डोल्पामा जुम्लाका वेपत्ता युवाको हेलिकप्टरबाट उद्दार गरिँदै
जुम्ला दुई सांसदहरुको निजी सहयोग र समुदाय सहयोगले हेलिकप्टर रिजर्भ गरि डोल्पामा यार्सा टिप्न गएर बेपत्ता युवाहरुको उद्दार गरिदै छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले एक लाख २५ हजार र कर्णाली प्रदेशका सांसद देवेन्द्र बहादुर शाहीले २० हजार र स्थानीय समुदायको सात लाख सहयोगमा हेलिकप्टर रिजर्भ गरि उनीहरको उद्दार गरिने भएको हो ।
अन्नपूर्ण प्रालिको हेलिकप्टर निजी तवरबाट पहल गरि बेपत्ता युवाको उद्दार गर्न लागिएको सांसद कठायतले जानकारी दिइन् ।
उनले भनिन्, ‘जुम्लाको पातारासी गाउँपालिका –३ का चार जना युवाहरु डोल्पाको साल्दाङ फोतगाउँ पासु क्याम्प क्षेत्रमा अलपत्र परेको खबर छ ।’ अलपत्र पर्नेमा पातारासी –३ मोहरीगाउँका ओमप्रकाश बुढा र जय बुढा, चौर गाउँका हिरालाल रावत र चन्नलाल रावत रहेका कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र शाहीले बताए ।
उनका अनुसार बिरामी परेका ओमप्रकाशको तल्लो शरीर नचल्ने भएको छ । सरकारी तवरबाट हेलिकोप्टरको व्यवस्थाको लागि पत्र पठाए पनि समयमै कुनै चासो नदेखिएकोले निजी तवरबाट हेलिकप्टर रिजर्भको प्रयत्न गरिएको हो ।
‘यार्सागुम्बाको सिजनमा हरेक वर्ष कोही न कोही मान्छे वेपत्ता पर्ने र जनधनको क्षति हुँदै आएको छ,’ उनले भने, ‘अबका दिनमा यार्चागुम्बु टिप्न जाने सबैको बिमा गरि क्षति न्युनिकरणको कोसिस गरिनेछ ।’