कृषिमा प्रचुर सम्भावना, मेहनतको खाँचो
बैशाख १४ गते बिहानको करिब पौने ८ बजिसकेको थियो । सुर्खेतका क्रियाशिल पत्रकार तथा कृषि क्षेत्रमा कार्यरत कर्मचारीहरु कृषि विकास निर्देशनालय सुर्खेतको प्रांगढमा जम्मा हुनेक्रम जारी थियो । उपलब्ध व्यक्तिहरु खाजा खाँदै थिए ।
खाजापछि निर्देशनालयले गरिरहेका काम तथा गतिविधिको अवस्था बुझ्न हामी पूर्वी सुर्खेततिर हुइँकियौ । केही समयको यात्रापछि भेरीगंगा नगरपालिका–१० छिन्चुमा रहेको दुई सय मेट्रिक्टन क्षमताको शित भण्डार (कोल्ड स्टोर) मा पुगियो । जहाँ हाल सात सय बोरा वीउ आलु भण्डारण गरिएको थियो ।
२०७७ मंसिर २९ मा सञ्चालनमा आएको यो शित भण्डार विद्युत समस्याका कारण नियमित सञ्चालनमा भने कठिनाई रहेछ । तर सिजनत उत्पादित फलफुल तथा तरकारीलाई लक्षित गरी शित भण्डार प्रयोगमा ल्याइएको छ ।
यो शित भण्ढार साना किसान कृषि सहकारी संस्था लिमिटेडमा आवद्ध नारी जागरण बहुउद्देश्यीय कृषि समुहले निर्माण गरेर सञ्चालनमा ल्याएको हो । ६ रोपनी जग्गामा बनेको यो शित भण्डार निर्माणमा दुई करोड २३ लाख लगानी गरिएको छ ।
जसमा कृषि विकास निर्देशनालय सहित विभिन्न संस्थाले सहयोग गरेका छन् । यसलाई नियमित प्रयोगमा ल्याउन सके किसानको उत्पादनले पनि उचित बजार मुल्य पाउने निश्चित छ । शित भण्डार अवलोकनपछि हामी भेरीगंगा–११ स्थित साँघुरे टोलमा निर्माणधिन भेरी लिफ्ट सिचाँइ पोखरी रहेको स्थानमा पुग्यौं । जहाँ निर्माणको काम अँझै पनि जारी छ । तर निर्माणपछि त्यहाँका काकाकुल ४० बढि घरधुरी प्रत्यक्ष लावान्भित हुने पक्का छ ।
बढ्दो खडेरी र सिचाँई अभावले हाल पोखरी वरिपरीको खेतीयोग्य सबै जग्गा बाँझै छ । लिफ्ट सिचाँई पोखरी निर्माणपछि बाँझै रहेका खेतबारीमा सँधै तरकारी फलाउने स्थानीयवासीले सपना बोकेका छन् । स्थानीय दल बहादुर सुनारले सिँचाई अभावले खेतबारी बाँझै हँुदा अन्य काम गरेर घर खर्च चलाउनु परेको बताए ।
त्यसपछि साँघुरे टोलमै कालो कामीले सञ्चालन गरेको आरन व्यवसाय पनि अवलोकन गर्ने मौका मिल्यो । आरन व्यवसायलाई दिगो बनाउन निर्देशनालयले ५० हजार बराबरको उपकरण सहयोग गरेको कुरामा कालो कामी निकै खुसी देखिन्थ्ये । सल्यानबाट बसाई रहेका उनले आफ्नो पुर्खौली पेशालाई आम्दानीको गतिलो स्रोत बनाएका छन् ।
तर छोरानातीहरुले यो पेशालाई वास्था नगर्दा आरन व्यवसाय हराउनेमा उनी चिन्तित देखिन्थ्ये । कुनैबेला अन्नबाली लिएर कुटो, कोदालो लगाएतका कृषि औजार बनाउने गरेका उनी हाल नगद पैंसा लिएर काम गर्ने गर्छन् । हाल उनको व्यवसाय पनि सन्तोषजनक चलेको छ ।
