संरक्षण र सम्वद्र्धनको लागि, साहित्यको उत्थान, विकास र विस्तारको लागि छुट्टै संवैधानिक आयोगको माग गरौँ ।
अहिले जुनसुकै क्षेत्रको वीमा छ कैयौं लगानी गरेर कृति प्रकाशन गरेको हुन्छ तर लगानी डुबेर सडकमा आउनु परेको अवस्था छ । कृति बीमाको बारेमा पहल गरौँ । हरेक साहित्यकार जो निरन्तर साधना र त्याग गरेर साहित्य सृजना गरिरहेका हुन्छ्न तिनीहरु राज्यका अमुल्य निधि हुन उनीहरुको जीवन रक्षा र जीविकोपार्जन बारे राज्यले उचित ध्यान दिनु पर्दछ ।
तर साहित्यिक संस्था छन् जसले साहित्यको विकास विस्तारमा निस्वार्थ लागिरहेका छन् उनीहरुसँग मनलाग्दो पारिश्रमिक तोक्नु साहित्यको ढाड सेक्नु जस्तै हो कि । जुनसुकै आयोजकले पनि स्रष्टाको अपमान हुने गरी विभेद गर्न भने पाईदैन ।
बसेर साहित्य सृर्जना गर्नु र कार्यालयको कार्य सम्पादन गर्नुमा जटिल बिषय के जस्तो लाग्छ ?
कल्पनाको आकाशमा भावहरुको पखेटा फिजाएर स्वतन्त्रपूर्वक कावा खेल्नु भनेको साहित्य सृजना गर्नु हो भने कार्यालयमा बसेर चुत्थो बनेर संकुचित दायरामा निर्देशित दिशामा लादिएर रुपैडियाको टाँगा जस्तै बनेर बस्नुमा त आकाश पातालको फरक छ ।
कहाँ मनका हरियाली फाँटहरुमा रहरै रहरको बाटो सृजनशिल यात्रा गर्ने कुरा, कहाँ बुज्रुकहरुका बिभेदकारी कोरा नियमहरुको साङ्लोमा बाँधिएर बस्ने कुरा धेरै फरक छ । फुलबारीमा बस्नु कि फोहोरमा बस्नु ठिक भने जस्तै हो । मैले किन यति अधैर्यतापूर्वक बोले भने संघीयता पश्चात् स्थानीय तहमा नीतिगत अनियमितता यति बढेको छ नि देशको माया, संस्कार र सभ्यताको माया गर्ने मान्छेलाई त्यस्तो कार्य टुलुटुलु हेरेर बस्नुको कुनै बिकल्प छैन दाजु । यसकारण स्वार्थ र बिभेदको डंङ्गुरमा बस्नु भन्दा साहित्य सृजनामा लाग्नु सहज हो जस्तो लाग्छ । तर जीवन जिउने आधार यसबाट हुन सक्दैन ।
कर्णालीको कला, संस्कृति र साहित्यको उन्नयन गर्नको लागि राज्यले के गरोस भन्ने लाग्छ ?
खास राज्य संचालन गर्न बसेका शासक प्रशासकहरुबाट कुनै आशा छैन । यिनिहरु आफ्नो ब्यक्तिगत स्वार्थ बाहेक अन्य कुनै कुरामा चासो र चिन्ता लिदैनन । उनीहरुका निहित स्वार्थ भित्र कतिपयलाई अलिकती बाछिटा पर्न सक्छन र उनीहरु गुणगान गर्नु स्वभाविक हो ।
तैपनि म राज्य र राज्य संचालक संवेदनशील भएर लाग्ने सहित अन्य तपशिलका कुराहरुको अपेक्षा गर्छु ।
कला, साहित्य र संस्कृतको संरक्षण र सम्वद्र्धन गर्न प्रदेश र स्थानीय तहहरुमा प्रतिष्ठानहरु खोल्नको लागि नीतिगत व्यवस्था र आवश्यक बजेट विनियोजन,
हरेक सरकारले उचित सम्मान तथा पुरस्कारको ब्यवस्था र प्रतिभा पहिचान गरेर मात्र पुरस्कृत गर्नु पर्छ नकि आफ्नो नातागोता र कार्यकर्तालाई बितरण गरियोस,
कृति वीमा र सर्जकहरुको जीवन वीमा,
कला, संस्कृती र साहित्य सिकाउने र आगामी पुस्तालाई हस्तान्तरण गर्ने अभिप्रायले पाठशाला खोली उच्च शिक्षासम्म अध्यापन गर्ने व्यवस्था,
लोप हुन लागेका भिभिन्न लोक कला र संस्कृतिलाई जगेर्ना गर्न उचित नीति, कार्यक्रम तथा बजेटको ब्यवस्थापन र कार्यान्वयन,
गजलमा गैरबहर र बहरमा देखिएको बिबादलाई कसरी लिनु भएको छ ?
