दुधमा आत्मनिर्भर वियारे गाउँ, खलंगाको माग धान्दै
झिसमिसे उज्यालो नहुदै निन्द्रा खुल्छ । अनी सुर्य नउदाउँदै भैंसीको दुध दुहेर बेच्न खलंगा पुग्छिन् । उनी हुन्, गुठिचौर गाउँपालिका–४ जुम्लाकी मायादेवि देवकोटा । मायादेविलाई दुध बेच्नका लागि घरदेखि खलंगासम्म पुग्न करिब ४५ मिनेट लाग्छ । बिहान बिहान दुध आयो भन्दै उनको खलंगा आउजाउ यात्रा हरेक दिन चल्छ । कहिले कसो उनले नभ्याएको दिनमा परिवारका अन्य सदस्यले पनि दुध बेच्न सहयोग गर्छन् ।
बिहान भैंसी दुहेर सुरु हुने मायादेविको दिनचर्या बितेको १७ वर्ष भयो । उनको घरमा श्रीमान र छोराछोरी सहित चार जनाको परिवार छ । ‘मैले विहे गरेदेखि नै यो काम नियमित गर्दै आएकी छुँ । म यसैमा खुसी र सन्तुष्ट पनि छुँ’ मायादेविले भनिन्, ‘भैंसी पालनसँगै खेतीपाती पनि आफै गर्नुपर्छ, दुध बेचेर छोराछोरीको पढाइ खर्च चलाउँछु, केही रकम बचत पनि गर्ने गरेकि छुँ ।’
मायादेविले प्रत्येक दिन पाँच लिटर बढि दुध बेच्छिन् । बजारमा प्रति लिटर दुधको मुल्य एक सय ४० रुपैंया छ । मायादेवि जस्तै वियारे गाउँका ४० घरधुरीले दुधका लागि भैंसी पालन गरेका छन् । यो गाउँ दुधमा आत्मनिर्भर छ । दुधबाट आफु पनि आत्मनिर्भर बन्ने किसानका प्रयत्न जारी छन् ।
गाउँ आसपासमा सबै दुध खपत हुदैन । वियारेवासी मायादेवि देवकोटाको जस्तै झिसमिसे उज्यालोमा उठ्छन् । अनी सुर्य नउदाउँदै भैंसीको दुध दुहेर बेच्न सदरमुकाम खलंगा जान्छन् । कोही काठको ठेकिमा त कोही क्यानमा दुध बोकेर बिहानै खलंगातिर लाग्छन् । स्थानीय दानसाँगु बजारदेखि खलंगासम्मको बाटोमा दुध बेच्नेको घुइँचो हुन्छ । वियारे गाउँबाट मात्रै हरेक दिन करिब तीन सय लिटर दुध खलंगा निर्यात हुन्छ । यो गाउँमा उत्पादित दुधले खलंगाको माग धान्दै आएको छ ।
‘गाउँमै आएर दुध खरिद गरिदिने राम्रो डेरी छैन, दुध बेच्नकै लागी बजार पुग्नपर्छ’ अर्का भैंसीपालक किसान गंगप्रसाद कुमाइले भने, ‘बजार पुग्नुपर्ने बाध्यताले समय खेर गरेको छ, तर दुःख अनुसार आम्दानी राम्रै छ ।’ गंगप्रसादले दैनिक १५ लिटर बढि दुध बिक्रि गर्दै आएका छन् । मासिक ४० हजार बढि रकम दुधबाटै कारोवार हुने गरेको छ । दुध बेचेरै घरायासी खर्च चलाएर केही रकम बचत गर्ने गरेको उनले बताए ।
गाउँका सबै किसान वियारे दुग्ध सहकारी संस्था तथा भैंसीपालन समूहमा आवद्ध छन् । कसैलाई केहि समस्या परे समूहबाटै ऋण सापट दिने चलन छ । समूहका अध्यक्ष लक्ष्मीकान्त देवकोटाका अनुसार दुध उत्पादन भए बजारको खाँचो छैन । तर हिउँदे सिजनमा आहाराको कमिले दुध उत्पादन घट्ने गरेको उनी बताउँछन् ।
‘मैले पनि दुई वटा भैंसी पालेको छुँ । दिनमा २० लिटर बढि दुध बेच्छुँ’ उनले भने, ‘दुध ढुवानीमा समस्या छ, अब समूहका सबै मिलेर गाडी खरिद गर्ने योजनामा छौं, त्यसो गर्नसके दुध बेच्नका लागि पुरै गाउँले बजार धाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ।’
घरको दैलोमै दुध किन्न आउने व्यापारीको पतिक्षमा छन् वियारेवासी । वियारेवासीलाई दुध उत्पादनका लागी भैंसी पालन व्यवसायमा सङ्घीय सरकारको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको कर्णाली प्रदेशमा कृषि क्षेत्र विकास कार्यक्रम अन्तर्गत दुग्ध मूल्य श्रङ्खला कार्यक्रमले सहयोग गर्दै आएको छ ।
यो कार्यक्रम मार्फत समुह÷सहकारीहरुलाई खोर÷गोठ सुधार, दुध हाल्ने क्यान, नश्ल सुधार, प्राविधिक तालिम, औषधि, नश्ल सुधार र घाँस व्यवस्थापनमा सहयोग गरिएको छ । यसका साथै घाँस व्यवस्थापन तथा अन्य सिचाइ सुविधाका लागि सिचाइ कुलो र सिचाइ पोखरी निर्माण गरिन्छ ।