आरन व्यवसाय अवलोकनपछि हामी सोही गाउँमा रहेको एक जानकी एकिकृत पशुपंक्षी तथा कृषि फर्ममा पुग्यौं । बेरोजगार कृषि प्राविधिक सहयोग कार्यक्रम अन्तर्गत कृषि विकास निर्देशनालयले यो फर्म संचालनमा आर्थिक सहयोग गरेको छ ।
बेरोजगार कृषि प्राविधिक जानकी रेग्मीले हाल दुई बिगा जग्गामा कृषि कर्म गरिरहेकी छन् । सबै प्रकारका तरकारी फलाउँदै आएकी उनी गाउँमै पसिना बगाएर लाखौं कमाउन सफल भएकी छन् । व्यवसायलाई थप अब्बल बनाउन जानकीका श्रीमान छविलाल बुढाथोकीले पनि सहयोग गरिरहेका छन् ।
उनले उत्पादन गरेको तरकारी बाली बजारीकरण खासै समस्या छैन । व्यापारीहरु तरकारी किन्न बारीमै पुग्छन् । त्यसैमा झन् भेरी बबई डाइभर्सनका कर्मचारी उनका नियमित ग्राहक हुन । तरकारीमा मल तथा दुधमा लागि उनले भैंसी पनि पालेकी छन् । उनको यो नमूना काम देखेर हाल छिमेकीहरुले पनि सिको गर्न थालेका छन् ।
परिश्रमले धनसँगै खुसी भित्रियो
दिउँसोको करिब १२ बजिसकेको थियो । एकपछि अर्को ठाउँको अवलोकन गर्ने क्रममा हामी गुर्भाकोट–७ स्थित पवित्र वीउ उद्योगमा पुग्यौं । जहाँ परिश्रमले धनसँगै खुसी भित्र्याउनेहरु काममा व्यक्त देखिन्थ्ये । कोही धानको वीउ ग्रेडिङ गर्दै थिए, त कोही मकैको बीउ प्याकेजिङ । सबै आ–आफ्नो काममा व्यक्त थिए ।
जे होस् उनीहरु आफ्नो मेहनतले अँझै धन र खुसी दुबै प्राप्त हुनेमा पक्का थिए । २०५८ मा डिभिजन सहकारी कार्यालय बाँकेमा विधिवत् दर्ता भएको पवित्र जनकल्याण कृषक सहकारी संस्थाद्धारा वीउ उद्योग सञ्चालन गरिएको हो ।
उद्योगका लागि हाल एक हजार ६ सय ४५ जना कृषकले वीउ उत्पादन गर्दै आएका छन् । जसबाट कृषकहरु आफु आत्मनिर्भर हुनुका साथै उद्योग सञ्चालनमा समेत सहज भएको छ । हाल उद्योगले देशका ४४ जिल्लामा रहेका १ सय ६० बढि भेग्रोभेट मार्फत बीउ बेच्दै आएको छ । १० प्रजातिका हिउँदे, १२ प्रजातिका वर्षे तरकारी र ६ प्रजातिका खाद्यान्न बाली गरी वार्षिक २ सय मेट्रिक्टन बढि वीउ उत्पादन गरी निर्यात गरिरहेको उद्योगका म्यानेजर चन्द्र ओझाले बताए ।
१० जना कर्मचारी रहेको यो उद्योगमा १२ सय ४७ सेयर सदस्य छन् । संस्थाका अध्यक्ष नौलसिंह खत्रीले वीउ भण्डारणका लागि गोदाम समस्या रहेको भन्दै निर्देशनालयलाई सहयोग गरिदिन अनुरोध गरे । संस्थाले चालु आर्थिक वर्ष २०८०÷०८१ को हालसम्म तीन करोड ५४ लाख ७४ हजार ६ सय ८० रुपैयाँ बराबरको तरकारी तथा खाद्य बालीको वीउ निर्यात गरेको छ ।
कृषि विकास निर्देनालयले विभिन्न समयमा कृषि उपकरण खरिद, भवन निर्माण, वीउ प्रशोधन गर्ने मेसिन खरिद, वीउ ढुवानीका लागि गाडि खरिद लगायत शिर्षकमा ८५ लाख बढी रकम संस्थालाई अनुदान वापत प्रदान गरेको छ ।
