मस्त निन्द्रामा थिए । तल्लो तलादेखि ढोकाको चर फोर्दै आवाज कानमा आएर ठोक्कियो । रोटेपिङ्ग आकाशदेखी भुई तिर झर्दा जसरी मन झसङ्ग हुन्छ त्यसैगरी झसङ्ग भए । धिरेन …धिरेन ! धिरेन कहाँ छन् ? कसैले भन्यो उहाँको कोठा माथि हो । ढोकामा बजेको ढकढक आवाजसंगै म आँखा मिच्दै निन्द्राबाट ब्युझिए । ढोका बाहिर उभिएका थिए भुपेन्द्र कुमार बि.सी । कहिल्यै नआउने मान्छे किन बिहानै रुममा आएछन् एक छिन टोलाएर बसँे ।
सरले हिजो केही भन्नू भएन तपाईंलाई ? एकछिन त सोच्नै सकेन । केही छिनपछि प्रश्नको उत्तर दिदै भने नाइत । अरे तल महेन्द्र सर र बराहताल गाउँपालिकाका अध्यक्ष भिम भण्डारी गाडीमा पर्खि रहनुभएको छ तपाईंलाई । बल्ल कुराको चुरो बुझे । केही दिन अघि सुर्खेतको कवडहल अघि रहेको पल्पसा क्याफेमा चिया पिउने बेला पहिलो पटक उहाँ बराहताल गाउँपालिका अध्यक्ष भिम भण्डारी भन्दै महेन्द्र मल्ल गुरु ले परिचय गराउनु भएको थियो । पर्यटन प्रर्वद्धनमा बराहतालको भुमिका र ओझेलमा परेको उक्त तालको प्रचारप्रसार गरी मान्छेको आयआर्जनमा ताललाई कसरी जोड्न सकिन्छ भन्ने बिषयमा अध्यक्ष ज्युको चासो थियो ।
बैशाख ८ गते शनिबार भएकाले बराहताल अवलोकन गर्न र त्यस बिषयमा छलफल गर्न अध्यक्ष ज्यूले महेन्द्र गुरुलाई निम्तो समेत दिनु भएको थियो । एक हप्ता अघि भएकाले उक्त कुरालाई खासै गहन रुपले मैले लिएको थिएन । बिर्सने बानी भएकाले तरंगा जानेकुरा दिमागबाट हटाई सकेको थिएँ । विहानको नित्य कर्मसंगै जुता लगाउन सम्म भुपेन्द्र जीले समय दिनु भएन । चप्पल पड्काउदै म पनि तल झरे । बाटोमा सेतो स्कारपियो खडा थियो । म पनि हतार हतारमै गाडी भित्र छिरे । स्कारपियो अघि हुइकियो, हाम्रो यात्रा बढ्यो बराहतालको लागि । ६ः३० बजेको थियो बाङ्गेसिमल क्रस गर्दा । सुर्खेत बड्डीचौरको यात्रा मेरो लागि नयाँ कदापि थिएन ।
हुनत तरंगा, कुटा र चेपाङ्गको यात्रा पनि नयाँ होइन । पहिलो पटक २०६३ सालमा तरंगा जाने अवसर जुरेको थियो जामु, बुटी, बच्छी, चेपाङ्ग, कुटा, साझघाट हुदै तरंगासम्म । त्यति बेला बाटो थिएन बाटो नभएपछि यातायातका साधन चल्नुत दूरको कुरा भयो । भेरी नदीको तिरैतिर झोलुङ्गे पुल, डुङ्गा र पहराको पैदल यात्रा गर्दै तरंगा पुगेको सम्झना अझै सजिवि बनेर मनमै बसेको छ । १७ बर्ष पछि तरंगा जाने सौभाग्यले मन उल्लासले मात्रै भरिएको थिएन । जंगलको बिचभागमा रहेको ऐतिहाँसिक पर्यटकीय स्थल बराहताल अवलोकन गर्न पाउने उद्देश्यले मन फुरुङ्ग भएको थियो ।
७ बजे मसिना पुगेपछि थपिए बराहताल गाउँपालिकाका प्रशासकीय अधिकृत प्रेम बहादुर डि.सी । दक्षिण पुर्व हुँदै अघि बढेपछि बिच जंगलको आत्मा पच्छाउँदै पुग्यौं आलडाँडा । आलडाँडा पुग्दा साढेसात बजेको थियो । घना जंगल र पहाडको मेरुदण्डमा अवस्थित छ आलडाँडा गाउँ । बाटो पुगेपनि त्यहाँका मान्छेहरुको मनमा बाटो पुग्नु नपुग्नुको कुनै आभाष छैन । हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य बाटाको उपभोग गर्नु त्यहाँका मान्छेको बाध्यता हो । जति डोजर पुग्दा मान्छेहरु खुशी थिए अहिले मोटर पुगेपछि मान्छेहरु खुशी देखिदैनन् ।
