शारदा नदीमा निर्माणाधीन दुई पुल तीन वर्षदेखि अलपत्र


शारदा नदीमा निर्माणाधीन दुई पक्की पुल तीन वर्षदेखि अलपत्र परेका छन् । ठेकेदारले विभिन्न बहाना बनाइ काम गर्न नमान्दा बाग्चौर–पातिहाल्ना सडक खण्डको शारदा नदी र श्रीनगर–डाग्री–स्यानीखाल जोड्ने शारदा नगरपालिका–१ श्रीनगरस्थित शारदा नदीमा निर्माणाधीन पक्की पुल तीन वर्षदेखि अलपत्र परेका हुन् ।

शारदा नगरपालिका–१ श्रीनगरस्थित शारदा नदीमा सडक डिभिजन कार्यालय दाङको झन्डै १० करोड बजेटमा जलजला जयमा स्वर्गद्वारी निर्माण कम्पनीले २०७८ मंसिरदेखि निर्माणको काम सुरु गरेको थियो भने बाग्चौर नगरपालिका–२ स्थित शारदा नदीमा पूर्वाधार विकास कार्यालय सल्यानको ३ करोड ६२ लाखमा निशान प्रकृत्ति जेभीले २०७८ असार ९ मा सम्झौता गरी निर्माणको काम सुरु गरिएको थियो ।

निर्माणको काम सुरु गरेको केही महिना नबित्दै दुवै पुलको काम रोकिएको थियो । रोकिएको काम सुचारु गर्न सम्बन्धित निकायले ताकेता गर्दै आए पनि ठेकेदारले त्यसलाई बेवास्ता गर्दै आएका छन् । पक्की पुल निर्माणको काम अलपत्र परेपछि निर्माण कम्पनीले छाडेका सामग्री अहिले पनि त्यत्तिकै खेर गइरहेका छन् ।

श्रीनगरस्थित शारदा नदीमा पिलर जडानका लागि खाल्डो खन्ने डीएमसी मेसिनले ड्रिल गर्ने क्रममा जमिनभित्र कडा चट्टान रहेको र मेसिन नै भाँचिएपछि निर्माण कम्पनीले काम सुरु गरेको चार महिना नबित्दै काम छाडेको थियो भने बाग्चौर नगरपालिका–२ स्थित शारदा नदीमा पक्की पुल निर्माणका लागि पिलर जडानका लागि खाल्डो खनेर डीपीसी गरे पनि वर्षातको समयमा आएको बाढीले क्षति पु¥याएपछि निर्माण कम्पनीले दुई महिना नबित्दै काम छाडेको थियो ।

सुरुवाती चरणमै दुवै पुल निर्माणको काम हुन नसकी अलपत्र परेपछि अहिले वर्षातको समयमा शारदा वारपार गर्न स्थानीयलाई समस्या हुने गरेको छ । स्थानीयहरू शारदा नदी वापार गर्न विभिन्न किसिमका कष्ट उठाउँदै आएका छन् । अहिले वर्षातले नदी बढ्दा रेसमज्युला भएर आउजाउ गर्नु पर्ने बाध्यता रहेको मुलडाँडाकी विमला घर्तीले बताइन् । पुल बन्न नसक्दा घुमेर आउजाउ गर्दा झनै समस्या हुने गरेको उनले जानकारी गराइन् । त्यसै गरी, पातिहाल्नाका तेजबहादुर ओलीले मोटरसाइकल शारदा नदीबाट वारपार गर्न नसकिने र जीर्ण झोलुंगे पुल प्रयोग गर्नु परेको बताए । एम्बुलेन्स पनि खरिबोट हुँदै घुमाएर पिपलनेटा अस्पताल लैजानु पर्ने बाध्यता रहेको उनले बताए ।

सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी इन्जिनियर उज्वलकुमार झाले पुल निर्माण स्थलको करिब २० मिटर तल जमिनमुनि कडा चट्टान भेटिएको र ठेकेदार कम्पनीले ल्याएको ठूलो मेसिनले चट्टानमा प्वाल पार्न नसकेपछि रोकिएको काम अहिले पनि सुचारु हुन नसकेको बताए । ‘अहिलेको डिजाइन नबल्दासम्म ठेकेदारले काम गर्दिन भनेका छन् । हामीले फिल्ड रिपोर्ट माग गरेका छौं, उनले पेस गरेका छैनन् । यसमै अल्झिएको छ,’ उनले भने । शारदा नदीमा निर्माण सुरु गरिएको पुलको लम्बाई ६८ मिटर रहेकामा अहिलेसम्मको प्रगति शून्य जस्तै रहेको उनको भनाइ छ ।

यता पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख हरिबहादुर ओलीले निर्माण कम्पनीलाई पटक–पटक ताकेता गर्दा पनि विभिन्न बहना बनाउँदै काम नगरेकाले पुलको काम दुई वर्ष भन्दा बढी समयदेखि रोकिएको बताए । २०८२ असारसम्म म्याद रहेको पुलको पहिलो पिलरको डीपीसी गरेको र वर्षातको भेलले क्षति पु¥याएपछि त्यत्तिकै छाडेको उनले जानकारी गराए । उनका अनुसार पक्की पुलको लम्बाई २५ मिटर रहेको छ ।

जलजला जयमा स्वर्गद्वारी निर्माण कम्पनीका ठेकेदार केवी ओलीले कडा चट्टान भएकाले ठूलै मेसिनले पिलर निर्माण गर्ने प्वाल पार्न नसकेका कारण काम गर्न नसकेको र डिजाइन बदले मात्र काम अगाडि बढाउने बताएका छन् । ‘पक्की पुल निर्माणका लागि सडक डिभिजन कार्यालय दाङले १६ मिटर गहिराइमा परीक्षण गरेको थियो । स्टमेट अनुसार पिलरका लागि २७ मिटर गहिराइसम्म प्वाल पार्नुपर्ने थियो । सानो मेसिनले २० मिटरभन्दा तल प्वाल पार्न सकेन । मेसिनको ड्रिल गर्ने सिजल जमिनमुनि अडक्यो । निकाल्न सकेनौं । बारम्बार प्रयास गर्दा पनि असफल भयौं । त्यहि भएर काम रोकियो,’ उनले भने ।

प्रकृति निसान जेभीका ठेकेदार अरविन्दकुमार राईले पहिला कार्यालयले काम गतिलो नभएको भन्दै रोकेको र पछिल्लो समयमा विभिन्न किसिमका समस्याका कारण काम गर्न नसकिएको बताए । उनले छिट्टै पक्की पुल निर्माणको काम अगाडि बढाउने जानकारी गराए ।

तपाईको प्रतिक्रिया