नारायण कोइराला
नेता नेपाली काँग्रेस, सुर्खेत
वीरेन्द्रनगरमा जन्मिएका नारायण कोइराला नेपाली काँग्रेसका नेता हुन् । सरल, मिलनसार र सहयोगी स्वभाव भएका कोइरालाले २०४७ सालदेखि नै नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरु गरे । झण्डै तीन दशक राजनीतिमै विताइसकेका कोइरालाले हालसम्म पार्टीले लाभको पदमा पुरयाउन सकेको छैन । पार्टीले लाभको पद नदिए पनि महोत्वकांक्षी अपेक्षा राजनीतिक यात्रामा नखोजेको कोइरालाको तर्क छ । पारिवारिक र सामाजिक वातावरणले राजनीतिमा होमिए पनि समाजिक क्षेत्रमै बढी योगदान गर्ने उनको योजना छ । नेपाली काँग्रेसका क्षेत्रीय सह सभापति नारायण कोइरालासँग आजको जम्काभेटमा युगआह्वान दैनिकका सम्वाददाता सुशील खड्काले गरेको कुराकानीका सम्पादित अंश :-
कस्तो थियो बाल्यकाल ?
वीरेन्द्रनगरमा रहेको उषा बालबाटीका विद्यालयमा अक्षर चिनेका कोइरालाले कक्षा तीनसम्म त्यही स्कुलमा पढे । शिव माध्यमिक विद्यालय लाटीकोइलीमा कक्षा ८ सम्म पढेका कोइरालाले जन माध्यमिक विद्यालयबाट एसएलसी दिए । वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट आइएल र महेन्द्र बहुमुखी नेपालगंज क्याम्पसबाट विएल उर्तिण गरे । काठमाडौंको त्रिचन्द्र क्याम्पसबाट एमएमा समाजशास्त्र, मध्यपश्चिमाञ्चल विश्वविद्यालयबाट द्वन्द्व तथा शान्ति अध्ययन तथा सुर्खेत शिक्षा क्याम्पसबाट एक वर्षे विएडसम्मको अध्ययन गरेका छन् । विद्यालयमा पढ्दै गर्दा पाइलट बन्ने उनको चाहना थियो । तर पारिवारिक र सामाजिक वातावरणले उनलाई राजनीतितर्फ डोरयायो । ‘बाल्यकालका सबै सपना पूरा हुन्छन् भन्ने छैन्, परिवेशले डोरयाउने गन्तव्य नै जिन्दगीको खास यात्रा बन्दो रहेछ’ कोइराला भन्छन्, ‘जिन्दगीमा जागिर खाने सपना कहिल्यै बुनिन्, समाजकै लागि योगदान गर्नेगरी पूर्णकालिन यात्रा यसैमा समर्पण गरेको छु ।’
राजनीतिक यात्रा
२०४६ सालको आन्दोलन पश्चात् कोइराला पूर्णरुपमा राजनीतिमा जोडिए । शुरुमा नेपाल विद्यार्थी संघको राजनीतिबाट आफ्नो राजनीतिक यात्रा शुरु गरे पनि पदिय रुपमा जिम्मेवारी लिएनन् । २०४८ सालमै नेपाली काँग्रेस लाटीकोइली गाउँ विकास कमिटीको सदस्य भए । २०५८ मा भने उनी नेपाल तरुण दल सुर्खेतको जिल्ला अध्यक्ष भएर दुईवर्ष काम गरे । त्यो बिचमा भने उनी लोकतान्त्रिक हरेक आन्दोलनमा सरिक भइरहन्थे । क्षेत्रीय कार्य समितिमा सदस्य भएका कोइराला त्यसपछि क्षेत्रीय सभापतिसमेत भए । देश संघीय संरचनामा रुपान्तरण भएपछि पार्टीका हरेक संरचनाहरु पनि समायोजन भएपछि हाल उनी नेपाली काँग्रेसको क्षेत्रीय सह–सभापति छन् ।
पारिवारिक वातावरण
