कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संसदबाट विश्वासको मत लिएका छन् । २७ चैतमा नेकपा माओवादी केन्द्रको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता कँडेल मुख्यमन्त्रीमा नियूक्त भएका थिए । कँडेलले बिहिबार कर्णाली प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । उनलाई २३ जना सांसदको समर्थन रहेको छ ।
लामो प्रयासपछि कर्णालीको चौथो मुख्यमन्त्री बनेका कँडेलका सामु अवसर कम चुनौती धेरै छन् । धेरैले कर्णालीको मुख्यमन्त्रीमा देख्न चाहेका नेता पनि हुन् कँडेल । यो नै कँडेलका लागि पहिलो चुनौती हुनेछ । किनभने कँडेलसँग ठूलो जनमासले काम गर्न सक्छन् भन्ने अपेक्षा गरेको छ । यो अपेक्षा पूरा गर्नु उनका लागि ठूलो चुनौती सावित हुनेछ ।
मुख्यमन्त्री नियूक्त भएको १६ दिनमा विश्वासको मत लिएका कँडेलसँग युगआह्वानले संक्षिप्त प्रतिक्रिया लिएको छ । पदभार ग्रहण गर्दै समृद्ध कर्णाली बनाउन सबै पक्षसँग हातेमालो गरी जनमुखी काम गर्ने बताएका मुख्यमन्त्री कँडेलसँग गरिएको कुराकानीको सम्पादित अंश ।
संसदमा विश्वासको मत पाउनुभएको छ । तपाईले बारम्बार वजेट प्रणाली नै ठिक छैन भन्दै आउनु भएको परिपेक्षमा अब कसरी अगाडि बढ्नु हुन्छ ?
प्रदेशसभाबाट विश्वासको मत प्राप्त भएको छ । यसमा प्रदेशसभा र विश्वासको मत दिने र नदिने सबै मान्य सदस्यज्यूहरुलाई धन्यवाद दिन चाहन्छु । अबको एक दुई दिन भित्र पूर्ण आकारको सरकार बन्छ, र त्यो सरकारले दिनानुदिन काम त गर्छ नै मुलत आजसम्मको अनुभवका आधारबाट नीति तथा कार्यक्रम र वजेट बनाउनेतर्फ केन्द्रित भएर सरकार लाग्छ ।
नीति तथा कार्यक्रमको प्राथमिकताका बारेमा अहिले नै भन्नु अलि हतारो हुन्छ । किनकी त्यो व्यक्तिले सोचेको कुरा सरकारको र सरकारले सोचेको कुरा सबै सम्बद्ध निकाय र सरोकारवालाहरुको पक्षमा बनाउनका लागि केही छलफल र परामर्शपछि मात्रै भन्नु राम्रो हुन्छ ।
त्यस कारण विषय के हुन्छ पछि जानकारी गराउने कुरा हुन्छ । अब सरकारले ध्यान पु¥याएर गर्ने काम भनेको नीति तथा कार्यक्रम र वजेट निर्माण नै हो । प्रदेश संरचना बनेको ७ वर्षसम्म योजनाको थिति बसाल्न नसक्दा सोचेको जस्तो कर्णालीको विकास हुन नसकेको अवस्था हो ।
यसकारण कर्णालीको भूगोलमा सुहाउने नीति बनाउन आवश्यक छ । कर्णालीको विशेषताको आधारमा नीति बनाएर लागू गर्न सके मात्रै यहाँको विकास र समृद्धि सम्भव हुने मेरो ठम्याई हो । यसमा सर्वप्रथम योजना छनौटमा थिति बसाल्नु पर्नेछ भने गर्ने नभई वितरणउन्मुख वजेट प्रर्णालीलाई सुधार्नु पर्नेछ ।
तपाईँप्रतिको जनअपेक्षालाई कसरी पुरा गर्ने योजना बनाउनु भएको छ ?
मुल कुरा हिजो प्रस्तुत भएका नीति तथा कार्यक्रम र वजेटमा जे सदनभित्र छलफल चलेर जुन अन्यौलताको परिस्थिती निर्माण भएको थियो, अब प्रस्तुत हुने नीति तथा कार्यक्रम र वजेट कार्यान्वयमा कुनै पनि अन्यौलता नहुने गरी वजेट प्रस्तुत गर्नेतर्फ ध्यान दिनुपर्ने अवस्था रहन्छ । वजेट निर्माण गर्दा विगतमा प्रदेशसभा भित्र भएका कुरा तथा सल्लाह, सुझावलाई ध्यान दिएर अमुर्त होइन मुर्तरुपका खासगरी आमनागरिकले अनुभुत गर्ने खालका योजनाहरु अघि बढाइने छ ।
विगतमा सबैको सर्वसम्वत ढङ्गले प्रदेशसभाबाट पारित भएको विषय के हो भने साना–साना योजनामा प्रदेशले हात नहाल्ने, वितरणुमखी योजना र वजेट नबनाउने जुन कुरा छ, त्यो कुरा मलाई लाग्छ यसलाई सच्याएर जानुपर्ने हुन्छ । विगतका कतिपय बहुवर्षिय योजनाहरुमा प्रदेश सरकारको उल्लेखनीय रकम खर्च भइसकेको एउटा अवस्था छ ।
यस्ता आयोजनाहरु समयमै सक्ने गरी प्राथमिकताका साथ वजेट व्यवस्थापन गर्नुपर्ने अवस्था रहन्छ भने, वजेटको सिमाले वा आकारले साथ दियो भने कतिपय तपाईँले भने जस्तै जनअपेक्षा अनुकुलका कतिपय कामकारवाही वा योजनाहरु समावेश गरेर अगाडि बढ्नु पर्ने अवस्था छ ।
यसमा सरकार एक्लैले मात्रै सक्ने कुरा भएन । कर्णालीको असमानतासँग लड्न सबैको हातेमालोको खाचो छ । कर्णालीमा प्रतिष्ठा नभई समृद्धिको यात्रामा एकमत हुन आवश्यक छ । जसका लागि सम्बद्ध सबैसँग समन्वय, सहकार्य र समझादारीका साथ अगाडि बढ्ने प¥यत्न रहने छ, र यो जरुरी पनि छ ।
सत्ता साझेदारसँग कसरी सहकार्य हुन्छ ?
सरकार चलाउने विषयमा कुनै पनि विमत्ती छैन । सपथ लिएको लामो समयसम्म मन्त्रिमण्डल विस्तार नगरेको भन्ने परेको छ । हामी दलिय प्रणालीमा छौं । गठवन्धनमा भागवण्डाको विषयमा केही विमत्ति हुनुलाई अन्यथा लिनुपर्ने विषय जस्तो लाग्दैन ।
हामी जुन धरातलबाट आएको भएपनि हाम्रो एउटै ध्येय हो कर्णालीको समृद्धि । यसमा सत्ता साझेदार मात्र होइन प्रतिपक्षलाई समेत मिलाएर लैजाने कुरामा दुई मत छैन । अबको एक दुई दिनमा सरकारले पूर्णता पाउँछ ।
ओम शाही । सुर्खेत । १४ बैशाख २०८१, शुक्रबार १६:३७