कर्णालीका आठवटा अलपत्र स्वास्थ्य भवन चालु आवमा सक्न दबाब


कर्णालीका आठ ठाउँका स्वास्थ्य भवन अलपत्र परेका छन् । निर्माण व्यवसायीले समयमै काम नगर्दा स्वास्थ्य भवन अलपत्र परेका हुन् । ठेक्का लिएर तर सम्झौतामा उल्लेख भएको समयभित्र निर्माणतर्फ ध्यान नदिँदा स्वास्थ्य भवन अलपत्र परेको सामाजिक विकास मन्त्रालयमा आयोजना गरिएको छलफलका सहभागीले बताएका छन् ।

जिल्ला अस्पताल दैलेखको भवन निर्माणमा अहिलेसम्म ४० प्रतिशतमात्रै काम भएको छ । ०७८ जेठ १० गतेबाट निर्माण कार्य सुरु गरेको उक्त भवन ०८१ जेठ ३० गते सम्पन्न गर्नुपर्ने हो । तर म्याद सकिँदा जम्मा ४० प्रतिशतमात्रै काम भएको छ । यीबाहेक ठेकेदारले काम नगर्दा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिम, सल्यान अस्पताल भवन, स्वास्थ्य सेवा कार्यालय हुम्लाको भवन, सुर्खेतको मेहलकुना अस्पताल भवन निर्माण, प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणको काम अधुरै छ ।

वीरेन्द्रनगरस्थित प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान भवनको निर्माण ०७८ असार ३० गतेबाट सुरु भएको हो । तर अहिलेसम्म उक्त भवनको काम ३० प्रतिशत पनि सम्पन्न भएको छैन । १८ करोड २२ लाख लागत सम्झौता रहेको भवन निर्माणको काम कौशल जगदम्बा सुपरस्टार निर्माण कम्पनीले ०७९ फागुन ३ गतेसम्म सम्पन्न गर्ने भनेर जिम्मेवारी लिएको थियो ।

निर्माण व्यवसायी कालिकोटकी तारा शाहीले लिएको यो ठेक्काको काम समयमै सम्पन्न नगर्दा सेवा प्रवाहमा समस्य पर्दै आएको छ । अधुरो भवन निर्माणका लागि २०८१ फागुन २९ गतेसम्म म्याद थप गरिएको छ । १५ शैयाको भवन निर्माण गर्ने उद्देश्यसहित यहाँ संघीय आयोजना इकाईबाट बजेट व्यवस्थापन गरिएको हो । आयुर्वेद औषधालयका प्रमुख डा. शंकर रिजाल निर्माण कम्पनीको लापरबाहीका कारण भवन बन्न नसकेको बताए ।

निर्माण व्यवसायी तारा शाहीले लिएका अन्य स्वास्थ्यका संरचनाको काम पनि अलपत्र अवस्थामै रहेको पाइएको छ । उनले अन्य कम्पनीसँग मिलेर जिल्ला अस्पताल दैलेखको भवन निर्माण, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणको काम लिएकोमा ती पनि अलपत्र छन् । आपूर्ति केन्द्र अहिले भाडाको घरमा छ । २०७९ फागुन ३ गते नै आपूर्ति केन्द्रको भवन निर्माण सम्पन्न गर्नुपर्ने हो तर, अहिलेसम्म जम्मा ६० प्रतिशतमात्रै काम भएको छ ।

ठेकेदार शाहीले २०७८ असोज २४ गतेदेखि निर्माण कार्य सुरु गरेकी थिइन् । तर बीचमा काम नगर्दा भवन निर्माणको काम अधुरै रह्यो । उक्त भवन निर्माणको म्याद पनि २०८१ चैत ३० गतेसम्मका लागि थप गरिएको छ । कर्णालीमा काम नगरेर स्वास्थ्य संरचना अधुरै राख्ने ठेकेदारलाई कर्णालीका नवनियुक्त सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मन्त्रालयमै बोलाएर चाँडो काम सम्पन्न निर्देशन दिए ।

ठेकेदारलाई मन्त्री भण्डारीले भन्ने, ‘म्याद थप भएअनुसार समयमै काम सम्पन्न गर्नुहोस्, अबका दिनमा कुनै पनि बहानाबाजी गर्न पाइने छैन ।’ अहिले मन्त्रालयअन्तर्गत विभिन्न जिल्लामा १४ वटा योजना सञ्चालनमा छन् । तीमध्ये पाँचवटा योजनाको म्याद सकिएका छन् । उनीहरूका लागि मन्त्रालयले अन्तिम पटक म्याद थप गर्न समन्वय गरिदिने तर त्यसभित्र काम सम्पन्न गरिनुपर्ने मन्त्री भण्डारीले बताए ।

ठाउँठाउँका संरचना अलपत्र पारेकी सुपरस्टार कन्स्ट्रक्सनकी सञ्चालक तारा शाहीले मन्त्री भण्डारीसमक्ष समयमा काम गर्न नसकिएको स्वीकार गरिन् । उनले चालु आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन् । सल्यान अस्पतालको भवन निर्माणको जिम्मा लिएको आरोग्य सुवेदी जेभीका अनुसार ६५ प्रतिशत काम सकिएको छ ।

भुक्तानी समयमा नपाएको कारण ढिलाइ भएको कम्पनीका प्रतिनिधि जितेन्द्र महतोले बताए । यदि समयमा भुक्तानी पाए ३–४ महिनामै बाँकी काम सम्पन्न गर्ने उनको भनाइ छ । रुकुम प्रदेश अस्पतालको काम अबको ४–५ महिनामा सम्पन्न गरिने कम्पनीका प्रतिनिधिले बताएका छन् । कम्पनीले गत असार मसान्तमा कार्य सम्पन्न गर्नुपर्ने थियो ।

तपाईको प्रतिक्रिया