सम्पादकीय : फुर्सदमा घुमौं कर्णाली

यस वर्षको बडादसैँ तथा तिहार नजिकिएसँगै गाउँबाट विभिन्न उदेश्यले सहर पसेकाहरु धमाधम गाउँ फर्कन थालेका छन् । असोज २६ गते परेको विजया दशमीलाई मध्यनजर गर्दै अध्ययन, रोजगारी तथा व्यापार व्यवसायका लागि बाहिर रहेकाहरु गाउँ फर्किरहेका छन् । दसँै पारिवारिक मिलनको पर्व पनि हो । दसैँ–तिहारको समयमा लामो बिदा हुने गर्दछ, भने यो समय घुम्न मन पराउनेहरुका लागि उपयुक्त समय पनि हो । वर्षायाम सकिएको र चिसो नबढिसकेको हुनाले मौसमका हिसाबले पनि घुम्नका लागि दसैँको समय उपयुक्त मानिन्छ । कर्णाली धार्मिक र सांस्कृतिकरुपमा जति ऐतिहासिक छ त्यति नै प्राकृतिकरुपमा सुन्दर पनि छ । कर्णालीलाई भौगोलिक विकटतको रूपमा गलत चित्रण गरिँदै आइएको पाइन्छ । यहाँ अभाव र गरिबी व्याप्त छ भन्ने गलत भाष्य स्थापित छ । तर भौगोलिक रूपमा कर्णाली जति विकट छ प्राकृतिक सौन्दर्यका हिसाबले त्यति नै धनी पनि छ । धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका हिसाबले विशिष्ट मात्रै होइन नेपाली भाषा, संस्कृति र इतिहासको खुला संग्रहालय पनि हो कर्णाली ।

भूगोलको दृष्टिले कर्णालीलाई भेरी र कर्णाली नदी र यसका सहायक नदीहरूले सिँचाइ र जलविद्युतको भण्डारको रूपमा समेटेको छन् । आर्थिक, धार्मिक, सांस्कृति र पर्यटकिय दृष्टिकोणबाट हेर्ने हो भने उत्तर र दक्षिण व्यापार तथा सांस्कृतिक मार्गका रूपमा कर्णाली भएर मानसरोवर एवम् मध्य एसिया पुग्ने प्राचिन कर्णाली शिल्क रोडलाई प्रतिनिधित्व कर्णालीले गर्दछ । यहाँ रहेका मन्दिर, विहार, पत्थरनाउली, ज्वाला र पञ्चकोशी, थामहरू, मालिका, ऐतिहासिक गुम्बा, कीर्तिखम्ब र पञ्चदेवल, सिंजा र दुल्लू जस्ता गृष्मकालीन र शीतकालीन ऐतिहासिक धरोहरले कर्णालीको सभ्यता र इतिहास झल्काइरहेका छन् । कर्णालीमा धर्तीमै ‘स्वर्ग’ देख्न पाइन्छ । स्वर्गकी अप्सरा उपनामले चिनिने देशकै ठूलो रारा ताल पर्यटकको पहिलो रोजाइमा पर्ने स्थान हो । यति मात्रै होइन नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिंजा, भगवान शिवको बासस्थान कैलाश मानसरोवरको दर्शनसमेत कर्णालीबाटै गर्न सकिन्छ । जीवनमा एकपटक कैलाश मानसरोवरको दर्शन गरेको खण्डमा सबै प्रकारका पापबाट मुक्त भई मृत्युपश्चात स्वर्ग पुगिने धार्मिक विश्वासका साथ बर्सेनि हजारौँको संख्यामा नेपाल, भारत तथा तेस्रो मुलुकबाट तिर्थ यात्रीहरू यहाँ पुग्ने गर्दछन् । नेपाल एकीकरणपूर्व कर्णालीको शीतकालीन राज्य जुम्ला र यसको प्रशासनिक केन्द्र दैलेखको दुल्लू रहेको इतिहास पाइन्छ ।

दैलेखको पञ्चकोशी अर्थात् शिरस्थान र नाभिस्थान जहाँ सदियौँदेखि निरन्तर पानीमाथि आगोको ज्वाला बलिरहेका छन् । जसले यस क्षेत्रको धार्मिक एवम् पर्यटकीय महत्व दर्शाइरहेका छन् । ऐतिहासिक क्षेत्र दुल्लू बाइसे चौबिसे शासनकालमा छुट्टै राज्य थियो । दुल्लु दरबारको भग्नावेश, पटाङ्गिनी, कीर्तिखम्ब, नेपाली भाषाको सबैभन्दा पुरानो शिलालेख, धर्मगद्धी, बालेश्वर यहाँका मुख्य आकर्षण हुन् । पञ्चकोशीको दर्शन गरे जीवनमा पुण्य मिल्छ भन्ने जनविश्वासका कारण कोटिला, शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका क्षेत्रमा तिर्थ जाने चलन छ ।

कर्णाली प्रदेशमै ऐतिहासिक सुर्खेतका काँक्रेविहार, देउती बज्यै, बुलबुले, दैलेखको पञ्चकोशी, ज्वाला क्षेत्र, महावु गाथ, भुर्तिका २५ देवल, दक्षिण एसियाको दोस्रो अग्लो मानिने कालीकोटको पचाल झरना, खाँडाचक्र पञ्चदेवल, जुम्लाको चन्दननाथ, डुडुल चैत्य, मुगुको छाँयानाथ, हुम्लाका लिमी भ्याली, बाह्रदेउ र खार्पुनाथ, माथिल्लो डोल्पा र त्रिपुरा सुन्दरी, सल्यानको कुपिण्डे दह, डोल्पाको जगदुल्ला ताल, रुकुमको स्यार्पु दह, जाजरकोटको खलंगा दरवार, चित्रीपाटन, हिमालयन ग्रेट ट्रेल प्रमुख पर्यटकीय गन्तव्यले कर्णालीको विविधतालाई देखाउँछन् । यिनै अथाह सौन्दर्य र इतिहास बोकेको कर्णालीलाई नजिकबाट नियाल्न दसैँ–तिहार बिदाको सदुपयोग गर्न सकिन्छ । रमणीय दृश्य, मौलिक संस्कृति, ऐतिहासिक धरोहरको अवलोकन मात्रै नभई खोज तथा अनुसन्धान गर्नेहरुका लागि यो समय उपयूक्त हो । राज्यको कर्णालीलाई हेर्ने दृष्टिकोण परिवर्तन नहुँदा प्रकृतिले दिएको अथाह सम्भावना कर्णालीले उपभोग गर्नबाट बञ्चित भइरहेको छ ।

तपाईको प्रतिक्रिया