मोटरको आवाजसंगै घरको दैलो फोडेर धुलो पुग्छ घर भित्र पाहुना भएर । पानी परेपछि हिउँद नलागेसम्म आँगनमा मोटरले खुट्टा टेक्दैन । कागलाई बेल पाक्यो हर्ष न विस्मात भन्ने उखान चरितार्थ भएको छ उक्त बाटो आलडाँडाबासीका लागि । अली अघि उकालो चढ्दा बाटोको दुरदशालाई देखेर नै हुनुपर्छ नारायण सर र अध्यक्ष भिम भण्डारी कुरा गर्दै हुनुहुन्थ्यो । यो आ.व मा पालिकाले आफ्नै टिप्पर किनेर बाटो ग्राबेल गर्नुपर्छ ।
गाडी भित्र भएका हामीले उहाँको कुरामा हँ मा हँ थप्यौ । पालिकाले टिप्पर किनेर गरोस या डेण्डर आह्वान गरेर गरोस आलडाँडा, गवेना भुटुकेका जनताले सहज रुपले सदाबहार यातायात सुविधाको उपभोग गर्न पाउन् नारायण जी, प्रेम जी र अध्यक्ष ज्यूका साझा कुरा चाडँै पुराहुन् शुभकामना । जंगलको दायाँ काख्, बायाँ काख हुँदै माथि पुगेपछि भेटिन्छ देउराली भन्ज्याङ्ग । देउरालीबाट फाट्ने रहेछ तरंगा र जयगढ जाने बाटो । हाम्रो यात्रा तरंगा मोडियो ओरालै ओरालो । हुड्केदेखि तरंगा खण्ड बाटोको हुलिया बताएर साध्य छैन तथापि बाटाको स्तरोन्नती र धमाधम कन्स्ट्रक्सनको काम भइ रहेको देख्दा चाडँैनै तरंगासम्म बाटो पिचहुने छनकले धुलाम्य यात्रालाई सुखमय यात्रामा बदलि दिन्छ ।
चमचुरेको थाई पुगेपछि हामी सवार मोटर रोकियो । ओर्लेर निहाल्यौ एक तमासले पश्चिम बगि रहेको निलो भेरी नदी । मनमा लाग्यो नदी किनारमा बसेका मान्छेहरुको दुःख बगाएर भेरी बगि रहेको छ दक्षिण । तर तरंगा पुगेपछि भुपेन्द्र जीको कुरा सापटलिदै मनमा लाग्यो अनिकालमा पालिएको ढिकी जस्तै तरंगाको फाँट काकाकुल अवस्थामा पानीको गुहार लगाइ रहेको छ । भेरी नदीले दुःखका पहाड बगाएको रहेनछ बरु भेरी कलकल बगेर तरंगा बासीलाई दुःखीत बनाएको छ । अन्य देशमा यस्ता नदीनाला भएको भए बगेर खेर जाने पानीको प्रयोग कसरी गर्थें होलान मनमा कुराका बयलीहरु खेली रहे । प्रदेश सरकारको बजेटमा निर्मणाधिन लिफ्ट सिचाई आयोजना बिग्रिएर सञ्चालनमा नआएको देख्दा मन कुडियो । बिग्रेको डाइनामाको मर्मत सम्भार गर्नु पर्ने कस्ले हो त्यो सरोकारवाला जानुन् तर तरंगाको उर्वर जमिन बन्जर भएर निदाउनु राम्रो होइन। लिफ्ट सिंचाइ आयोजनाको विषयमा फर्कदा अध्यक्ष ज्यूलाई प्रश्न गरेको थिए । उहाँको जवाफ थियो डाइनामा मर्मत भइसकेको र चाडैँ उक्त आयोजना सन्चालनमा आउने कुराले बिश्वस्त गराउनु भएको थियो । झोलुङ्गे पुल तरेर तरंगा पुग्दा पौने दस भइ सकेको थियो ।
