पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा सिमेन्ट उत्खनन्को लाइसेन्स पाएको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालि १५ वर्षसम्म पनि जग्गा खोजिकै गोलचक्करमा रहेको पाइएको छ । लामो समयदेखि उद्योग स्थापनाको विषय अलपत्र परेपछि चौकुने गाउँपालिकाले व्यवसायी अजय सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिलाई उद्योग सञ्चालन गर्ने वा नगर्ने विषयमा पत्र लेखेपछि १५ वर्षसम्म पनि जग्गा खरिद गर्न नसकेको पाइएको हो ।
गाउँपालिकाले ११ भदौमा लेखेको पत्रको जवाफ दिदै मुक्तिश्रीले खानी सञ्चालनका लागि तीन सय र उद्योग स्थापना गर्न आवश्यक पर्ने पाँच सय रोपनी जग्गा खरिद गर्न नसकेको जनाएको छ । विगत लामो समयदेखि निर्माण ठेक्का पाएको मुक्तिश्रीले हालसम्म पनि उद्योग सञ्चालन गर्न नसकेको र उद्योगलाई सञ्चालन नगर्ने नियतले अन्यौलतामा पारेको भन्दै गाउँपालिकाले पत्र लेखेको थियो ।
मुक्तिश्रीले ईजाजत अनुमती पत्र पाएको एक दशक वित्दा पनी चुनढुङ्गा उत्खनन् कार्य नगरी पटक–पटक म्याद मात्रै थप्नुले नकारात्मक सन्देश गएको पालिकाले लेखेको पत्रमा उल्लेख छ । खानी क्षेत्र चौकुने गाउँपालिका–६, कुवा, खोप्री, थरालगाउँ, काफ्लगैरा, ओटपोखरी लगायतका क्षेत्रफलमा फैलिएको छ । ठुलो आयोजना सञ्चालन हुन नसक्दा चौकुने गाउँपालिका लगायत आसपासका नागरिकहरुको रोजगारी खोसिनुका साथै अन्य विकासमा समेत नकारात्मक असर परेको चौकुनेको ठहर छ ।
साथै गाउँपालिकाले लेखेको पत्रमा उद्योग सञ्चालनमा ल्याउन सकिने अवस्था छ ? या छैन ? त्यसको यथाशिघ्र तथ्यसहित जानकारी दिन भनेको छ । तर मुक्तिश्रीले जग्गा खरिदको प्रक्रिया मै रहेको जवाफ पालिकालाई पठाएको छ । उद्योग सञ्चालन गर्न सम्भव छ भने उद्योगलाई आवश्यक पर्ने दर्ता जग्गाको हकमा सरकारी नियम अनुसार अधिग्रहण प्रक्रियामा थाल्न र सरकारी ऐलानी जग्गाको हकमा एकमुस्ट जग्गा प्राप्तिको प्रक्रियामा जान पालिकाले अनुरोध गरेको छ ।
जग्गा खरिद प्रक्रियामा स्थानीय सरकारको तर्फबाट आवश्यक पर्ने प्रत्यक्ष, अप्रत्यक्ष, औपचारिक तथा अनौपचारिक सहयोग गर्न तयार रहेको पालिकाले भनेको छ । अन्यथा उद्योग सञ्चालन नहुने अवस्थामा गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधाहरु बन्द गरिदिने चेतावनीसमेत गाउँपालिकाले दिएको छ ।
विभिन्न बहाना बनाएर निर्माण कम्पनीले लाइसेन्स होल्ड गरेर राख्दा काम हुन नसकेको ठहर गर्दै पालिकाले ध्यानाकर्षण गराएको जनाएको छ । उद्योग स्थापनाका लागि पटक–पटक ताकेता गर्दा पनि कम्पनीले प्रक्रिया अगाडी बढाउने छाँट नदेखिएपछि अन्तिम पटक जानकारी गराइएको चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक बताउँछन् । ‘पहिले उहाँहरू उद्योगमा प्रयोग हुने उपकरण ल्याउन सडक भएन । पुल भएन, बिजुली भएन भन्नुहुन्थ्यो तर, अहिले उहाँहरूकै मापदण्डमा सडक पनि पुग्यो, बिजुली पनि पुग्यो । अहिले जग्गा पाएनौँ भनेर अर्को नौटंकी देखाइ रहनुभएको छ । मुक्तिश्रीले जग्गा नपाएर उद्योग सञ्चालन गर्न सकेनौँ भन्नु गलत हो,’ अध्यक्ष विकले भने ।
पालिकाले लेखेको पत्रको जवाफ दिदै मुक्तिश्रीले खानी तथा भुगर्भ विभागबाट अनुमति प्राप्त गरी करिब ९० रोपनी जग्गा खानीक्षेत्रमा खरिद गरिएको जनाएको छ । ‘खानी संचालनका लागि थप तीन सय रोपनी क्षेत्रफल जग्गा र सिमन्ट कारखाना स्थापना तथा संचालनका करिव पाँच सय रोपनी जग्गा आवश्यक रहेको व्यवहोरा जानकारी गराउँदछौं,’ मुक्तिश्रीले लेखेको पत्रमा उल्लेख छ । उल्लेखित जग्गाहरु खरिद गर्दा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित समितिले तय गरेको मुल्यमा जग्गा खरिद गर्न सकिने प्रतिवद्धता प्रकट गर्दै जग्गा खरिदका लागि आवश्यक सिफारिस, सहयोग एवं समन्वय गरी पाउँ भन्ने आशयको जवाफ मुक्तिश्रीले पालिकालाई पठाएको छ ।