स्वस्थ तरिकाको बिवाद हुनु स्वभाविक हो जसले स्वतन्त्र प्रतिस्पर्धा गर्न थप प्रोत्साहित गर्छ । झन गजललाई मज्बुद तरिकाले विकास गर्न सकिन्छ र थप चुनौतीको महसुस हुन्छ । तर विवादको नाममा निषेधको स्थिती पैदा हुने गरी एकआपसमा पानी बाराबारको व्यबहार गरिन्छ त्यसले नेपाली गजलमा नोक्सानी पुरयाएको छ । खास गरी बहर लेख्नेले गैरबहरलाई गजल र गैरबहर लेख्नेलाई गजलकार स्वीकार गर्न सकेका छैनन ।
त्यसपछि यो विवाद सुरु भएको हो । नेपाली साहित्यलाई जड्शुत्रवादी विचारधाराबाट संकुचित रुपमा साँघुरो आँखाले नियाल्नु हुन्न । आधारभुत मापदण्डमा रही मुलभुत सिद्धान्त र अनुशासन कायम गरी लेखिएका सबै गजलहरुले मान्यता पाउनु पर्छ । गजल साहित्यको उथान, बिकास, बिस्तार गरी सहिष्णुतापुर्ण सबैको अस्तित्व स्विकार गर्न सक्नु पर्दछ ।
रचनामा दम हुनु पर्दछ । उत्कृष्ट रचना लेख्ने जो कोहिको सम्मान र स्विकारोक्ती हुनु पर्दछ । नेपालमा बसेर नेपाली माटोको बिशिस्टता झल्किने, नेपाली गजल लेख्न सबै एकजुट हुनु पर्दछ । नेपाली गजलको उत्थान, विकास र बिस्तारको लागि सबैले सकारात्मक सोच र विशाल हृदयका साथ लाग्न आवश्यक देखिन्छ ।
नेपाली बिशेषताको गजल कस्तो हुनुपर्छ भन्ने लाग्छ यहाँ लाई ?
नेपाली माटोको सुगन्ध आउने नेपालको भौगोलिक, सामाजिक कला, संस्कृतिक तथा भाषिक विविधताको परछायाँ प्रतिविम्बित हुने, राष्ट्रियताले भरिएको विशिष्ट स्वादको हुनु पर्दछ । नेपाली जनजीवन र मौलिकता बोकेको शुद्ध र स्पष्ट हुनु पर्दछ ।
जस्तो आँखाले हेरे पनि जताबाट नियाले पनि तराईका फाँटहरु जस्तो चौडा, पहाडका जस्तो हरियो, हिमाल जस्तो उचो, कस्तुरिको बासना फैलिएको, गुराँसको रंग जस्तो यी सबैको मिश्रण भएको होस । जहाँ अनेकौ विविधता भित्र एकता भएको देख्न पाईयोस, भातृत्व, देश प्रेमले भरिएको र आगामी पुस्ताले अनुशरण गर्ने खालको होस जस्तो लाग्छ ।
जीवन केहो जस्तो लाग्छ?
कहिले दुःख भोग्नु पर्छ, कहिले खुसी, आँसु, हाँसो, पिर, ब्यथा, मिलन, बिछोड मान्छेले हरेक कुराहरु भोग्दै आएको हुन्छ । यसर्थ मलाई लाग्छ जीवन भोगाईहरुको योग हो । मानव जीवन सुन्दर बनाउन असल व्यवहार र सुन्दर सोचको विकास गर्नु पर्दछ । दुनियाँमा गलत र असत्य भन्ने केही छैन सबै कुरा शास्वत छन् र सत्य हुन । हरेक भोगाईहरुलाई, घटनाहरुलाई सहर्ष स्विकार्दै थप उर्जा जागृत गर्दै सुन्दर तरिकाले जीवन व्यतित गर्न सक्नु पर्दछ ।
अन्तमा मनमा लागेका, छुटेका केही बिषय बस्तु छन् कि ?
सफा मन, स्वस्थ बिचार, सकारात्मक सोच र शुद्ध आहार गरी सुन्दर सृजना गरौँ र सभ्य समाज र असल राष्ट्र निर्माणमा सकारात्मक सन्देश प्रवाह गरौं । असल र नैतिकवान नागरिकको दायित्व निर्वाह गरी राज्यलाई सहयोग गरांै । कला, साहित्य र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा लागि परौं । जय देश जय साहित्य । धन्यवाद
युग संवाददाता । सुर्खेत । ६ माघ २०८०, शनिबार १४:१९