वीउ उद्योगको अवलोकनपछि खाना खाएर हामी गुर्भाकोट–९ मा रहेको कोटमाझखर्क कृषि शित भण्डारमा पुग्यौं । जहाँ विभिन्न तरकारी भण्डारण गरिएका थिए । तर प्राविधिक ज्ञानको कमिका कारण तापक्रम मिलाउन नजान्दा तरकारी कुहिने समस्या रहेको संस्थाका अध्यक्ष गिताराम थापामगरले बताए ।
८५ मेट्रिक्टन क्षमताको यो शित भण्डारको मैदान र पर्खाल निर्माणको काम जारी थियो । निर्देशनालयको एक करोड ३३ लाख २७ हजार अनुदान रकमसहित कुल दुई करोड पाँच लाख १७ हजार रकम यो शित भण्डार निर्माणमा खर्च भएको छ । शित भण्डार नियमति सञ्चालनका लागि प्राविधिक जनशक्ति र आयात निर्यातका लागि गाडीको व्यवस्थापन हुन जरुरी छ ।
गरे के हुदैन ? भन्ने गतिलो उदाहरण
दिन घर्किदै गएपछि सो दिन समय अभावका कारण अनुगमनको अन्त्यमा सुर्खेत गुर्भाकोट–१३ गुमीका नमूना किसान गोविन्द वलीको फर्ममा पुग्यौं । जो बैदेशिक रोजगारीका क्रममा मलेसियामा चार बर्ष बिताएपछि गाउँ फर्किएका थिए ।
गोविन्दसँगै उनका दाजुले पनि वैदेशिक रोजगारीका क्रममा मलेसियामा पाँच बर्ष बिताएका रहेछन् । वलीका बुवाआमाले पहिले देखि नै घरमा भैँसि पाल्ने गर्थे । गोविन्द विदेशबाट फर्किएर भैसीँ पालनसँगै तरकारी व्यवसायमा होमिएका छन् । हाल २ वटा गाइ र ५ वटा भैंसी छन् ।
हाल ड्रागन फल सहित तरकारीबाट एकै सिजनमा ६÷७ लाख रुपैयाँ आम्दानी गर्दै आएका उनी दुध बेचेर महिनामा ६५ हजार कमाउँछन् । उनले कृषि विकास निर्देशनालयको ५० प्रतिशत लगानी र आफ्नो ५० प्रतिशत लगानीमा व्यवसाय गरिरहेका छन् । निर्देशनालयबाट उनले पानी सिँचाईको लागि मोटर, पाईप, तरकारीको लागि टनेल, खेत जोत्नका लागि मिनि टेलर लगायतका औजार अनुदान र प्राविधिक सहयोग पाएका छन् ।
सहकारीबाट केहि सहुलितमा ऋण लिएको र गुर्भाकोट नगरपालिकाले पनि तरकारीको विउ, विजन दिएर सहयोग गर्ने गरेको उनी बताउँछन् । तरकारी खेतीका लागि समयमा आकाशे पानी नपर्नु, र विद्युत कम भोल्टेज हुनुले समस्या भएको उनको भनाइ छ ।
हाल उनको सिंगो परिवार तरकारी खेतीमा व्यस्त छ । भने बजारको समस्या छैन । अर्काको देशमा गएर काम गर्नुभन्दा स्वदेशमा नै काम गरेर विदेशको सरह कमाइ गर्न सकिन्छ र स्वरोजगार बन्दै अरु नेपालीलाई पनि रोजगारी दिन सकिन्छ भन्ने यो गतिलो उदाहरण पनि हो ।
तर कृषिमा प्रचुर संभावना हुदाँहुदै यूवाहरुको आकर्षण घट्दो छ । ठुलो ऋण काढेर बैदेशिक रोजगारीमा जान चाहाने यूवाहरु स्वदेशमै कृषिमा लगानी गरी मेहनत गर्न चाहादैनन् । पूर्वी सुर्खेतमा अधिकांश ठाउमा खेतीयोग्य जमिन बाँझै छ । तर यूवाहरुको कृषिमा आकर्षण कम छ ।
परिवर्तन ल्याउनेगरी काम हुँदै
