भेरी–बबईले चुम्यो ६५.८ प्रतिशत भौतिक प्रगति
राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले ६५.८ प्रतिशत भौतिक प्रगति गरेको छ । गत आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म आयोजनाले वार्षिक लक्ष्यको ९६ प्रतिशत प्रगति हासिल गरी समष्टिगत वार्षिक प्रगति ६५.८ प्रतिशत पुगेको हो ।
यस वर्ष आयोजना कार्यान्वयनका लागि विनियोजन भएको कुल एक करोड ५६ लाख बजेट मध्ये असार मसान्तसम्म एक करोड ४९ लाख खर्च भएको छ । स्वीकृत गुरुयोजना अनुसार आयोजनाको कुल लागत ३३ अर्र्ब १९ करोड ६६ लाख रहेकोमा हालसम्म १५ अर्ब बढी खर्च भएको आयोजनाले जनाएको छ । हालसम्म आयोजनाका लागि विनियोजन भएको एक अर्ब ५९ करोड रुपैयाँ मध्ये वैशाख मसान्त सम्मको खर्च ८४ करोड ४० लाख रहेको आयोजनाका सूचना अधिकारी एवम् सिनियर डिभिज्नल इन्जिनियर पवन अधिकारीले बताए ।
नेपालमा पहिलोपटक टनेल बोरिङ्ग मेसिन (टीबीएम) प्रविधिको प्रयोग गरी निर्माण गर्न लागिएको आयोजनाबाट लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजनाको काम तीव्र गतिमा अगाडि बढेको छ ।
आयोजनाको पहिलो चरणमा १२ किलोमिटर लामो सुरुङ १० अर्ब ५६ करोड लागतमा निर्माण भइसकेको छ । चिनियाँ कम्पनी चाइना इन्जिनियरिङ ओभरसिज प्रालि (कोभेक) ले तोकिएको समयभन्दा एक वर्षअगावै टीबीएमको सहायताले सुरुङ निर्माण गरिसकेको छ । हाल दोस्रो चरणका काम सिभिल संरचना (हेडवर्क्स, पावरहाउस तथा सर्ज साफ्ट) हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल अन्तर्गतका काम भइरहेका छन् ।
जस अन्तर्गत हेडवक्स निर्माण कार्य अन्तर्गत २ बे तर्फ डिभाइड वाल, अपस्ट्रिम ¥याफ्ट निर्माण कार्य सम्पन्न भएको छ । इन्टेक तथा ग्राभेल ट्¥याप निर्माण भइरहेको छ भने लेफ्ट बैक गाइड वाल निर्माण कार्यको फाउण्डेसन खन्ने कार्य समपन्न भइ कङ्क्रेटिङ्ग कार्य सुरु भएको आयोजनाले जनाएको छ । यस्तै, पावरहाउस निर्माण अन्तर्गत ढलान संरक्षणको कार्य अन्तिम चरणमा रहि फाउण्डेसन निर्माणको कार्य तीव्र गतिमा अगाडि बढको छ ।
विद्युत गृह निर्माण गर्नका लागि कफर ड्याम निर्माण कार्य पनि सुरु भएको छ । स्थानीयको अवरोधका कारण उक्त कार्य ठप्प भएकोमा स्थानीयवासीहरूको माग सम्बोधन भएपछि निर्माण कार्य सुचारु भएको हो । हाईड्रोमेकानिकल निर्माण कार्य अन्तर्गत हेडवक्समा मा २ वे को पियरमा स्टिल लाइनिङ गर्ने कार्य सम्पन्न भई गेट, स्टपलगहरुमा नाली राख्ने गरी पियर कङक्रेटिङको कार्य भइरहेको छ । गेट, स्टपलग पेनस्टक लगायतका संरचनाहरुको डिजाईन तथा स्वकीकृत गर्ने कार्य धमाधम भइरहेको आयोजनाले जनाएको छ ।
यस्तै, इलेक्ट्रोमेकानिकलतर्फ टर्वाइन मोडेलको टेष्ट भई निर्माणको चरणमा रहेको छ भने जेनेरेटर लगायत केही महत्वपूर्ण उपकरणहरूको डिजाइन स्वीकृति भइ निर्माणको चरणमा छन् । केही डिजाइन स्वीकृतीका क्रममा रहेका छन् भने केही उपकरणहरूको डिजाइन तयार भइरहेको आयोजनाका सूचना अधिकारी पवन अधिकारीले जानकारी दिए ।