पारिवारिक परिवेशले नै कोइरालालाई राजनीतिमा आवद्ध हुन बाध्य गरायो । बुवाको चाहना छोरो सामाजिक क्षेत्रमा काम गरोस् भन्ने हुन्थ्यो । बुवाको चाहनामा नै आमाको समर्थन हुन्थ्यो । उनका बुवा गणेश कोइराला र डम्बर जिसी नेपाली कांग्रेसका नेता थिए । बुबाका मामा ज्ञानबहादुर जिसी प्रधानपञ्च र ओमबहादुर जिसी जिविस सभापति थिए । उनीहरुले गर्ने हरेक गतिविधि सामाजिक हितका लागि भइरहन्थे । तिनै गतिविधिहरु बुझ्दै र नियाल्दै जाँदा कोइरालाको मानसपटलमा हलचल ल्याउँथ्यो । समाजमा व्याप्त सामाजिक विभेद, गरिबी, अशिक्षा लगायतले नागरिकहरुले पाइरहेको दुःखले उनमा सधै पिरल्थ्यो । वर्षभरी काम गरे पनि नागरिकहरु हरेक दुःखमा सहयोग माग्न छाड्दैन्थे । तर पारिवारिक र सामाजिक उत्प्रेरणाले उनले तिनै सामाजका व्यक्तिहरुको हितका लागि काम गर्ने अठोट लिएर अघि बढे । कोइराला फुटबल खेलाडी समेत हन् । उनी २०५४ सालमा खेल क्षेत्रमा समेत आवद्ध थिए । त्यती बेला भएको क्षेत्रीय प्रतियोगितामा आफ्नो टिमलाई प्रथम स्थान पुरयाएका थिए ।
सामाजिक योगदान
पश्चिम क्षेत्रमा क्यान्सर लागेमा उपचार हुँदैन भन्ने आम नागरिकहरुमा बुझाइ थियो । तर क्यान्सर भएमा निदान र उपचारबाट केही हदसम्म ठिक पार्न सकिन्छ भन्ने सन्देश दिनेगरी उनी अवुर्द रोग निवारण संस्थालाई सुर्खेतमा स्थापित गर्न अग्रसर भए । काठमाडौं लगायत आसपासमा संस्थाको सञ्चालन भए पनि सुर्खेतमा थिएन । २५ जना साथीहरुलाई जुटाएर उनले ३८ औं शाखा सुर्खेतमा स्थापित गरे । क्यान्सर हुनै नदिन र भएमा त्यसको उपचार कसरी गर्ने भन्ने चेतना जगाउन गाउँ– गाउँमा शिविरहरु सञ्चालन गरे । संस्थाको संस्थापक अध्यक्ष भइ दुई कार्यकालको जिम्मेवारी सम्हालेका उनले क्यान्सरको उपचार हुँदैन भन्ने भ्रमको अन्त्य गराए । विपन्न नागरिकलाई आर्थिक सहयोग जुटाएर उपचार गराउनेदेखि क्यान्सर हुन नदिन अपनाउनु पर्ने उपायका बारेमा जागरुकता नागरिकहरुमा पनि त्यहीँ संस्थामार्फत कोइरालाले गराए ।
प्रचण्डको अन्तरवार्ता बजाएको त्यो दिन
२०६१ सालमा तत्कालिन माओवादी र राजा नेतृत्व सरकारविच देशमा द्वन्द्व चर्किरहेको थियो । राजाले शासन आफ्नो हातमा लिएर रेडियोहरुबाट समाचार प्रशारण गर्नमा रोक लगाए । त्यहीँ क्रममा कोइरालाले सुर्खेतमा रेडियो भेरी एफएमको शुरुवात गरिसकेका थिए । उनी तरुण दलको अध्यक्षसमेत भएकाले सुरक्षा निकायको निसानामा थिए । सामाजिक हितका लागि स्थापना गरेको रेडियोलाई अघि बढाउन निकै चुनौती थियो । म राजनीतिक रुपमा कांग्रेसमा आवद्ध थिएँ, त्यसमा पनि तरुण दलको अध्यक्ष’ कोइराला विगत सम्झन्छन्, ‘देशमा चर्किएको द्वन्द्वको दोहोरो मारमा रेडियो प¥यो, अझ म पार्टीमा जोडिएकाले झनै कठिन थियो । कयौंले भन्थे कांग्रेसलाई राजा र तत्कालिन माओवादीले लखेटिरहेको बेला किन रेडियो खोल्यो होला नारायणलाई त केही हुन्न ।’ कोइरालाले हिम्मत भने कहिल्यै हारेनन् । रेडियोको उदयसँगै कायाकैरन र भेरी खवर प्रशारण गर्न थालेपछि नागरिकको विश्वास बढ्दै गयो ।
