२०८१ चैत्र १
×

Now Playing

रारा ताल पुगे तीन सय ९२ साइबेरियन चरा


नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा रहेको मुगुस्थित रारा तालमा ६ महिनामा मात्रै ६ हजार भन्दा बढी पर्यटक पुगेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्म रारामा ६ हजार ५५७ जना आन्तरिक र १५६ जना बाह्य गरी ६ हजार सात सय १३ जना पर्यटकले अवलोकन गरेका हुन् ।

सडक समस्या तथा होटलबास अभावकै बीच पनि रारामा पर्यटकको संख्या बढ्दो मात्रामा छ । पर्यटन पूर्वाधार अभाव भएपनि रारामा पर्यटकको आगमन बढ्दै गएको छ । विश्वकै उत्कृष्ट पर्यटन गन्तव्यका रुपमा रहेको रारा पर्यटकका लागि मात्रै आर्कषणको केन्द्र छैन । रारा ताल चराचुरुङगीका लागि पनि आर्कषण गन्तव्य बनेको छ ।

रारा तालमा हरेक पुस र माघमा सयौंको संख्यामा साइबेरियन चरा पुग्ने गरेका छन् । अत्यधिक चिसोका कारण साइबेरियाबाट चिसो छल्न विभिन्न प्रजातिका चरा रारा पुग्छन् । रारा पुगेका चराको रारा राष्ट्रिय निकुञ्जले गणना गर्ने गरेको छ । विभिन्न रंग बदलेर पर्यटकलाई मनमोहक पार्ने राराको सुन्दरतामा साइबेरियन चराको आगमन पनि थप आनन्द लिने माध्यम बनेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत राजु घिमिरेले बताए ।

रारा पुगे तीन सय ९२ साइबेरियन चरा
नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा तालमा तीन सय ९२ वटा साइबेरियन चरा पुगेका छन् । साइबेरियाबाट चिसो छल्न तीन सय ९२ वटा चरा तालमा पुगेको निकुञ्ज कार्यालयका संरक्षण अधिकृत घिमिरेले बताए । निकुञ्जमा रहेका नेपाली सेनासहितका २४ जना जनशक्तिले चरा गणना गरिएको थियो । ‘चरालाई ‘ए’ देखि ‘डी’ ग्रुपमा विभाजन गरी गणना गरेका थियौं’ उनले भने, ‘तीन सय ९२ वटा विभिन्न प्रजातिका चरा आएका छन् ।’

मरुल एक सय ७८ वटा, कालीजुरे हाँस ८१ वटा, हरियो टाउके हाँस १ वटा, खोया हाँस ३ वटा, सुनजुरे हाँस एक सय १७ वटा र सिउरे डुबुल्की चरा १२ वटा गरी जम्मा तीन सय ९२ वटा साइबेरियन चरा रारा पुगेको निकुञ्ज प्रमुख घिमिरेले जानकारी दिए । उनका अनुसार रारा ताल दिउँदको समयमा पर्यटकसँगै चराका लागि पनि उत्कृष्ट गन्तव्य बनेको छ । साइबेरियामा नेपालका हिमाली जिल्ला भन्दा अत्यधिक चिसो हुने भएपछि प्राय हिउँदमा विभिन्न प्रजातिका चरा रारा आउने गरेका छन् ।

विगतको तुलनामा यो वर्ष धेरै संख्यामा चरा आएका हुन् । ५ किमी लम्बाई र ३ किमी चौडाइमा फैलिएको रारामा बाह्रै महिना पर्यटक पुग्ने गरेपनि पूर्वाधार अभावका कारण अपेक्षित पर्यटकको आगमनमा वृद्धि हुन सकेको छैन । सन् २०१२ मा पहिलो पटक रारा तालमा वरपर दुई सय ७२ प्रजातिका चरा रहेको रेकर्डमा उल्लेख छ । जसमा ४९ प्रजातिका जल पन्छी छन् । पर्यटकको आर्कषण केन्द्र भएपनि पंछीका लागि रारा ताल आश्रय स्थलका रुपमा रहेको छ ।

रारा ताल पुगे तीन सय ९२ साइबेरियन चरा

सिमकोट हिल्सा सडक बन्द