अझै अत्तोपत्तो थिएन बराहताल पुग्ने समयको । जंगलमा लागेको डढेलोले वातावरणलाई प्रदुषण गरेता पनि हामी पनि डढेलोकै पदचाप पछ्याउँदै ताल सम्म पुग्ने ईच्छामा ह्रास आएको थिएन । प्यास र भोकका मुसा पेटमा दगुरी रहेका थिए। चाउचाउ, बिस्कुट र भेरी नदीको धमिलो पानीको तिख्खर स्वाद नै सही । तिख्खर स्वादमा चाउचाउ बिस्कुट चपाउँदै खुट्टा बढाउदै अघि बढीरहयौं । नारायण भट्टराई जी र तुल बहादुर भाईले गर्मिलाई चुनौती दिदैँ अतिथि सत्कार गर्नमा कुनै कसर राख्नु भएन ।
नग्रेको रिङाउँ पार गरेपछि एकाएक देखिएढुङ्गाका सिढिहरु लस्करै । एक, दुई, तीन गर्दै उक्लियौं सिढि माथि । आठ सय आठ सिढि चढेपछि अलि माथि थुम्काइलो सम्म ठाउँमा पुगेपछि उकालो यात्राले विश्राम लियो। सिमेन्टले ढलौंट गरिएको सम्म पदमार्ग पच्छाउँदै तिनचार सय मिटर हिडेपछि पुगिन्छ तालको छेउ सम्म । भिम सर, मल्ल गुरु, प्रेम सर, नारायण जी कै हुलमा पंतिकार बढी रहेको थियो । भुपेन्द्र जीलाई हुलमामा नदेखेपछि भुपेन्द्र जीको ख्याल गर्दै गुरुले भन्नू भएको थियो भुपेन्द्रलाई नछोड । गुरुले भन्न खोजेको कुराको सार बुझ्दै म पछि हच्के। पछि भुपेन्द्र जी र म संगै ताल सम्म पुग्यौं । ओरिपरी घना जंगल र पहाडको बिचमा अवस्थित छ बराहताल तालको पुर्वपट्टीको आडमा छ बराह देवताको मन्दिर । पालिका अध्यक्ष भिम भण्डारी ज्यू सुनाउदै हुनुहुन्थ्यो मन्दिर निर्माणका लागि पालिकाबाट बजेट बिनियोजन गरेर मंदिरको मर्मत सम्भार गर्दै गरेको कुरा ।
तालको सम्वर्दन र बराहताललाई पर्यटन प्रर्वद्धन गर्नको लागि उहाँको चिन्ता र चासो गहन रुपले प्रकट गरेको देखिन्थ्यो । तर बराहताल पर्यटन प्रर्वद्धनको लागि स्थानिय निकायले बिनियोजन गर्ने रकम मात्रै प्रर्याप्त छैन । बराहताललाई पर्यटन प्रर्वद्धन र स्थानीय बासिको आयआर्जनसंग जोडनको लागि प्रदेश तथा संघिय बजेटको प्रयोग भएको खण्डमा बराहतालले कर्णालीको प्रर्यटन प्रवद्र्धन र पर्यटन व्यवसायमा ठूलो टेवापुर्याउने कुरामा दुइमत छैन ।
बराहताललाई सम्बन्धित पालिकाको पर्यटन स्थल संग नजोडी कर्णाली प्रदेश र सुर्खेतकै पर्यटन गन्तव्य स्थलसंग जोडेर हेर्नू राज्यको दायित्व हो । वीरेन्द्रनगर देखि बराहताल सम्मको दुरी तीस किलोमिटर रहेको छ । बाटाको स्तरनोति चाडै भएको खण्डमा वीरेन्द्रनगरदेखि ताल समय पुग्नको लागि लाग्ने समय एकडेढ घण्टा हो । बराहताल चारकोसे जंगलको बिचमा अवस्थित हुनुका साथै भेरी नदी भन्दा झण्डै ढाईतीन सय मिटरको उचाईमा अवस्थित छ । तालको क्षेत्रफल १६ रोपनिमा फैलिएको छ ।