त्यसपछि फर्किएनन् सुमार्गी
व्यवसायी अजय सुमार्गी अध्यक्ष रहेको मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रा.लि. ले आर्थिक बर्ष २० साउन २०६६ मा सुर्खेतको चौकुने गाउँपालिकामा सिमेन्ट उद्योग स्थापना गर्न खानी तथा भूगर्भ विभागसँग उत्खननको अनुमति लिएको थियो ।
नेपालकै ठूलो सिमेन्ट उद्योग स्थापना गर्ने भन्दै सरकारबाट पटक–पटक सम्झौता नवीकरण गर्दै आएको छ मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिले । तर, १५ वर्ष भइसक्दा पनि चौकुने सिमेन्ट उद्योगको काम अगाडि बढ्न सकेको छैन । २०३५ सालमा खानी विभागले चौकुनेमा चुनढुंगा रहेको तथ्य पत्ता लगाएको थियो । सरकारले चुनढुंगा पहिचान गरेको ४२ वर्ष बितिसक्दा पनि उद्योग स्थापनामा कुनै संकेत देखा नपरेपछि स्थानीयहरूमा उद्योग स्थापना हुनेमा विश्वास छैन ।
६ असार २०७६ असारमा व्यवसायी अजय सुमार्गीले वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘सुर्खेतको चौकुनेमा स्थापना हुने सिमेन्ट कारखानाले २०७७ भदौ महिनादेखि उत्पादन सुरु गर्नेछ ।’ चौकुने सिमेन्ट उद्योग सञ्चालन गर्ने वचन दिएर फर्किएका सुमार्गी त्यसयता सुर्खेत आएका छैनन् । ‘म दुई अर्बको लगानी गरेर अर्को वर्षको भदौमा सिमेन्ट उत्पादन गर्छु’, सुमार्गीले भनेका थिए, ‘यहाँ उत्पादन भएको सिमेन्ट भारतको राजधानी नयाँ दिल्ली र लखनउमा बेच्छु । सिमेन्ट कारखाना स्थापना हुनेमा अब कुनै पनि शंका मान्नुपर्दैन ।’ जग्गादातालाई कारखानामा ५० हजार बराबरको शेयर दिने वचन दिँदै उनले कामदारलाई पनि सोहीबराबरको शेयर दिने आश्वासनसमेत दिएका थिए ।
यति मात्र होइन, कारखानामा सात सय जनालाई रोजगारी दिने र प्रतिदिन ६ सय मेक्ट्रिकटन सिमेन्ट उत्पादन गर्ने योजना रहेको सुमार्गीले सुनाएका थिए । तर, सुमार्गीले अहिलेसम्म पनि जग्गा प्राप्त गर्न नसकेको भन्दै लाइसेन्स होल्ड गरेर राखेका छन् । लामो समयसम्म उद्योग स्थापनाले गति लिन नसकेपछि लाइसेन्स रद्द गर्नुपर्ने आवाज स्थानीयस्तरबाट उठ्न थाले पनि निर्माण कम्पनी भने अझै जग्गा खरिदकै गोल चक्करमा छ ।
उद्योग स्थापनाको कामले गति लिन नसक्नुमा कम्पनीलाई दबाब र पहल गर्न नसक्नु तीनै तहका सरकारको कमजोरीले पश्चिम सुर्खेतको विकास हुन नसकेको स्थानीय जीवन देवकोटा बताउँछन् । ‘काम नगर्ने भए लाइसेन्स अर्कोलाई दिएर काम गर्न दिनुपर्छ । बर्षौंदेखि लाइसेन्स होल्ड राख्ने, काम नगर्ने, खाली कहिले के कहिले के भनेर उद्योग स्थापनाको कामलाई गुमराहमा राख्ने कम्पनीको लाइसेन्स खारेजी गर्ने ताकत सरकारले राख्न सक्नुपर्छ,’ देवकोटा भन्छन् ।
देशको प्राकृतिक स्रोतहरूको उपयोग गरेर उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्ने आवश्यकतालाई महसुस गर्दै मुक्तिश्री प्रालिले नेपाल सरकारको खानी तथा भूगर्भ विभागमा सिमेन्ट कारखाना स्थापना गर्ने प्रस्ताव पेश गरेको थियो । वर्तमान अवस्थामा नेपालले आफ्नो सिमेन्ट आवश्यकता मध्ये लगभग ठुलो परिणाममा सिमेन्ट आयात भइरहेको छ । यो उद्योग सञ्चालनमा आएको खण्डमा राष्ट्रिय स्तरमा सिमेन्ट आयात घटाउन महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य राखिएको थियो । सन् २०१० को अक्टोबरबाट सुरु भएको परियोजना सन् २०१४ भित्र पूरा गर्ने भनिएपनि उद्योग स्थापना हुने वा नहुने भन्ने विषय हालसम्म पनि टुङ्गो लाग्न सकेको छैन ।
ओम शाही । सुर्खेत । ११ आश्विन २०८१, शुक्रबार १२:१६