प्रदेश सरकार र मातहतका मन्त्रालयबाट कार्यान्वयन हुने धेरै योजनाहरु यो सरकारका नयाँ योजना नभएर पुरानै योजनाको निरन्तरता मात्र हुन । नयाँले पनि पुराना योजना समेट्दै समेट्दै ल्याएर बजेटमा हाल्ने तर काममा नहाल्ने गरेर आएका योजना नै अहिलेको सरकारका पनि मुख्य काम अन्तर्गत परेका छन् । थाहा छैन प्रदेश स्थापनाको ७ वर्षसम्म संधै बजेटमा अटाउने काम नहुने यि योजनाहरुले कति दशकसम्म निरन्तरता पाई राख्ने हुन त्यो हेर्न बाँकी नै छ । बुढापाकाले गर्ने उखान छ नी ‘काम पाईनस बुहारी पोख्दै, उठाउँदै गर’ भन्थे त्यो उखान परिमार्जन गरेर नेताहरुमा लागुहुने भो । नाम समाजसेवा काम आफ्नो, आफन्तको, पार्टी कार्यकर्ता र भित्रि गुट एउटा झुण्डको सेवा गर्ने नियत जुन रहन्छ तबसम्म जति फुर्ति लाएर पार्टीको पुच्छर लागेपनि जति नेता भैटोपल्ले पनि उद्योग, कालकारखानाको विकास विना देशको समृद्धि सम्भव छैन ।
यत्रो देश, विदेश घुम्छन देशको ढुकुटी रित्याउँछन जन्ती जसरी आफ्ना आसेपासेलाई पनि सङ्गै लैजान्छन त्यसको उपलब्धि के गर्छन ? देशको बजेट, विधि काम गर्ने पद्धती, नेताका सार्वजनिक गरेका सम्पत्ति विवरण, भएका विकासको गुणस्तर जस्ता कुरा हेर्ने हो भने युवामात्र होईन नेता र सरकारी कर्मचारी बाहेक देशको मायाले बस्छु भनेर कोही बस्लान जस्तो देखिँदैन । किन यसरी जनतामा निरासा छाएको छ ? के साँच्चै हामी कतै सुध्रिनुपर्ने त छैन ? भन्ने कुरा कुनै सार्वजनिक पद धारण गरेका र सरकारी मानो खाएर ढाँडीएकाहरुलाई कहिल्यै कुनै समयमा लाग्दैन होला ? लाग्छ भने हजारमा एक जनालाई लागेपनी सुरुवात त थोरैबाटै भएको अनुभुती पनि हुने थियो नि । जस्तै काठमाण्डौमा बालेनले सुशासन र विधिको शासन एक्लै सुरुवात गरेका छन् नि हैन र ? हुन्छन कमजोरी, कमजोरी विनाका मान्छे त भेटिँदैनन तर राम्रो काम गरेपनि राम्रो त भन्दा रहेछन नि हैन र ? कर्णालीका नेतालाई मात्रै नराम्रो किन भन्छन त सोचेका छौ कहिल्यै ? नारा नयाँ फुलबुट्टा भरेर ल्याउने तर योजना पुरानै र काम गर्ने ढर्रा पनि पुरानै भए बजारमा आएका नयाँ फेसन जस्तै त हो नी बोक्रो नयाँ गुद्धी पुरानै ।
हात्तीको देखाउने दाँत र चपाउने दाँतकै खिस्सा भैराछ । स–साना योजनालाई बढी महत्व दिनुले पनि बिकास बजेटको खर्चमा सबैभन्दा ठूलो प्रभाव पारेको छ । बजेट छुट्याएर मात्र हुने भए बजेटको अभावको कारण रोकिएका बिकासका काम कुनै छन् भने देखाउँन त जनताले चित्त बुझाउने ठाउँ त चाहियो नि काहीं न काँही त हैन र ? ठूला योजना नहुनु, बजेट कार्यान्वयनको अख्तियारी समयमै नहुनु, आवश्यक नितिको अभाव लगायतका कारणले विकास बजेट खर्च कनिकुथी असारे विकास गरेर भए पनि जेनतेन ५० प्रतिशत पुराउँछन । ११ महिनामा २९ प्रतिशत धौ धौ खर्च गर्ने सरकारले एक महिनामा कुन चाँही जादुको छडी प्रयोग गरेर २०/२५ प्रतिशत बजेट गर्छ होला कुन्नी ?
कर्णाली प्रदेश स्थापनाको ७ वर्षमा प्रदेश अस्पताल र प्रदेश रंगशाला बाहेकका ठूला र देखिने काम कुनै भएका छन् त के बजेट अभावले नै नभएको हो भने भएकै बजेट खर्च गर्न सकेका छैनन अभाव चाँही के मा भयो ? बजेटको अभाव भयो कि शासक र प्रशासकमा गिदीको कमी भयो होला ? हरेक बर्ष यत्तिकै ठूला २/२ काम भएको भए त कर्णालीमा ७ वर्षमा १४ वटा ठूला पूर्वाधार निर्माणका काम हुने थिए । रारा जाने बाटोमात्रै यो ७ वर्षमा २ लेनको सुरक्षित बनाउने सकेको भए लाखौं कर्णालीबासीको लागि रोजगारीको अवसर सिर्जना हुन्थ्यो । सरकारले आफै रोजगारी दिन नसक्ला तर रोजगारीको अवसर सिर्जना गर्न त सक्छ नि ।
युग संवाददाता । सुर्खेत । ४ असार २०८१, मंगलवार १०:१८