२०८१ चैत्र २
×

Now Playing

उर्थुमा रैथाने बिउँ मेला प्रदर्शनी


‘कृषि उत्पादन बढाऔं, परनिर्भरताको अन्त्य गरौ’ भन्ने मूलनाराका साथ आयोजित रैथाने स्थानीय बिउँ प्रदर्शनी मेला तथा बिउँ ऐँचोपैँचो कार्यक्रममा निकै रौनकता थियो ।

महिला कृषकहरुले उत्कृष्ट कृषि बिउँविजन प्रदर्शनी गरे । जुम्लाको पातारासी गाउँपालिका–६ मा रहेको पातारासी युवा सञ्झाल,हातेमालो बहुउद्देश्यीय सहकारी संस्था जुम्ला र लक्ष्मी सामुदायिक बचत तथा ऋण सहकारी संस्था पातारासी उर्थुले वडा नम्बरको ६ र ७ कार्यालयको सहयोगमा राखिएको रैथाने स्थानीय बिउँ प्रदर्शनी मेला तथा बिउँ ऐँचोपैँचो कार्यक्रमले किसानलाई कृषिमा प्रोत्साहन गर्न सहयोग मिलेको सहभागी किसानले बताएका थिए ।

सहभागी किसानले उत्पादनमा आधारित, ढुवानी अनुदान, बजारीकरणमा सहजीकरण गर्न स्थानीय सरकारसँग माग समेत गरे । पातारासी गाउँपालिकाका ६ र ७ वडा र जुम्लाको चन्दननाथ नगरपालिकाले –९ वडाका किसानले समेत रैथाने स्थानीय बिउँ प्रदर्शनीका लागि ल्याएका थिए । उक्त मेला स्थानीय आलु,मकै,फापर,चिनो,कागुनो,कोदो,फर्सी( कदु),सिमी,भाँगो,तिलखुरो,मार्से,मार्सी चामल,ओखेर,ढटेलो,गाजर,तोरी,जौँ,भटमास लगायतका रैथाने बिउँबिजन प्रदर्शनी गरिएको लक्ष्मी सामुदायिक बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मालिका थापाले बताइन् । सामाजिक सेवा अध्ययन केन्द्र ललितपुर, हातेमालो नेपाल जुम्ला आर्थिक सहयोग तथा वडा नम्बर ६ र ७ को समन्वय थियो ।

प्रदर्शनी मेलामा ११ वटा रैथाने बिउँको स्टल राखिएका थिए।स्थानीय बालीको प्रवर्द्धन गर्ने उद्देश्य छ।रैथाने बाली लोप हुँदै गएपछि बालीको उत्पादन बढाउन र प्रवद्र्धन गर्न मेला प्रदर्शनी गरिएको हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेकबहादुर रावतले बताए ।

मेला मार्फत स्थानिय बालीको प्रयोग गर्ने व्यवहार सुधार गरी बाह्य आयात निरुत्साहित गर्ने लक्ष्य उनको भनाइ छ।स्थानीय खाद्य मेलाले स्थानीय बालीको संरक्षणमा ठूलो टेवा पुग्ने पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।

पछिल्लो समय रैथाने बालीहरु लोप हुन लागेकोले यसको उत्पादन बृद्धि र किसानलाई महत्व बुझाउन मेलाले निकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । कृषि व्यवसायको सम्मान र प्रोत्साहन गर्नु अहिलेको आवश्यकता देखिएको उनी बताउँछिन् । अर्गानिक बालीको उत्पादनमा जोड दिनुपर्ने स्थानीय महिला चुक्की महताराले बताइन् ।