दाङमा १९ वर्षीय एक युवतीलाई सामुहिक बलात्कार गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार गढवा गाउँपालिका– ५ मंघरस्थित होमपाइप बनाउने कम्पनीको खाली घरमा बोलाएर युवतीलाई चार जनाले पालैपालो करणी गरेको अभियोगमा नियन्त्रणमा लिइएको दाङका प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले जानकारी दिए ।
१९ वर्षकी ती युवतीलाई सोही ठाउँका १९ वर्षीय किरण चौधरीले फोन गरी विवाह गर्ने प्रलोभन देखाएर बोलाएको प्रहरी अनुसन्धानको क्रममा खुलेको छ ।
किरणले बोलाएपछि गएकी युवतीलाई किरणसहित चार जनाले बलात्कार गरेका डीएसपी थापाले जानकारी दिए ।
सामुहिक बलात्कारको आरोपमा प्रहरीले किरणसहित चारै जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका– ५ मंघर बस्ने २४ वर्षका सन्जित चौधरी, १९ वर्षका धिरज चौधरी र २१ वर्षका सन्दिप चौधरी रहेका छन् । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
युग संवाददाता । दाङ । १८ आश्विन २०८१, शुक्रबार १३:४०