विभिन्न प्रजातिका चराचुरुङ्गीहरुको वास्थानको रुपमा रहेको तालको लम्बाइ, चौडाइ र गहिराई के कति छ उक्त विषयले पंतिकारलाई अन्यौलको भुमरी पार्यो । ताल वरीपरी रहेको फोहर मैला र पानी भित्र रहेको लेउ तथा जल कुम्भीझाडी सफाई गर्नको लागि तालले आगन्तुक पाहुनासंग बिन्ती गरेको देखिन्छ । सुन्दर बस्तुलाई थप सुन्दर बनाउन बाहिए जनशक्तिको पनि त्यतिकै आवश्यक हुन्छ । बराहताल पर्यटन प्रर्वद्धन गर्नको लागि उक्त ठाउँ सम्म पुग्न बाटो, आवास र पिउने पानीको सुविधा हुन जरुरी छ । पर्यटन व्यवसायसंग जोडेर मान्छेलाई आत्मनिर्भर बनाउनको लागि हस्पिटालिटी सम्बन्धि तालिम दिनको लागि पालिकाले नीति बनाएर कार्यक्रम ल्याएको खण्डमा राम्रो हुने थियो ।
क्याम्पफायर, जंगल स्टे र सुविधायुक्त होमस्टे स्थापनाको लागि पालिकाले निश्चित व्यवसायीहरुको चयन गरेर उनीहरुलाई सब्सिटी दिएर अघि बढन जरुरी छ । बराहतालको उत्पति कसरी भयो भन्ने बिषयमा एउटा छुट्टै रहस्य रहेछ । प्राचिन समयमा नेपाल भुरेटाकुरे राजाहरुको शासनबाट सञ्चालित थियो । भुरेटाकुरे राजाहरुले राज्य बिस्तार गर्ने क्रममा राजा – राजा बिच युद्धहुँदा कुनै राजाले पराजय व्यहोरेका रहेछन। युद्धमा पराजित राजा हार पश्चात् आफ्नो राज्यलाई छोडेर ताल भएको ठाउँमा शरण लिन पुगेका रहेछन् । उक्त समयमा त्यस ठाउँमा ताल थिएन। पानिको समस्या भएकाले राजाले जीवन चलाउनको लागि पुजापाठ र तपस्या गरेका रहेछन् । राजाले गरेको तपस्या देखेर भगवान प्रश्न हुँदै बराहको रुपधारण गरेर भगवानले राजालाई पानी प्रदान गरेको कुरा जनश्रुतिमा सुन्न पाइन्छ । अर्को कुरा अहिले पनि पबित्र मनले तालमा रहेको मन्दिरमा पुजापाठ गरेको खण्डमा आफुले सोचेको मनोकामना पुराहुने मान्छेहरु विश्वास रहेको पाइन्छ ।
हजार बर्ष भन्दा पुराना साल जातका रुखहरु जंगलको प्राकृति सौन्दर्य बनेर उभिएका छन् । तालको पूर्व दख्खिन अवस्थित चट्टाने पहाड ताललाई संरक्षण दिन ढाल बनेर उभिएको छ । चराहरुको चिरर्विर आवाजले त्यहाँ पुग्ने जो कोही पर्यटकको मन लोभ्याउ छ । उत्तरतिर चिसो बढेको खण्डमा तालमा धेरै थरी जातका चराहरुको आगमन हुने रहेछ । चराहरुको उपस्थितिले तालको सौन्दर्य बढाएको छ । एघार बजि सकेको थियो फर्किने सुरसार थिएन । गर्मीसंगै भोक र प्यासले अत्ताएपछि फर्किनुको पनि बिकल्प थिएन । तुलबहादुर भाईलाई पानीको जोहो गर्ने अध्यक्ष ज्युले अगाडि पठाए पछि हामी बिस्तारै आएकै गन्तव्य पच्छाउदै फर्कियौं । बराहताललाई पर्यटन व्यबसायसंग जोडेर बराहताल बा.सीलाई आयआर्जन तिर लगाउने अध्यक्ष ज्यूको हुटहुटी थियो । हुटहुटी भएर मात्रै पुग्दैन त्यस हुटहुटीलाई पूर्ण गरेर देखाउने कुरा त व्यबहार नै हो । जे जति हुन्छ आफ्नै कार्यकालमा गरेर देखाउनुस भन्ने सल्लाह सहित फर्कियौं । खानाखाने जोहो तरंगा देखि पन्द्रबिस मिनेट तल साझघाट गरिएको थियो ।
साझघाटको दुई, तिन घण्टाको बसाइँ पछि गर्मी घटेसंगै घुलो उडाउँदै वीरेन्द्रनगर सुर्खेत फर्कियौं । सुर्खेत पुग्दा घण्टाघरको घण्टीले पाँच बजेको सुचना सहरबासीलाई प्रवाह गरिरहेको थियो ।
धिरेन अनुपम । सुर्खेत । १० जेष्ठ २०८१, बिहीबार १३:५६