कर्णाली प्रदेशको कुल खेतीयोग्य दुई लाख ९९ हजार तीन सय ३९ हेक्टर जमिनमध्ये हाल दुई लाख १६ हजार आठ सय ८० हेक्टर जमिनमा खेती भइरहेको छ । तर कर्णालीमा अझै वार्षिक २३ हजार चार सय ३४ मेक्ट्रिकटन खाद्यन्न अपुग छ ।
तर कृषि विकास निर्देशनालय सुर्खेतका निर्देशक चित्रबहादुर रोकायाका अनुसार अब कृषिमा परिवर्तन ल्याउने गरी काम भइरहेको छ । कृषि उत्पादनबाट आत्मनिर्भर बन्नुका साथै निर्यात गर्नेगरी व्यवसायिक खेतीमा जोड दिइएको उनले बताए ।
उनका अनुसार गत वर्ष एक अर्ब ७८ लाख २१ हजार बढिको कृषि तथा फलफुल जन्य वस्तु निर्यात गरेको कर्णालीले चालु आ.व को ६ महिनाको अवधिमा मात्रै एक अर्ब ९६ लाख ७ हजार बढिको निर्यात भएको छ । कर्णालीका अन्य जिल्लामा अनुगमन तथा मुल्यांकनको काम गरिरहेको निर्देशनालयले सुर्खेतमा कृषि विकासका कार्यक्रम कार्यान्वयन गरिहेको छ ।
जसमा पकेट विकास कार्यक्रम तर्फ आलु, तरकारी, अदुवा वेसार, मौरी, च्याउ तथा अन्य कार्यक्रम संचालित छन् । भने ब्लक विकास कार्याक्रमतर्फ मौरी, तरकारी, बदाम, मकै, धान तथा अन्य कार्यक्रम कार्यान्वयन भइरहेका छन ।
सुर्खेतमा कृषि सिँचाई निर्माणतर्फ तीन सय ७२ वटा सिँचाईका कार्यक्रम सम्पन्न भएका छन् । जसबाट पाँच हजार पाँच सय ८० हेक्टर सिचाई भएको छ । भने करिव सात हजार ६ सय जनाले आंसिक रोजगारी पाएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका कृषि प्रसार अधिकृत तिलक प्रसाद पाण्डेका अनुसार कृषि सडक निर्माणतर्फ २८ वटा सडक निर्माण भएका छन् । तर हाल यो कार्यक्रम छैन । त्यस्तै सिम्ता र चौकुनेमा प्राङ्गारिक मिसन कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।
उनले भने, ‘प्रांगारिक कृषि प्रणालीको माध्यमबाट कृषि पेशालाई व्यवसायिक, मर्यादित, वातावरण मैत्री र प्रतिस्पर्धी बनाई कृषकहरुको आय बृद्धि गर्ने उद्देश्यका साथ आवश्यक कार्यक्रम बनाई कार्यान्वयन गरिदै आएको छ ।’
सुर्खेतमा व्याज अनुदान कार्यक्रम अन्तर्गत आठ वटा सहकारीमार्फत करिव १४ करोड साँवा परिचालन गरी करिव १३३.५१ लाख रकम ब्याज भुक्तान भै ८३१ कृषकले व्याज अनुदानमार्फत पशुपालन तथा तरकारी खेतीका साथै कृषि व्यापार कार्य गरी मासिक ३०–३५ हजार आम्दानी गरिरहेको निर्देशनालयले जनाएको छ ।
सुर्खेतमा साना सिंचाई निर्माण तथा मर्मत सम्भार कार्यक्रम अन्तर्गत एक सय १३ सिचाई योजना सम्पन्न भएका छन् । जसमा सात करोड चौतिस लाख रुपैंया खर्च भएको छ । सम्झौता भएका ८३ वटा योजनामा २९ वटा योजनाको काम सम्पन्न भएको छ । भने सम्झौता हुन बाँकि ३० वटा योजना रहेका छन् । यस्तै ३९ वटा योजनाको रकम भुक्तानी भएको छ ।