नेपाली सेना नेपालको संविधान अनुसार स्वतन्त्रता,सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रिय एकताको रक्षा गर्ने जिम्मेवारी लिएको संस्था हो ।नेपाली सेना गौरवपूर्ण इतिहाँस बनाएको छ । राष्ट्रियताको पहरेदार नेपाली सेना देशभित्र मात्रै सिमित छैन शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघ शान्ति मिसनमार्फत विश्वमै योगदान पु¥याउन सफल छ ।
झट्ट सुन्दा कति गहिरो अर्थ र जिम्मेवारी छ यस संस्थाको तर सुन्दा हल्का तर दुरगामी अर्थ र महत्वराख्ने पूर्वाधार विकास निर्माणका काम सदियौदेखि नेपाली सेनाले गर्दै आइरहेका उदाहरण हामी सुन्दै र देख्दै आईरहेका छौं । यतिका जिम्मेवारी बोकेर हिडेको नेपाली सेनाले यसका अतिरिक्त राष्ट्र निर्माण तथा विकास निर्माण कार्य, प्राकृति सम्पदा, वन जंगलको संरक्षण,विपद् व्यवस्थापन र आन्तरिक सुरक्षाको जिम्मेवारीको महत्वपूर्ण जिम्मा उसकैछ ।
हाम्रो जस्तो दुर्गम क्षेत्रको लागि त झन् नेपाली सेना भगवान नै सावित भएको छ भन्दा अत्युक्ति नहोला । आफ्नो घर परिवार छाडेर देशका नाममा आफ्ना खुशीहरु समर्पित गरेर हिडेका नेपाली सेनाले सुत्केरी हुन नसकेर मृत्युको मुखमा पुगेका कयौं आमाहरुको खुशी आफ्ना अञ्जुलीहरुमा जम्मा पारेर थमाईदिएको छ । भने कति विपद्मा रहेका नेपालीका लागि आफ्नै बुवाको सम्झना बिर्साउने गरी काम गरिरहेको छ । बिरामी तथा घाईतेको उद्धारका साथै रगत अभावका कारण जीवन र मृत्युको दोसाँधमा रहेकाहरुको लागि पनि नेपाली सेनाले रक्तदानद्धारा जीवनदान दिने कार्य गरेको छ ।
हाम्रो जस्तो विकट कर्णाली प्रदेशमा त झन महत्वपूर्ण र ठेकेदारहरुले गर्न आँट नगरेका भनौ ठेक्का भएर पनि काम गर्न आँट नगरेर रद्ध गरेका पूर्वाधार विकास निर्माणका काम नेपाली सेनाले आफ्ना जवानहरु मार्फत ऐतिहाँसिक र साहसिक रुपमा सम्पन्न गरेको छ । यसको एउटा उदाहरण सुर्खेत–डोल्पा, सडक खण्ड पनि एक हो । त्यसैगरी माओवादी युद्ध स्थल भनिने कालीकोटको पिलि पनि हो । जहाँ नेपाली सेनाले सुर्खेत–जुम्ला सडकखण्डको पिलि पहाड फोड्ने काम रातदिन नभनि गरेको थियो ।
देशका लागि लड्यौ भन्ने तत्कालिन माओवादीले विचरा परिवारको छाक टार्न पहाड फोड्दै गरेका निरीह सेना क्याम्प माथीको निर्ममतापूर्वक नरसंहार, सामूहिक हत्या गरेर जनयुद्धका नाममा सेना मात्रै होइन एउटा विकास पूर्वाधार निर्माणमाथी बिजयको घोषणा गरिएको थियो । यसरी जहाँ अप्ठ्यारो त्यहाँ नेपाली सेना भन्ने नारा नै बनाएर विकास निर्माणका काममा ठेकेदारी प्रथाको अन्त्य गरी तिनै सेना जसले ज्यानको बाजी लगाएर जोखिमपूर्ण काम गरेका हुन्छन उनीहरुको सेवा, सुविधा बृद्धि गरेर सेना भित्रको पूर्वाधार विकास निर्देशनालयलाई शक्तिशाली बनाएर परिचालन गर्न आवश्यक छ ।