समुहमा महिला सदस्यहरुलाइ वित्तिय शिक्षा तथा व्यावसायिक साक्षरता र पोषण कक्षा संचालन गरी मूल्य शृङ्खलामा आवद्ध कृषकहरुमा वित्तीय शिक्षा तथा व्यावसायिक साक्षरता कक्षाको माध्यमबाट वित्तीय सेवाहरुको प्रयोग तथा समयानुसार व्यक्तिगत, घरायसी र आफ्नो लघु उद्यममा वित्तीय अनुशासन तथा वित्तीय व्यवस्थापन गर्ने क्षमता वृद्धि गर्ने गरिएको छ ।
दुग्ध मूल्य श्रङ्खला कार्यक्रमले स्वरोजगार बनाएको भन्दै आर्थिक रुपमा पनि सवल बन्दै गएको समूहमा आवद्ध किसानहरु बताउँछन् । कृषि क्षेत्र विकास कार्यक्रम सुर्खेतका लैङ्गिक समानता र सामाजिक समावेशीकरण कार्यक्रम अधिकृत रुद्र आचार्यका अनुसार वियारे गाउँसँगै कर्णालीमा दुग्ध मूल्य श्रङ्खलामा काम गर्ने दुई सय २७ समुह छन् । जसमा ६ हजार ६ सय १९ घरधुरी लाभान्वित भएका छन् । समुहहरुमा महिला सदस्य मात्रै चार हजार सात सय ४२ रहेको छ ।
समुहसंग भएको सहलगानी सम्झौता अनुसार दुग्ध मूल्य श्रृङ्खलामा कृषि क्षेत्र विकास कार्यक्रमको सहलगानी २२ करोड ५१ लाख २९ हजार ९९ रुपैंया रहेको छ । त्यति नै बराबर रकम समुहको सहलगानी रहेको छ । कार्यालयबाट हालसम्म दुग्ध मूल्य श्रृङ्खलामा १६ करोड सात लाख ३५ हजार सात सय ८१ रुपैंया भुक्तानी भइसकेको छ ।
दुध उत्पादकलाई प्रोत्साहन
कर्णाली प्रदेश सरकारले दूध उत्पादक किसानलाई प्रोत्साहन वापत झण्डै एक करोड बढी रकम उपलब्ध गराएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा दूध उत्पादक किसानलाई प्रोत्साहन रकम उपलब्ध गराएको हो ।
साविक कर्णालीका पाँच जिल्लामा प्रति लिटर १० रुपैयाँ र अन्य जिल्लामा पाँच रुपैयाँका दरले ३७ लाख ९१ हजार चार सय २९ लिटर दुधमा एक करोड २३ हजार प्रोत्साहन रकम अनुदानवापत उपलब्ध गराइएको प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
जसबाट तीन हजार सात ७६ कृषक लाभान्वित भएका छन् । प्रोत्साहन कार्यक्रम अन्तर्गत सबैभन्दा धेरै सुर्खेतका दूध उत्पादक किसान लाभान्वित भएका छन् । गत आर्थिक वर्षमा सुर्खेतका दुई हजार ४१ कृषकलाई ४९ लाख २९ हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरेको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए ।
दूध उत्पादन गरेवापत सल्यानका ६ सय ४१ किसानले १३ लाख ३४ हजार प्रोत्साहन रकम प्राप्त गरेका छन् । यस्तै रुकुम पश्चिमका चार सय ७७ किसानलाई १५ लाख, जाजरकोटका ७१ किसानलाई चार लाख २३ हजार, दैलेखका चार सय ३४ किसानलाई १० लाख ५३ हजार रुपैयाँ दूध उत्पादन गरेवापात प्रोत्साहन रकम प्रदान गरिएको छ ।
यस्तै, कालिकोटका एक सय चार किसानलाई सात लाख, हुम्लाका आठ किसानलाई ८५ हजार तीन सय ६० रुपैयाँ दुग्ध उत्पादक किसानलाई प्रोत्साहन अनुदान बापत प्रदान गरिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मुगु र डोल्पामा भने दूध उत्पादक किसान नभएकाले प्रोत्साहन रकम वितरण गरिएको छैन ।
गत वर्ष कर्णालीबाट झण्डै चार अर्ब बढीको कृषिजन्य उपजहरु निर्यात भएका छन् । कृषिजन्य उपज (तरकारी, सुन्तला, फलफूल, मसलावाली, मह आदि) बाट दुई अर्व २६ करोड ६७ लाख ११ हजार रकम भित्रिएको हो ।
यस्तै पशुपन्छीजन्य उपज (खसी, दुध, माछा, मासु, घिउ, राडीपाखी, छुर्पी आदि) बाट एक अर्व ८४ करोड ९० लाख ७० हजार गरी कुल चार अर्व ११ करोड ७७ लाख ८१ हजार बराबरको कृषि तथा पशुपन्छीजन्य उपजहरु निर्यात भएको मन्त्रालयले जनाएको छ ।