मौसमको अनुकूलताका आधारमा हेडवक्स र विद्युतगृह निर्माणको काम दुई सिफ्टमा भइरहेको उनले बताए । यद्यपी मनसुन सुरु भएपछि भने अनुकुलताका आधारमा काम अगाडि बढिरहेको अधिकारीले बताए । त्यस्तै, आयोजनाको बाँध निर्माण भएपछि डुवान क्षेत्रमा पर्ने जग्गा प्राप्ति सम्बन्धमा मुआब्जा निर्धारण समितिबाट दररेट निर्धारण भई रैकर जग्गाको हकमा ८.११४ हेक्टर जग्गाको मुआव्जा वितरण कार्य सम्पन्न भइसकेको छ । ऐलानी जग्गा प्राप्तितर्फ झण्डै १०.५९ हेक्टर जग्गा प्राप्तिको लागि सूचना प्रकाशन भएकोमा अन्तिम भेरिफिकेसन सम्पन्न भइ दुई चरणमा ५.८७ हेक्टर ऐलानी जग्गा प्राप्ति भइसकेको छ भने बाँकी प्राप्तिको चरणमा रहेको आयोजनाले जनाएको छ ।
बबई मानखोला डाइभर्सन आयोजना बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जको कोर क्षेत्र भएर जाने हुँदा सो को विस्तृत सम्भाव्यता अध्ययन कार्य भइरहेको छ । वन तथा वातावरण मन्त्रालयबाट सहमति प्राप्त भएअनुसार बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा सम्भाव्यता अध्ययनको फिल्ड सर्भे, इआरटीका कार्यहरू सम्पन्न भइ ड्रिलिङ्ग कार्य अन्तिम चरणमा रहेको सूचना अधिकारी अधिकारीले बताए ।
यस्तो छ आयोजनाको इतिहाँस
दोस्रो चरणमा बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण जेभी र आयोजनाबीच आर्थिक वर्ष २०७९/८० मा काम सम्पन्न गर्ने गरी ११ अर्ब ५२ करोड ६१ लखमा २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो ।
दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०७९/०८० को असार मसान्तसम्म सक्नु पर्ने कार्यादेश थियो । तर, विविध कारणले तोकिएको समयमा काम सम्पन्न नभएपछि आर्थिक वर्ष २०८४/०८५ सम्म म्याद थप गरिएको छ । विश्वव्यापी फैलिएको कोरोना महामारी, निर्माण सामग्री अभावलगायत समस्याका कारण तोकिएको समयमा आयोजना निर्माण हुन नसकेर पछाडि धकेलिएको आयोजनाले जनाएको छ ।
नेपालका हिमनदी स्रोत भएका नदीको पानीलाई मझौला नदीमा पथान्तरण गर्न सकिए विकसित सिंचाइ प्रणालीको पूर्ण रूपमा उपयोग गरी कृषि उत्पादनमा वृद्धि भई मुलकमा खाद्यान्न संकटको समस्या समाधान हुनसक्ने र सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानीलगायतका अन्य प्रयोजनमा समेत प्रयोग गर्ने गरी राष्ट्रको समग्र विकासमा टेवा पुग्ने दृष्टान्तलाई मध्यनजर गर्दै सन् १९९८ मा जापानको अन्तर्राष्ट्रिय सहयोग संस्था जाइकाले भेरी–बबईको वातावरणीय प्रभाव मूल्यांकन गरेको थियो ।
जसमा भेरी नदीको पानी बबईमा खसाली जलविद्युत् र सिंचाइको प्रचुर सम्भावना रहेको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो । सोही बमोजिम सिंचाइ विभागले आर्थिक वर्ष २०६८ भदौ ७ गतेबाट निर्माण कार्य थाल्ने घोषणा गरेको भए पनि विविध कारणले यसको निर्माणको काम आर्थिक वर्ष २०७१/०७२ बाट सुरु भएको थियो ।
सुर्खेतको भेरीगंगा नगरपालिका–११, चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेजसहितको ब्यारेज निर्माण गरिने छ । ब्यारेज एक सय १४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ किलोमिटर सुरुङमार्फत भेरीगंगा नगरपालिका–५, हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिने छ । जहाँ ४६.८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ । संघीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी–बबई डाइभर्सन जलविद्युत् कम्पनी स्थापनासमेत गरिसकेको छ ।