सूचनामा क्रान्ति नै ल्याउन थालेपछि रेडियोमाथि सुरक्षा निकायको नजर प¥यो । दुबै पक्षका समाचार प्रशारण गर्दा माओवादीका खवर बजाउने भन्दै कयौं पटक कोइरालालाई जिल्ला प्रसाशनमा बोलाएर सुरक्षा निकायले माओवादीका समाचार नबजाउन दबाव दिइ रहन्थे । धम्काउने र तर्साउने गरिरहे तर स्वतन्त्र रेडियोहरुले काठमाडौंमा आन्दोलन गरेपछि केही कम भयो । तर सुरक्षा निकायले भेरी एफएमलाई भने निशानामा राखिरह्यो । विविसीमा प्रचण्डको अन्तरवार्ता बज्ने चर्चा भयो । रेडियो सगरमाथा र रेडियो भेरीले प्रशारण गर्ने कुरा भयो । तर सगरमाथाले बजाएन त्यस्तो कठिन अवस्थामा रेडियो भेरीले भने प्रचण्डको अन्तरवार्ता बजायो । महोत्वकांक्षी अपेक्षा छैन राजनीतिमा जोडिए पनि पार्टीले महोत्वकांक्षी पद देओस् भन्ने चाहना छैन । लाभको पदका लागि राजनीतिमा जोडिएको पनि हैन । काम गर्ने क्रममा नेतृत्वमा पुगेको हुँ । प्रदेशको निर्वाचनको बेला क्षेत्रीय सभापति हुँदा एक नम्बरमा सिफारिस परेको थिएँ । पार्टीले टिकट दिएन । तर पनि पार्टीले टिकट दिएको व्यक्तिलाई जिताउन सक्ने सबै प्रयास गरँे । आगामी दिनमा पनि लाभको पदको आशा गरेको छैन । लोकतान्त्रिक आन्दोलनमा लागेकाले पार्टीको हितअनुसार अझै पार्टीको काम गर्ने योजना छ ।
बुलबुलेको गुरुयोजना
सुर्खेत उपत्यका नगर विकास समितिको अध्यक्ष हुँदा बुलबुले तालको गुरुयोजना बनाएर पर्खाल निर्माणको काम शुरु गराएका कोइरालाले पूर्णरुपमा काम गराउन नसक्दै समिति नगरपालिकामा हस्तान्तरण भयो । छोटो समयमा समितिमा रहे पनि बुलबुले तालको संरक्षणका लागि पर्खाल लगाउने काम सकिएको छ । साविकको ताललाई विस्तार गर्ने प्रक्रिया उनकै पालमा बनाएको योजनामा समावेश छ । हाल ताल विस्तारको काम जारी छ । बाहिरै भए पनि बुलबुलेको गुरुयोजना अनुसार काम भए नभएबारे निगरानी गरिरहेको उनी बताउँछन् । समितिमै हुँदा कोइरालाले चौघान पार्क निर्माणका लागि गुरुयोजना बनाइसकेका छन् । नगर विकासको आफ्नै भवन र कोषको रकमलाई मुद्दती खातामा राख्न सुधारका काम गरे । पूर्वमन्त्री हृदयराम थानी हुँदा चिंगाड क्षेत्रको विकास लागि सडक, खानेपानी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा काम गरेको कोइराला बताउँछन् ।
राजधानी अब्बल बनाऔं
प्रदेशको राजधानी वीरेन्द्रनगरको विकासले बाँकी १० जिल्लाको विकासको मोडललाई परिवर्तन ल्याउने उनको तर्क छ । जसरी केन्द्रीय राजधानी काठमाडौंमा भएको विकास अनेत्र बनाउने मोडल अबलम्बन गरिन्छ । त्यसैगरी प्रदेश राजधानीको गुरुयोजना बनाएर अब्बल शहरको विकासमा सबैको साझा मत हुन जरुरी छ । योजनावद्ध विकास लागि गुरुयोजना अति आवश्यक हुन्छ । राजमार्गभन्दा तल्लो क्षेत्रमा विना योजना भवनहरु बनिरहेका छन् । यसले भविष्यमा ठूलो समस्या निम्त्याउँछ । त्यसैले वीरेन्द्रनगरमा हुने राजनीतिक चिन्तन र विकासले बाँकी जिल्लाहरुमा ठूलो प्रभाव पार्दछ । अरुले सिक्ने खालको विकासको मोडल प्रदेश सरकारले बनाउन आवश्यक छ । (२०७७ जेष्ठ २३ गते शुक्रबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)
युग संवाददाता । । २५ जेष्ठ २०७७, आईतवार ०९:२३