सरकारका शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार यातायात मन्त्रालय, खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय जस्ता विकास पूर्वाधार निर्माण गर्ने महत्वपूर्ण अंग संविधानले नै सुश्चितता गरेको छ तर ती निकायसंग आफ्नै लगानी, आफ्नै स्रोत साधन, आफ्नै जनशक्ति परिचालन गरेर पूर्वाधार निर्माण गर्ने कुनै कार्यालय, निर्देशनालय, डिभिजन, विभाग छैनन् । यी त केबल प्राथमिकताका आधारमा भन्दा पनि नेता र उनका आसेपासेको जोडबलमा सरकारी ढुकुटीलाई दोहन गर्दै डिपिआरदेखिको सेटिङ, टेण्डर आव्हान, ठेक्का लगाउने र कमिसन उठाउने सरकारी बैधानिक निकाय मात्रै खडा भएका छन् । आफ्नो पुँजी, आफै परिचालन गरेर रातारात विकास निर्माणका आयोजना सम्पन्न गर्ने कुनै मोडल छैन् । कुनै कानून छैन । कुनै अभ्यास छैन । यो नेतृत्व र कर्मचारी संयन्त्रको बसीबसी कमिसन उठाउने काम अन्तै पन्छयाउने प्रबृत्तिबाट ग्रसित छ ।
तसर्थ सरकारले तत्काल कानून बनाएर नेपाली सेनाभित्रको पूर्वाधार विकास निर्देशनालयलाई सक्रिय बनाउन आवश्यक छ । सेना मात्र होइन देशका तीन वटै सुरक्षा संयन्त्रणमा रहेको जनशक्तिलाई बर्षको कम्तीमा ६ महिना पूर्वाधार निर्माणमा खटिने र सो कार्यमा खटिएपछि थप अतिरिक्त पारिश्रमिक दिने गरी नीति, निर्माण गरेर परिचालित गर्न आवश्यक छ । लाखौंको संख्यामा रहेको तालिम प्राप्त सुरक्षा निकायका जवानहरु कुनै जिम्मेवारी, भूमिका र काम नपाएर खाली बसिरहेका छन् ।
हाकिमले खाली रहेका जवानको राशनमाथी आँखा लगाउँदै महिनौ महिनासम्म ठुलो संख्यामा जवानहरु विदामा घर छाडेर उनीहरुको राशनमाथी ब्रहमलुट मच्चाई रहेका छन् । यो पनि एउटा विकृति हो । सुरक्षाकर्मीका साथमा नेपाली युवाहरुलाई पनि परिचालनको मोडालिटी बनाउन आवश्यक छ । यसले युवा विदेश पलायनबाट रोक्न सकिन्छ ।
पूर्वाधार विकास निर्माण स्वयंसेवी कार्यदल निर्माण गरेर युवाहरुलाई समेत विकास पूर्वाधार निर्माणमा सिप, क्षमता, योग्यता अनुसारको आकर्षक पारिश्रमिक तोकेर पूर्वाधार निर्माणमा परिचालित गर्न आवश्यक छ । देशका युवालाई सेनामा भर्ति गराएर देशप्रतिको समर्पणतामा थप मद्धत गरेर विकास निर्माणका काममा ठेकदारी प्रथा अन्त्य गरेर सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिएमा गुणस्तरिय, भरपर्दो र सरकारको लक्ष्य अनुसार पूर्वाधार निर्माणका आयोजनाहरु समयमै सम्पन्न गरी समृद्ध देश निर्माणमा महत्वपूर्ण योगदान हुन सक्छ ।
युग संवाददाता । सुर्खेत । ४ फाल्गुन २०८०, शुक्रबार ११:२३